नेभिगेशन
मनोरञ्जन

हरियाली ल्याउन नसकेको ‘पहाड’

काठमाडौं । तुलसी घिमिरे भन्नेबित्तिकै नेपाली फिल्म उद्योग निर्माताको छवि उदाउँछ । उनले निर्देशन गरेका फिल्महरु ‘बाँसुरी’देखि ‘बासुदेव’ हुँदै ‘कुसुमे रुमाल’, ‘चिनो’, ‘दर्पणछाया’ले फिल्म उद्योगमा एउटा मानक बनाएका छन् । ‘बाँसुरी’ नेपालबाहिर बनाएर एउटै गीत ‘हिमाल जलेर...’ का कारण नेपालभित्र रिलिज हुन सकेन भनेर दुःख मनाउ गरिएको भए पनि यो पंक्तिकारले विराटनगरमा एउटा मेलामा उक्त फिल्म हेर्ने अवसर पाएको थियो । तर त्यसरी देखाउन पनि निकै लामो समय लागेको थियो ।
अहिले पनि ‘बासुदेव’ फिल्म नेपालको पहिलो कर्पोरेट लगानीको पहिलो फिल्मका रुपमा चिनिन्छ । ‘कुसुमे रुमाल’ आधिकारिक रुपमा पहिलो सिल्भर जुब्ली मनाउने फिल्मका रुपमा इतिहास बनाएको छ । यद्यपि त्यसअघि नै रिलिज भएका फिल्महरुले काठमाडौंका सिनेमा हलहरुमा हप्तौं चलेर आफ्नो लगानीबाट फाइदा उठाएका किन नहोऊन् ।
‘चिनो’ले भने आधिकारिक रुपमा ‘गोल्डेन जुब्ली’ मनाएको पहिलो इतिहास बनायो । यो फिल्म नेपालभरि नै यति रुचाइयो कि केहीले त यसको अर्को कुनै जोडा बन्न नसकेको दाबी गर्छन् ।
यसपछि घिमिरेले नै निर्देशन गरेको ‘दर्पणछाया’ले प्रेमिलकथालाई भावुकताको हदसम्म प्रस्तुत गर्ने कलाको उपल्लो उदाहरण पेश गरे । 
त्यसपछि भने नेपाली फिल्म उद्योग निर्माणमा आफ्ना फिल्महरुबाट बिर्सनै नसकिने गरी गुन लगाएका घिमिरेले बाटो बिर्सिए । दर्शकसँग उनको अटूट नाता क्रमशः बिलाउन थाल्यो । यो कुरा उनले निर्देशन गरेका पछिल्ला फिल्महरुले पनि पुष्टि गरे । उनले निर्देशन गरेका फिल्मको नाम अचेल दर्शकले सम्झनै सक्तैनन् । 

