प्राकृतिक रूपमा सुन्दर नेपाल आज नेपाली युवायुवतीहरूको रोजाइमा नपर्नु नेपाल राजनीतिक अस्थिरता नै प्रमुख कारण हो । नेपालको राजनीतिक इतिहासमा टुटफुट, गुटबन्दी र बेमेलको शृंखला कुनै नौलो विषय होइन । राणाशासनको अन्त्यदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म आइपुग्दा नेपाली जनता व्यवस्था परिवर्तनका लागि कैयौँ ठूला क्रान्ति र आन्दोलनहरूमा सामेल भए, ठूलो मूल्य चुकाए तर सत्तामा जुन व्यवस्था भए पनि उही पुरानो नारा दोहोरिरहने । धेरै संविधान बदलिए, सरकार बदलिए तापनि राजनीतिक दलहरूको प्रवृत्ति, आन्तरिक कलह र सत्तास्वार्थका कारण उत्पन्न हुने विभाजनको रोग भने कहिल्यै निको हुन सकेन । राजनीतिक दलको फुट स्वयं नेता (व्यक्ति), दल र समग्र राष्ट्रका लागि केवल अहितकरमात्र होइन, प्रत्युत्पादक सिद्ध भएको छ । आजको आवश्यकता गुट र फुटको फोहोरी खेल समाप्त गरी एकताको स्पष्ट विचार र राष्ट्र निर्माणको साझा खाकासहित एकले अर्कोसँग हातेमालो गर्दै अगाडि बढ्दै सबै दलहरू रूपान्तरित हुनु नै हो ।
१. दलभित्रको फुटः व्यक्ति, दल र राष्ट्रलाई घात
कुनै पनि राजनीतिक दलमा वैचारिक मतभिन्नता हुनु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भए तापनि जब यो मतभिन्नता व्यक्तिगत अहङ्कार, सत्ताको महŒवाकांक्षा र गुटगत स्वार्थमा परिणत हुन्छ, तब दलभित्र विभाजनको बीजारोपण हुन्छ ।
व्यक्तिको ह्रासः दल फुटाएर नयाँ शक्तिको उदय गराउने दाबी गर्ने नेताहरू कालान्तरमा आफैँ कमजोर बन्दै गएका छन् । इतिहास साक्षी छ, मातृ पार्टी छोडेर जाँदा शीर्ष नेताहरूको राजनीतिक उचाइ र साख सधैँ ओरालो लागेको दरिलो दृष्टान्त नेपालको राजनीतिमा विद्यमान छ । नेपालको सबैभन्दा पुरानो र ठूलो दल आज निकै चाहुरिएको अवस्थामा छ । त्यस्तै गरी राप्रपामा भर्खरै विष्फोटन आएको छ । एमालेका नेताहरू एकले अर्कालाई गाली गर्दै आफू कमजोर भएको महसुस गर्न सकेका छैनन् । माओवादी आन्दोलनका नायकहरू प्रचण्ड र डाक्टर बाबुराम भट्टराई आफैं माओवादी रहेनन् । मधेसवादी दलहरूको अवस्था त्यस्तो देखिएको छ । वर्तमानमा उदाएको रास्वपाका प्रधानमन्त्री र रविबीचमा कति बाहिर देखिएको मेल छ त्यो पनि भुसभित्रको आगोका रूपमा देखिएको अनुभूति गर्न सकिन्छ भन्ने श्रमसंस्कृति पार्टीमा त दिनदिनै सदस्यहरू त्याग गरेको समाचार आइरहेका छन् ।
दलको क्षतिः राजनीतिक दलको फुटले दलको साङ्गठनिक शक्तिलाई छिन्नभिन्न पार्छ । कार्यकर्तामा निराशा छाउँछ र निर्वाचनमा दलले ठूलो मूल्य चुकाउनुपर्छ । हिजो दुई तिहाइको सरकार हाँकेको ओलीको वर्तमान अवस्थाले राजनीतिमा धेरै प्रश्नहरू उठाएको छ । पार्टी फुट्ने र जुट्ने अस्थिर चरित्रले दलहरूको जनविश्वास गुम्दै जान्छ र उनीहरू समाजमा केही गर्न सक्दैनन् ।
