नेभिगेशन
विश्व

मान्छेको व्यक्तित्व जन्मैदेखि तय हुन्छ ?

लण्डन, (बीबीसी) । लौरी क्लार्कले मानव व्यक्तित्वलाई आकार दिने अत्यन्त जटिल शक्तिहरूको विश्लेषण गर्दै नयाँ अनुसन्धान गरेकी छन् । उनले हाम्रो जीनले हामीलाई कसरी बनाउँछ र कहाँ असफल हुन्छ भन्नेबारे थप खुलासा गरेकी छन् ।
सन् २००९ मा, इटालीको ट्रिएस्टेमा एक व्यक्तिको हत्या गरेको आरोपमा अब्देलमालेक बायाउट नौ वर्षको जेल सजाय भोगिरहेका थिए । सजाय घटाउने प्रयासमा उनका वकिलले असामान्य तर्क अघि सारे । उनका वादीको डीएनएमा ‘वारियर जीन’ नाम दिइएको एक प्रकारको आनुवंशिक भिन्नता रहेको र त्यसले आक्रामक व्यवहार गराउने गरेको दाबी गरिएको थियो । ‘त्यसैले उनी पूर्ण रूपमा जिम्मेवार नहुन सक्छन्,’ वकिलको तर्क थियो । वकिलको अपील सफल भयो र सजाय एक वर्षले घटाइयो ।
सन् १९९० को दशकदेखि नै मोनोअमिन अक्सिडेज ए (एमएओए) नामक जीनको एक प्रकार र हिंसात्मक व्यवहारबीच सम्बन्ध रहेको प्रमाणहरू देखिन थालेका थिए । सन् २००४ सम्म आइपुग्दा यसलाई ‘वारियर जीन’ भनेर लोकप्रिय बनाइएको थियो ।
तर त्यसयता, जीनले व्यवहार र स्वभावमा पार्ने प्रभावबारे हाम्रो बुझाइ निकै परिवर्तन भएको छ । नेदरल्याण्ड्सको एम्स्टरड्यामस्थित एक चिकित्सा केन्द्रकी अनुसन्धानकर्ता ऐसु ओकबे भन्छिन्, ‘पहिले मानिसहरूले केही सीमित जीनले ठूलो प्रभाव पार्छन् भन्ने ठान्थे । त्यो धारणा पूर्ण रूपमा गलत साबित भएको छ ।’
पछिल्ला १५ वर्षमा अझ सूक्ष्म चित्र देखा परेको छ । उचाइजस्ता उच्च रूपमा वंशानुगत ठानिएका गुणहरू पनि जीनमा पहिचान गर्न पहिले सोचेभन्दा धेरै जटिल देखिएका छन् । नयाँ, ठूलो स्तरका आनुवंशिक अध्ययनहरूले अहिले हाम्रो बुझाइ अझ फराकिलो बनाइरहेका छन् । यी अध्ययनहरूले जीनले कसरी—र कति हाम्रो व्यक्तित्व बनाउँछ भन्नेबारे गहिरो अन्तर्दृष्टि दिइरहेका छन् ।
मानिसहरू पहिलेदेखि नै आफ्नो स्वभाव र जीवनको दिशा जन्मकै समयमा तय हुन्छ कि हुँदैन भन्ने प्रश्नप्रति आकर्षित हुँदै आएका छन् । तर ‘व्यक्तित्व’ अर्थात् सोच, भावना र व्यवहारको स्थिर ढाँचाको उत्पत्ति बुझ्न निकै कठिन साबित भएको छ ।
‘नेचर कि नर्चर’को अवधारणालाई फ्रान्सिस गाल्टनले लोकप्रिय बनाएका थिए । उनले जुम्ल्याहा अध्ययनमार्फत व्यक्तित्वको अध्ययन सुरु गरे । पछि वैज्ञानिकहरूले एउटै डीएनए भएका जुम्ल्याहा र आधा डीएनए साझा गर्ने जुम्ल्याहाबीच तुलना गर्न थाले ।
अचेल वैज्ञानिकहरू व्यक्तित्वलाई पाँच मुख्य आयाममा वर्गीकरण गर्छन् । खुलापन, जिम्मेवारीपन, बहिर्मुखता, मिलनसारिता र भावनात्मक अस्थिरता । धेरै जुम्ल्याहामाथि गरिएको अध्ययनहरूले यी गुणहरू कति हदसम्म वंशानुगत छन् भन्ने जाँच गरेका छन् ।