लामो तयारी र अपेक्षासहित यतिबेला घिमिरेको २४ औँ निर्देशकीय सिर्जना बजारमा आइपुगेको छ । ‘पहाड’ शीर्षकको फिल्म यतिबेला सिनेमा हलमा प्रदर्शन भइरहेको छ तर फिल्मले सोचेअनुरुप बजार लिन सकेको छैन । 
यो फिल्म निर्देशक घिमिरेका लागि मात्र होइन, उनका दुई छोरीका लागि पनि निकै महŒवपूर्ण छ । जेठी छोरी भावना घिमिरेले निर्देशक बाबालाई फिल्म प्रोडक्शनमा सघाएकी छन् । उनले मुम्बईमा छँदा प्रडक्शन सिक्दाका सबै जरुरी पेचकसहरुलाई यो फिल्ममा पनि उपयोग गरेकी छन् । कान्छी छोरी पञ्चमी यो फिल्ममा नायिकाका रुपमा उदाएकी छन् ।
फिल्मको कथा निकै सरल छ । नेपालको कुनै पहाडी क्षेत्रको गाउँमा खानेपानीको दुःख छ । यो दुःख निवारण गर्न कसैले सहयोग गर्दैन । त्यसमाथि पहाडमा एउटा खानी रहेको चाल पाएपछि गाउँका मुख्य व्यक्ति सुनील थापाले गाउँ नै बसाइँ सरोस् भन्ने चाहन्छन् र त्यसका लागि उनी अनेक तानाबाना बुनिरहन्छन् । गाउँको दुःख कहिल्यै नसकिने बुझेर धेरै युवाहरु कमाउन देशबाहिर जान्छन् । बाहिर जानेका पनि अनेक दुःख छन् । फिल्मका नायक पनि नायिका र परिवारलाई छाडेर कमाउन मुम्बई पुग्छ तर पछि गाउँ फर्किएर पानीको समस्या समाधान गर्छ ।
फिल्मको जम्मा कथा यत्ति मात्र हो । संसारका जुनसुकै ठाउँमा समस्या छन् । ती समस्या समाधान गर्दाभन्दा समस्या रहिरहँदा धेरैलाई फाइदा हुने हुनाले सर्वसाधारण पीडित भइरहेका छन् । यसमाथि धेरै फिल्म बनेका छन् । यो राम्रो विषयमाथि भने निर्देशक घिमिरेले दह्रो पटकथा निर्माण गर्न नसक्दा उनको ‘लिगेसी’ धरापमा परेको छ । 
प्रायः सधैँ घिमिरेले आफू मुम्बईबाट नेपाल किन आएँ भन्ने कहानी सुनाउने गर्छन् । उनी जुनबेला सम्पादकको सहायक थिए, उनका गुरुले नेपालमा अहिलेसम्म कतिवटा फिल्म बने भनेर सोधे । घिमिरेले जवाफमा पाँच÷सात वटा भए भनी बताए । उनले गुरुदक्षिणा माग्दै भने, ‘मलाई कम्तीमा १० वटा फिल्म बनाएर देऊ ।’ उनले हुन्छ भन्न सकेनन् तर जुन दिन त्यो निर्णय गरेर आशीर्वाद लिन पुगेका थिए, उनका गुरुको देहान्त भइसकेको थियो ।
यस्तो लाग्छ, गुरुदक्षिणा लिएर बनाइएका १२ वटा फिल्महरुमा उनका गुरुको आशीर्वाद रह्यो । गुरुको आशीर्वाद १२ औैं फिल्म ‘दर्पणछाया’सम्म कायम रह्यो र त्यसपछि भने घिमिरे दुविधामा छन् ।
‘दर्पणछाया’पछि उनका ‘लहना’, ‘दुई किनारा’, ‘माया त माया हो’, ‘देश’, ‘स्वर्गकी परी’, ‘मृगतृष्णा’, ‘दृष्टिकोण’, दर्पणछाया २’सम्म आइपुग्दा उनको ‘सिनेम्याटिक जादू’को असर घट्दै घट्दै गएको महसूस भइरहेको छ ।
‘पहाड’लाई धेरै वर्षदेखि घिमिरेले आफ्नो ‘ड्रिमप्रोजेक्ट’का रुपमा बताइरहेका थिए । त्यो ड्रिमप्रोजेक्ट पर्दामा अभिव्यक्त हुँदा प्रभावहीन बनेको छ । फिल्ममा न त कुनै थ्रिल महसूस हुन्छ, न त प्रेमिलजोडीको प्रेममा दर्शक आफू बग्न सक्छ । 
फिल्ममा नयाँ अनुहारका नायक नायिका अरुण क्षेत्री र पञ्चमी घिमिरे दुवै प्रभावहीन छन् । पञ्चमी घिमिरेकी कान्छी छोरी हुन् । उनले अभिनय गर्ने प्रयास त गरेकी छन् तर फिल्मभरि उनको उच्चारण र संवादको तालमेल मिलाउन सकेकी छैनन् । नायक अरुण क्षेत्रीमा अभिनयको सम्भावना त देखिएको छ तर यसमा पनि उनले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
फिल्मको कथानकले फिल्मको ओज नबोके पनि जब जब पर्दामा विपिन कार्की आइपुग्छन्, उनले दर्शकलाई अलग्गै मोडमा पु¥याउँछन् । मध्यान्तरभन्दा ठीकअघि अरुका लागि मरिमेट्ने पात्रका रुपमा देखिने विपिनले मध्यान्तरपछि भने पूरै फिल्म आफ्नो काँधमा उठाएका छन् । उनी आउञ्जेल दर्शकलाई कुनै असहज महसूस हुँदैन । फिल्ममा बोलिने केही संवाद भने भावुक बनाउने किसिमका छन् । 
यी दुई सकारात्मक पक्षबाहेक फिल्म हेरेर निस्किएपछि झस्काइरहने कुनै चिज ‘पहाड’मा देखिदैन । समग्रमा निर्देशक घिमिरेले ‘पहाड’लाई सजाउन गरेको प्रयास अपूरो नै देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन