नेभिगेशन
विश्व

सामाजिक सञ्जाल अब सामाजिक रहेन

सामाजिक सञ्जाल प्लेटफर्महरू पहिले साथीभाइबीच कुराकानी गर्ने माध्यम हुन्थे  । अचेल यीमध्ये धेरैजसो द्रूत रूपमा छोटा भिडियोमार्फत मनोरञ्जन दिने केन्द्र बन्दै गइरहेका छन् । मानिसहरूले आफ्ना एपहरूमा बिताउने समय बढाउनु र विज्ञापनबाट हुने आम्दानी वृद्धि गर्नु नै यिनीहरूको व्यावसायिक मोडेल हो । तर के उपभोक्ताहरूमा यसप्रति वितृष्णा सुरु भइसकेको छ?
ओरेलिया आफ्ना लागि कफी तयार पार्छिन्, पेरिसभन्दा धेरै टाढा नरहेको आफ्नो सुन्दर बगैँचामा बस्छिन् र ‘मन फुरुङ्ग बनाउन’ इन्स्टाग्राम खोल्छिन् । सबैभन्दा पहिले देखिन्छः ‘मलाई निकै मन पर्ने एकजना व्यक्ति जसले इन्टेरियर डिजाइनिङ (आन्तरिक सजावट) गर्छन् । उनी अहिले भेनिसमा छन् ।’ उनलाई इन्टेरियर डिजाइनिङमा रुचि छ र उनले भर्खरै १९औँ शताब्दीका अंग्रेजी डिजाइनर विलियम मोरिसले बनाएका चराका दुईवटा चित्र आफ्ना हातहरूमा ट्याटुसमेत खोपेकी छन् । उनी स्क्रिन तल सार्छिन् (स्क्रोल गर्छिन्) । दुईवटा बिरालाका बच्चाहरू झगडा गरिरहेका छन् । ‘मलाई जनावरहरू मन पर्छन्, त्यसैले म जनावरका धेरै सामाग्रीहरू देख्छु । सामाजिक सञ्जालले यसरी नै काम गर्छ । तपाईंले केरामा क्लिक गर्नुभयो भने तिनीहरूले तपाईंलाई केरा नै दिन्छन् ।’
त्यहाँ विज्ञापनहरू पनि छन् । हुन त ती अन्य पोस्टहरू जस्तै देखिन्छन् । जस्तै एउटा रोबोट–भ्याकुम क्लिनर, डाइट प्लान र बेड लिनन (मोरिसबाट प्रेरित डिजाइन भएका ओछ्यानका कपडाहरू) को विज्ञापन तर साथीभाइ कतै देखिँदैनन् । इन्स्टाग्राममा उनका १९८ जना साथीहरू छन् तर उनी भन्छिन्, ‘यो पूर्ण रूपमा बदलिएको छ । म अचेल साथीहरूका पोस्टहरू सायदै देख्छु ।’ उनले त आफैँ पोस्ट गर्न पनि लगभग छाडिसकिन्, भन्छिन्, ‘जे भए पनि अब कसैले मेरो पोस्ट हेर्छ जस्तो मलाई लाग्दैन ।’
इन्स्टाग्राम र विशेष गरी फेसबुकमा अझै पनि सौखिन रूपमा पोस्ट गर्ने सक्रिय प्रयोगकर्ताहरू त छन् तर आफूले चिनेका मानिसहरूसँग कुराकानी गर्नुको सट्टा नचिनेका मानिसहरूले व्यावसायिक रूपमा बनाएका सामग्रीहरू हेर्दै समय बिताउने (स्क्रोल गर्ने) यो परिवर्तन युवा प्रयोगकर्ताहरूमा अझ बढी प्रस्ट देखिन्छ ।
१६ वर्षका किलियन सेफ (भान्से) बन्नका लागि व्यावसायिक तालिम लिइरहेका छन् । उनी टिकटक र युट्युब धेरै चलाउने कुरा बताउँछन् । ‘मलाई तस्बिर वा सन्देशहरू भन्दा भिडियोहरू हेर्न बढी मन पर्छ । म नचिनेका मानिसहरूले बनाएका भिडियोहरू हेर्छु । म आफैँ चाहिँ केही पनि पोस्ट गर्दिनँ । म अलि ध्यानी र अन्तर्मुखी स्वभावको छु । म आफ्नै संसारमा सीमित रहन्छु । म केवल हेर्छु, त्यति नै हो । आफ्ना प्रतिक्रियाहरू आफैँभित्र राख्छु ।’
