काठमाडौं । निर्माणधीन २२० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइन अन्तर्गतको मार्कीचोक–न्यू भरतपुर खण्ड सञ्चालनमा आएको छ । निजी क्षेत्रको समेत सक्रियतामा निर्माण सम्पन्न भएको प्रसारण लाइनको यो खण्ड शनिबार अपरान्हबाट सञ्चालनमा आएको हो । नेपाल विद्युत् प्राधिकरणले लोड दिएर प्रसारण लाइनको यो खण्ड चार्ज गरेको छ ।
प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक (न्यू मस्र्याङ्दी सबस्टेसन) देखि चितवनको भरतपुर महानगरपालिका–आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म निर्माण भएको करिब ६७ किलोमिटर डबल सर्किट प्रसारण लाइन विद्युत प्रवाह हुने गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । प्रसारण लाइनको यो खण्ड सञ्चालन हुँदा दोर्दी करिडोरमा सञ्चालनमा रहेका निजी क्षेत्रका जलविद्युतगृहलाई ठूलो राहत मिलेको छ । यसअघिसम्म, हरेक बर्खामा प्रसारण लाइनको समस्याकै कारण निजी क्षेत्रका जलविद्युतगृहको विद्युत् खेर जाने अवस्था थियो । प्राधिकरणले प्रसारण समस्याकै कारण क्षमता घटाएर विद्युत्गृह चलाउन भन्ने गरेकाले पनि बर्खामा अरबौं रुपैयाँको विद्युत् खेर जाने गरेको थियो ।
प्रसारण लाइन सञ्चालनले मस्र्याङ्दी करिडोरमा चालु अवस्थाका निजी क्षेत्रका जलविद्युत केन्द्रको विद्युत् खेर जाने समस्याको अन्त्य भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बताए । उनले अब मस्र्याङ्दी करिडोरका जलविद्युत् आयोजनाको विद्युत भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिने बताए । यो प्रसारण लाइन सञ्चालनसँगै यस क्षेत्रमा बारम्बार देखिने ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्यामा सुधार आउने प्राधिकरणले जनाएको छ । साथै, विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता बढ्नुका साथै उपभोक्ताले पाउने विद्युत् आपूर्तिको गुणस्तरमा समेत सुधार आउनेछ । सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट उत्पादन भएको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रसारण प्रणालीमा अझ प्रभावकारी रूपमा समाहित हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले यसलाई नेपालको ऊर्जा आत्मनिर्भरता, ऊर्जा सुरक्षा र विद्युत् प्रणालीको दीर्घकालीन सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए । मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन युरोपेली विकास साझेदारहरूको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो । प्राधिकरणले ७ वर्षसम्म निर्माण सम्पन्न गर्न नसकेको मार्कीचोक– न्यूभरतपुर खण्डको २८ किलोमिटर निजी क्षेत्रको सक्रिय सहभागितामा डेढ वर्षभित्रै सम्पन्न गरिएको हो । यो आयोजना लामो समयसम्म अलपत्र परेपछि निजी क्षेत्रका जलविद्युत् प्रवर्धकहरूले आफैं निर्माणको जिम्मेवारी लिएर काम सम्पन्न गरेका हुन् ।
यो प्रसारण लाइनको प्रारम्भिक निर्माणको ठेक्का चिनियाँ कम्पनी पिंगाओ ग्रुपले २०७४ साल कार्तिकमा पाएको थियो । तर, ७ वर्षभन्दा बढी समय बितिसक्दा पनि कम्पनीले ८४ वटा टावरमध्ये केवल ३५ वटाको फाउण्डेसन र १० वटा टावरको इरेक्सन मात्रै सम्पन्न गर्न सकेको थियो । निर्माणको गति अत्यन्त सुस्त भएपछि विद्युत प्राधिकरणले २०८१ साल मंसिर ५ गते उक्त निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई हस्तान्तरण गरेको थियो । त्यसपछि २०८१ साल मंसिर ९ गते प्रसारण लाइनको समस्याकै कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका मस्र्याङ्दी करिडोरका ७ जलविद्युत आयोजनाका प्रवद्र्धक कम्पनीले संयुक्त रूपमा निर्माण अघि बढाउने निर्णय गर्दै करिब ४ करोड ९६ लाख ९५ हजार रुपैयाँ लगानी गर्ने गरी भीभा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई निर्माणको जिम्मा दिएका थिए । प्रसारण लाइन निर्माणमा सहजीकरण र समन्वयका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का तत्कालीन उपाध्यक्ष एवं हालका बरिष्ठ उपाध्यक्ष एवं दोर्दीखोला जलविद्युत कम्पनीका सञ्चालक उत्तम ब्लोन लामाको नेतृत्वमा पिपुल्स हाइड्रोका आयोजना निर्देशक अर्जुन गौतम र आशुतोष इनर्जी लिमीटेडका अध्यक्ष मोहनबिक्रम कार्की रहेको समिति निर्माण गरिएको थियो ।
समितिले प्रसारण लाइन निर्माणमा आउने सबै समस्याहरुको समाधान गर्दै समयमै मस्र्याङ्दी करिडोरको मार्कीचोक–भरतपुर खण्डको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गर्न सफल भएको हो । गत वर्षसम्म शून्य प्रगति रहेको २८ किलोमिटर प्रसारण लाइन अहिले पूर्ण रूपमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । यस प्रसारण लाइनमा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी खोला–१, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८.६० मेगावाटको चेपे खोला तथा ९.०५ मेगावाटको सुपर चेपेखोला जलविद्युत आयोजनाले लगानी गरेका थिए । यी सबै आयोजना निजी क्षेत्रद्वारा प्रवद्र्धित हुन् । यी आयोजना वर्षौंअघि सञ्चालनमा आएको भएपनि प्रसारण लाइनको समस्याकै कारण बर्खा याममा पूर्ण क्षमतामा सञ्चालन हुन नपाउँदा अरबौं रुपैयाँको विद्युत खेर गइरहेको अवस्था थियो ।