नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकता विवादमा सर्वोच्च अदालतको निर्णयसँगै एक महŒवपूर्ण राजनीतिक अध्याय औपचारिक रूपमा टुंगिएको छ । तर कानूनीरूपमा विवाद समाधान भए पनि यसको राजनीतिक र भावनात्मक प्रभाव अझै बाँकी नै छ । यस्तो अवस्थामा अब पार्टीलाई एकताबद्ध, सुदृढ र विश्वसनीय बनाउने जिम्मेवारी स्पष्टरूपमा नयाँ नेतृत्व विशेषतः सभापति गगन थापाको काँधमा आएको छ ।
अदालतको निर्णयप्रति असन्तुष्टि हुँदाहुँदै पनि त्यसलाई स्वीकार गर्ने धारणा असन्तुष्ट पक्षबाट आउनु सकारात्मक पक्ष हो । यो निर्णयलाई सम्मान गर्नु भनेको केवल न्यायपालिकाको सम्मान मात्र होइन, लोकतान्त्रिक मूल्य र विधिको शासनप्रतिको प्रतिबद्धता पनि हो । तर, यहींबाट अर्को चुनौती सुरु हुन्छ— पार्टीभित्रको मनोमालिन्यलाई कसरी व्यवस्थापन गर्ने र आन्तरिक एकतालाई कसरी पुनस्र्थापित गर्ने । गोल्फुटारमा बसेको छलफलले पनि यही संकेत दिएको छ कि अबको प्राथमिकता कानूनी लडाइँ होइन, राजनीतिक एकता हो । पूर्वपदाधिकारीहरूको धारणा, असन्तुष्टि र सुझावलाई समेट्दै साझा निष्कर्षमा पुग्ने प्रयास आवश्यक छ । यसका लागि समय लाग्न सक्छ, तर यही प्रक्रियाले पार्टीलाई दीर्घकालीन रूपमा मजबुत बनाउनेछ ।
यही सन्दर्भमा गगन थापा नेतृत्वको भूमिका अझ महŒवपूर्ण बन्न पुगेको छ । नेतृत्व परिवर्तनसँगै आशा र अपेक्षाहरू स्वतः बढ्ने गर्छन् । विशेष महाधिवेशनको माग गर्दा जुन ऊर्जा, समावेशिता र परिवर्तनको सन्देश दिइएको थियो, अब त्यसलाई व्यवहारमा उतार्ने समय आएको छ । त्यतिबेला जसरी शेरबहादुर देउवाको उपस्थितिको अपेक्षा गरिएको थियो, आज त्यही भावनालाई उल्टो दिशाबाट पनि आत्मसात गर्नुपर्छ । अर्थात्, अब गगन थापा पक्षले पनि सबै पक्षलाई समेट्ने, सम्मान गर्ने र विश्वासमा लिने उदारता देखाउनैपर्छ ।
राजनीतिक नेतृत्व केवल बहुमतको आधारमा चल्ने संरचना मात्र होइन, यो विश्वासको संस्थागत रूप हो । यदि नेतृत्वले आफ्ना असहमत पक्षलाई बेवास्ता गर्छ वा दम्भ प्रदर्शन गर्छ भने त्यो नेतृत्वको वैधानिकता भए पनि नैतिक बल कमजोर हुन्छ । त्यसैले अहिले सबैभन्दा आवश्यक कुरा संवाद, सहकार्य र सहिष्णुता हो ।
कांग्रेसजस्तो ऐतिहासिक पार्टी, जसले लोकतन्त्रको स्थापनामा महŒवपूर्ण भूमिका खेलेको छ, त्यही पार्टीभित्र असहिष्णुता र विभाजन देखिनु आफैंमा विडम्बना हो । यसबाट पाठ सिक्दै अबको नेतृत्वले फरक मतलाई शत्रु होइन, सुधारको अवसरका रूपमा लिनुपर्छ । असन्तुष्ट पक्षसँग नियमित संवाद, अन्तरक्रिया र विश्वास निर्माणका पहलहरूलाई प्राथमिकता दिनुपर्छ ।