‘म कन्टेन्ट क्रिएटर (सामग्री निर्माता) हरूले बनाएका भिडियोहरू हेरेर धेरै समय बिताउँछु,’ अर्की १६ वर्षीया लुसी भन्छिन्, ‘मैले चिनेका मानिसहरूका पोस्टहरू भन्दा तिनीहरूका सामग्री बढी चाखलाग्दा हुन्छन् ।’ उनी कहिलेकाहीँ २४ घण्टापछि आफैँ हराउने ‘स्टोरी’ बाहेक अरू केही पोस्ट गर्दिनन् ।
चाहे त्यो टिकटक होस्, स्न्यापच्याट, फेसबुक वा इन्स्टाग्राम, केही वर्ष पहिलेसम्म सामाजिक सञ्जाल जुन व्यक्तिगत कुराकानीको ‘डिजिटल चौतारी’ थियो, त्यसबाट हामी अहिले निकै टाढा आइसकेका छौँ ।
फ्रान्समा, वार्षिक आधिकारिक ‘ब्यारोमिटर दु नुमेरिक २०२६’ ले ४९ प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ‘कहिलेकाहीँ मात्र सक्रिय’ हुने देखाउँछ । बेलायतमा, अप्रिलमा प्रकाशित अफकमको प्रतिवेदनले सक्रिय रूपमा पोस्ट गर्ने प्रयोगकर्ताहरूको संख्या वार्षिक रूपमा ६१ प्रतिशतबाट घटेर ४९ प्रतिशतमा झरेको देखाएको छ । अमेरिकामा, गत वर्षको जुन महिनामा मर्निङ कन्सल्टले गरेको एक सर्वेक्षणमा २८ प्रतिशतले अघिल्लो वर्षको तुलनामा कम पोस्ट गर्ने गरेको बताएका थिए । मनोरञ्जनका लागि दैनिक सामाजिक सञ्जाल प्रयोग गर्ने ५७ प्रतिशतको तुलनामा अहिले दैनिक पोस्ट गर्नेहरू जम्मा ३३ प्रतिशत मात्र छन् । जेन जी (नयाँ पुस्ता) को हकमा यो खाडल अझ ठूलो छ । उनीहरुमध्ये  ७४ प्रतिशत निष्क्रिय वा मूकदर्शक रहँदा १८ प्रतिशत मात्र सक्रिय छन् ।
अनलाइन व्यवहारमा विशेषज्ञता हासिल गरेकी पेरिसकी क्लिनिकल मनोवैज्ञानिक भेनेसा लालो भन्छिन्, ‘प्रयोगकर्ताहरू अचेल बढी सचेत भएका छन् । तपाईंले सामाजिक सञ्जालमा छाड्ने छापहरू सधैँका लागि रहन्छन् र केही मानिसहरू अब सतही हुन सक्ने सामाजिक सञ्जालका सम्बन्धहरूलाई निरन्तरता दिन चाहँदैनन् । कोही–कोही पोस्ट गर्दा आउन सक्ने आलोचनाको जोखिम मोल्न चाहँदैनन् वा सबै व्यावसायिक सामग्रीहरूको अगाडि आफ्नो पोस्ट फितलो देखिने हो कि भन्ने भावनाका कारण पनि पोस्ट गर्न हिचकिचाउँछन् ।’
लालो के पनि थप्छिन् भने, ‘मानिसहरूले पोस्ट गर्न पूर्ण रूपमा छाडेका भने होइनन्, बरु उनीहरूले फरक कुराहरू र फरक ठाउँहरूमा पोस्ट गरिरहेका छन् । उदाहरणका लागि, टिकटकमा युवाहरूले धेरै सामग्रीहरू प्रकाशित गर्छन् तर ती धेरैजसो रमाइला प्रहसन (प्यारोडी) र उपलब्ध सामग्रीहरूको रिमिक्स हुन्छन् । यसको उद्देश्य मानिसहरूलाई हँसाउनु हो, आफ्नो जीवनको बारेमा सुनाउनु होइन ।’
उनका अनुसार त्यस्ता व्यक्तिगत कुराकानीहरू अझै पनि हुन्छन्, तर ती इन्स्टाग्राम र फेसबुकजस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूबाट ह्वाट्सएप जस्ता म्यासेजिङ साइटहरूमा सरेका छन् । इन्स्टाग्राम र स्न्यापच्याटमा निजी समूहहरू (प्राइभेट ग्रुप) तर्फ आकर्षित हुने क्रम पनि बढेको छ । ‘यी धेरै व्यक्तिगत र सुरक्षित ठाउँहरू हुन् जहाँ तपाईंमाथि विज्ञापनहरू र इन्फ्लुएन्सरहरूले बनाएका सामग्रीहरूको वर्षा हुँदैन,’ उनी भन्छिन् ।
