नेभिगेशन
विश्व

मानिसको उचाइ घट्दै !

पछिल्ला करिब १५० वर्षमा मानव जातिको औसत उचाइ उल्लेखनीय रूपमा बढेको छ । तर अहिले यो वृद्धि सम्भवतः रोकिने दिशामा छ कि भन्ने संकेतहरू देखिन थालेका छन् । यसको सम्भावित कारणहरूमध्ये एक जलवायु परिवर्तनलाई लिन थालिएको छ ।
वैश्विक रूपमा बढ्दो तापमान (ग्लोबल वार्मिङ)का कारण मौसम तीव्र रूपमा बदलिँदै छ र गर्मीको लहर (हीटवेभ) बढिरहेको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार यस्तो अवस्थाले गर्भमै बच्चाको विकासमा असर पार्न सक्छ ।
टोलीले दक्षिण एसियामा पाँच वर्षमुनिका दुई लाख बालबालिकाको अध्ययन ग¥यो । उनीहरूको अनुमान अनुसार, गर्भावस्थाका तीनै चरणमा ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम र उच्च आद्र्रताको प्रभावमा परेका बालबालिकाहरूको उचाइ अपेक्षितभन्दा करिब १३ प्रतिशत कम हुन सक्छ ।
जन्मदेखि पाँच वर्षसम्मको उचाइ वृद्धि बच्चाको समग्र स्वास्थ्य र विकासको महŒवपूर्ण सूचक मानिन्छ । यद्यपि, अन्ततः कति उचाइ पुग्ने भन्ने कुरा आनुवंशिकता, पोषण र स्वास्थ्यजस्ता कारकमा निर्भर हुन्छ । अध्ययनकी मुख्य लेखिका केटी म्याकमाहनका अनुसार, बढ्दो ताप र आद्र्रताले दक्षिण एसियाका बालबालिकाको औसत उचाइ घटाउने जोखिम बढाइरहेको छ ।
विश्वव्यापी रूपमा स्थिति अझै स्पष्ट छैन तर जहाँ पहिले नै तापक्रम र आद्र्रता उच्च भएका कम र मध्यम आययुक्त देशहरूमा पनि यस्तै असर देखिन सक्ने बताइएको छ । विश्व बैंकका अनुसार, विश्वका करिब १२० देश यो श्रेणीमा पर्छन् ।
मानव इतिहासमा औसत उचाइ स्थिर छैन । यसमा विभिन्न कालखण्डमा उतारचढाव आएको छ । उदाहरणका लागि, करिब १० हजार वर्षअघि जब मानिसहरू सिकारबाट कृषि जीवनतर्फ सरे, प्रारम्भिक चरणमा औसत उचाइ घटेको संकेत पाइन्छ ।
सन् २००४ मा गरिएको एक अध्ययनमा उत्तरी युरोपका नवौँदेखि उन्नाइसौँ शताब्दी बीचका हजारौँ कंकालहरूको विश्लेषण गर्दा औसत उचाइ समयअनुसार घटबढ भएको देखियो । १७औँ शताब्दीमा यो सबैभन्दा कम थियो । त्यस समय शहरहरूको विस्तार, रोगको फैलावट, कृषि परिवर्तन र ‘सानो हिमयुग’ जस्ता कारणहरूले जीवनमा ठूलो असर पारेका थिए ।
सन् १७०० सम्म आइपुग्दा उत्तरी युरोपका पुरुषहरूको औसत उचाइ करिब ६.४ सेन्टिमिटरले घटेको थियो र यो कमी २०औँ शताब्दीको सुरुवातसम्म पूरै सुधार हुन सकेन ।
२०औँ शताब्दीमा जीवनस्तर सुधारसँगै मानव उचाइ बढेको स्पष्ट देखिन्छ । १८९६ देखि १९९६ बीच जन्मिएका २०० देशका मानिसहरूको अध्ययनले देखायो कि पुरुषहरूको औसत उचाइ १६२ सेन्टिमिटरबाट बढेर १७१ सेन्टिमिटर पुगेको छ भने महिलाहरूको १५१ बाट १५९ सेन्टिमिटर पुगेको छ ।
तर सबै देशमा वृद्धि उस्तै थिएन । केही देशहरूमा उल्लेखनीय वृद्धि भयो भने केहीमा न्यून । यसको कारण आनुवंशिकता मात्र होइन, पोषण, वातावरण र सामाजिक–आर्थिक अवस्था पनि हो । राम्रो खाना, स्वच्छ पानी र स्वास्थ्य सेवाले उचाइ वृद्धिमा ठूलो भूमिका खेलेका छन् ।
तर अहिले केही देशहरूमा उचाइ वृद्धि स्थिर हुन थालेको देखिन्छ । उदाहरणका लागि, नेदरल्यान्डका मानिसहरू विश्वमै अग्ला मानिन्छन्, तर पछिल्ला वर्षहरूमा त्यहाँ औसत उचाइ घटेको छ । यसको कारण पूर्ण रूपमा स्पष्ट छैन । खानपान, मोटोपन वा अन्य सामाजिक कारक हुन सक्छन् ।
विश्वका विकसित देशहरू उचाइको सूचीमा अगाडि छन् तर यो स्थिति स्थायी नहुन सक्छ । उदाहरणका लागि, १९औँ शताब्दीमा अमेरिका अग्ला मानिसहरूको देशमध्ये थियो तर अहिले शीर्ष २० मा पनि छैन । यसको कारण अन्य देशहरूमा उचाइ अझ तीव्र रूपमा बढ्नु हो ।
अमेरिकी अर्थशास्त्री जोन कोम्लोसका अनुसार, सामाजिक–आर्थिक असमानता—विशेष गरी स्वास्थ्य सेवामा पहुँच—यसको प्रमुख कारण हो । साथै, मोटोपन र असन्तुलित खानपानले पनि असर पारेको छ ।
जीवन परिस्थितिको प्रभावको अर्को उदाहरण कोरिया हो । उत्तर र दक्षिण कोरिया विभाजनपछि गरिएको अध्ययनले देखायो कि उत्तर कोरियाका मानिसहरू दक्षिण कोरियालीभन्दा औसतन ८ सेन्टिमिटर होचा छन् । जर्मनीको विभाजनकालमा पनि यस्तै, यद्यपि सानो, अन्तर देखिएको थियो ।
मानिसको उचाइ जीनले मात्र नभई जीवनको गुणस्तरले पनि निर्धारण गर्ने यसबाट प्रस्टिन्छ ।
अहिले प्रश्न उठ्छ— के मानव उचाइ वृद्धि रोकिने चरणमा पुगेको हो ? केही विकसित देशहरूमा यस्तो देखिए पनि विकासशील देशहरूमा सुधार जारी रहन सक्छ ।
तर चिन्ता के छ भने मानव–निर्मित जलवायु परिवर्तनले यो प्रगति अवरुद्ध गर्न सक्छ । केटी म्याकमाहनका अनुसार, ती मानिसहरू जो उच्च ताप र आद्र्रतामा बस्छन्, उनीहरू जलवायु परिवर्तनसँग जुध्न सबैभन्दा कमजोर अवस्थामा छन् ।
विशेषगरी बाहिर काम गर्ने किसान र वातानुकूलन सुविधा नभएका मानिसहरूका लागि जलवायु परिवर्तनले नकारात्मक प्रभाव अझ बढाउन सक्ने विश्लेषकहरुको अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्