इटालिया ९० विश्वकप सुरु हुनुअघिको समय थियो । पल गेस्कोग्ने (गाज्जा) का आँसु, इंग्ल्यान्डको हृदयविदारक हार र एउटा विश्वकपले जन्माएका तीव्र भावनात्मक क्षणहरू अझै आउन बाँकी थिए । त्यतिबेला प्रशिक्षक बबी रब्सनको टोलीलाई इटालीको गर्मी मौसममा अभ्यस्त बनाउन जिम्मेवारी पाएका खेल वैज्ञानिक प्रोफेसर जोन ब्रुअर अत्याधुनिक मानिने प्रविधिको प्रयोग गरिरहेका थिए । त्यो हो, बीबीसी माइक्रो कम्प्युटर, डट–म्याट्रिक्स प्रिन्टर र केही भारी तथा असहज पोलार हार्ट–रेट मोनिटर ।
इंग्ल्यान्ड टोलीका केही सदस्यहरूले सुरुआतमा फुटबल एसोसिएसन (एफए)का पहिलो ‘हेड अफ ह्युमन पर्फर्मेन्स’ ब्रुअरलाई शंकाको दृष्टिले हेरेका थिए । तर इटाली प्रस्थानअघि लिलेशलमा गरिएको ‘ब्लिप टेस्ट’, त्यसपछि इटाली पुगेपछि गरिएको परीक्षण र अत्यधिक गर्मीमा दुई साताको प्रशिक्षणपछि गरिएको तेस्रो परीक्षणले खेलाडीहरू गर्मीमा अनुकूल भइसकेको प्रमाणित ग¥यो । त्यसपछि उनले टोलीलाई आफ्नो परिचित उच्च गतिको खेल खेल्न सक्ने विश्वास दिलाए ।
३६ वर्षअघि ब्रुअरले सुरु गरेको त्यो प्रयास आज हेर्दा आदिम युगको कथा जस्तो लाग्छ । सन् २०२६ मा इंग्ल्यान्डका खेलाडीहरूले रगतमा अक्सिजनको मात्रा, छालाको तापक्रम र निद्राको अवस्थासमेत मापन गर्ने अति हल्का वेयरेबल उपकरण प्रयोग गर्छन् । उनीहरू पुनःस्थापनाका लागि हाइपरबारिक च्याम्बरको सहायता लिन्छन् । तर ब्रुअरसँग कुरा गर्दा केवल रोमाञ्चक विश्वकपको सम्झना मात्र होइन, अंग्रेजी फुटबल विज्ञान र आधुनिकतर्फ अघि बढ्न थालेको ऐतिहासिक क्षण पनि पुनर्जीवित हुन्छ ।
सुरुआती प्रतिरोध
तर सबै कुरा सहज थिएन । इटालिया ९० अघि ब्रुअरले रोबसनलाई खेलअघि खेलाडीहरूले बढी कार्बोहाइड्रेट खानुपर्ने सुझाव दिएका थिए । तर विश्वकपको पहिलो खेल आयरल्यान्डविरुद्ध खेल्न केही घण्टा बाँकी हुँदा शेफले स्वोर्डफिस स्टेकले भरिएको ट्रली ल्याउँदा उनी अचम्ममा परे । ब्रुअर सम्झन्छन्, ‘म र बबीले एकअर्कातर्फ हेर्दै भन्यौं, ‘यो के हो?’ तर टोलीका चिकित्सक जोन क्रेनले उठेर भने, ‘म केटाहरूलाई उनीहरूले चाहेको खाना दिन चाहन्छु ।’
ब्रुअर र रोबसनले त्यो समय र स्थान त्यसका लागि उपयुक्त नभएको बताए । तर चिकित्सा टोलीको धारणा विकसित हुँदै गएको खेल विज्ञानलाई बेवास्ता गर्ने खालको थियो । दौडजस्ता अन्य खेलमा खेल विज्ञान स्वीकारिइसकेको भए पनि फुटबलले आफूलाई फरक ठान्थ्यो ।
मदिरा र अनुशासन
त्यो सोच मदिरा सेवनमा पनि लागू हुन्थ्यो । रोबसनले विश्वकप सुरु हुनुभन्दा दुई साताअघि नै मदिरामाथि प्रतिबन्ध लगाएका थिए, यद्यपि कहिलेकाहीँ थोरै पिउन अनुमति थियो । तर त्यसले केही चर्चित खेलाडीलाई रातिको नियम उल्लंघन गरेर बढी मदिरा सेवन गर्नबाट रोक्न सकेन । ब्रुअरले ती खेलाडीहरूको नाम भने खुलाउन चाहेनन् । उनका अनुसार विदेशमा खेलेका अधिकांश इंग्ल्यान्ड खेलाडीहरू, विशेषगरी क्रिस वेडल र ट्रभर स्टिभन पोषणसम्बन्धी सल्लाहप्रति बढी खुला थिए । अचम्मको कुरा, पल गेस्कोग्ने पनि केही समयका लागि त्यसका समर्थक बने । इटालिया ९० का बेला उनको शरीरमा बोसोको मात्रा करिब १० प्रतिशतमा झरेको थियो ।
