नेभिगेशन
खेलकुद

विश्वकपमा पेनाल्टी सुटआउट महात्म्य

विश्वकप नकआउट चरणमा प्रवेश गरिसकेको छ— अर्थात् पेनाल्टी सुटआउट फेरि फर्किएका छन् ।
सन् २०२२ को विश्वकपमा कीर्तिमानी पाँचवटा पेनाल्टी सुटआउट भएका थिए । सन् २०२६ को विश्वकपमा अन्तिम ३२ टोलीको अतिरिक्त चरण थपिएकाले यो कीर्तिमान फेरि तोडिने सम्भावना धेरै छ ।
त्यसो भए सन् १९८२ यता भएका ३५ वटा विश्वकप पेनाल्टी सुटआउटमा प्रहार गरिएका ३२० पेनाल्टीबाट हामीले के सिक्यौं ?
कुन देशको प्रदर्शन सबैभन्दा राम्रो र सबैभन्दा कमजोर ?
सन् २०२२ सम्म विश्वकप पेनाल्टी सुटआउटमा सबैभन्दा धेरै पेनाल्टी गुमाउने टोली इङ्ल्यान्ड थियो, जसले आठ पेनाल्टी मिस गरेको थियो । तर त्यसपछि स्पेनले त्यो अवाञ्छित कीर्तिमान आफ्नो नाममा लेखायो ।
अन्तिम १६ मा मोरक्कोसँगको खेलमा स्पेनले तीनवटै पेनाल्टी मिस ग¥यो र कुल मिसको संख्या नौ पुग्यो ।
अब स्पेनले पाँचमध्ये चार पेनाल्टी सुटआउट हारेको छ, जसले तीन–तीन सुटआउट गुमाएका इङ्ल्यान्डलगायतका टोलीलाई पनि उछिनेको छ ।
सबैभन्दा सफल टोली भने स्पष्ट रूपमा अर्जेन्टिना हो । उसले सातमध्ये छ वटा पेनाल्टी सुटआउट जितेको छ, जसमा कतारमा भएको फाइनल पनि समावेश छ ।
जर्मनी (१८ मध्ये १७ पेनाल्टी गोल) र क्रोएसियाले पनि प्रभावशाली रूपमा चारवटै सुटआउट जितेका छन् । जापान, मेक्सिको र रोमानिया भने खेलेका दुवै सुटआउटमा पराजित भएका छन् ।
आफ्ना सबै पेनाल्टी गोल गर्ने देशहरूमा बेल्जियम, दक्षिण कोरिया र पाराग्वे छन् । यी तीनै टोलीले पाँचमध्ये पाँच पेनाल्टी गोल गरेका छन् । अर्कोतर्फ, स्विट्जरल्यान्डले प्रहार गरेका तीनवटै पेनाल्टी गुमाएको एकमात्र टोली हो ।
व्यक्तिगत रूपमा पेनाल्टी सुटआउटका राजा को हुन् ?
विश्वकपका तीन फरक पेनाल्टी सुटआउटमा पेनाल्टी गोल गर्ने केवल दुई खेलाडी छन् — अर्जेन्टिनाका लियोनेल मेस्सी र क्रोएसियाका लुका मोड्रिच । दुवैको सफलता दर शतप्रतिशत छ ।
मेस्सीले तीमध्ये एक गोल सन् २०२२ को फाइनलमा फ्रान्सविरुद्ध गरेका थिए ।
यसैगरी २३ खेलाडीले दुईमध्ये दुई पेनाल्टी गोल गरेका छन् । इटालीका रोबर्टो बाज्जियोले भने तीनमध्ये दुई गोल गरे, तर उनले गुमाएको एउटा पेनाल्टी सन् १९९४ को विश्वकप फाइनलको निर्णायक प्रहार थियो ।
क्रोएसियाको पाँचौं ठूलो सहर जाडारको पानीमा नै केही विशेषता हुनुपर्छ, किनभने विश्वकप पेनाल्टी सुटआउटमा सबैभन्दा धेरै पेनाल्टी बचाउने चार गोलरक्षकमध्ये दुई जना त्यहीँका हुन् ।
दानिएल सुबासिच (सबै सन् २०१८ मा) र दोमिनिक लिभाकोभिच (सबै सन् २०२२ मा) ले विश्वकप पेनाल्टी सुटआउटमा चार–चार पेनाल्टी बचाएका छन् । सुबासिचले १० र लिभाकोभिचले आठ पेनाल्टीको सामना गरेका थिए ।
पश्चिम जर्मनीका हाराल्ड शुमाखर (नौ पेनाल्टी सामना) र अर्जेन्टिनाका सर्जियो गोइकोचेयाले (१० पेनाल्टी सामना) पनि चार–चार पेनाल्टी बचाएका छन् ।
