फुटबलको सबैभन्दा ठूलो महोत्सव मानिने फिफा विश्वकप २०२६ सुरु हुन लाग्दा यसको स्वरूप, व्यवस्थापन र व्यावसायीकरणबारे व्यापक बहस भइरहेको छ । ४८ टोली सहभागी हुने पहिलो विश्वकप भएकाले प्रतियोगिताको गुणस्तर घट्ने, टिकट महँगा हुने, मौसम प्रतिकूल रहने तथा अत्यधिक व्यावसायीकरणले खेलको आत्मा कमजोर बनाउने जस्ता आलोचना उठिरहेका छन् । तर, यी प्रत्येक आलोचनाका आफ्नै प्रतिवाद पनि छन् ।
यसपटक विश्वकपमा ४८ राष्ट्र सहभागी छन् । आलोचकहरूका अनुसार यसले प्रतियोगिताको स्तर कमजोर बनाउने, समूह चरणको प्रतिस्पर्धात्मकता घटाउने तथा खेलको संख्या अनावश्यक रूपमा बढाउनेछ । तर समर्थकहरू भन्छन्, विश्वकप केवल उत्कृष्ट राष्ट्रहरूको मात्र प्रतियोगिता होइन; यसले विश्वभरका फुटबल राष्ट्रलाई अवसर दिनुपर्छ । नयाँ राष्ट्रहरूको सहभागिताले फुटबलको पहुँच विस्तार गर्ने र नयाँ प्रतिभा उजागर गर्ने सम्भावना पनि उत्तिकै छ ।
महँगा टिकट र बजारको खेल
टिकट मूल्य निर्धारणमा ‘डाइनामिक प्राइसिङ’ प्रयोग गरिएकाले धेरै समर्थक प्रतियोगिता हेर्नबाट वञ्चित भएका छन् । यद्यपि बजार प्रणालीले कहिलेकाहीँ उल्टो असर पनि पार्न सक्छ । माग अपेक्षाभन्दा कम भएमा पुनर्बिक्री बजारमा टिकटको मूल्य उल्लेखनीय रूपमा घट्न सक्छ । त्यसैले अत्यधिक मूल्यवृद्धिको रणनीति आयोजक र पुनर्बिक्रेता दुवैका लागि जोखिमपूर्ण बन्न सक्छ ।
यात्रा, भिसा र राजनीतिक चुनौती
विश्वकप तीन देशमा आयोजना भएकाले यात्राको लागत उच्च छ । केही राष्ट्रका समर्थकहरूले भिसा तथा प्रवेशसम्बन्धी जटिलतासमेत भोग्नुपरेको छ । विशेषगरी अन्तर्राष्ट्रिय राजनीतिक तनावका कारण कतिपय समर्थकहरू प्रत्यक्ष रूपमा खेल हेर्न जान सक्ने अवस्थामा छैनन् । तर आयोजक देशहरूमा रहेका आप्रवासी समुदायहरूको ठूलो उपस्थितिले अधिकांश टोलीलाई घरेलु वातावरणजस्तै समर्थन उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ ।
गर्मी र आद्र्रताको चिन्ता
अमेरिका, मेक्सिको र क्यानडाका केही सहरहरूमा गर्मी तथा आद्र्रता उच्च रहने भएकाले खेलको गति प्रभावित हुने तर्क गरिएको छ । तर विश्वकप परम्परागत रूपमा जुन–जुलाईमै आयोजना हुँदै आएको छ । खेलाडीहरूले त्यस्ता परिस्थितिमा खेल्नुपर्ने अनुभव पहिलेदेखि नै राखेका छन् । शीतलन विश्राम (कुलिङ ब्रेक) जस्ता उपायले स्वास्थ्य जोखिम कम गर्न मद्दत पु¥याउने विश्वास गरिएको छ ।
मैदानको गुणस्तर
धेरै खेलस्थलहरूमा कृत्रिम सतहमाथि प्राकृतिक घाँस बिछ्याइएको छ । यसले खेलको गुणस्तरमा असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ । तर फिफाले मैदान व्यवस्थापनमा वर्षौंदेखि अनुसन्धान र तयारी गरेको दाबी गरेको छ । त्यसैले वास्तविक मूल्यांकन प्रतियोगिता सुरु भएपछि मात्र सम्भव हुनेछ ।
