नेभिगेशन
खेलकुद

खेलपछि जापानी किन सफा अभियान चलाउँछन् ?

टोकियो (एपी)  । कुनै देश विश्वकप फुटबल भइरहेका बेला ‘सफाइ’मा सधैं जित्छ भने, त्यो देश जापान नै हुन्छ । भलै उसले गोल गरेर विश्वकप जित्न नसकेको किन नहोस्, तर सरसफाईको विश्वकप हुने हो भने उसले वास्तवमै सफाई विश्वकप जित्न सक्छ ।
खेल सकिएपछि रंगशालामा जापानी फुटबल समर्थकहरू झाडू लगाउँदै र फोहोर टिप्दै गरेको दृश्य पहिलो पटक १९९८ मा फ्रान्समा आयोजित विश्वकपमा देखिएको थियो । जापानीले त्यहाँ पहिलो पटक विश्वकपमा सहभागिता जनाएका थिए । सफाईमा पनि उनीहरू देखा परे ।
त्यसयता यो परम्परा प्रत्येक चार वर्षमा दोहोरिँदै आएको छ । सन् २०२२ मा कतार विश्वकपमा पनि यस्तो देखियो र आगामी जुन महिनामा जापानले टेक्सासको आर्लिङ्टन र मेक्सिकोको मोन्टेरेमा समूह चरणका खेल खेल्दा पनि यो जारी रहनेमा धेरैजना निश्चित छन् ।


धेरै गैर–जापानी दर्शकहरूका लागि यो आश्चर्यजनक हुन्छ । किनभने उनीहरू रंगशालाबाट निस्कँदा आधा खाइएको खाना, च्यात्तिएका कागज र खाली वा झरिरहेको पेय पदार्थका कपमाथि पाइला टेक्दै बाहिरिने बानीमा अभ्यस्त हुन्छन् ।
सन् २०१८ मा रुसी विश्वकपमा जापानी खेलाडीहरूले हारपछि ड्रेसिङ रुम सफा गरेर रुसी भाषामा धन्यवाद सन्देश छोडेका थिए । २०२२ मा भने समर्थकहरूले अरबी, अंग्रेजी र जापानी भाषामा धन्यवाद लेखिएका फोहोरका झोलाहरू छोडेका थिए ।
जापानी उखानले बुझाउँछ कारण
यसको कारण जटिल छैन । प्राथमिक विद्यालयदेखि नै विद्यार्थीहरूलाई कक्षा, खेलमैदान वा विद्यालय परिसरमा यस्तो व्यवहार सिकाइन्छ ।
सोफिया विश्वविद्यालयका राजनीति र इतिहासका प्राध्यापक कोइची नाकानो भन्छन्, ‘विश्वस्तरका खेलमा रंगशाला सफा गर्ने जापानी समर्थकहरूले बाल्यकालमा सिकेको खेल संस्कारलाई नै दोहोर्याइरहेका हुन्छन् ।’
यसलाई व्याख्या गर्ने एउटा जापानी उखान छ, ‘तत्सु तोरी आतो वो निगोसाजु ।’ यसको शाब्दिक अर्थ हुन्छ, ‘चरा उड्दा पछाडि केही पनि छोड्दैन ।’ अर्थात्, ‘जस्तो अवस्थामा भेट्यौ, त्यस्तै अवस्थामा फर्काएर छोड ।’
जापानका धेरै प्राथमिक विद्यालयहरूमा सरसफाइ गर्ने कर्मचारी हुँदैनन्, त्यसैले विद्यार्थीहरूले नै सफाइ गर्छन् । कार्यालयहरूमा पनि कर्मचारीहरूले आफ्नै कार्यस्थल सफा गर्ने गर्छन् ।
सार्वजनिक स्थानहरूमा फोहोर फाल्ने डस्टबिन कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर घरमै लगेर व्यवस्थापन गर्छन् । यसले सडक सफा राख्नुका साथै खर्च पनि घटाउँछ र किराहरू पनि टाढा राख्छ ।