ब्रुअर भन्छन्, ‘सायद त्यो उनको खेल जीवनकै सबैभन्दा फिट अवस्था थियो । गाज्जाको शरीर स्वभावतः केही भरिलो थियो र उनको तौलको आलोचना पनि हुन्थ्यो । तर जब उनी लिलेशल आए, मैले उनको शरीरमा रहेको बोसो मापन गरें, र परिणाम आफैं बोल्थ्यो ।’
प्रशिक्षणमा नयाँ सोच
सेब कोईजस्ता उच्चस्तरीय खेलाडीहरूसँग काम गरेको अनुभवका कारण ब्रुअरका सुझावहरू रोबसन र उनका प्रशिक्षकहरूले धेरैजसो स्वीकार गरे । त्यतिबेला ती विधि असामान्य थिए, तर अहिले सामान्य भइसकेका छन् । उदाहरणका लागि, खेलाडीहरूलाई सुरुमा बलबिनै वार्म–अप गराउने, ताकि शरीरको तापक्रम बढोस् र मांसपेशी लचिलो बनून् । ब्रुअर सम्झन्छन्, ‘त्यो बेला सामान्य सोच थियो— ‘अलिकति बल चलाऔं, केही स्प्रिन्ट गरौं अनि खेल्न तयार भइन्छ ।’’ उनले बेन्चमा बस्ने खेलाडीहरूलाई नियमित रूपमा स्ट्रेचिङ र वार्म–अप गर्न सुझाव दिए । त्यसअघि विकल्प खेलाडीहरू प्रायः पूरा खेलभर बसिरहन्थे ।
त्यस्तै, पहिलो रोजाइमा नपर्ने खेलाडीहरूले खेलहरूबीच थप कडा प्रशिक्षण गर्नुपर्ने विचार पनि उनले अघि सारे । यसको फाइदा डेभिड प्लाटले पाए, जसले घाइते ब्रायन रब्सनको स्थान लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए । कहिलेकाहीँ उनका सुझाव अझै आधारभूत हुन्थे । उनले काम सुरु गर्दा प्रशिक्षणपछि फर्किने बसमा खेलाडीहरूले केही पनि पिउँदैनथे । त्यसैले उनले आफैं इलेक्ट्रोलाइट पेय पदार्थ बनाएर प्लास्टिकका कपमा बाँड्ने गर्थे ।
ब्रुअरका सबैभन्दा प्रिय सम्झनाहरू भने बबी रोबसनसँग जोडिएका छन् । उनी रोबसनलाई एक असल व्यक्ति र उत्कृष्ट प्रशिक्षकका रूपमा गहिरो सम्मान गर्छन् । त्यो समय एफएका कोचिङ निर्देशक चाल्र्स ह्युजले कम पासमा गोल हुने तथ्यांक देखाउँदै लामो बल (लङ बल) शैलीको वकालत गरिरहेका थिए । ब्रुअर भन्छन्, ‘चाल्र्सको जोड तथ्यांकमा आधारित लामो बल खेलमा थियो, जुन मलाई त्रुटिपूर्ण लाग्थ्यो । तर बबीले तयारी, फिटनेस, प्रशिक्षण र पोषणसम्बन्धी सुझावहरू सुन्थे, यद्यपि फुटबलको रणनीतिमा भने आफ्नै बाटो रोज्थे ।’
अचेलको फुटबल
हाल ब्रुअर अवकाशप्राप्त छन् । तर उनी अझै पनि फुटबल र खेल विज्ञानलाई नजिकबाट पछ्याउँछन् । उनका अनुसार आजका खेलाडीहरू पहिलेभन्दा धेरै फिट छन् । ‘उनीहरूले प्रशिक्षण र खानपानमा अझ बढी ध्यान दिनुपर्छ, किनभने उच्च तीव्रताका खेलहरूको संख्या पहिलेभन्दा धेरै बढेको छ,’ उनी भन्छन् । तर त्यसका लागि उनीहरूसँग धेरै सहयोग पनि छ ।
ब्रुअर सम्झन्छन्, ‘जब मैले एफएको ह्युमन पर्फर्मेन्स सेन्टर स्थापना गरें, क्लबहरूले आफ्ना खेलाडीहरूलाई प्रि–सिजन फिटनेस परीक्षणका लागि हामीकहाँ पठाउँथे । जुलाईदेखि हरेक साता तीन–चार टोली आउँथे, जसमा लिभरपुल एफसीजस्ता क्लबहरू पनि पर्थे । आज त्यो कल्पनै गर्न सकिँदैन किनभने प्रत्येक क्लबसँग आफ्नै खेल विज्ञान र प्रदर्शन विशेषज्ञहरूको टोली छ ।’
इटालिया ९० को त्यो यात्राले केवल इंग्ल्यान्डको विश्वकप अभियानलाई होइन, आधुनिक खेल विज्ञानतर्फ अंग्रेजी फुटबलको रूपान्तरणलाई पनि गति दिएको थियो ।