व्यावसायीकरणको बढ्दो प्रभाव
विश्वकप अहिले खेलकुद मात्र नभएर बहु–अर्ब डलरको मनोरञ्जन उद्योग बनेको छ । प्रायोजक, विज्ञापन, आतिथ्य सेवा र विशेष कार्यक्रमहरूको प्रभाव दिनप्रतिदिन बढ्दो छ । फाइनलमा ‘हाफटाइम शो’ जस्ता नयाँ प्रयोगहरू पनि यही प्रवृत्तिका हिस्सा हुन् । आलोचकहरूले यसलाई खेलभन्दा व्यापारलाई प्राथमिकता दिएको उदाहरण मान्छन् ।
विश्वकप २०२६ का बारेमा उठेका अधिकांश आलोचनाहरू आधारहीन भने होइनन् । प्रतियोगिताको विस्तार, टिकट मूल्य, राजनीतिक परिस्थिति र व्यावसायीकरण वास्तविक चुनौतीहरू हुन् । तर अर्कोतर्फ, यसले थप राष्ट्रलाई अवसर दिने, विश्वव्यापी दर्शकलाई जोड्ने र फुटबलको लोकप्रियता अझ विस्तार गर्ने सम्भावना पनि बोकेको छ ।
अन्ततः विश्वकपको मूल्यांकन यसको व्यवस्थापनभन्दा बढी मैदानभित्रको खेलले निर्धारण गर्नेछ । यदि उत्कृष्ट खेल, नाटकीय क्षण र अविस्मरणीय कथा जन्मिए भने अहिलेका धेरै विवादहरू समयसँगै ओझेलमा पर्न सक्छन् । विश्वकपको वास्तविक शक्ति पनि त्यही हो— विश्वभरका मानिसलाई केही समयका लागि एउटै भावनामा बाँध्ने क्षमता ।
रातो कार्डको वर्षा हुने सम्भावना
विश्वकपको उद्घाटन खेलमा तीनवटा रातो कार्ड देखाइएपछि एउटा नयाँ कीर्तिमान कायम भएको छ । बिहीबार मेक्सिकोले दक्षिण अफ्रिकामाथि जित हात पार्ने क्रममा विश्वकपको उद्घाटन खेलमा सर्वाधिक रातो कार्ड पाउने पुरानो कीर्तिमानलाई तोडिदिएको छ, जसको अपेक्षा धेरैले गरेका थिएनन् ।
सन् २०२६ को विश्वकपको यस पहिलो खेल हेर्न एस्टाडियो एज्टेका रंगशालामा ८० हजारभन्दा बढी दर्शक उपस्थित थिए । ती दर्शकमाझ खेलका क्रममा तीनजना खेलाडीले मैदान छाड्नुप¥यो । यसअघिको कीर्तिमान सन् १९९० मा बनेको थियो, जहाँ उद्घाटन खेलमा क्यामरुनका दुई खेलाडीले रातो कार्ड पाएका थिए । त्यतिबेला अनपेक्षित रूपमा क्यामरुनले तत्कालीन डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० ले पराजित गरेको थियो ।
यसपटक दक्षिण अफ्रिकाका याया सिथोलेले पहिलो हाफमै रातो कार्ड पाएका थिए । त्यसपछि ब्राजिलियन रेफ्री विल्टन साम्पायोले भीएआर मोनिटरमा दक्षिण अफ्रिकाकै थेम्बा ज्वानेले मेक्सिकोका रोबर्टो अल्भाराडोको अनुहारमा प्रहार गरेको देखेपछि दोस्रो हाफमा उनलाई पनि मैदान बाहिर पठाए ।
जुलियन क्विनोनेस र भल्भ्स क्लबबाट मैदानमा फर्किएका राउल जिमेनेजको गोलको मद्दतले मेक्सिकोले जित त सुरक्षित ग¥यो, तर खेलको अन्तिम क्षणमा डिफेन्डर सेसर मोन्टेसले स्पष्ट गोल हुने अवसरलाई रोकेपछि रातो कार्ड पाए । यसरी उद्घाटन दिनको अनुशासनसम्बन्धी यो नाटकीय घटनाले पूर्णता पायो ।
