नेभिगेशन
अर्थतन्त्र

बीमामा ठुलो सम्भावना

नेपालमा ३७ बीमा कम्पनी छन् । १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ३ माइक्रो जीवन बीमा, ४ माइक्रो निर्जीवन बीमा र दुई वटा पुनर्बीमा कम्पनी नेपाल बीमा प्राधिकरणको छत्रछायाँमा छन् । यी कम्पनीका २ हजार ६३३ शाखा देशभर फैलिएका छन्– जीवन बीमाका १ हजार ७७६ र निर्जीवनका ८५७ वटा ।
यति धेरै शाखा सञ्जालसहित देशका सातै प्रदेशमा फैलिएका बीमा कम्पनीहरुको बजार विस्तार भने अपेक्षाकृत कम छ । बीमा व्यवसायसँग सम्बन्धित विभिन्न प्रमुख सूचकहरूमा सुधार भए पनि बीमा क्षेत्रको पहुँच, लगानी क्षमता तथा आर्थिक योगदान जुन रफ्तारमा हुनुपर्ने हो, त्यस्तो छैन ।
जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको कार्यसम्पादनका आधारमा तयार पारिएको तथ्यांकअनुसार अधिकांश सूचकहरूमा दोहोरो अंकको वृद्धि देखिएको छ । दुई आर्थिक वर्षको मात्र तुलना गर्दा तथ्यांकहरुले सुधारको संकेत भने देखाएका छन् ।
आर्थिक वर्ष २०८०-८१ मा १९८.०५ अर्ब रुपैयाँ रहेको कुल बीमा प्रिमियम संकलन आर्थिक वर्ष २०८१÷८२ मा बढेर २२७.१८ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १४.७१ प्रतिशतको वृद्धि हो । जीवन बीमा क्षेत्रमा प्रिमियम संकलन १५८.११ अर्ब रुपैयाँबाट बढेर १८२.२७ अर्ब रुपैयाँ पुगेको छ, जुन १५.२८ प्रतिशतको वृद्धि हो । त्यस्तै निर्जीवन बीमा क्षेत्रको प्रिमियम संकलन ३९.९४ अर्ब रुपैयाँबाट ४४.९१ अर्ब रुपैयाँ पुगेको छ, जसमा १२.४४ प्रतिशत वृद्धि भएको छ ।
बीमा पहुँचको दृष्टिले पनि सानोतिनो प्रगति देखिएको छ । वैदेशिक रोजगार बीमा पोलिसीबाहेक जनसंख्याको ३६.५३ प्रतिशत हिस्सा जीवन बीमाको पहुँचमा रहेकोमा आर्थिक वर्ष २०८१÷८२ मा यो अनुपात बढेर ३९.९९ प्रतिशत पुगेको छ । वैदेशिक पोलिसीसमेत समावेश गर्दा जीवन बीमा पहुँच ४३.२७ प्रतिशतबाट बढेर ४८.३३ प्रतिशत पुगेको छ । यसले बीमाप्रति जनचेतना र पहुँच दुवै विस्तार हुँदै गएको संकेत गर्छ ।
अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान मापन गर्ने प्रमुख सूचक ‘बीमाको पहुँच’ पनि वृद्धि भएको छ । कुल गार्हस्थ्य उत्पादनमा बीमा प्रिमियमको हिस्सा आर्थिक वर्ष २०८०÷८१ मा ३.४७ प्रतिशत रहेकोमा २०८१÷८२ मा बढेर ३.७२ प्रतिशत पुगेको छ । जीवन बीमाको पहुँच २.७४ प्रतिशतबाट २.९८ प्रतिशत पुगेको छ भने निर्जीवन बीमाको पहुँच ०.७३ प्रतिशतबाट ०.७४ प्रतिशत पुगेको छ ।
त्यसैगरी, प्रतिव्यक्ति बीमा खर्चलाई जनाउने ‘बीमा डेन्सिटी’मा पनि बढेको छ । कुल बीमा डेन्सिटी ६ हजार ४४७ रुपैयाँबाट बढेर ७ हजार ३९६ रुपैयाँ पुगेको छ, जुन १४.७१ प्रतिशतको वृद्धि हो । जीवन बीमा डेन्सिटी ५ हजार १४७ रुपैयाँबाट बढेर ५ हजार ९३४ रुपैयाँ पुगेको छ भने निर्जीवन बीमा डेन्सिटी १ हजार ३०० रुपैयाँबाट बढेर १ हजार ४६२ रुपैयाँ पुगेको छ ।
बीमा कम्पनीहरूको लगानी क्षमता पनि बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा ७ खर्ब २९.४५ अर्ब रुपैयाँ रहेको कुल लगानी २०८१÷८२ मा बढेर ८ खर्ब २९.४० अर्ब रुपैयाँ पुगेको छ, जुन १३.७ प्रतिशतको वृद्धि हो ।
जीवन बीमा कम्पनीहरूको लगानी ६ खर्ब ४९.१२ अर्ब रुपैयाँबाट ७ खर्ब ५९.६६ अर्ब रुपैयाँ पुगेको छ, जसमा १७.०३ प्रतिशत वृद्धि देखिएको छ । निर्जीवन बीमा कम्पनीहरूको लगानी भने घटेको छ । निर्जीवनतर्फको लगानी ८०.३३ अर्ब रुपैयाँबाट १३.१८ प्रतिशतले घटेर ६९.७४ अर्ब रुपैयाँमा झरेको हो ।
