नेभिगेशन
अर्थतन्त्र

नेपालको पर्यटनलाई विश्वसामु चिनाउने प्रेरणादायी व्यक्तित्व

नेपालको पर्यटन विकास र विस्तारमा तीन दशकदेखि काम गरिरहेकी व्यवसायी लाक्पा फुटी शेर्पाको पर्यटन मन्त्रीको रूपमा यतिबेला चर्चा भइरहेको छ । सन् १९६४ फेब्रुअरी ५ मा सोलुखुम्बु जिल्लामा जन्मिएकी समाजसेवी शेर्पाले तीन वटा पुस्तक ‘हिमालमा चालीस वर्ष’, ‘हिमालकी छोरी’ र आत्मकथा ‘फोर्टी इयर्स इन् माउन्टेन’ प्रकाशित छन् ।

सन् १९९३ मा पासाङ ल्हामु शेर्पासँगै सगरमाथा आरोहण दलमा रहेकी उनले सगरमाथा तथा ग्योको आरोहण गरिसकेकी छन् । विभिन्न सामाजिक संस्थाकी निर्देशक तथा अध्यक्षता भएर काम गरिसकेकी उनी चेम्बर अफ कमर्शको कार्यकारी सदस्यसमेत रहिसकेकी छन् ।

नेपालमा पर्वतीय विश्वविद्यालय बनाइनुपर्छ भनेर पैरवी गरिरहेकी शेर्पाले पहिलो नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान सञ्चालनका लागि लामो समय संघर्ष गरेकी थिइन् । पछि सो प्रतिष्ठानलाई स्थापनासँगै आठ वर्ष अगुवाई गरेकी उनले हिम चिप्लेटी (स्की) विकासका लागि विगत १० वर्षदेखि प्रशिक्षण कार्यक्रमलाई लोकप्रिय बनाउन भूमिका खेलिरहेकी छन् ।

हजुरआमा र हजुरबुवा चाँडै बितेकाले बुवाआमाले कठोर परिश्रम गरेर आफू र भाइबहिनीलाई हुर्काएको देखेकी लाक्पाले कडा अनुशासन र सिकाइलाई जानिन् । उनका बुवा सिजनमा हिमालमा जाने र बेसिजनमा खेती किसानी गर्थे । आमाबुवा ज्यादै मिहिनेती भएकाले त्यो कला उनले पहिल्यै सिकिन् । संघर्ष गर्न उनलाई त्यही अनुशासनले पनि सिकायो ।

उनले पछि विभिन्न हिमाली यात्रामा पोर्टरका रूपमा काम पनि गरिन् । यसरी यात्रामा जाँदा यौन दुर्व्यवहार पनि भोग्नु पर्यो । उनी भन्छिन्, ‘आफू दरिलो हुनुपर्छ भन्ने मैले त्यहीँ सिकेँ ।’ यात्रामा रक्सी खाने र दुर्व्यवहार गर्ने गरेको देखेपछि उनले त एक पटक एक जना दुर्व्यवहार गर्ने व्यक्तिलाई टाउकोमा बेल्नाले हानेर तह लगाएकी थिइन् ।

पछि उनले स्वीट्जरल्यान्डमा विवाह गरेर बसिन् तर त्यहाँ हुँदा नेपालको ज्यादै याद आएकाले एक दशकपछि स्वदेश फर्किइन् । उनले स्विट्जरल्यान्डमा हरकोहीले स्की रिसोर्ट खोल्ने गरेपछि उनी छक्क पर्थिन् । ‘स्की त स्वीट्जरल्यान्डको खेतीपाती नै रहेछ,’ उनी भन्छिन्, ‘जब जब म झ्याल खोलेर हेर्थें, मलाई नेपालको याद आउँथ्यो । हेर्दा नेपालजस्तो तर नेपाल धेरै दुर्गम महसूस हुन्थ्यो ।’

उनले त्यहीँ हुँदा नेपालमा दुई वटा कुराका विकास गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । पहिलो पर्वतीय अध्ययन र अर्को चाहिँ स्की खेलको विकास । उनलाई त्यतिबेलै नेपालमा किन हिमाल आरोहीहरूले देश छाडेर जाँदा रहेछन् भन्ने मनन गर्ने अवसर भयो ।

कम पढेलेखेका आरोही तथा पोटरहरूले सिजनमा बाहेक अन्य बेला कुनै काम पाउँदैनथे । काम पाए पनि उनीहरू थोरै ज्यालामा चित्त बुझाउनु पर्थ्यो । धेरै विदेशीहरूले शेर्पाको सहयोग लिने भए पनि कहिल्यै तिनको सेवाका बारेमा कृतज्ञ नभएको पनि देखिन् ।

