नेभिगेशन
उपत्यका

निष्क्रियताले बढाउँछ विस्मृतिको जोखिम

काठमाडौँ । लामो समयसम्म बसिरहने बानी आफैंमा मात्र समस्या होइन, त्यस क्रममा गरिने गतिविधिको प्रकृतिले पनि मस्तिष्क स्वास्थ्यमा ठूलो प्रभाव पार्ने नयाँ अध्ययनले देखाएको छ । विशेषगरी टेलिभिजन हेर्ने जस्ता ‘मानसिक रूपमा निष्क्रिय’ गतिविधिले डिमेन्सिया (स्मृतिभ्रंश) को जोखिम बढाउने देखिएको छ भने पढाइ, पजल समाधान वा सिर्जनात्मक कामजस्ता ‘मानसिक रूपमा सक्रिय’ क्रियाकलापले जोखिम घटाउन सहयोग पु¥याउने निष्कर्ष सार्वजनिक भएको छ । 
यो अध्ययन अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित भएको हो, जसमा स्विडेनका २० हजारभन्दा बढी व्यक्तिलाई करिब दुई दशकसम्म अनुगमन गरिएको थियो । अध्ययनमा सहभागीहरूले कति समय बसिरहे र त्यस क्रममा के–कस्ता गतिविधिमा संलग्न भए भन्ने विवरण संकलन गरी पछि डिमेन्सियासँगको सम्बन्ध विश्लेषण गरिएको थियो । अध्ययन अवधिमा ५६९ जनामा डिमेन्सिया पुष्टि भएको थियो । 
अनुसन्धानकर्ताले बस्ने व्यवहारलाई दुई भागमा विभाजन गरेका छन् । पहिलो मानसिक रूपमा निष्क्रिय र दोस्रोमा मानसिक रूपमा सक्रिय । निष्क्रिय व्यवहारमा टेलिभिजन हेर्नु वा केवल संगीत सुन्नु जस्ता गतिविधि पर्छन् । यसमा मस्तिष्कको सक्रिय प्रयोग हुँदैन । सक्रिय व्यवहारमा भने पढ्नु, पजल खेल्नु, कम्प्युटरमा सोचविचार आवश्यक पर्ने काम गर्नु वा सिर्जनात्मक रुचिहरूमा संलग्न हुनुपर्छ । 
अध्ययनअनुसार, यदि कुनै व्यक्तिले दैनिक एक घण्टा निष्क्रिय गतिविधिको सट्टा सक्रिय गतिविधि रोजेमा डिमेन्सियाको जोखिम करिब ७ प्रतिशतले घट्न सक्छ । समग्रमा मानसिक रूपमा सक्रिय समय बढाउँदा ४ प्रतिशतसम्म जोखिम कम हुने देखिएको छ भने शारीरिक गतिविधिसँग मानसिक सक्रियता जोडिँदा जोखिम झनै घटेर ११ प्रतिशतसम्म कम हुने अनुमान गरिएको छ । 
विशेषज्ञहरूका अनुसार मस्तिष्कलाई निरन्तर चुनौती दिनु आवश्यक हुन्छ । मानसिक सक्रियताले न्युरल कनेक्सन (स्नायु जाल) मजबुत बनाउने र ‘कग्निटिभ रिजर्भ’ अर्थात् मस्तिष्कको अनुकूलन क्षमतालाई जोगाइराख्न सहयोग गर्ने बताइएको छ । यसको विपरीत, लामो समयसम्म निष्क्रिय गतिविधिमा बस्दा मस्तिष्कका यी प्रणालीहरू पर्याप्त रूपमा सक्रिय नहुने र समयसँगै स्मरणशक्ति तथा सोच्ने क्षमतामा गिरावट आउन सक्ने जोखिम बढ्छ । 
यद्यपि, अनुसन्धानकर्ताले यो अध्ययनले प्रत्यक्ष कारण–परिणाम सम्बन्ध पुष्टि नगर्ने स्पष्ट पारेका छन् । अर्थात्, मानसिक रूपमा सक्रिय मानिसहरू पहिले नै राम्रो संज्ञानात्मक क्षमताका कारण त्यस्ता गतिविधिमा संलग्न हुने सम्भावना पनि रहन्छ ।
यस अध्ययनले सबै स्क्रिन समय हानिकारक नभएको पनि देखाएको छ । उदाहरणका लागि, कम्प्युटरमार्फत नयाँ सीप सिक्नु, भाषा अभ्यास गर्नु वा सामाजिक सञ्जालमार्फत अर्थपूर्ण संवाद गर्नु भने लाभदायक हुन सक्छ । समस्या भनेको दीर्घकालीन रूपमा सोचविचार नगरी सामग्री हेर्ने बानीमा रहेको अध्ययनले औँल्याएको छ । 
विशेषज्ञहरूको सुझाव छ—दैनिक जीवनमा साना परिवर्तनले पनि दीर्घकालीन रूपमा ठूलो प्रभाव पार्न सक्छ । लामो समय निष्क्रिय बसाइ घटाउँदै त्यसको सट्टा मस्तिष्क सक्रिय राख्ने गतिविधि अपनाउनु, नियमित व्यायाम गर्नु, पर्याप्त निद्रा लिनु र सन्तुलित आहार लिनु नै मस्तिष्क स्वास्थ्य जोगाउने प्रमुख उपायहरू हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्