नेभिगेशन
विश्व

मालीमा सुरक्षा संकट

बामाको, (अलजजीरा) । अफ्रिकी मुलुक माली अहिले एउटा यस्तो गम्भीर सुरक्षा सुरुङभित्र फसेको छ, जहाँबाट बाहिरिने सहज बाटो तत्काल कतै देखिँदैन । दशकौँदेखि राजनीतिक अस्थिरता र वैदेशिक हस्तक्षेपको मार खेपिरहेको यो देशमा पछिल्लो समय देखिएको विद्रोहीहरूको ’कार्यगत एकता’ ले बामकोस्थित सैन्य सत्ताको जग नै हल्लाइदिएको छ । विशेष गरी अल–कायदा आवद्ध समूह जेएनआईएम र उत्तरका तुआरेग विद्रोहीहरू (एफएलए) बीच देखिएको पछिल्लो समन्वयले मालीको सुरक्षा संयन्त्र कतिसम्म कमजोर भइसकेको छ भन्ने कुरालाई स्पष्ट पारेको छ । यी दुई समूहको वैचारिक पृष्ठभूमि र अन्तिम लक्ष्य आकाश–पातालको फरक भए तापनि सैन्य सरकारलाई साझा शत्रु मानेर उनीहरूले देशका विभिन्न भागमा एकसाथ गरेका आक्रमणले मालीको ‘इन्टेलिजेन्स’ विफलतालाई समेत उदांगो पारेको छ ।
राजधानी बामको र रणनीतिक रूपमा महŒवपूर्ण मानिएको काटी क्षेत्र, जहाँ राष्ट्रपति र उच्च पदस्थ मन्त्रीहरूको निवास छ, त्यहीँ विद्रोहीहरूले सहजै पहुँच पु¥याउनुले सरकारको प्रतिरक्षा प्रणालीलाई गम्भीर चुनौती दिएको छ । यसअघि विद्रोहीहरू केवल उत्तरी मरुभूमिमा मात्रै सीमित रहेको ठानिने गरिन्थ्यो । तर, अहिले उनीहरूले राजधानीको विमानस्थल र तालिम केन्द्रहरूमा पु¥याएको क्षतिले युद्धको स्वरूप बदलिएको संकेत गर्दछ । यसै सिलसिलामा रक्षामन्त्री साडियो कामाराको मृत्यु हुनुले सैन्य सरकारको मनोबलमा ठूलो धक्का पुगेको छ । यो एउटा आक्रमण मात्र नभई, सन् २०२० यता पटक–पटक ‘कू’मार्फत सत्ता कब्जा गरेका सैन्य अधिकारीहरूको कार्यक्षमतामाथिको गम्भीर प्रश्नचिह्न पनि हो ।
मालीको यो सुरक्षा संकटको जरो खोज्दै जाँदा यसको भू–राजनीतिक समीकरणमा आएको ठूलो फेरबदललाई नजरअन्दाज गर्न सकिँदैन । असीमी गोइताको नेतृत्वमा रहेको सैन्य सरकारले एक दशकभन्दा बढी समयदेखि सुरक्षा दिइरहेका फ्रान्सेली र युरोपेली सेनालाई देश निकाला गर्दै रुसी भाडाका सैनिकहरूलाई निम्तो दिएको थियो । फ्रान्सेली औपनिवेशिक विरासतप्रति आम नागरिकमा रहेको आक्रोशलाई ‘पपुलिज्म’ को हतियार बनाएर सैन्य सरकारले रुससँग हात त मिलायो, तर जमिनमा सुरक्षाको प्रत्याभूति दिन भने पूर्णतः असफल देखियो । रुसी ‘अफ्रिका कप्र्स’ (पूर्व वाग्नर समूह) का लडाकुहरू अहिले मालीमा सैन्य सल्लाहकारका रूपमा त छन् तर उनीहरू विद्रोहीसँगको प्रत्यक्ष र आमनेसामने लडाइँमा जान हिचकिचाइरहेका देखिन्छन् । यसले गर्दा मालीको सेना अहिले विदेशी मित्र गुमाएको र नयाँ सहयोगीबाट पूर्ण भरोसा नपाएको दोसाँधमा फसेको छ ।
ऐतिहासिक रूपमा हेर्दा मालीको समस्या धार्मिक कट्टरपन्थी मात्र नभई जातीय र क्षेत्रीय पहिचानको लडाईं पनि हो । उत्तरका तुआरेग विद्रोहीहरू छुट्टै अजावाद राज्यको माग गरिरहेका छन् भने जेएनआईएम जस्ता समूहहरू पूरै देशमा कडा इस्लामिक कानून लाद्न चाहन्छन् । सन् २०१५ मा भएको शान्ति सम्झौतालाई सैन्य सरकारले एकपक्षीय रूपमा खारेज गरेपछि उत्तरमा शान्त रहेको आगो फेरि सल्किएको हो । विद्रोहीहरूले इन्धनका ट्यांकरहरू रोक्ने र आर्थिक नाकाबन्दी गर्ने जस्ता रणनीति अपनाएर राजधानी बामाकोको जनजीवन कष्टकर बनाउँदै लगेका छन् । यसले सैन्य सरकारको वैधतालाई मात्र होइन, देशको समग्र आर्थिक अवस्थालाई पनि धराशायी बनाउँदै लगेको छ ।
यस्तो परिस्थितिमा असीमी गोइताको सरकारसामु अब सीमित विकल्पहरू बाँकी देखिएका छन् । पहिलो, उसले आफ्ना छिमेकी मुलुकहरू नाइजर र बुर्किना फासोसँग मिलेर बनाएको ‘एलायन्स अफ साहेल स्टेट्स’ लाई सक्रिय बनाउनुपर्ने हुन्छ, यद्यपि ती देश आफैँ आन्तरिक विद्रोहले थलिएका छन् । दोस्रो र अलि व्यावहारिक देखिने विकल्प भनेको विद्रोही समूहहरूसँग कुनै न कुनै प्रकारको राजनीतिक संवाद वा सम्झौता गर्नु हो । यदि सैन्य सरकारले आफ्नो अडान नछोड्ने र सुरक्षा संवेदनशीलतालाई यसरी नै हलुका रूपमा लिइरहने हो भने, मालीको अवस्था लिबिया वा सुडानजस्तै गृहयुद्धको चरम उत्कर्षमा पुग्ने निश्चित छ । अन्तर्राष्ट्रिय जगतको निन्दा र क्षेत्रीय संगठनहरूको प्रतिबन्धका बीच मालीले आफ्नै बलबुतामा यो संकट टार्न सक्ने सम्भावना निकै न्यून देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व
साताको लोकप्रिय