सामूहिक कि व्यक्तिगत सोच ?
जर्मनीमा हुर्किएकी र हाल टोकियोस्थित जर्मन इन्स्टिच्युट फर जापानिज स्टडिजकी उपनिर्देशक बार्बरा होल्थुस भन्छिन्, ‘जापानलाई अत्यधिक आदर्श बनाउनु उचित होइन, किनकि हरेक देशका आफ्नै चुनौती हुन्छन् ।’
तर उनी थप्छिन्, ‘शैक्षिक दृष्टिले हेर्दा जापानी समाजमा मानिसहरू फरक तरिकाले सामाजिकीकृत भएका हुन्छन् । बाल्यकालदेखि सिकेको व्यवहार नै उनीहरूले जीवनभर अपनाउँछन् — रंगशाला सफा गर्नु पनि त्यही प्रक्रिया हो ।’
यहाँ ‘मेइवाकु’ भन्ने जापानी अवधारणाले पनि काम गर्छ । यसको अर्थ अरूलाई दुःख वा असुविधा नदिनु हो । रंगशालामा फोहोर छोड्नु अरूका लागि समस्या सिर्जना गर्नु मानिन्छ ।
जापान घना जनसंख्या भएको देश हो । टोकियो महानगर क्षेत्रमा मात्र करिब साढे तीन करोड मानिस बस्छन् । जुन क्यालिफोर्निया राज्यको कुल जनसंख्याको लगभग बराबर हो । यस्तो अवस्थामा सहकार्य अनिवार्य हुन्छ ।
होल्थुसका अनुसार, ‘जापानीहरूले सानैदेखि अरूलाई असुविधा हुनबाट कसरी रोक्ने भन्नेबारे सिक्छन् ।’
उनले थपिन्, ‘पश्चिमा देशहरूमा व्यक्तिगत अधिकारमा बढी जोड हुन्छ, जबकि जापानमा सामूहिक सोच प्रमुख हुन्छ । पश्चिमाहरूमा सार्वजनिक स्थान सफा गर्ने जिम्मा कम्पनी वा सरकारको हो भन्ने ठान्छौं ।”
जापानी समर्थकहरूको यो व्यवहारले विश्वभर प्रशंसा पाएपछि यो अझ सुदृढ भएको छ । टेम्पल विश्वविद्यालय, जापानका इतिहास प्राध्यापक जेफ किङ्स्टन भन्छन्, ‘मिडियाले जापानी समर्थकहरूको प्रशंसा गरेपछि उनीहरूले यसलाई गर्वको विषयका रूपमा लिन थालेका छन् ।’
विश्वकपमा मात्र सीमित छैन
यो परम्परा विश्वकपमा मात्र सीमित छैन । गत वर्ष चिलीमा आयोजित अन्डर–२० विश्वकपमा पनि जापानी समर्थकहरूले सफाइ गरेका थिए । हालै लन्डनको वेम्ब्ली रंगशालामा इंग्ल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलपछि पनि यही दृश्य देखिएको थियो ।
चिलीमा सफाइ अभियानको नेतृत्व गरेका तोशी योशिजावा भन्छन्, ‘यो हाम्रो परम्परा हो । हामीले जहिले पनि स्थानलाई आफू आएको भन्दा अझ सफा बनाएर छोड्नुपर्छ भन्ने सिकेका छौं ।’
येल विश्वविद्यालयका मानवशास्त्रका प्रोफेसर विलियम केलीका अनुसार, यो परम्परा विशेषगरी फुटबलसँग जोडिएको छ । उनको अनुमान अनुसार, ३० वर्षअघि स्थापना भएको जापानको पेशागत फुटबल लिग (जे–लिग) ले समुदायसँगको सम्बन्धलाई जोड दिँदा यस्तो संस्कार विकास भएको हो ।
‘फुटबल समर्थकहरू क्लब र रंगशालासँग आफूलाई जोडिएको महसुस गर्छन्,’ उनले भने, ‘त्यसैले उनीहरू त्यसको जिम्मेवारी पनि लिन्छन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्