नेभिगेशन
अर्थतन्त्र
विश्व जलविद्युत् विकासको ट्रेन्ड

पम्प स्टोरेज आयोजनामा बढ्यो लगानी, २४० गिगावाट निर्माणाधीन

काठमाडौं । विश्व ऊर्जा बजारमा पम्प स्टोरेज जलविद्युत् आयोजना अधिक प्राथमिकतामा पर्न थालेको छ । ऊर्जा सुरक्षालाई सुदृढ बनाउने, वायु तथा सौर्य ऊर्जाबाट उत्पादन हुने विद्युत्को उतारचढाव सन्तुलन गर्ने तथा चौबीसै घण्टा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले विश्वका अधिकांश मुलुकले पम्प स्टोरेज आयोजनाको अध्ययन, निर्माण र लगानीलाई तीव्र बनाउँदै लगेका हुन् । अन्तर्राष्ट्रिय जलविद्युत् संघ (आईएचए)ले सार्वजनिक गरेको ‘२०२६ वल्र्ड हाइड्रोपावर आउटलुक’ले विश्वको जलविद्युत् क्षेत्र विस्तार हुने क्रममा अबको जलविद्युत् विकासको केन्द्र पम्प स्टोरेजतर्फ सरेको देखाएको हो । आईएचएले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अहिले विश्वभर १ हजार १ सय २७ गिगावाट क्षमताका जलविद्युत् आयोजना विभिन्न चरणमा रहेका छन् ।

यसमध्ये ६२१ गिगावाटका आयोजना पम्प स्टोरेज र ५०६ गिगावाट परम्परागत जलविद्युत् आयोजना छन् । आईएचएले गरेको अध्ययनले आगामी वर्षहरूमा निर्माण हुने अधिकांश नयाँ जलविद्युत् क्षमता पम्प स्टोरेजमार्फत थपिने स्पष्ट पारेको छ । विश्वभर अहिले करिब ३९० गिगावाट जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । तीमध्ये झण्डै २४० गिगावाट पम्प स्टोरेज आयोजना मात्रै रहेका छन् । निर्माणाधीन आयोजनामध्ये आधाभन्दा बढी हिस्सा पम्प स्टोरेजको हुनु विश्व ऊर्जा बजारको प्राथमिकता परिवर्तन भएको स्पष्ट भएको प्रतिवेदनले जनाएको छ । यही आधारमा आगामी १० वर्षभित्र विश्वको पम्प स्टोरेज क्षमता दोब्बर हुने र १५ वर्षभित्र झण्डै तीन गुणासम्म विस्तार हुने अनुमान गरिएको छ । आईएचएका अनुसार यदि विभिन्न देशले घोषणा गरेको ऊर्जा उत्पादनको लक्ष्यअनुसार आवश्यक कानुनी सुधार, लगानीमैत्री नीति र अनुमतिपत्र लिने प्रक्रियालाई सरल बनाइयो भने भने सन् २०३० सम्म वार्षिक २० गिगावाटभन्दा बढी पम्प स्टोरेज क्षमता थपिने देखिएको छ । त्यसपछि पनि विस्तारको गति अझ तीव्र रहने अनुमान गरिएको छ ।

आईएचएले सन् २०२४ को वल्र्ड हाइड्रोपावर आउटलुकमा गरेको प्रक्षेपणअनुसार सन् २०३० सम्म आइपुग्दा पम्प स्टोरेजको वार्षिक विकास दर परम्परागत जलविद्युत्भन्दा माथि पुग्ने अवस्था देखिएको थियो । प्रतिवेदनअनुसार सन् २०२५ को अन्त्यसम्म विश्वको कुल स्थापित जलविद्युत् क्षमता १ हजार ४ सय ६९ गिगावाट पुगेको छ । यसमध्ये १ हजार २ सय ६९ गिगावाट परम्परागत जलविद्युत् र २०१ गिगावाट पम्प स्टोरेज रहेको छ । पम्प स्टोरेजले पहिलो पटक २०० गिगावाटको लक्ष्य पार गर्नु विश्व ऊर्जा प्रणालीका लागि ऐतिहासिक उपलब्धि भएको प्रतिवेदनले उल्लेख गरेको छ । गत वर्ष मात्रै विश्वभर २८ गिगावाट जलविद्युत् उत्पादन थपिएको थियो । त्यसमध्ये १६ गिगावाट परम्परागत जलविद्युत् र झण्डै १२ गिगावाट पम्प स्टोरेज थियो । पम्प स्टोरेजतर्फ भएको यो विस्तार हालसम्मकै सबैभन्दा ठूलो वार्षिक वृद्धि भएको प्रतिवेदनले जनाएको छ । यसले विश्वका ऊर्जा योजनाकार, लगानीकर्ता र सरकारहरू पम्प स्टोरेजलाई ऊर्जा पूर्वाधारको अभिन्न अंगका रूपमा स्वीकार गर्न थालेको देखाएको छ । आईएचएका अनुसार विश्वभर सन् २०२५ मा जलविद्युत्बाट ४ हजार ४ सय ९५ टेरावाट–घण्टा विद्युत् उत्पादन भएको थियो । यो परिमाण विश्वभर वायु र सौर्य ऊर्जाबाट संयुक्त रूपमा उत्पादन भएको विद्युत्सँग लगभग बराबर रहेको प्रतिवेदनले जनाएको छ ।