राष्ट्रको अहितः राजनीतिक दलहरूको फुटको सबैभन्दा ठूलो मूल्य राष्ट्रले चुकाउनुपर्छ । राष्ट्रिय योजनाहरू अगाडि बढ्न सक्दैनन् । जब योजनाहरू अगाडि बढ्दैनन् बेरोजगारको संख्या बढ्न थाल्छ । दलहरू सधैँ आन्तरिक किचलो र सरकार जोगाउने वा ढलाउने खेलमा लाग्दा नीतिगत अस्थिरता पैदा हुन्छ । जसका कारण आर्थिक समृद्धि, वैदेशिक लगानी र राष्ट्रिय गौरवका आयोजनाहरू ठप्प हुन पुग्छन् र नेपालीको सपनाको पनि अन्त्य हुन्छ ।
२. नेपाली राजनीतिका प्रमुख दलहरूः गुटबन्दी र फुटको ऐना
नेपालका प्रमुख राजनीतिक दलहरूको विगत र वर्तमानलाई हेर्ने हो भने गुटबन्दी र विभाजनको एउटा कुरूप तर यथार्थपरक तस्बिर स्पष्ट देखिन्छ ।
नेपाली कांग्रेसः आन्तरिक गुटबन्दीको विरासत
नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको इतिहास नै आन्तरिक द्वन्द्व र गुटबन्दीले भरिएको छ । वि.सं. २०१५ सालको दुई–तिहाइको सरकार ढल्नुमा कतिपय आन्तरिक असमझदारी पनि जिम्मेवार थिए । प्रजातन्त्रको पुनस्र्थापनापछि २०४८ मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हार्नु पनि अन्तरघात नै थियो । फेरि २०५६ सालको स्पष्ट बहुमतको सरकार ढल्नु र अन्ततः वि.सं. २०५९ मा पार्टी नै विभाजित भई ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ बन्नु यसैको पराकाष्ठा थियो । त्यस्तै गरी २०८२ को विशेष महाधिवेशनका कारण नेपाली कांग्रेस विशेष रूपमा साँघुरिएको छ । यो हुनुको कारण बीपीको नाम भजाउने तर बीपीका सिद्धान्त त्याग्नु नै हो । आज पनि कांग्रेसभित्र विचारको बहसभन्दा भागबन्डा र गुटगत दाउपेच हावी छ, जसले गर्दा पार्टीले आफ्नो ऐतिहासिक साख र ऊर्जा गुमाउँदै गएको देखिन्छ । १५ औं महाधिवेशनमा सबै नेतृत्व एक ठाउँमा बसेर हिजोको दिनमा दलको निर्णायक स्थानमा पुगेका सबै नेतृत्व एक पटक नेपाली कांग्रेसलाई पुनर्जीवित गर्नका लागि सल्लाहकारका रूपमा रही सबै स्थानीय तहदेखि संघीय कार्यसमितिमा नयाँ अनुहारलाई अवसर दिने हो भने कांग्रेसमा परिवर्तन हुनेछ । अहिलेको अधिवेशनमा नयाँ वा पुराना केही नभनी समग्रमा नयाँ नेतृत्व नै आजको आवश्यकता हुनेछ । अधिवेशनको समयमा खुला एकल प्रतिस्पर्धामा आउनुपर्छ तर झुण्ड खडा गरेको नेतृत्वले केही गर्न सक्दैन ।
नेकपा (एमाले): विभाजनको पीडादायी शृंखला
कम्युनिस्ट पार्टीहरू सिद्धान्तका कुरा धेरै गर्छन् । नेपालमा बसेर भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्ने मुखहरूको पहिलो आफ्नो र सन्तानको रोजाइ अमेरिका बनिरहेको हुन्छ । फेरि फुटको शिकार सबैभन्दा बढी उनीहरूमा नै हुन्छ । नेकपा (एमाले) को इतिहासमा वि.सं. २०५४ सालको महाकाली सन्धिको विवादलाई लिएर भएको विभाजन (माले र एमाले) नेपाली राजनीतिका लागि एउटा ठूलो धक्का थियो । हालैका वर्षहरूमा, वि.सं. २०७४ को चुनावमा झन्डै दुई–तिहाइ बहुमत प्राप्त गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको फैसला र शीर्ष नेताहरूको अहङ्कारका कारण सग्लो रहन सकेन। एमाले पुनः विभाजित भयो र एकीकृत समाजवादीको जन्म भयो । यो फुटले कम्युनिस्ट आन्दोलनलाई मात्र होइन, देशको राजनीतिक स्थिरतालाई नै धराशायी बनाएको तितो सत्य सबैले महसुस गरेको विषय हो ।
