नेभिगेशन
सूचना प्रविधि

आर्टेमिस २ ले हामी चन्द्रमामा उत्रन सक्ने प्रमाणित गर्छ ?

नासाको आर्टेमिस २ मिसनले अप्रिल १ मा प्रक्षेपण भएदेखि हरेक प्रमुख परीक्षणहरू सफलतापूर्वक पार गरेको छ । यसको रकेट, अन्तरिक्ष यान र चालक दलका सदस्यहरूले इन्जिनियरहरूले अपेक्षा गरेभन्दा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
यो मिसनको पहिलो छ दिनले ओरायन क्याप्सुलमा मानिसहरू सवार हुँदा पनि यसले सोचेजस्तै काम गर्छ भन्ने प्रमाणित गरेको छ— जुन कुरा कुनै पनि सिमुलेटर (नक्कली वातावरण)ले प्रमाणित गर्न सक्दैनथ्यो ।
यद्यपि, यस मिसनको सबैभन्दा ठूलो उपलब्धि भनेको आर्टेमिसका चालक दलका सदस्यहरूले विश्वलाई देखाएको साहस र आशा हो । प्रेरणाको खाँचो रहेको वर्तमान संसारका लागि यो मिसनले सकारात्मक ऊर्जा सञ्चार गरेको छ ।
तर एउटा ठूलो प्रश्न अझै बाँकी छ— के नासा र राष्ट्रपति ट्रम्पले चाहेजस्तै सन् २०२८ सम्ममा चन्द्रमामा मानिस उतार्ने लक्ष्य अब साँच्चै सम्भव छ त?
नासाको ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) रकेट केनेडी स्पेस सेन्टरको लन्च प्याडमा पुगेको केही दिनमै आर्टेमिस २ बाट एउटा महŒवपूर्ण पाठ सिकिसकिएको थियो ।
फेब्रुअरी र मार्चमा प्राविधिक समस्याका कारण दुईपटक प्रक्षेपण रोकिएपछि नासाका प्रशासक जारेड आइज्याकम्यानले भनेका थिए, ‘एसएलएसजस्तो महŒवपूर्ण र जटिल रकेटलाई हरेक तीन वर्षमा एक पटक मात्र प्रक्षेपण गर्नु सफलताको बाटो होइन ।’
यसअघि सन् २०२२ नोभेम्बरमा मानवरहित आर्टेमिस १ मिसन पठाइएको थियो । उनले नासाले अब हरेक रकेटलाई ‘कलाकृतिको नमूना’जस्तो व्यवहार नगरी व्यावसायिक रूपमा बारम्बार प्रक्षेपण गर्नुपर्ने बताएका थिए । वास्तवमा, यो हरेक तीन वर्षमा उही पाठ दोहो¥याइरहने झञ्झट अन्त्य गर्ने एउटा घोषणा थियो ।
यो कुरा महŒवपूर्ण छ किनकि यसले त्यसपछिका सबै घटनाक्रमलाई नयाँ दृष्टिकोण दिएको छ । अप्रिल १ मा रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यान्सनले उडान भरेपछिको छ दिनमा मिसनले के देखायो त ?