यसले जलविद्युत् अझै पनि विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा स्रोत रहेको पुष्टि गरेको छ । प्रतिवेदनले पम्प स्टोरेजमा विश्वको आकर्षण बढ्नुका पछाडि धेरै कारण रहेको उल्लेख गरेको छ । अधिकांश मुलुकले वायु र सौर्य ऊर्जाको प्रयोग तीव्र रूपमा बढाइरहेका छन् । तर, यी स्रोतबाट उत्पादन हुने विद्युत् मौसम र समयअनुसार परिवर्तन हुने भएकाले विद्युत् प्रणालीलाई स्थिर राख्न ठूलो क्षमताको ऊर्जा सञ्चिति आवश्यक पर्छ । पम्प स्टोरेजले अतिरिक्त विद्युत् कम माग भएको समयमा सञ्चित गरेर उच्च मागको समयमा पुनः उत्पादन गर्न सक्ने भएकाले यसलाई नवीकरणीय ऊर्जा प्रणालीको मेरुदण्डका रूपमा लिन थालिएको प्रतिवेदनले जनाएको छ । यसका साथै पम्प  स्टोरेजले विद्युत् प्रणालीमा आवश्यक पर्ने लचकता, रिजर्भ क्षमता, ग्रिड सन्तुलन, फ्रिक्वेन्सी नियन्त्रण, भोल्टेज स्थिरता, ब्ल्याक–स्टार्ट क्षमता तथा आकस्मिक अवस्थामा विद्युत् प्रणाली पुनः सञ्चालन गर्ने सुविधा उपलब्ध गराउँछ । यी सेवाको महŒव बढ्दै जाँदा विश्वका ऊर्जा नियामक र प्रणाली सञ्चालकहरूले पनि पम्प स्टोरेजलाई रणनीतिक पूर्वाधारका रूपमा स्वीकार गर्न थालेका छन् ।

आईएचएले ऊर्जा सुरक्षाप्रतिको बढ्दो चासो, भू–राजनीतिक तनाव, इन्धनको मूल्यमा भइरहेको उतारचढाव तथा जलवायु परिवर्तनका कारण पनि जलविद्युत् र विशेषगरी पम्प स्टोरेजको महŒव बढ्दै गएको जनाएको छ । स्वदेशी स्रोतमा आधारित ऊर्जा उत्पादनले आयातित जीवाश्म इन्धनमा निर्भरता घटाउनुका साथै विद्युत् प्रणालीलाई थप सुरक्षित र आत्मनिर्भर बनाउने भएकाले धेरै मुलुकले पम्प स्टोरेजलाई राष्ट्रिय ऊर्जा रणनीतिमा प्राथमिकता दिएका छन् । प्रतिवेदनले अर्को महŒवपूर्ण प्रवृत्तिका रूपमा डेटा सेन्टर र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित डिजिटल पूर्वाधारको तीव्र विस्तारलाई पनि उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार डेटा सेन्टरहरूले सन् २०२४ मा करिब ४१५ टेरावाट–घण्टा विद्युत् खपत गरेका थिए, जुन विश्वको कुल विद्युत् खपतको करिब १.५ प्रतिशत हो । सन् २०३० सम्म यो खपत बढेर ९४५ टेरावाट–घण्टा पुग्ने अनुमान गरिएको छ । चौबीसै घण्टा अविच्छिन्न हरित विद्युत्को आवश्यकता बढ्दै गएकाले प्रविधि कम्पनीहरू पनि जलविद्युत् तथा पम्प स्टोरेज आयोजनातर्फ आकर्षित हुन थालेका छन् । उत्तर अमेरिकामा जलविद्युत् कम्पनी र प्रविधि कम्पनीबीच दीर्घकालीन विद्युत् खरिद सम्झौता हुन थालेका छन् । यसले पुराना आयोजना आधुनिकीकरण, नयाँ औद्योगिक क्षेत्र विकास तथा डेटा सेन्टर स्थापना जस्ता नयाँ व्यावसायिक मोडललाईसमेत प्रोत्साहन गरेको प्रतिवेदनले जनाएको छ ।

