नेभिगेशन
अर्थतन्त्र

मातबिनाको बियर नयाँ ट्रेन्ड बन्दै

नयाँ प्रविधिले सुधा-यो स्वाद— अब ‘नो–अल्कोहल’ बियर पनि पारम्परिक बियरजत्तिकै आकर्षक बन्ने दाबी
तपाईं साथीहरूसँग राति बाहिर हुनुहुन्छ र ड्रिंक गर्दै हुनुहुन्छ तर भोलिपल्ट ह्याङओभर नहोस् भन्ने चाहनुहुन्छ ? उसो भए तपाईंका लागि एउटा नयाँ विकल्प तयार हुँदैछ, अल्कोहल बिनाको बियर !
यो विकल्प रोज्ने तपाईं मात्रै होइन । डाटा एनालिटिक्स फर्म आईडब्ल्युएसआरका अनुसार बिना अल्कोहलको बियर विश्वमा दोस्रो सबैभन्दा लोकप्रिय बियर बन्दै गइरहेको छ । यसले पारम्परिक एललाई समेत पछि पार्दैछ ।
एक दशकअघि यस्तो बियरको स्वाद धेरैलाई मन नपर्न सक्थ्यो तर अहिले रसायनशास्त्रमा आएका सुधारका कारण कम अल्कोहल वा  अल्कोहल बिनाकै बियर पनि अब सामान्य बियरजत्तिकै स्वादिष्ट हुन सक्छ र यो अझ बढी स्वस्थ्यकर विकल्प पनि बन्न सक्छ भन्ने दाबी ब्रुअरहरूले गरिरहेका छन् ।
अब प्रश्न उठ्छ— यसको स्वाद कसरी यति सुधारियो ? अनि यसले पारम्परिक बियरका सबै सूक्ष्म स्वाद र सुगन्ध दिन सक्ला त ?
केराजस्तो सुगन्ध 
बियर बनाउने क्रममा ‘फर्मेन्टेसन’ प्रक्रिया प्रयोग गरिन्छ, जसमा यीस्टले माल्टेड जौबाट आएको चिनीलाई अल्कोहल र कार्बन डाइअक्साइडमा परिवर्तन गर्छ ।
बेल्जियमस्थित भीआईबी–केयू लिभेन माइक्रोबायोलोजी केन्द्रका यीस्ट विशेषज्ञ प्रोफेसर केभिन वेरस्ट्रेपेनका अनुसार, यीस्टले चिनी खाँदा सयौं प्रकारका सुगन्धयुक्त कम्पाउन्ड उत्पादन गर्छ ।
यी कम्पाउन्ड अत्यन्त सानो मात्रामा भए पनि हाम्रो नाकले सजिलै छुट्याउन सक्छ । ‘एस्टर’ नामका कम्पाउन्डहरूले बियरलाई फलफूलजस्तो सुगन्ध दिन्छन् । उदाहरणका लागि, आइसोएमिल एसीटेटले केराजस्तो गन्ध दिन्छ । वेरस्ट्रेपेन भन्छन्, ‘झन्डै सबै बियरमा यो कम्पाउन्ड हुन्छ । यसलाई हटाएमा फलफूलजस्तो सुगन्ध हराउन सक्छ ।’
यसबाहेक गुलाब, स्याउ, मक्खनजस्तो र अन्नजस्तो सुगन्ध दिने अन्य कम्पाउन्डहरू पनि हुन्छन् । यसैले बियरको सुगन्धलाई ‘चिडियाघरजस्तो विविध’ मानिन्छ ।
अल्कोहल हटाउने प्रक्रिया
अल्कोहलरहित बियर बनाउन सामान्य बियर तयार गरिन्छ र त्यसपछि तताएर अल्कोहल हटाइन्छ । तर उच्च तापक्रमले नाजुक सुगन्ध पनि नष्ट गर्न सक्छ ।
यसलाई सुधार गर्न ‘भ्याकुम डिस्टिलेसन’ प्रयोग गरिन्छ, जसले कम तापक्रम (४० देखि ४५डिग्री सेल्सियस) मा अल्कोहल हटाउन मद्दत गर्छ । यसले बियरको गुणस्तर जोगाउन सहयोग गर्छ ।
यद्यपि, केही सुगन्ध हराउन सक्छन् । त्यसैले ब्रुअरहरूले आवश्यक सुगन्ध पुनः मिसाउने प्रविधि अपनाउँछन् ।
रिभर्स अस्मोसिस प्रविधि
अर्को विधि ‘रिभर्स अस्मोसिस’ हो, जसमा बियरलाई झिल्लीबाट पार गराइन्छ । यसले ठूला सुगन्ध कम्पाउन्डलाई रोक्छ तर साना अल्कोहल र पानीका अणु छुट्याउँछ ।
पछि पानी थपेर अल्कोहलको मात्रा ५% बाट घटाएर ०.५% बनाइन्छ— जसलाई धेरै देशमा ‘नन–अल्कोहोलिक’ मानिन्छ । रोचक कुरा, धेरै पाकेको केरामा पनि यति नै अल्कोहल हुन सक्छ ।
कन्ट्रोल्ड फर्मेन्टेसन
अर्को उपाय भनेको सुरुदेखि नै कम वा बिना अल्कोहलको बियर बनाउनु हो । यसका लागि फर्मेन्टेसन प्रक्रिया सीमित गरिन्छ वा विशेष किसिमको यीस्ट प्रयोग गरिन्छ ।
केही यीस्ट स्ट्रेनहरू यस्ता हुन्छन्, जसले चिनीलाई तोड्दा अल्कोहल उत्पादन गर्दैनन् । वैज्ञानिकहरूले यस्ता यीस्ट विकास गर्न प्रयोग गरिरहेका छन् ।
स्वादमा फरक पर्छ र ?
बियरबाट अल्कोहल हटाउँदा स्वादमा केही परिवर्तन आउन सक्छ, किनकि अल्कोहल आफैं पनि स्वादको हिस्सा हो । त्यसैले ब्रुअरहरूले विभिन्न प्रविधि र सामग्री प्रयोग गरेर सन्तुलित स्वाद बनाउन प्रयास गरिरहेका छन् ।
आजका आधुनिक प्रविधिका कारण अल्कोहलरहित बियर पहिलेभन्दा धेरै स्वादिष्ट बनेको दाबी गरिन्छ । एक ब्रुअरका अनुसार, ‘तपाईं यसलाई रातभर पिउन सक्नुहुन्छ र पनि फरक पत्ता लगाउन गाह्रो हुन सक्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्