काठमाडौं । चालु आर्थिक वर्ष (२०८२÷८३) को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले विस्तार भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक तथ्यांकअनुसार दोस्रो त्रैमासमा २.९३ प्रतिशत रहेको आर्थिक वृद्धिदर तेस्रो त्रैमासमा ०.५८ प्रतिशत बिन्दुले बढेको हो । ऊर्जा उत्पादन तथा वितरण, बैंकिङ तथा वित्तीय गतिविधि, बिमा व्यवसाय, व्यापार तथा यातायात क्षेत्रको विस्तारले आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको तथ्यांक कार्यालयले जनाएको छ ।
तथ्यांक कार्यालयले आधारभूत मूल्यमा गरिएको त्रैमासिक राष्ट्रिय लेखा अनुमानअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सुधार देखिएको जनाएको छ । अर्थतन्त्रको आकार पनि दोस्रो त्रैमासको ६४ खर्ब २७ अर्ब रुपैयाँबाट बढेर तेस्रो त्रैमासमा ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको प्रारम्भिक अनुमान गरिएको छ । यसले आर्थिक गतिविधि क्रमशः विस्तारको दिशामा अघि बढिरहेको संकेत गरेको छ । तथ्यांक कार्यालयका अनुसार तेस्रो त्रैमासमा विशेषगरी जलविद्युत् उत्पादनमा आएको वृद्धि, विद्युत् आपूर्ति विस्तार, बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार, निर्जीवन बिमा व्यवसायको विस्तार तथा व्यापारिक कारोबार बढेकाले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव परेको हो ।
पछिल्ला महिनामा ऊर्जा उत्पादन बढ्नुका साथै निजी क्षेत्रको आर्थिक गतिविधि क्रमशः चलायमान बन्दै गएकाले सेवा क्षेत्रले पनि राम्रो योगदान यस्तै, औद्योगिक वर्गीकरणका १८ मध्ये १६ क्षेत्रमा सकारात्मक वृद्धिदर देखिएको छ । सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन क्षेत्रबाहेक अधिकांश क्षेत्रमा आर्थिक गतिविधि विस्तार भएको अनुमान गरिएको छ। यसले अर्थतन्त्रको सुधार सीमित क्षेत्रमै नभई अधिकांश उत्पादन तथा सेवा क्षेत्रमा फैलिन थालेको संकेत गरेको छ । क्षेत्रगत रूपमा हेर्दा विद्युत् तथा ग्यास सम्बन्धी गतिविधिमा सबैभन्दा उच्च २४.८८ प्रतिशतको वृद्धि भएको छ ।
पछिल्ला वर्षमा सञ्चालनमा आएका जलविद्युत् आयोजना, विद्युत् उत्पादनमा भएको विस्तार तथा आन्तरिक तथा बाह्य बजारमा विद्युत् आपूर्तिमा आएको सुधारका कारण यो क्षेत्र सबैभन्दा तीव्र गतिमा बढेको कार्यालयको विश्लेषण छ । यसपछि वित्तीय तथा बिमा क्षेत्र १०.२७ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन, कर्जा विस्तार तथा निर्जीवन बिमा व्यवसायमा आएको वृद्धिले यस क्षेत्रलाई बलियो बनाएको हो । पछिल्ला महिनामा बैंकिङ प्रणालीमा तरलता सहज बन्दै जानु तथा ऋण प्रवाह बढ्नुले पनि वित्तीय क्षेत्रको गतिविधि विस्तार भएको देखिन्छ ।
त्यस्तै, यातायात क्षेत्रमा ७.८३ प्रतिशत वृद्धि भएको छ । आयात–निर्यात गतिविधिमा विस्तार, आन्तरिक ढुवानी तथा यात्रुवाहक सेवामा सुधारले यस क्षेत्रमा सकारात्मक प्रभाव परेको हो । व्यापारिक गतिविधि बढेसँगै ढुवानी सेवाको माग पनि बढेको तथ्यांकले देखाएको छ । थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.२५ प्रतिशत वृद्धि भएको देखिएको छ ।
उपभोगमा क्रमिक सुधार, आयातित वस्तुको कारोबार विस्तार तथा बजारमा व्यापारिक गतिविधि बढेकाले यो क्षेत्र सकारात्मक अवस्थामा पुगेको तथ्यांक कार्यालयले जनाएको छ । नेपालको कुल अर्थतन्त्रमा दोस्रो ठूलो योगदान दिने व्यापार क्षेत्रको सुधारले समग्र आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ । अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने १.५८ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ । धान उत्पादन अपेक्षाअनुसार हुन नसक्नु तथा कृषि उत्पादनमा उल्लेखनीय विस्तार हुन नसक्दा कृषि क्षेत्रको वृद्धि सीमित बनेको तथ्यांक कार्यालयको विश्लेषण छ । कृषि क्षेत्रको कमजोर प्रदर्शनले समग्र आर्थिक वृद्धिदरलाई अझ उच्च हुनबाट रोकेको देखिएको छ ।
कार्यालयले निर्माण क्षेत्र पनि अपेक्षाअनुसार विस्तार हुन नसकेको जनाएको छ । निर्माण सामग्रीको आयातमा आएको गिरावट, निजी तथा सार्वजनिक निर्माण गतिविधि सुस्त रहनु तथा केही औद्योगिक वस्तुको घरेलु उत्पादन घट्नुले निर्माण र उत्पादन क्षेत्रमा अपेक्षित सुधार आउन सकेन । यही कारण औद्योगिक उत्पादन क्षेत्रमा ऋणात्मक वृद्धि देखिएको कार्यालयले उल्लेख गरेको छ ।
तेस्रो त्रैमासमा आवास तथा भोजन सेवा, बैंक तथा बिमाका केही उपक्षेत्र तथा औद्योगिक उत्पादनका केही गतिविधिमा पनि अपेक्षाकृत कमजोर अवस्था देखिएको छ । तथ्यांक कार्यालयका अनुसार आवास तथा भोजन सेवा २.३० प्रतिशत, बैंक तथा बिमाका केही गतिविधि १.०७ प्रतिशत तथा औद्योगिक उत्पादन ०.८३ प्रतिशतले ऋणात्मक देखिएका छन् । समग्र सेवा क्षेत्रको विस्तारले यी क्षेत्रको प्रभावलाई सन्तुलन गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा समग्र आर्थिक वृद्धि ०.५८ प्रतिशत बिन्दुले बढेको जनाएको छ । अधिकांश आर्थिक सूचक सकारात्मक दिशामा अघि बढिरहेका भए पनि कृषि, निर्माण र औद्योगिक उत्पादन क्षेत्रमा देखिएको सुस्तताले अर्थतन्त्र अझै पूर्णरूपमा बलियो भइनसकेको देखिएको छ ।