यसको छोटो उत्तर हो— आशावादीहरूले सोचेभन्दा पनि धेरै प्रगति भएको छ ।
काम गरेर देखाउने रकेट
प्रक्षेपणका बेला एसएलएस रकेटले ८८ लाख पाउन्डको थ्रस्ट (शक्ति) पैदा गरेको थियो र इन्जिनियरहरूको योजनाअनुसार नै यसले काम ग¥यो । उडानका हरेक चरणहरू खासगरी मुख्य इन्जिन बन्द हुनेदेखि बूस्टरहरू छुट्टिनेसम्मका प्रक्रियाहरू सबै पूर्णरूपमा सामान्य रहे ।
चन्द्रमातर्फको यात्रामा तय गरिएका तीनमध्ये दुईवटा मार्ग सुधारका प्रक्रियाहरू रद्द गरिए किनकि यानको दिशा पहिले नै यति सटिक थियो कि थप सुधारको आवश्यकता नै परेन । ओपन युनिभर्सिटीका अन्तरिक्ष वैज्ञानिक डा. सिमियन बार्बर भन्छन्, ‘यसको जस उनीहरूलाई नै जान्छ । पहिलो पटकमै उनीहरूले ठीक काम गरे ।’
प्रक्षेपणको एक दिनपछि सबैभन्दा महŒवपूर्ण क्षण आयो । ओरायनले आफ्नो मुख्य इन्जिन ५ मिनेट ५५ सेकेन्डसम्म चलायो । यसले गर्दा यान चन्द्रमाको कक्षमा पुग्यो । यसपछि अब कुनै ठूलो युक्तिको आवश्यकता पर्ने छैन । आर्टेमिस कार्यक्रमकी प्रमुख डा. लोरी ग्लेजका अनुसार यो इन्जिन प्रज्ज्वलन ‘त्रुटिहीन’ थियो ।
मेसिनभित्र मानिस
यस मिसनको मुख्य उद्देश्य ओरायनभित्र मानिस राखेर त्यसको प्रभाव हेर्नु थियो । यान र चालक दलबीचको अन्तक्र्रिया ठ्याक्कै त्यस्तै भयो जस्तो अपेक्षा गरिएको थियो र यो कुरा सिमुलेटरमा सिक्न असम्भव थियो ।
यस क्रममा शौचालयमा केही समस्या देखियो । पानीको मेसिनमा खराबी आएपछि चालक दलले सावधानीका लागि पानीलाई झोलामा भर्नुप¥यो । हिलियम प्रणालीमा देखिएको एउटा सानो समस्यालाई पनि छिट्टै समाधान गरियो ।
बार्बरका अनुसार, ‘यो सबै प्रणालीमा मानिसलाई जोड्ने प्रयास हो । यी झन्झटिला मानिसहरू जो बटन थिच्छन्, कार्बनडाइअक्साइड फाल्छन्, वातानुकूलित हावा र शौचालयको माग गर्छन् । उनीहरू यानमा हुँदा प्रणालीले कसरी काम गर्छ भन्ने नै मुख्य कुरा थियो ।’
इन्जिनियरहरूले ओरायनको कार्बनडाइअक्साइड हटाउने प्रणालीको परीक्षण गरिरहेका छन् ताकि यो यान मानिसलाई चन्द्रमाको सतहसम्म लैजान सुरक्षित छ भन्ने कुरा प्रमाणित होस् ।
उत्कृष्ट विज्ञान कि नासाको प्रचार ?
नासाले यस मिसनबाट प्राप्त हुने वैज्ञानिक उपलब्धिहरूको ठूलो चर्चा गरेको छ । चालक दलले चन्द्रमाको परिक्रमा गर्दा करिब ३५ वटा भौगर्भिक विशेषताहरू र खनिजहरूको संकेत दिने रङका भिन्नताहरू नोट गरेका छन् । पाइलट भिक्टर ग्लोभरले अन्तरिक्षबाट देखिएको सूर्यग्रहण ‘अद्भुत’ देखिएको बताए ।
विशेष गरी, चन्द्रमाको पछिल्लो भागमा रहेको ६०० माइल चौडा ‘ओरिएन्टाले बेसिन’ को तस्बिर निकै चर्चामा रह्यो, जसलाई पहिलो पटक मानव आँखाले प्रत्यक्ष देखेको हो ।
