बेसबल मैदानमा डुंगा चलाएझैं सामूहिक रूपमा हात हल्लाउँदै उत्सव मनाउने नर्वेका समर्थक, ‘टेक मी होम, कन्ट्री रोड्स’ गीतमा घाँटी फुट्ने गरी गाइरहेका अमेरिकी समर्थक, अनि बोस्टन, मियामी र बाटोका हरेक विमानस्थलमा बियर सकाइदिने स्कटल्यान्डका समर्थक—यी सबै दृश्य हामीले यस विश्वकपमा देखिसकेका छौं ।
त्यस्तै, इङ्ल्यान्डका समर्थकहरू नङ टोकेर तनावमा बसेको, फिलाडेल्फियामा परेको भीषण वर्षामा भिजेका फ्रान्सेली समर्थकहरू, र आफ्नो टोलीको निराशाजनक प्रदर्शनपछि आँसु झारेका बेल्जियमका एक बाल समर्थक पनि यस विश्वकपका अविस्मरणीय दृश्य बने ।
विश्वकपले सधैं भावनाहरूको विस्तृत चित्र प्रस्तुत गर्छ । तर यसपटक उत्तर अमेरिकाभरि पहिलोपटक ४८ राष्ट्र सहभागी भएकाले समर्थकहरूको खुसी र निराशा दुवै अहिलेसम्मकै उच्च स्तरमा पुगेका छन् । केही टोलीका समर्थकहरूले जीवनकै सबैभन्दा रमाइलो अनुभव गरिरहेका छन् । उदाहरणका लागि केप भर्डेका समर्थकहरू । अर्कातर्फ पानामाका समर्थकहरू भने घर फर्किने दिन गन्दै बसिरहेका छन् ।
यही कारण द वाल स्ट्रिट जर्नलले यसपटक एउटा फरक प्रयास गरेको छ । वास्तवमा यस विश्वकपमा सबैभन्दा रमाइलो समय कसले बिताइरहेको छ र सबैभन्दा कठिन समय कसले भोगिरहेको छ भन्ने कुरालाई वैज्ञानिक शैलीमा मापन गर्ने प्रयास गरिएको हो । यसका लागि समर्थकहरूको विशेष श्रेणीकरण तयार गरिएको छ । एउटा आधार टोलीको मैदानभित्रको प्रदर्शन बनाइएको छ भने अर्को आधार उनीहरूले १६ वटा आयोजक सहरमा टोलीलाई पछ्याउँदै कति रमाइलो गरिरहेका छन् भन्ने हो । यस मूल्यांकनमा अपेक्षित गोल (एक्स्पेक्टेड गोल्स), स्थानीय मौसम, पसिनाले भिजेका स्कटल्यान्डका समर्थकहरूको विशाल परेडलगायत विभिन्न पक्षलाई समेटिएको छ । यसलाई ‘विश्वकप फ्यान म्याट्रिक्स’ नाम दिइएको छ ।
अमेरिकामा उत्सवको माहोल
एक हजार वर्षभन्दा केही बढी समयपछि नर्वेका ‘भाइकिङ’हरू दोस्रोपटक उत्तर अमेरिका पुगेका छन् । तर यसपटक उनीहरू लुटपाट गर्न होइन, बियर सकाउन आएका जस्ता देखिएका छन् । सन् १९९८ पछि पहिलोपटक विश्वकपमा पुगेको नर्वेले आफ्नो चर्चित ‘भाइकिङ रो’ उत्सवलाई पनि विश्वसामु प्रस्तुत गरेको छ र नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
उता केप भर्डेका समर्थकहरूले यसअघि कहिल्यै आफ्नो टोलीलाई विश्वकपमा खेलेको देखेका थिएनन् । तर, पहिलो सहभागितालाई उनीहरूले ऐतिहासिक बनाएका छन् । टोलीले स्पेन र उरुग्वेसँग अप्रत्याशित बराबरी खेल्यो भने गोलकिपर भोजिन्हाले १ करोड ६० लाखभन्दा बढी इन्स्टाग्राम फलोअर कमाए । उनलाई अमेरिकामा खेलिरहेको हेर्न उनकी आमाले भिसा पाउन अमेरिकी विदेशमन्त्रीले नै विशेष पहल गरेका थिए ।
आयोजक राष्ट्र अमेरिकाका समर्थकहरूसँग उत्सव मनाउने सबैभन्दा बलियो कारण छ । प्रतियोगिता सुरु हुनुअघि धेरै शंका भए पनि अमेरिकी टोलीले समूह चरण सहज रूपमा पार ग¥यो । दर्शकदीर्घामा चिच्याइरहेका समर्थक, चिलको आवाज र जोन डेन्भरका गीतले कम्तीमा अर्को एक सातासम्म उत्सव जारी रहने सुनिश्चित गरिदिएको छ ।
कामका लागि आएका समर्थक
स्पेन र अर्जेन्टिनाका समर्थकहरू यस्ता समर्थक हुन्, जो विश्वकप जितेर मात्रै घर फर्किने लक्ष्यका साथ आएका छन् । उनीहरू यसअघि पनि यस्तो सफलता अनुभव गरिसकेका छन्, त्यसैले समूह चरणका केही जितले उनीहरू धेरै उत्साहित भएका छैनन् ।