यस्तै, नेतृत्वले केवल संगठनभित्रको व्यवस्थापनमा सीमित नभई पार्टीको वैचारिक स्पष्टता र जनतासँगको सम्बन्धलाई पनि सुदृढ बनाउनुपर्छ । आन्तरिक विवादमा अल्झिरहँदा जनताका मुद्दा ओझेलमा पर्ने खतरा हुन्छ । बेरोजगारी, महँगी, सुशासनजस्ता विषयमा पार्टीको स्पष्ट धारणा र सक्रियता देखिन जरुरी छ । यसले मात्र कांग्रेसलाई जनताको भरोसायोग्य विकल्प बनाइराख्न सक्छ ।
नेपाली कांग्रेसको आन्तरिक मनोमालिन्य नयाँ कुरा होइन । किसुनजी र गिरिजाबाबुबीच देखिएको असमझदारीले पार्टीमा वैचारिक र संगठनात्मक विभाजनको अवस्था सिर्जना ग¥यो, जसले निर्णय प्रक्रियामा ढिलाइ र कार्यकर्ताबीच अन्योल बढायो । यद्यपि दुवै नेताको लोकतान्त्रिक योगदान उच्च भए पनि आपसी दूरीले पार्टीको एकीकृत शक्ति कमजोर बनाएको थियो । त्यस्तै, गिरिजाबाबु र शेरबहादुर देउवाबीचको मनोमालिन्यले पनि कांग्रेसलाई पटक–पटक गुटगत राजनीतिमा धकेल्यो । नेतृत्व प्रतिस्पर्धा र अविश्वासका कारण पार्टी सरकारमा हुँदा पनि आन्तरिक स्थिरता कायम गर्न कठिन भयो, जसको असर संगठन र जनविश्वासमा प¥यो । पार्टी नै दुई टुक्रा भयो । तर आखिरमा मिल्नु नै प¥यो । यी विगतले देखाउँछन् कि कांग्रेसको शक्ति एकतामा निहित छ । विभाजनले पार्टी कमजोर बनाउँछ भने एकताले मात्र लोकतान्त्रिक नेतृत्वलाई प्रभावकारी बनाउँछ । त्यसैले अबको बाटो दम्भको होइन, संवादको हुनुपर्छ । शक्ति प्रदर्शनको होइन, सहकार्यको हुनुपर्छ । कुनै पनि पक्षले आफूलाई विजेता र अर्कोलाई पराजित ठान्ने मानसिकता त्याग्नैपर्छ । किनकि यो लडाइँ व्यक्ति वा गुटको होइन, पार्टीको समग्र भविष्यसँग जोडिएको छ । गगन थापा नेतृत्वका लागि यो अवसर मात्र होइन, परीक्षा पनि हो । उनले यदि समावेशी नेतृत्व, सहमतिको राजनीति र व्यावहारिक सुधारको बाटो समाते भने कांग्रेसलाई नयाँ उचाइमा पु¥याउन सक्छन् । तर यदि अवसरलाई दम्भमा परिणत हुन दिए भने विभाजन अझ गहिरो हुन सक्छ ।
यसर्थ, नेपाली कांग्रेसको शक्ति यसको एकतामा निहित छ । इतिहासले पनि देखाएको छ— जब कांग्रेस एकताबद्ध हुन्छ, तब लोकतन्त्र बलियो हुन्छ; जब कांग्रेस विभाजित हुन्छ, तब समग्र राजनीतिक प्रणाली कमजोर हुन्छ । त्यसैले अहिलेको आवश्यकता स्पष्ट छ— सबै पक्षले आत्मसंयम अपनाउने, नेतृत्वले उदारता देखाउने र साझा भविष्यका लागि हातेमालो गर्ने । यही बाटोले मात्र कांग्रेसलाई पुनः मजबुत, विश्वसनीय र जनमुखी बनाउन सक्छ ।