नेकपा (माओवादी केन्द्र): निरन्तर संकुचनको बाटो
दश वर्षे सशस्त्र विद्रोहबाट आएको नेकपा (माओवादी) शान्ति प्रक्रियामा आउँदा देशकै सबैभन्दा ठूलो शक्ति थियो । तर, खरीपाटी र पालुङटार जस्ता क्रान्तिकारी बहसका नाममा पार्टीभित्र सुरु भएको गुटबन्दीले अन्ततः मोहन वैद्य, बाबुराम भट्टराई, विप्लवलगायतका नेताहरूलाई अलग ग¥यो । फुटको यही शृंखलाका कारण हिजोको विशाल माओवादी आज सानो शक्तिमा खुम्चिन पुगेको छ । जनयुद्धका एजेन्डाहरू स्थापित भए पनि पार्टी कमजोर हुँदा देशले राजनीतिक दिशा पहिल्याउन सकिरहेको छैन र हिजोको माओवादी आज छैन ।
मधेसवादी दलहरूः सत्ता र स्वार्थका लागि जुट र फुट
मधेस आन्दोलनको रापतापबाट उदाएका मधेसकेन्द्रित दलहरूको इतिहास त झन् फुटको पर्याय नै बनेको छ । उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरूले कहिले पार्टी जुटाउने त कहिले फुटाउने खेल निरन्तर जारी राखे र सत्ताको वरिपरि घुमिरहे । क्षेत्रीय भावना र अधिकारको मुद्दा उठाएर सत्तामा पुग्ने र मन्त्री बन्ने होडबाजीमा दलहरू जुट्ने र फुट्ने गर्दा मधेसका वास्तविक समस्याहरू (जस्तै शिक्षा, स्वास्थ्य र गरिबी) ओझेलमा परेका छन् र आज पनि दाइजो प्रथाले जरा गाडिरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ः कुर्सीका लागि बारम्बार विभाजन
पूर्वपञ्चहरूको बाहुल्यता रहेको राप्रपा त स्थापनाकालदेखि नै ‘सूर्यबहादुर थापा गुट’ र ‘लोकेन्द्रबहादुर चन्द गुट’ को चेपुवामा प¥यो । सत्ताको स्वाद पाउनका लागि यो दल जति पटक फुट्यो, सायद नेपालको इतिहासमा अन्य कुनै दल फुटेको छैन । पछिल्लो समय केही युवा नेतृत्व आए पनि आन्तरिक कलह र राजावादी तथा लोकतन्त्रवादी धारको बेमेलले राप्रपा अझै पनि एउटा बलियो र भरपर्दो वैकल्पिक शक्ति बन्न सकिरहेको छैन र भर्खरै विधिवत रूपमा फुटको संघारमा पुगेको देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): नयाँ शक्तिमा पुरानै प्रवृत्तिको छाया
परम्परागत दलहरूको यही बेमेल, भ्रष्टाचार र अक्षमताको विकल्पका रूपमा नेपाली जनताले ‘रास्वपा’ जस्ता नयाँ शक्तिलाई संसद्मा बलियो उपस्थितिसहित पठाए । तर, नयाँ भनिएको दलभित्र पनि वैचारिक स्पष्टताको अभाव, नीतिगत अन्योल र नेतृत्वको कार्यशैलीलाई लिएर आन्तरिक असन्तुष्टि र कारबाहीका शृंखलाहरू सुरु भइसकेका छन् । हिजोको असन्तुष्टिको बदलामा सिर्जित दल सरकार र संसद् सञ्चालनमा फितलो देखिएको छ । पुराना दलको विकृति सुधार्ने नारा बोकेको दल आफैँ आन्तरिक लोकतन्त्र र व्यवस्थापनको कसीमा कमजोर देखिनु राष्ट्रका लागि चिन्ताको विषय हो भने हिजोकाको सम्पत्ति विवरण र वर्तमान सरकारमा सामेल प्रधानमन्त्री र मन्त्रीहरूको सम्पति विवरणले भने प्रश्न उठाइरहेका छन् । यति ठूलो र झन्डै दुई तिहाइको नजिक पुगेको सरकार भुइँमान्छेसम्म पुग्न सकेको छैन । त्यही संविधानले निर्माण गरेको सरकारले नेपालको संविधान भाग ३ धारा ३१ को बेवास्ता गरेको छ । संविधान र सरकारलाई हेर्दा, विद्यालयका बालबालिका सहजकर्ता, विद्यालय सहयोगीको तलब वृद्धि नगर्नुले सरकार छ या छैन भनी प्रश्न खडा भएको छ ।