गत २०२२ को पूरा विश्वकप अवधिभर जम्मा चारवटा रातो कार्ड दिइएको सन्दर्भमा यो संख्या निकै ठूलो हो । यसको अर्थ सन् २०२६ को विश्वकपमा एउटै खेलबाट अघिल्लो विश्वकपको कुल संख्याभन्दा मात्र एक कार्ड कम भइसकेको छ ।
उद्घाटन खेल हुनुका साथै विश्वकपको इतिहासमा तीन वा सोभन्दा बढी खेलाडीले रातो कार्ड पाएको यो सातौं खेल हो । यस सूचीमा दक्षिण अफ्रिका अचम्मको तरिकाले दुईपटक सामेल भइसकेको छ ।
त्यस्तै, एस्टाडियो एज्टेकामा उपस्थित दर्शकहरूले सन् २००६ को विश्वकपको चर्चित ‘ब्याटल अफ न्युरेम्बर्ग’ पछिको यस्तो पहिलो खेल देख्न पाए, जहाँ एउटै टोलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए । उक्त ऐतिहासिक खेलमा नेदरल्यान्ड्स र पोर्चुगल दुवैका दुई–दुई खेलाडी मैदानबाट बाहिरिएका थिए ।
मेक्सिको सिटीको पारिलो घाममा रेफ्री साम्पायोले देखाएका रातो कार्डहरू मात्र चर्चाका विषय रहेनन्, समूह ’ए’ को यस खेलबाट अन्य थुप्रै चाखलाग्दा तथ्यांकहरू पनि बाहिर आएका छन् ।
जिमेनेजको लामो समयपछिको विश्वकप गोलदेखि लिएर धेरैले उत्सुकतापूर्वक पर्खिरहेका युवा खेलाडी गिल्बर्टो मोराको वैकल्पिक खेलाडीका रूपमा भएको प्रवेशसम्मले गर्दा यो खेल सधैं सम्झनायोग्य रहनेछ ।
राउल जिमेनेज (३५ वर्ष ३७ दिन) सन् २००६ मा मेक्सिकोविरुद्ध इरानका याह्या गोल्मोहम्मदी (३५ वर्ष ८४ दिन) पछि विश्वकपको आफ्नो पहिलो खेलमै गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । उनी मेक्सिकोका लागि विश्वकपमा गोल गर्ने चौथो सबैभन्दा जेठा खेलाडी पनि हुन् ।
त्यस्तै, गिल्बर्टो मोरा (१७ वर्ष २४० दिन) विश्वकपमा मेक्सिकोका तर्फबाट खेल्ने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी र प्रतियोगिताको इतिहासकै छैटौं सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।
मेक्सिकोले सन् २०१४ मा क्रोएसियालाई ३–१ ले हराएयता विश्वकपमा एकभन्दा बढी गोलको अन्तरले जितेको यो पहिलो खेल हो ।
जुलियन क्विनोनेसले मेक्सिकोका तर्फबाट विश्वकप इतिहासकै तेस्रो सबैभन्दा चाँडो गोल गरे । सन् २००६ मा अर्जेन्टिना विरुद्ध छैटौं मिनेटमा राफेल मार्केजले गरेको गोलपछि यो नै मेक्सिकोका लागि सबैभन्दा चाँडो भएको गोल हो ।
मेक्सिकोको यस जितसँगै विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्रहरूको कीर्तिमान १७ जित, ६ बराबरी र १ हारको पुगेको छ ।
मेक्सिकोले आफ्ना पछिल्ला चारवटा विश्वकपका खेलहरूमध्ये गोल नखाई खेल टुंग्याएको (क्लिन सिट) यो पाँचौं पटक हो ।