सन् २०१५ मा गरिएको एउटा ठूलो अध्ययनले करिब १८ हजार मानव गुणहरूको विश्लेषण गर्दा के देखाएको थियो भने जुम्ल्याहा बढी मिल्दोजुल्दो हुन्छन्, तर पूर्ण रूपमा एउटै हुँदैनन् । व्यक्तित्वका करिब ४७ प्रतिशत भिन्नता जीनका कारण हुन्छन् भने बाँकी वातावरणका कारण ।
सन् १९७९ मा अमेरिकी मनोवैज्ञानिक थोमस बुशार्डले छुट्टिएका जुम्ल्याहा खोज्ने प्रयास गरे । उनले के पत्ता लगाए भने, अलग हुर्किएका जुम्ल्याहा पनि आश्चर्यजनक रूपमा समान हुन सक्छन् । जस्तै, ‘जिम’ नामका दुई जुम्ल्याहा, जसले एउटै नाम भएका महिलासँग विवाह गरेका थिए, छोराहरूको नाम उस्तै राखेका थिए र कुकुरको नाम पनि एउटै राखेका थिए ।
तर यस्ता अध्ययन आलोचनाबाट मुक्त छैनन् । यस्ता समानता संयोग पनि हुन सक्छन् भन्ने तर्क गरिएको छ ।
मानव जीनोम अत्यन्त जटिल छ । मान्छेमा २३ वटा क्रोमोजोम र करिब २० हजार जीन हुन्छन् । मानिसहरूबीच ९९.९ प्रतिशत डीएनए उस्तै हुन्छन् । जम्माजम्मी ०.१ प्रतिशतले भिन्नता ल्याउँछ । यही सानो भिन्नताभित्र व्यक्तित्वको स्रोत खोज्नु निकै कठिन काम भएको छ ।
पछिल्ला वर्षहरूमा ‘जीनोम–व्यापी अध्ययन’हरूले लाखौँ आनुवंशिक भिन्नताहरूको विश्लेषण गर्दै व्यक्तित्वसँग कस्तो सम्बन्ध हुनसक्छ भनी खोजिरहेका छन् । अहिले थाहा भएको कुरा के हो भने व्यक्तित्व ‘पोलिजेनिक’ हो अर्थात् धेरै साना जीन प्रभावहरूको संयोजन ।
तर यी सबैलाई जोड्दा पनि जीनको प्रभाव अपेक्षाभन्दा कम देखिन्छ । यो प्रभाव करिब ९ देखि १८ प्रतिशत मात्र देखिएको छ । यसलाई ‘हराएको वंशानुगतता’ समस्या भनिन्छ ।
वातावरणको प्रभाव पनि जटिल छ । जीवनका ठूला घटनाहरूले व्यक्तित्वमा त्यति ठूलो परिवर्तन ल्याउँदैनन् । बाल्यकालको आघातले भविष्यमा असर पार्न सक्छ तर वयस्क जीवनका घटनाहरूको प्रभाव सीमित हुन्छ ।
अनुसन्धानले गर्भावस्थाको वातावरण पनि महŒवपूर्ण हुन सक्ने देखाएको छ । आमाको तनावले बच्चाको स्वभावमा प्रभाव पार्न सक्छ, जसलाई ‘भ्रूण प्रोग्रामिङ’ भनिन्छ । महाभारतमा अभिमन्यूको कथाजस्तो !
वैज्ञानिकहरु कुनै व्यक्तिको व्यक्तित्व ‘पोलि–एनभाइरोन्मेन्टल’ पनि हो भन्छन् । यसको अर्थ, धेरै साना वातावरणीय प्रभावहरूको संयोजनले बन्ने व्यक्तित्व । साथै, जीन र वातावरणबीच अन्तरक्रिया हुन्छ । केही अवस्थामा वातावरणले जीन सक्रिय वा निष्क्रिय बनाउन सक्छ ।
वैज्ञानिकहरू अहिले ठूलो मात्रामा डेटा प्रयोग गर्दै अनुसन्धान गरिरहेका छन् । लाखौँ मानिसहरूको जीन अध्ययन गर्दा मात्र साना प्रभावहरू देख्न सकिन्छ । तर अझै पनि हामी पूर्ण रूपमा यसको प्रभावलाई बुझ्न सकिरहेका छैनौँ भनिरहेका छन्, वैज्ञानिकहरू । हाम्रो व्यक्तित्व कुनै एक कारणले होइन, असंख्य साना जैविक र वातावरणीय प्रभावहरूको संयोजनबाट निर्माण हुन्छ र यही यसको वास्तविक जटिलता हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्