फ्रान्सेली समर्थकहरूले पनि अमेरिकाको पूर्वी तटभरि आफ्नो राष्ट्रिय झण्डाको उपस्थिति देखाए । तर इराकविरुद्धको खेलअघि लामो ढिलाइ र मुसलधारे वर्षा झेल्नुपरेकाले जित हासिल गरे पनि उनीहरूको अनुहारमा खासै खुसी देखिएन ।
बियरकै लागि आएका समर्थक
म्यासाचुसेट्स पुगेका स्कटल्यान्डका समर्थकहरूको बियरप्रेम बोस्टनले लामो समय सम्झिरहनेछ । तर स्कटल्यान्डका लागि यो विश्वकप भने बिर्सनलायक बन्यो । सन् १९९८ पछि पहिलोपटक विश्वकप खेलेको स्कटल्यान्डको यात्रा समर्थकहरूको ह्यांगओभर सकिन नपाउँदै समाप्त भयो । यद्यपि ब्याक बेका बारदेखि फेनवे पार्कसम्म उनीहरूले यस्तो छाप छाडे कि यस गर्मीयाममा बोस्टनको सबैभन्दा लोकप्रिय सामग्री ब्यागपाइप नै बन्न सक्छ ।
विश्वकपमा छनोट हुने सबैभन्दा सानो राष्ट्र कुरासाओ पनि ठूलो अपेक्षा बोकेर आएको थिएन । त्यसैले जर्मनीसँग ७–१ ले पराजित हुँदा पनि आफ्नो टोलीले विश्वकप इतिहासकै पहिलो गोल गरेको खुसीमा समर्थकहरू उत्सव मनाइरहेका थिए ।
अब घर फर्किने पालो
यस विश्वकपमा सबैभन्दा निराश समर्थक टर्कीका देखिए । पहिलो दुई खेलमा टोलीले ६२ पटक प्रहार गरे पनि एउटा गोल गर्न सकेन । त्यसैले अन्तिम खेलमा अमेरिकामाथि जित निकाले पनि त्यसको कुनै अर्थ रहेन, किनकि टोली त्यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । यदि कसैले उनीहरूको पीडा बुझ्न सक्छ भने त्यो कतारका समर्थक हुन् । चार वर्षअघि विश्वकप आयोजना गरेको कतारले यसपटक तीन खेलमा १० गोल खाएर लज्जास्पद प्रदर्शन ग¥यो । तर उनीहरूका लागि एउटा सान्त्वना भने छ—अब यो पीडा सकिँदैछ, किनकि उनीहरू घर फर्किँदै छन् ।
स्टेडियम नजिकै रहेको अमेरिकन ड्रीम मललाई विश्वकपका समर्थकलाई लक्षित गरी विशेष फ्यान जोनका रूपमा सञ्चालन गरिएको छ । यहाँ प्रत्यक्ष साङ्गीतिकप्रस्तुति, खेल प्रसारण, मनोरञ्जनात्मक गतिविधि तथा खानपिनको व्यवस्था गरिएको छ ।
इक्वेडरबाट आएका २९ वर्षीय समर्थक समीर रोड्रिगेजले यस्तो अनुभव आफूका लागि नयाँ भएको बताए । उनले ल्याटिन अमेरिकामा फुटबल खेलअघि समर्थकहरू प्रायः सडक वा रङ्गशालामै भेला हुने गरे पनि अमेरिकामा भने सपिङ मल नै समर्थकहरूको जमघटस्थल बनेको उल्लेख गरे ।
मलमा कोका–कोलाद्वारा आयोजित सुटिङ प्रतियोगिता, मिनी गल्फ, फेस पेन्टिङलगायत गतिविधिमा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको थियो । विभिन्न देशका समर्थकले राष्ट्रिय झण्डा बोकेर नाचगान गर्दै खेलअघि उत्सव मनाएका थिए ।
करिब दुई लाख ८० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको अमेरिकन ड्रीम मलमा वाटर पार्क, मनोरञ्जन केन्द्र, रेस्टुरेन्ट तथा अन्तरराष्ट्रिय ब्रान्डका पसल रहेका छन् । विश्वकप अवधिभर प्रशंसकलाई आकर्षित गर्न मलले विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जर्मनीका समर्थक माइकल कार्गले युरोपको फुटबल संस्कृतिभन्दा अमेरिकी अनुभव निकै फरक लागेको बताए । उनले फुटबल रङ्गशालासँगै विशाल सपिङ मल र मनोरञ्जन केन्द्रको संयोजन आफूका लागि नयाँ अनुभव भएको उल्लेख गरे ।
अर्का जर्मन समर्थक जेन्स जेनुवेनले पनि अमेरिकामा फुटबल प्रतियोगितालाई मनोरञ्जन, किनमेल र पारिवारिक गतिविधिसँग जोडिएको पाएको प्रतिक्रिया दिए । उनका अनुसार युरोपमा समर्थकहरू प्रायः पब वा रङ्गशालामा केन्द्रित हुने गर्छन् भने अमेरिकामा प्रतियोगितालाई फराकिलो मनोरञ्जन उत्सवका रूपमा प्रस्तुत गरिएको पाए ।