लेख्छु, हेर्छु,
फेरि लेख्छु, फेरि हेर्छु
एक्कासी ओखलढुंगाकै पतकरहरू गर्छन्
सआङ सुरुङ ।
गुञ्जिन्छ पाश्र्वध्वनि
आमा छ तिम्रो महिमा अपार
सिद्धिन्न गाए पनि बारबार
गाउँछु रोकिन्छु
टक्क अडिन्छु
अपार वेदनापछिको
झल्किएको उज्यालो
सिर्जिन स्रष्टाले जीवन महाकाव्य
महाकविको महाकाव्यको
तादात्म्य बन्दै टलटल टल्कियो
अस्तिŒव र अस्मिता समानान्तर
सगरमाथा कोपेर
खोपेर रुख र पहरा
गाँसेर पात र झिँझा
आमा बन्ने धुनमा
कोरल्छन् अर्कैको अण्डा
नवीन लहरा र सिर्जना
कल्पेर आमा बन्ने धुन
आमाको अपार गुन
आमाकै कोसेली यो मजबुन
बनिन् पर्यायवाची स्रष्टा सर्जक
बिहानीहरूमा उज्यालो नाम
फाँटहरूमा दर्बिलो काम
तीर्थहरूमा पारिलो धाम
अर्थहरूमा भरिलो सर्जाम
आमा ! आमा !! आमा !!!
आमाहरूमा सतत नमन । आर्शीवाद दिएर कहिल्लै नरित्तिने, नथाक्ने एउटा जीवन । अजस्र वात्सल्यकी खानी । सन्तानको खुसीमा आफ्नो खुसी खोजिरहने आँखाकी नानी । सृष्टिकै अद्भुत रहस्य, सृष्टिकै अनुपम उपहार हुन् आमा । बारम्बार मनसँग मस्तिष्क ठोकिन्छ, आमालाई यो विराट प्रकृतिले, यो विराट ब्रह्माण्डीय शक्तिले नै अतुलनीय आसनमा विराजमान गराएको छ । बगैंचामा फुल्ने मुस्कुराउने रंगीचंगी विविध रंग, भर्ने को होला ? प्रश्न गर्न मन लागिरहन्छ, अझ बढी वसन्त ऋतुमा ।
नौ महिना गर्भमा राखेर बाहिर निकाल्ने समयमा टनाटन दूध भरिदिने को होला ? किन पहिल्यै भरिन्न दूध ? यहीबाट सुरु हुन्छ वात्सल्यको अपारता र अनन्तता । साहित्य सिद्धान्तले शब्द र अर्थको सम्बन्धलाई शक्ति मान्दछ । कुनै निश्चित अर्थ बोकेर हिँडिरहने शब्दले प्रदान गर्ने अर्थ शब्दशक्तिका रूपमा परिचित छ । ‘आमा’ शब्दले प्रदान गर्ने अर्थ अर्थात् शब्दशक्तिले यो विश्व, यो ब्रह्माण्ड यो मन, त्यो मन, यी मन अर्थात् समग्र जीवन्त जीवन चलायमान छन् । ‘आमा’ शब्दले एकसाथ अभिधा, लक्षणा, व्यञ्जना, शब्दशक्तिलाई जागृत गराउँछ ।
आस्था, विश्वास र भरोसाकी दिव्य मूर्ति आमा शब्दको अनुभूत गरेर प्राणीमात्रले वात्सल्य र आमा शब्दको तादाम्यमा डुबुल्की लगाउन सफल हुन्छन् । आज कल्पना गर्छु, मैले बोलेको पहिलो अक्षर, पहिलो शब्द, पहिलो वाक्य आमाको काखबाट पल्लवित र पुष्पित हुँदै आजसम्म मलाई ताते गराउँदै छन् । मैले आज अनुभूत गर्ने आनन्दको अप्रतिमता पक्का आमाको काखबाटै उद्भव भयो । भलै आजको भौतिकवादले जेलिएको वर्तमान संसारमा आमा र सन्तानबीचको मधुरसमय केही कठोर भएका छन् । अस्तिŒवको खोजीमा आमाहरू सन्तानको समय चोर्न बाध्यताको साङ्लोमा जेलिएका छन् । यद्यपि सन्तानको सुन्दर भविष्य, आमाको अस्तिŒव, जीवन सङ्घर्षका धुनहरूका सारेगम त्रिकोणात्मक समन्वयमा अघि बढिरहेका छन्, विश्वमा विश्वास छरिरहेका छन्, आस्था भरिरहेका छन् । कलिला यात्राहरू अविच्छिन्न महान्, दर्बिलो गन्तव्यमा प्रश्न उठ्छ के आमा नभएकाहरू अर्थात् सानैमा आमाको वात्सल्यबाट वञ्चित भएकाहरूले गन्तव्य भेटेका छैनन् रे । आमा घटाकाशबाट, महाकाशबाट, यत्रतत्रबाट आर्शीवादका गुच्छाहरू बर्साइरहन्छिन्, अभिनन्दन गरिरहन्छिन्, निर्धारित सफलता र गन्तव्यका मोडहरूमा घुम्तीहरूमा । भनाइ छ, भगवान् सबैकहाँ एकसाथ पुग्न सम्भव नभएकाले सृष्टिको मूलका रूपमा हरेक परिवारमा आमा पठाइदिएका हुन् । वात्सल्यको पाठ सिक्न कुनै आमालाई औपचारिक शिक्षा नचाहिएको त्यसैले होला ।
कबीरको एउटा हरफ छः
‘ता मनकी खोज्छु रे भाइ ।’
तन छुटे मन कहाँ समाई ।।
मानवभित्र एउटा सविकल्पक मन छ । त्यो मनभन्दा पर मनको अर्को अवस्था निर्विकल्पक छ । यस शरीरलाई छोडेपछि त्यो मन कहाँ पुग्छ खोज । सायद त्यो मन आमा तŒवमा समाहित हुन्छ, सृष्टि र सिर्जनाको अनवरत शृंखला उन्दै उन्दै । घरको अर्थात् गृहस्थीको सेरोफेरोमा मात्र आफ्नो जीवनलाई जाज्वल्यमान बनाउने आमा अझ बढी महान् छिन् । दिनरात आफ्ना सन्तानका सुखहरूमा आफ्ना सुखलाई आफ्ना खुसीलाई समाहित गर्छिन् । मायादेवी, यशोधरा, पासाङ ल्हामु, म्याडम क्युरी, जिजाबाइ, कौशल्यादेवी, राज्यलक्ष्मी देवी नैन्सी एडिसन, मदर टेरेसा पनि आमाकै स्वरूप हुन् ।
आमाको महŒव र मूल्य जीवनभरको सुगन्ध हो । आमा, माया, सम्मान, सम्झनाका किस्तिहरूमा हाँस्छिन् । समर्पणले खिइएको, उमेरले ढल्किएको, आमाको जिर्ण शरीर वृद्धाश्रमहरूबाट टाँढिदै फेसबुक र इन्स्ट्राग्रामको वालहरूमा र मन मस्तिकका वालहरूमा टाँसिएर जीवन्त भएकी छिन्, हुनेछिन् जसरी सन्तान हुर्काउने क्रममा आमा थाकिनन् । आमा आफै महान् छिन्, आमा आफैं झलमल्ल छिन् ।
(लेखक उपप्राध्यापक, पशुपति बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुन् ।)