नेपालमा पछिल्लो समय अंग्रेजी किताबको बिक्री बढेको छ । खासगरी जे सेट्टीको ‘थिङ्क लाइक अ मंक’ होस् या भारतीय लेखक चेतन भगतका किताब हुन्, तिनले नेपाली युवा पाठकलाई राम्रैसँग आकर्षित गरेका छन् ।
गएको वर्ष भारतीय लेखक रितिक सिंहको ‘आई डन्ट लभ एनीमोर’ किताब त नेपालमा २० हजार बिक्री भएको केही वितरकहरूको भनाइ छ । यसले सुन्दर कथावाचन नेपाली पाठकले रुचाउँछन् भन्ने अपेक्षा गर्दै पछिल्लो समय अंग्रेजीमै किताब निकाल्ने युवाको संख्या बढ्न थालेको छ ।
आजै मात्र बजारमा दुई किताब गएका छन् । एस मुनाकर्मीको ‘बिकज् आई लभ यु...’ र अभिज्ञ श्रेष्ठको ‘अ लभर हु नेभर वाज’ बजारमा गएपछि आफ्नो किताबबाट राम्रो प्रतिक्रिया आउने विश्वास व्यक्त गरे ।
भक्तपुरका ३२ वर्षीय मुनाकर्मी पेशाले बैंकर हुन् । अर्थशास्त्रमा एमए उनलाई पछिसम्म पनि लेख्छु भन्नेमा विश्वास थिएन । एक दिन आफ्ना साथीभाइहरू धमाधम विदेश गएको देखेपछि यो प्रवृत्तिप्रति उनलाई चिन्ता लाग्यो र उपन्यासको विषय फुर्यो ।
उनले उपन्यासमा ‘प्रेममा असफलता हुनसक्छ तर जीवनमा असफलता हुनु हुँदैन’ भन्ने मुख्य थिममा काम गरेको बताए । आफूले सिकेका सीप देशमै कसरी उपयोग गर्ने भन्ने दुई युवा सोफी र रोहनबीचको द्वन्द्व उपन्यासमा रहेको मुनाकर्मी बताउँछन् ।
आफूले उपन्यास शुरुमा नेपालीमा नै लेख्नेबारे सोचे पनि अंग्रेजीमा भए संसारभर पुग्न सकिने आशामा लेखेको बताए । उपन्यास अहिलेको पुस्ता, अहिलेकै कथा र अहिलेकै समस्यामाथि लेखिएकाले पाठकले रुचाउने उनको बुझाइ छ ।
शुरुमा उपन्यासको नाम ‘सोफी’ राखेको भए पनि पछि नाम परिवर्तन गरेर ‘बिकज आई लभ यु...’ राखेको बताए । नामले पनि पाठक आकर्षित होलान् भन्ने उनको अपेक्षा छ । चेतन भगत र सुविन भट्टराईको लेखनले तानेपछि आफू लेख्न उत्साहित भएको मुनाकर्मीले बताए ।
अहिले आफू यो उपन्यासबाट आउने प्रतिक्रियाले यही उपन्यासको दोस्रो भाग लेख्नेबारे सोचिरहेको उनले बताए । उनी भन्छन्, ‘पहिले यो उपन्यासको प्रतिक्रिया बुझौं, त्यसपछि अर्को भागको तयारी गरुँला ।’
यसैगरी बजारमा आजैबाट आएको अर्को अंग्रेजी कविता हो, ‘अ लभर हु नेभर वाज’ । यसका सर्जक अभिज्ञ श्रेष्ठ हुन् । ९ कक्षादेखि नै कविता लेख्न थालेका अभिज्ञ १६ वर्षको उमेरमा आफ्ना मामा सचिन मानन्धरको पुस्तक ‘इट्स अल रिटन इन स्टार’ उपहार पाएपछि कविता लेख्न उप्रेरित भएको बताए ।
उनले आफ्नो पुस्तकमा आफैं चित्र कोरेका छन् । ‘मिल्क एन्ड हनी’ कविता संग्रहकी लेखिका रुपी कौरले आफ्ना कवितामा आफैं चित्र कोरेको देखेपछि उनले पनि सोही किसिमको प्रयोग गरेका छन् ।
उनले इस्टाग्राममा आफ्ना कविता राख्ने गरेको र त्यसबाट आएको प्रतिक्रियाबाट पुस्तक निकाल्न उत्प्रेरित भएको बताए । आफूले एक वर्षअघि नै कविता लेखेको भए पनि एक वर्ष लगाएर आफूलाई मन परेका कविताहरू मात्र यसमा संग्रहित गरेको बताए ।
‘तपाईंले कवितालाई सर्सर्ती पढ्नु भयो भने सामान्य अर्थ पाउनुहुन्छ,’ अभिज्ञले भने, ‘तर गहिरिएर हेर्यो भने त्यहाँ लुकेका अनेक पत्रहरू देख्न सक्नुहुन्छ ।’ पुस्तकमा १५२ वटा कविता संग्रहित छन् । दुवै पुस्तकलाई इम्प्रिन्ट पब्लिशर्शले बजारमा ल्याएको हो ।