यद्यपि, विज्ञान मात्र यसको मुख्य पक्ष होइन । अक्सफोर्डका प्रोफेसर क्रिस लिनटट भन्छन्, ‘यी तस्बिरहरूको कलात्मक मूल्य धेरै भए पनि वैज्ञानिक मूल्य भने सीमित छ ।’ भारत र चीनले यसअघि नै चन्द्रमाको सतहमा पुगेर विस्तृत अध्ययन गरिसकेका छन् ।
मिसनको सबैभन्दा मार्मिक क्षण कुनै उपकरणबाट नभई चालक दलका सदस्यहरूबाट आयो । सन् १९७० को एपोलो १३ को रेकर्ड तोड्दै गर्दा चालक दलका सदस्य जेरेमी ह्यान्सनले एउटा खाडल (क्रेटर) को नाम ‘क्यारोल’ राख्ने घोषणा गरे । क्यारोल कमान्डर रिड वाइजम्यानकी दिवंगत पत्नी थिइन् । यो घोषणापछि ४५ सेकेन्डसम्म सन्नाटा छायो र कमान्डर भावुक भए ।
यो भावुकताको केही खास अर्थ छ किनभने जुन अन्तरिक्ष कार्यक्रमले मानिसको साँचो भावनालाई समेट्न सक्दैन, त्यो लामो समय टिक्दैन । एपोलो मिसनलाई मानिसहरूले इन्जिनियरिङका लागि मात्र नभई मानव साहस र पहुँचका लागि सम्झिन्छन् । आर्टेमिस २ ले पनि त्यस्तै प्रभाव छोडेको छ ।
आउन बाँकी सबैभन्दा ठूलो परीक्षा
मिसन अझै सकिएको छैन । ओरायन अहिले पृथ्वीतर्फ फर्किरहेको छ र यो अप्रिल ११ मा सान डिएगो नजिकै प्रशान्त महासागरमा खस्नेछ ।
अबको मुख्य चुनौती भनेको पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्नु हो । आर्टेमिस १ का बेला तापीय ढालमा देखिएको क्षतिले यस मिसनलाई एक वर्ष ढिलो गराएको थियो । ओरायन क्याप्सुल करिब ४० हजार किलोमिटर प्रतिघण्टाको गतिमा वायुमण्डलमा ठोक्किनेछ ।
यो यस्तो परीक्षण हो जसलाई कुनै पनि सिमुलेटरले पूर्णरूपमा नक्कल गर्न सक्दैन । यसको नतिजाले नै यो मिसनको सफलता र विरासत तय गर्नेछ ।
यदि यो सफल भयो भने आर्टेमिस २ को चित्र वास्तवमै उत्साहजनक हुनेछ । रकेटले काम ग¥यो, अन्तरिक्ष यानले काम ग¥यो र चालक दलले कुशलतापूर्वक प्रणाली सम्हाले । कम्तीमा नासाले अब तीन वर्ष पर्खेर फेरि सुरुदेखि काम गर्नुको साटो यसैलाई निरन्तरता दिँदा पुग्ने भयो ।
सन् २०२८ सम्ममा चन्द्रमामा अवतरण गर्नु अझै पनि चुनौतीपूर्ण लक्ष्य हो । वैज्ञानिक बार्बरका अनुसार यसका लागि अझै तीन देखि चार वर्ष लाग्न सक्छ ।
तर यो मिसनको सहजताले अब सम्भावनालाई सही दिशामा मोडेको छ । प्रश्न अब ओरायन उड्न सक्छ कि सक्दैन भन्ने होइन, बरु ल्यान्डर (उतार्ने यान) हरू र राजनीतिक इच्छाशक्तिले यस गतिलाई पछ्याउन सक्छन् कि सक्दैनन् भन्ने हो । अन्तरिक्ष यानले भने आफ्नो काम सफलतापूर्वक गरिसकेको छ ।
आर्टेमिस २ प्रेरणा र विज्ञानको एउटा सङ्गम हो । १९६० को दशकमा युद्ध र अशान्तिका बीच जसरी एपोलोले विश्वलाई एक बनाएको थियो, आर्टेमिसले पनि वर्तमान निराशाका बीच हामी सबै एक हौं भन्ने सन्देश दिएको छ । यो केवल एउटा परीक्षण उडान हो, भविष्यमा चन्द्रमामा हुने धेरै अवतरणहरूको सुरुआत मात्र हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्