दक्षिण अमेरिकामा पनि प्रशस्त जलविद्युत् स्रोतका कारण उच्च क्षमताका कम्प्युटिङ केन्द्र र डिजिटल पूर्वाधार विकासमा लगानी बढ्दै गएको उल्लेख गरिएको छ । जलविद्युत् विकासमा दिगोपनको पक्षलाई पनि अहिले उच्च प्राथमिकता दिइएको छ । हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड (एचएसएस) परियोजनाको वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी मापदण्ड मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय आधार बन्दै गएको छ । सन् २०२६ को मध्यसम्म विश्वका विभिन्न महादेशका २० वटा जलविद्युत् आयोजना यस मापदण्डअनुसार प्रमाणित भइसकेका छन् । स्वतन्त्र प्रमाणीकरणले लगानीकर्ताको विश्वास बढाउनुका साथै परियोजनाको दीर्घकालीन वित्तीय स्थायित्वमा समेत योगदान पु¥याउने प्रतिवेदनले जनाएको छ । क्षेत्रगत रूपमा पूर्वी एसिया तथा प्रशान्त क्षेत्रले जलविद्युत् विकासमा अग्रता कायम राखेको छ । चीनले परम्परागत र पम्प स्टोरेज दुवै क्षेत्रमा विश्वकै सबैभन्दा बढी क्षमता थपिरहेको छ ।

दक्षिण–पूर्वी एसियामा सीमापार विद्युत् व्यापार विस्तार र दीर्घकालीन ऊर्जा सञ्चिति योजनामा उल्लेखनीय प्रगति भएको छ । अफ्रिकामा इथियोपिया र तान्जानियाका ठूला जलविद्युत् आयोजना सञ्चालनमा आएसँगै विद्युत् आपूर्तिमा उल्लेखनीय सुधार भएको प्रतिवेदनले जनाएको छ । युरोपमा वायु तथा सौर्य ऊर्जाको तीव्र विस्तारसँगै पम्प स्टोरेजको आवश्यकता बढे पनि नियामकीय अवरोध र लामो अनुमतिपत्र लिने प्रक्रियाले आयोजना विकास अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । उत्तर तथा मध्य अमेरिकामा पुराना जलविद्युत् आयोजना स्तरोन्नति, स्थानीय समुदायसँगको साझेदारी तथा डेटा सेन्टरसँग जोडिएका लगानीलाई प्राथमिकता दिइएको छ भने दक्षिण अमेरिकामा जलविद्युत् अझै पनि ऊर्जा प्रणालीको मेरुदण्डका रूपमा कायम रहेको प्रतिवेदनले जनाएको छ । दक्षिण तथा मध्य एसियामा विशेषगरी भारतले पम्प स्टोरेज विकासलाई तीव्रता दिँदै सन् २०३५–३६ सम्म १०० गिगावाटभन्दा बढी क्षमता विकास गर्ने लक्ष्य सार्वजनिक गरेको छ । आईएचएले निष्कर्षमा जलविद्युत् अब केवल विद्युत् उत्पादन गर्ने माध्यममा सीमित नरहेको उल्लेख गरेको छ ।

जलविद्युत् र पम्प स्टोरेजले ऊर्जा सुरक्षा, जलवायु अनुकूलन, जल व्यवस्थापन, बाढी नियन्त्रण, खडेरी व्यवस्थापन, विद्युत् प्रणालीको स्थायित्व तथा दीर्घकालीन आर्थिक विकासमा बहुआयामिक योगदान पु¥याउने भएकाले सरकारहरूले यसलाई रणनीतिक पूर्वाधारका रूपमा मान्यता दिनुपर्ने सुझाव दिएको छ । प्रतिवेदनले अनुमति प्रक्रिया छिटो बनाउने, पम्प  स्टोरेजको आर्थिक मूल्यांकन प्रणाली सुधार गर्ने, पुराना आयोजना आधुनिकीकरणमा लगानी बढाउने तथा नयाँ आयोजनाका लागि दीर्घकालीन र स्थिर लगानी वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । 
अन्तर्राष्ट्रिय जलविद्युत् संघको प्रतिवेदनबाट अनुवाद

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्