सुबासिच र लिभाकोभिच, पोर्चुगलका रिकार्डोसँगै, एउटै पेनाल्टी सुटआउटमा तीन पेनाल्टी बचाउने दुर्लभ गोलरक्षक हुन् ।
रिकार्डोको बचाउ प्रतिशत सबैभन्दा उत्कृष्ट छ । उनले सामना गरेका चारमध्ये तीन पेनाल्टी बचाउँदै ७५ प्रतिशत सफलता हासिल गरेका छन् ।
तर सबै कुरा गोलरक्षकले पेनाल्टी बचाउनुमा मात्र निर्भर हुँदैन । अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले सन् २०२२ को फाइनलमा फ्रान्सविरुद्ध केवल एउटा पेनाल्टी मात्र रोकेका थिए । तर उनका विभिन्न मानसिक खेल (माइन्ड गेम्स) ले फ्रान्सेली खेलाडीहरूलाई दबाबमा पारेको देखिन्थ्यो ।
बीचतिर प्रहार गर्नु राम्रो उपाय होइन
दायाँ वा बायाँ कुनातिर पेनाल्टी हान्ने खेलाडीको गोल गर्ने सम्भावना, बीचतिर प्रहार गर्ने खेलाडीको भन्दा बढी हुन्छ । बीचतिर प्रहार भन्नाले पनेन्का, भुइँमै रोल गराएर हानेको वा बलियो प्रहार गरेर बीचबाटै गोल गर्ने प्रयास सबै समावेश हुन्छन् ।
दायाँतर्फ प्रहार गरिएका ७२.४ प्रतिशत पेनाल्टी गोल भएका छन् भने बायाँतर्फ हानिएका ७१.१ प्रतिशत सफल भएका छन् । तर बीचतिर हानिएका पेनाल्टीमध्ये केवल ६१.६ प्रतिशत मात्र गोलमा परिणत भएका छन् ।
रोचक कुरा के छ भने, बीचतिर हानिएका पेनाल्टीमध्ये बचाइने प्रतिशत (१९.२%) दायाँ वा बायाँ कुनातिर हानिएका पेनाल्टीको (२२.६%) भन्दा कम छ ।
तर बीचतिर हानिएका १९.२ प्रतिशत पेनाल्टी गोलपोस्ट बाहिर गएका छन् वा बारमा लागेका छन्, जबकि कुनातिर हानिएका पेनाल्टीमध्ये यस्तो हुने दर केवल ५.७ प्रतिशत छ ।
पेनाल्टी हान्ने क्रमले फरक पार्छ ?
पहिले पेनाल्टी हान्ने वा दोस्रो पालोमा हान्ने टोलीमध्ये कसैलाई पनि स्पष्ट फाइदा देखिँदैन । पहिलो पालोमा हानेका टोलीले १७ सुटआउट जितेका छन् भने दोस्रो पालोमा हानेकाले १८ ।
स्वाभाविक रूपमा, प्रत्येक टोलीका पहिलो पेनाल्टी प्रहारकर्ताको सफलता दर सबैभन्दा धेरै छ—७२.९ प्रतिशत ।
दोस्रो र तेस्रो प्रहारकर्ताको सफलता दर पनि लगभग उस्तै छ, दुवैको ७१.५ प्रतिशत ।
चौथो चरणका प्रहारकर्ताले ६४.२ प्रतिशत पेनाल्टी गोल गरेका छन् भने पाँचौँ चरणका प्रहारकर्ताको सफलता दर ६६.७ प्रतिशत छ ।
हालसम्म केवल दुईवटा विश्वकप पेनाल्टी सुटआउट मात्र ’सडेन डेथ’ मा पुगेका छन् । त्यसमा छैटौं पेनाल्टी हान्ने चार खेलाडीमध्ये दुई जनाले मात्र गोल गरेका थिए, अर्थात् सफलता दर ५० प्रतिशत रह्यो । कुनै पनि विश्वकप पेनाल्टी सुटआउट छैटौं चरणभन्दा अगाडि पुगेको छैन ।
सडेन डेथबाहेक सबैभन्दा कम सफल प्रहारकर्ता आठौं नम्बरका हुन्छन्, अर्थात् चौथो चरणमा दोस्रो पेनाल्टी हान्ने खेलाडी । उनीहरूको सफलता दर केवल ५९.४ प्रतिशत छ ।
यसको कुनै न कुनै कारण अवश्य हुनुपर्छ । सम्भवतः अन्तिम चरणअघि आफ्नो टोलीलाई प्रतिस्पर्धामा जीवित राख्ने दबाब त्यसको कारण हुन सक्छ । युरोपियन च्याम्पियनसिपका पेनाल्टी सुटआउटमा पनि यस्तै प्रवृत्ति देखिएको छ ।