गिकआउट न्यूजलेटरका लेखक तथा सामाजिक सञ्जाल सल्लाहकार म्याट नभारा भन्छन्, ‘हामीले देखिरहेको कुरा के हो भने सामाजिक सञ्जाल दुई भागमा बाँडिँदै छ । इन्स्टाग्राम र टिकटक जस्ता ठूला प्लेटफर्महरू मनोरञ्जन र नयाँ कुराहरू पत्ता लगाउने माध्यम बनिरहेका छन् । ह्वाट्सएप चाहिँ मानिसहरू वास्तवमै सामाजिक हुन जाने ठाउँ बनिरहेको छ । तर मुख्य चुनौती के हो भने, कम्पनीहरूका लागि त्यस्ता व्यक्तिगत ठाउँहरूबाट पैसा कमाउन धेरै गाह्रो हुन्छ ।’
टिकटकले नै पहिलो पटक यस्तो एल्गोरिदमको सुरुवात गरेको थियो जसले तपाईंले स्क्रिन सार्न सुरु गरेकै क्षणदेखि तपाईंलाई के मन पर्छ भन्ने कुरा पत्ता लगाउँछ र त्यसपछि तपाईंलाई सम्भव भएसम्म धेरै समयसम्म एपमै अल्झाइराख्नका लागि सोही अनुसारका सामग्रीहरूले तपाईंको फिड भरिदिन्छ ।
अहिले म्याट नभारा भन्छन्, ‘मेटाले फेसबुक र इन्स्टाग्राममा नचिनिएका वा नजोडिएका सामग्रीहरू सिफारिस गर्नका लागि एउटा एआई (कृत्रिम बुद्धिमत्ता) प्रणाली विकास गरेको छ । यसको सीधा अर्थ के हो भने, उनीहरूले तपाईंलाई बढ्दो रूपमा त्यस्ता मानिसहरूका सामग्रीहरू देखाइरहेका छन् जसलाई तपाईंले फलो नै गर्नुभएको छैन, किनकि मेसिनलाई लाग्छ कि तपाईंलाई त्यो मन पर्नेछ । यसले यो व्यावसायिक निर्माता हो, कुनै ब्रान्ड हो वा साथी हो भनेर पक्षपात गर्दैन । यदि उनीहरूले तपाईं कुनै साथीसँग धेरै अन्तरक्रिया गरिरहनुभएको देख्छन् भने, तपाईंले तिनका सामग्री बढी देख्न सक्नुहुन्छ । तर एक किसिमले हेर्दा, तपाईं को कसको साथी हुनुहुन्छ वा कसलाई फलो गर्नुहुन्छ भन्ने कुरा अब महŒवहीन जस्तै बनेको छ ।’
यसको अर्थ के हो भने साना व्यवसायहरू, जसले लामो समयदेखि निःशुल्क प्रचारका लागि सामाजिक सञ्जाल प्रयोग गर्दै आएका थिए । उनीहरूले अब आफ्नो स्तर सुधार्नुपर्नेछ ।
‘केही साना व्यवसायहरूका लागि यो एउटा ठूलो अवसर पनि हो,’ म्याट नभारा भन्छन्, ‘एउटा बेकरी, फूल पसल, ब्युटी पार्लर वा स्थानीय क्याफेले अझै पनि बजारमा प्रभाव जमाउन सक्छन् यदि उनीहरूसँग राम्रो कथा, आकर्षक दृश्यहरू वा पर्दा पछाडिका त्यस्ता सामग्रीहरू छन् जुन मानिसहरू हेर्न चाहन्छन् । तर यसले कामको स्वरूप बदलिएको कुरालाई पनि बुझाउँछ । साना व्यवसायका मालिकहरूलाई आफ्नो वास्तविक व्यवसाय चलाउनुका साथै भिडियो प्रस्तोता, सम्पादक, ट्रेन्ड पहिचान गर्ने व्यक्ति र सामग्री निर्माता (कन्टेन्ट क्रिएटर) बन्न बाध्य पारिँदै छ ।’
सामाजिक सञ्जाल अझै पनि टेलिभिजन जस्तै एउटा निष्क्रिय माध्यममा परिणत हुँदैछ, यद्यपि यो यस्तो टेलिभिजन हो जुन तपाईंले च्यानल बदल्दा (ज्याप गर्दा) आफैँ अनुकूल हुन्छ । वा भनौँ, यसले तपाईंलाई यति राम्ररी चिन्दछ कि यसले रिमोट कन्ट्रोल आफ्नो हातमा लिएको कुराले तपाईंलाई खासै फरक पार्दैन । तपाईंले प्लेटफर्मलाई आफ्नो बारेमा जानकारी दिनुहुन्छ, जसलाई यसले व्यावसायिक लाभका लागि प्रयोग गर्छ र बदलामा, यसले तपाईंलाई खुसी पार्नका लागि विशेष रूपमा तयार पारिएका सामग्रीहरू निःशुल्क उपलब्ध गराउँछ ।