उनी भन्छिन्, ‘सगरमाथा वा हिमाल आरोहणपछि सेलिब्रिटी शेर्पाले कुनै एउटा उत्पादनको ब्रान्ड एम्बेसडर हुने अवसर मात्र पाउँछ । उनीहरूलाई राम्रो एकेडेमिक शिक्षा दिन सके, संसारभर आरोहणबारे लेक्चर दिन सक्थे । उनीहरूले आरोहणबाहेक लेक्चररका रूपमा पनि प्रतिष्ठा पाउने थिए ।’

उनको चिन्ता चाहिँ, संसारभरिका धनी र चलाख देशहरूले नेपालका उत्पादन, बाली, बिउविजन, जडिबुटी सबैलाई नयाँ नामकरण गरेर आफ्नो बनाए । कतै हिमालको कपिराइट पनि उनीहरूले नलैजाऊन् । त्यही चिन्ताका कारण उनले नेपाल माउन्टेन एकेडेमी (नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान) बनाउन तीव्र रूपमा लागिपरिन् । 

अहिले उनले देखाएकी छन्, शेर्पाहरू आरोही र ब्रान्ड एम्बेसडरबाहेक पनि अरू काम गर्न सक्छन् । एकेडेमिक रूपमा पनि उनीहरू सशक्त हुन सक्छन् । अहिले एकेडेमीमा वर्षौं पोटर भएर काम गरिसकेका, अरूलाई आरोहण गर्न सफल तुल्याएका कयौं शेर्पाहरूले औपचारिक अध्ययन गर्न थालेका छन् ।

कम्तीमा आफूले यस कार्यलाई पूरा गर्न पाएकामा उनी निकै खुशी छन् । उनी भन्छिन्, ‘समुद्र हुनेले त्यसलाई अध्ययनको मुख्य विषय बनाउँछन्, ज्वालामुखी हुनेले त्यसैलाई मुख्य विषय बनाएर पढाइरहेका छन्, हामीले माउन्टेन एकेडेमी बनाउन ढिला भइसक्यो भन्ने सोच्दै नेपाल माउन्टेन एकेडेमी स्थापना गरेको हो ।’

यसका लागि त्रिभुवन विश्वविद्यालयमा सम्बन्धन लिन जाँदा धेरैले गिल्ला गरे, केहीले हाँसेर टारे । उनको ध्याउन्न नै संसारकै पहिलो माउन्टेन एकेडेमी बनाउनु थियो । उनी यसमा सफल भइन् तर अब यसलाई विश्वविद्यालयका रुपमा विकास गर्न पाए हुन्थ्यो भन्ने चाहना छ । उनले एकेडेमीमा ८ वर्ष कार्यकारी निर्देशकका रूपमा काम गरिन् । पछि उनलाई पर्यटनमन्त्री प्रेम आलेले बर्खास्त गरे । अदालतले पछि उनलाई पुनः पदस्थापन गर्नु परेको थियो ।

यस क्षेत्रमा रहेका लोभीपापीका कारण गर्न सकिने थुप्रै काम पनि गर्न नसकिएकामा उनी चित्त दुखाउँछिन् । पर्यटन र हिमालका बारेमा जानकार नभएका मान्छे बरोबर मन्त्री र सचिव हुने भएकाले तिनको ससाना स्वार्थले देशले लिनसक्ने फाइदा लिन नसकिरहेको उनी बताउँछिन् ।

उनलाई बेलाबखतमा मन्त्री पदका लागि अनुरोध पनि हुने गरेको उनी खुलासा गर्छिन् । ‘एक दिन मलाई यति एयरलाइन्सका आङ छिरिङ दाइले पर्यटन मन्त्रीका लागि कुरा गरिदिन्छु भन्नु भएको थियो,’ उनले भनिन्, ‘मैले मानिनँ किनभने त्यो बेला एकेडेमी बामे सरिरहेको थियो । म र मेरो टिम कसरी यसलाई अन्तर्राष्ट्रिय पहिचान दिन सक्छौं भनेर काम गरिरहेका बेला मन्त्री भएपछि एकेडेमीको प्रशासन र कामहरू ध्वस्त हुन्छ भन्ने सोचेर अस्वीकार गरेकी थिएँ ।’