फरवार्डहरू सबैभन्दा सफल
अपेक्षाअनुसार, विश्वकप पेनाल्टी सुटआउटमा फरवार्डहरूको सफलता दर सबैभन्दा राम्रो छ । उनीहरूले प्रहार गरेका १०० पेनाल्टीमध्ये ७५ प्रतिशत गोल भएका छन् ।
मिडफिल्डरहरूले १४० मध्ये ६७.९ प्रतिशत पेनाल्टी गोल गरेका छन् भने डिफेन्डरहरूको सफलता दर ८० मध्ये ६५ प्रतिशत छ ।
हालसम्म कुनै पनि गोलरक्षकले विश्वकप पेनाल्टी सुटआउटमा पेनाल्टी प्रहार गरेका छैनन् । यसको मुख्य कारण जोसे लुइस चिलाभर्ट, रोजेरियो सेनी वा हान्स–योर्ग बुटजस्ता साहसी गोलरक्षक कुनै पनि विश्वकप सुटआउटमा सहभागी नभएको र कुनै पनि सुटआउट छैटौं चरणभन्दा अगाडि नपुगेको हो ।
दायाँ खुट्टे (६९.५%) र बायाँ खुट्टे (६८.८%) खेलाडीबीच सफलता दरमा उल्लेखनीय अन्तर छैन । तर विश्वकपमा प्रहार गरिएका पेनाल्टीमध्ये ठीक ८० प्रतिशत दायाँ खुट्टाले हानिएका छन् ।
के पेनाल्टीका लागि मात्र ल्याइएका वैकल्पिक खेलाडी सफल हुन्छन् ?
पेनाल्टी सुटआउटका लागि मात्रै मैदान छिराइएका खेलाडीको सही तथ्यांक निकाल्न सम्भव छैन ।
तर यदि इन्जुरी समयको अन्तिम पाँच मिनेटमा मैदान प्रवेश गरेका खेलाडीलाई आधार मान्ने हो भने, त्यस्ता केवल पाँच खेलाडी छन् (जसमध्ये तीन जना सन् २०२२ मा थिए) र तीमध्ये दुई जनाले मात्र पेनाल्टी गोल गरेका छन् ।
सन् २०२२ को फाइनलमा अर्जेन्टिनाका पाउलो डिबालालाई इन्जुरी समयमा मैदान पठाइएको थियो र उनले फ्रान्सविरुद्धको पेनाल्टी सुटआउटमा गोल गरे ।
मोरक्कोले अन्तिम १६ मा स्पेनलाई हराएको खेलमा दुवै टोलीले अन्तिम दुई मिनेटमा खेलाडी परिवर्तन गरेका थिए । मोरक्कोका बाद्र बेनुन र स्पेनका पाब्लो साराबिया दुवैले पेनाल्टी गुमाए ।
इङ्ल्यान्डका जेमी काराघर सन् २००६ को क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध खेल सकिन दुई मिनेट बाँकी हुँदा मैदान छिरेका थिए । उनले सुरुमा गोल गरे पनि रेफ्रीले सिटी नफुक्दै प्रहार गरेको भन्दै पुनः हान्न लगाए, र दोस्रो प्रयास पोर्चुगलका रिकार्डोले बचाए ।
यसअघि सन् १९८६ मा पश्चिम जर्मनीका पिएर लिटबास्र्कीलाई पनि अन्तिम समयमा मैदान पठाइएको थियो र उनले मेक्सिकोविरुद्धको क्वार्टरफाइनलमा पेनाल्टी गोल गरेका थिए ।
विश्वकप इतिहासमा पेनाल्टी सुटआउटलाई लक्षित गरेर अन्तिम समयमा मैदान प्रवेश गराइएको गोलरक्षक भने केवल एक जना छन् ।
सन् २०१४ को क्वार्टरफाइनलमा नेदरल्यान्ड्सका टिम क्रुललाई कोस्टारिकाविरुद्ध १२१औं मिनेटमा मैदान छिराइएको थियो । उनले दुई पेनाल्टी बचाउँदै आफ्नो टोलीलाई जित दिलाए ।
तर अर्को चरणमा पनि खेल पेनाल्टी सुटआउटमा पुगेको बेला भने उनी बेन्चमै बसे । त्यस खेलमा जसपर सिलेसेनले कुनै पनि पेनाल्टी बचाउन सकेनन् र नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्