वास्तविक सामाजिक सञ्जालबाट मनोरञ्जन प्लेटफर्ममा भएको यो रूपान्तरणले राम्रो प्रतिफल दिइरहेको देखिन्छ । ‘सामाजिक प्लेटफर्महरूबाट अझै पनि मुख्य रूपमा विज्ञापन राजस्वमार्फत नै आम्दानी भइरहेको छ । यो अझै पनि मूल व्यावसायिक मोडेल हो । र, विज्ञापनको कमाइ लगातार बढिरहेको छ,’ म्याट नभारा भन्छन् । विश्वव्यापी सामाजिक सञ्जाल विज्ञापन राजस्व २०२६ मा ३१७ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ । यो गत वर्ष २७७ अर्ब डलर थियो । यसमा मेटाले सबैभन्दा ठूलो भाग पाउने गर्छ । यसको विज्ञापन बिक्री सन् २०२५ मा नै वार्षिक रूपमा २२ प्रतिशतले बढिसकेको थियो । यस वर्ष विज्ञापन बिक्री २४३ अर्ब डलर पुग्ने अनुमान गरिएको छ, जुन पहिलो पटक गुगललाई पछि पार्न पर्याप्त छ ।
एआईद्वारा सञ्चालित डिजिटल विज्ञापनको लक्ष्यीकरण (टार्गेटिङ) अझ बढी प्रभावकारी र सटीक बन्दै गइरहेको छ । ‘सामाजिक प्लेटफर्महरूले कम्पनीहरूलाई तपाईंले स्क्रोल गरिरहेको सामग्रीको बीचमा विज्ञापनहरू राख्न अनुमति दिन्छन् । प्रत्येक तेस्रो वा चौथो स्क्रोल एउटा विज्ञापन हुन्छ । र तिनीहरू विश्वकै उत्कृष्ट विज्ञापन लक्ष्यीकरण संयन्त्र हुन् । तपाईंले के हेर्नुभयो, के मन पराउनुभयो, केसँग अन्तक्रिया गर्नुभयो, तपाईंले के फलो गर्ने निर्णय गर्नुभयो र एपका निश्चित क्षेत्रहरूमा कति समय बिताउनुभयो जस्ता कुराहरूका कारण उनीहरूलाई तपाईंको रुचिको बारेमा धेरै जानकारी हुन्छ,’ नभारा भन्छन् ।
‘त्यसैले विज्ञापनदाताहरू आउँछन् र भन्छन्, म बेलायतका त्यस्ता मानिसहरूको फिडमा विज्ञापन राख्न चाहन्छु जो ३० देखि ६० वर्ष उमेरका छन् र जसलाई घरका ससाना मर्मतसम्भार वा आफैँ सामान बनाउने काम (डु इट् योरसेल्फ) मा रुचि छ’ र सामाजिक प्लेटफर्महरूसँग त्यो जानकारी हुने भएकाले उनीहरूले सोही अनुसार विज्ञापनहरू राखिदिन्छन् ।’
यसको मूल्य विज्ञापनदाताले कति पटक विज्ञापन देखाइएको (इम्प्रेसन्स वा क्लिक) चाहन्छ र उसका सर्तहरू कत्तिको कडा छन् भन्ने कुरामा भर पर्छ । आइसक्रिम किन्ने मानिसहरूको सामाजिक सञ्जाल फिडमा भन्दा घोडा किन्ने मानिसहरूको फिडमा विज्ञापन राख्न बढी खर्च लाग्छ ।
जसले पुराना दिनहरूलाई सम्झन चाहने मानिसहरूले जब सामाजिक सञ्जालले आफूले चिनेका मानिसहरूसँग आफ्नो जीवनको केही अंश, एउटा ठट्टा वा दृष्टिकोण बाँड्न अनुमति दिन्थ्यो, उनीहरूका लागि प्लेटफर्महरू भित्रै केही सुविधाहरू (टूल्स) उपलब्ध भएको म्याट नभारा बताउँछन् । यसले मुख्य रूपमा साथीभाइ र परिवारका सामग्रीहरू मात्र हेर्ने विकल्प दिन्छ । उनी भन्छन्, ‘मानिसहरूले त्यो सुविधा दिने फिडमा स्विच गर्न त सक्छन्, तर धेरैजसो मानिसहरूले त्यसो गर्दैनन् ।’ बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्