दाबी भुक्तानीतर्फ पनि सुधार देखिएको छ । जीवन बीमा क्षेत्रमा भुक्तानी गरिएका कुल दाबीको संख्या एक वर्षको अवधिमा २ लाख ८० हजार १५१ बाट बढेर ३ लाख २ हजार ६५९ पुगेको छ । दाबी रकम पनि ६५.४७ अर्ब रुपैयाँबाट बढेर ७८.९८ अर्ब रुपैयाँ पुगेको छ, जुन २०.६४ प्रतिशतको वृद्धि हो । यसले बीमा कम्पनीहरूले दाबी भुक्तानी क्षमतामा सुधार भएको देखिन्छ ।
निर्जीवन बीमा क्षेत्रमा भने दाबी संख्यामा सामान्य गिरावट आएको छ । दाबी संख्या १ लाख ५१ हजार ८८४ बाट घटेर १ लाख ५० हजार ६३९ मा झरेको छ । तर, भुक्तानी गरिएको दाबी रकम १८.०९ अर्ब रुपैयाँबाट बढेर २५.२६ अर्ब रुपैयाँ पुगेको छ, जुन ३९.६४ प्रतिशतको उल्लेखनीय वृद्धि हो । यसले ठूला दाबीहरूको भुक्तानी बढेको संकेत गर्छ ।
रोजगारी सिर्जनामा पनि बीमा क्षेत्रले सकारात्मक योगदान दिएको छ । प्रत्यक्ष रोजगारीको संख्या ११ हजार ९५१ बाट बढेर १२ हजार ३३६ पुगेको छ, जुन ३.२२ प्रतिशत वृद्धि हो । बीमा अभिकर्ताको संख्या ३ लाख २९ हजार ५७२ बाट बढेर ४ लाख ४ हजार ५६४ पुगेको छ । यो २२.७५ प्रतिशतको उल्लेखनीय वृद्धि हो । त्यस्तै सर्वेयरको संख्या १ हजार २४९ बाट बढेर १ हजार ३११ पुगेको छ ।
बीमा कम्पनीहरूको चुक्ता पुँजीमा पनि विस्तार भएको छ । कुल चुक्ता पुँजी ८७.८८ अर्ब रुपैयाँबाट बढेर ९९.४४ अर्ब रुपैयाँ पुगेको छ, जुन १३.१५ प्रतिशत वृद्धि हो । जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी ६०.०८ अर्ब रुपैयाँबाट ७०.०९ अर्ब रुपैयाँ पुगेको छ भने निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी २७.८० अर्ब रुपैयाँबाट २९.३५ अर्ब रुपैयाँ पुगेको छ ।
यो तथ्यांकले नेपालको बीमाको बजारमा एक हिसाबको प्रगति भएको देखाउँछ । तर, बीमा क्षेत्रका जानकारहरु यो तथ्यांकबाट सन्तुष्ट छैनन् । प्रिमियम संकलन, बीमा पहुँच, लगानी, दाबी भुक्तानी तथा रोजगारी सिर्जनामा आएको सुधारले नेपालको बीमा उद्योग विस्तारको चरणमा रहेको देखाए पनि सम्भावना योभन्दा धेरै रहेको उनीहरुको तर्क छ ।
बीमा विज्ञ विक्रान्त पाण्डे बीमाको विस्तार निकै सुस्त भएको बताउँछन् । ‘बीमाको बजार विस्तार नभएको होइन, सुस्त भएको मात्र हो,’ उनले भने, ‘सबै नेपालीलाई बीमाको दायरामा ल्याउने सरकारी नीतिले सार्थकता पाउनुपर्छ, सबै नेपालीलाई बीमाको दायरामा ल्याउनुपर्छ ।’ हालसम्म बीमाको दायरा विस्तार गर्नतर्फ कसैको ध्यान नगएको उनले बताए ।
निर्जीवन बीमा क्षेत्रको लगानीमा आएको गिरावट तथा केही क्षेत्रमा अझै न्यून बीमा पहुँच जस्ता चुनौती भने अहिले पनि छन् । आगामी वर्षहरूमा डिजिटल प्रविधिको प्रयोग, ग्रामीण क्षेत्रमा बीमा विस्तार तथा नयाँ बीमा उत्पादनहरूको विकासमार्फत बीमा क्षेत्रलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता उनले औंल्याए ।
आर्थिक वर्ष २०८१÷८२ को तथ्यांकले नेपालको बीमा क्षेत्रले स्थायित्व र विस्तार दुवै दिशामा प्रगति गरेको देखाएको छ । अर्थतन्त्रमा योगदान बढाउँदै आम नागरिकसम्म वित्तीय सुरक्षा पु¥याउने माध्यमका रूपमा बीमा क्षेत्रको भूमिका थप महत्वपूर्ण बन्दै गएको छ । यस परिप्रेक्ष्यमा सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुपर्छ भने बीमा कम्पनीहरुले आफ्नो व्यापार बढाउने उपाय आफैंले पनि खोज्नुपर्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्