हुन पनि ६ महिनादेखि एकेडेमीका कर्मचारीले तलब पाएका थिएनन् । ८ महिनादेखि एकेडेमीले कोठा भाडा तिर्न नसकिरहेका बेला उनको नेतृत्वले संस्था सञ्चालनको सफल मोडेल बनाएर देखाएको थियो । संस्थाको बेरुजु सात करोड रुपैयाँ थियो । उनले पछि शून्यमा झार्न सफल भइन् । उनी भन्छिन्, ‘हुन त म एक्लैले यो काम गरेकी होइन, मेरो टिम, मलाई सहयोग गर्ने साथीभाइहरूको सहयोगका कारण सफल भएको हो तर काम फत्ते गर्न पाउँदा मलाई अत्यन्तै खुशी लाग्छ ।’

अहिले पनि उनलाई पर्यटन मन्त्रीका रुपमा धेरैले हेर्न चाहेको तर्फ उनले हाँस्दै भनिन्, ‘मेरो त पहुँच पनि छैन । म त्यहाँ पुग्नैपर्छ भन्ने छैन । जो कोही हिमाल र पर्वत बुझेको मान्छे गए पनि हुन्छ । देशमा गर्नुपर्ने कुरा धेरै छन् । बुझेका मान्छे गए भने धेरै काम गर्न सकिन्छ ।’

अन्तर्राष्ट्रिय मिडियाहरूमा प्रायः उनका कामहरूको चर्चा भइरहन्छ । सन् २०२२ मा पनि ‘अल्फा’ म्यागेजिनले उनलाई ‘इन्स्पायरिङ पर्सन’ भनी फिचर गरेको थियो ।जेनजीको आन्दोलनका क्रममा जेनजीहरूले पनि त्यत्रो तोडफोड गर्दा पर्यटकका कुनै पनि वाहनमा क्षति गरेनन् । यसबाट नेपालीहरूको अतिथि देवो भवः प्रतिको निष्ठा देखिने बताउँदै नेपालको विकास पर्यटनबाटै बढी हुनेमा उनी विश्वस्त छिन् ।

नेपालीहरूमा सेवाभाव प्राकृतिक रुपमा नै भएकाले यसलाई सरकारले बढीभन्दा बढी उपयोग गर्नुपर्ने उनको धारणा छ । सानै उमेरदेखि यो भावलाई अझ प्रश्रय दिने, सेवालाई आयमा बदल्ने कला स्कूलबाट नै सिकाउनुपर्ने उनी बताउँछिन् ।

जीवनमा छोराहरू जन्मदा र तिनको अनुहार देख्दा आफ्नो सारा प्रशव पीडा बिर्सने उनी भन्छिन्, ‘जीवनमा सबैभन्दा अप्ठेरो चाहिँ पासाङ ल्हामु शेर्पा बित्दा उनका छोरीहरूलाई कसरी अनुहार देखाउनु भन्ने परेको अप्ठेरो कहिल्यै बिर्सन्नँ । आज उनीहरूले ठूलो प्रगति गरेको देख्दा निकै खुशी लाग्छ ।’

खुशीको अर्को पल बाँड्दै उनले भनिन्, ‘मैले फोर्टी इयर्स इन माउन्टेन किताब पढ्न भनेर बेलायती राजकुमार चार्ल्सलाई पठाएकी थिएँ । पछि उनी राजा भएपछि किताब पढेर प्रतिक्रिया दिएको पत्र पाउँदा ज्यादै खुशी लाग्यो ।’ 

उनी भन्छिन्, ‘मैले जीवनमा नसोचेको सफलता हात पारेँ । आफ्नै हुटहुटी, केही गरेर देखाउने सपनाका कारण अघि बढेँ । अघि बढ्न धेरै दाजुभाइले सहयोग गरे । मलाई सहयोग गरेजस्तै शेर्पा दाजुभाइले आफ्ना छोरी, चेली र श्रीमतीहरूलाई अघि बढाऊन् । उनीहरूले पनि यो देशमा गर्न सक्ने कुरा धेरै छन् ।’ 

तर अधिकांश अवस्थामा छोरीमान्छेलाई अघि बढाउने बेलामा ‘असल त हो तर...’ वा ‘राम्रो त हो तर...’ भनी महिलाको क्षमतालाई कम आँक्ने प्रवृत्तिले भने पछि पारिरहेको उनको चित्त दुखाइ छ । तापनि विश्वास गरेर आफूलाई दिइने जुनसुकै जिम्मेवारीलाई फत्ते गर्न रत्ति कसर नछाड्ने उनी बताउँछिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र