३. निकासः विचार र राष्ट्र निर्माणको साझा खाका
विगतको यो सुन्दर तर दुःखद राजनीतिक तस्बिरले के पुष्टि गर्छ भने, नेताहरूको अहङ्कार र फुटको राजनीतिले मुलुकलाई थप ओरालो यात्रातर्फ मात्र धकेल्नेछ । अब सबै राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नैपर्छ । सबैभन्दा ठूलो गल्ती नेपाललाई स्विजरल्याण्ड बनाउँछु भन्ने भाषा नै गलत थियो । जबसम्म नेपाल खाद्यान्नलगायत अन्य उत्पादनमा आत्मनिर्भर बन्न सक्दैन तबसम्म यस्तै राजनीतिक अस्थिरता नेपालमा रहिरहनेछ । अब सबैले बुझ्नुपर्छ ‘राजनीतिक क्रान्तिको युग समाप्त भइसकेको छ । अबको क्रान्ति केवल आर्थिक समृद्धि, सुशासन र राष्ट्र निर्माणको हुनुपर्छ ।’ जसले नेपाली युवालाई शिक्षा, रोजगारी र मानवताले भरिएको, काम, क्रोध, मोह, लोभ, ईष्र्या र अहंकारबाट मुक्त नेतृत्वले मात्र सबैको कल्याण र राष्ट्रको समृद्धि ल्याउन सक्छ । दल–दलबीचको द्वन्द्वबाट बाहिर निस्की समग्र नेपाल र नेपालीका लागि राजनीतिक दलहरू एकै ठाउँमा उभिएर बहस गर्न थाल्नुपर्छ जसले नेपाललाई सुन्दर बनाउन सकोस् । कोही कसैको दम्भले उसको अस्तित्व धरासायी हुनेछ भने एकताले सुन्दर बनाउनेछ । सत्ताधारीले बुझ्नैपर्छ सत्ता चिरस्थायी छैन तर चलायमान हुन्छ ।
अब सबैले बुझ्नुपर्छ— ‘राजनीतिक क्रान्तिको युग समाप्त भइसकेको छ । अबको क्रान्ति केवल आर्थिक समृद्धि, सुशासन र राष्ट्र निर्माणको हुनुपर्छ ।’ जसले नेपाली युवालाई गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी र श्रम संस्कृतिको सम्मान सिकाओस् । काम, क्रोध, लोभ, मोह, ईष्र्या र अहङ्कारजस्ता मानवीय दुर्गुणहरूबाट मुक्त भएको त्यागी नेतृत्वले मात्र सबैको कल्याण र राष्ट्रको वास्तविक समृद्धि ल्याउन सक्नेछ । कानुन सबैका लागि समान भन्दै गर्दा त्यो बन्धन आफ्ना लागि पनि हो भन्ने बुझ्नुपर्छ ।
दल–दलबीचको सङ्कुचित द्वन्द्वबाट बाहिर निस्केर समग्र नेपाल र नेपालीको हितका लागि सबै राजनीतिक दलहरू एउटै राष्ट्रिय विकासको एजेन्डामा उभिएर बहस गर्न थाल्नुपर्छ, जसले नेपाललाई साँच्चै सुन्दर र स्वावलम्बी बनाउन सकोस् । कोही कसैको दम्भले उसको आफ्नो राजनीतिक अस्तित्व त ढिलोचाँडो धराशायी हुने नै छ, तर राष्ट्रिय एकता र दूरदर्शी खाकाले देशलाई सुन्दर बनाउनेछ । सत्ताधारीहरूले समयमै बुझ्नैपर्छ कि सत्ता कहिल्यै चिरस्थायी हुँदैन, यो चलायमान हुन्छ तर राष्ट्र र राष्ट्रियता सधैँ शाश्वत रहन्छन् र त्यसैका लागि सबै दल जुट्नुपर्छ र फुटिरहने चक्रव्यूहबाट बाहिर निस्कनु पर्छ । तब सम्भव छ नेपाल र नेपालीको समृद्धि ।
(लेखक पण्डित शिक्षासेवी हुन् ।)