नेभिगेशन
विश्व

जलवायु परिवर्तनबारे अधिकांशको धारणा गलत

केलिग वेल्स, लस एञ्जल्स, ६ असोज - हालै नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित अध्ययनले देखाएअनुसार धेरै अमेरिकीहरूलाई कुन व्यक्तिगत निर्णयले जलवायु परिवर्तनमा बढी योगदान गर्छ भन्ने स्पष्ट ज्ञान छैन ।

अध्ययनमा सहभागीहरूलाई पेट्रोल कारलाई विद्युतीय कारसँग बदल्ने, कारपुल गर्ने वा खाना फाल्ने बानी घटाउने जस्ता कामहरूको प्रभावबारे क्रम निर्धारण गर्न भनिएको थियो । तर नतिजाअनुसार उनीहरूले यी क्रियाकलापहरूको जलवायुमा पर्ने वास्तविक प्रभाव ठ्याक्कै आकलन गर्न सकेनन् ।

स्ट्यानफोर्ड विश्वविद्यालयकी वातावरणीय सामाजिक विज्ञानकी प्राध्यापक तथा प्रतिवेदन सहलेखिका माडालिना भ्लास्सेनाउ भन्छिन्, ‘मानिसहरूले कम प्रभाव पार्ने क्रियाहरूजस्तै पुनरूत्पादन (रिसाइकलिङ)लाई धेरै ठूलो प्रभाव पार्छ भनेर मान्छन्, तर बढी कार्बन उत्सर्जन गर्ने हवाईजहाजको उडान वा मासु खाने बानीको असरलाई कम आँक्छन् ।’

गलत आकलनका कारण

अध्ययनअनुसार, वातावरणलाई सबैभन्दा बढी फाइदा पु¥याउने व्यक्तिगत तीन क्रियाहरूहरू विमान उडान नगर्ने, कुकुर नपाल्ने र नवीकरणीय ऊर्जा प्रयोग गर्ने कुरामा नै सहभागीहरूले सबैभन्दा कम महत्वमा परेका थिए ।

त्यसैगरी, सबैभन्दा कम प्रभाव पार्ने क्रियाहरूमा कुशल उपकरण प्रयोग गर्ने, बल्ब बदल्ने, रिसाइकल गर्ने र कपडा धुँदा ऊर्जा कम प्रयोग गर्ने कुरामा भने बढी महत्त्व दिने गरेको पाइएको छ ।

भ्लास्सेनाउका अनुसार यसको एउटा कारण चाहिँ बजारको प्रचारप्रसार पनि हो । रिसाइकलिङ वा एलईडी बल्ब प्रयोगबारे विज्ञापन धेरै हुन्छन्, तर हवाई उडान वा मासु खाने बानी किन हानिकारक हुन्छ भन्नेबारे खासै चर्चा गरिँदैन ।

ब्रिटिश कोलम्बिया विश्वविद्यालयकी मनोविज्ञान तथा दिगोपन अध्ययनकी प्राध्यापक जियाइङ झाओ भन्छिन्, ‘रिसाइकल हुने बोतल त देखिन्छ, तर विमान उडाउँदा निस्कने कार्बन आँखाले देखिँदैन । त्यसैले मानिसहरूले उडानलाई उत्सर्जनसँग जोड्दैनन् ।’

झाओको भनाइ छ, रिसाइकल त दैनिक कामजस्तो भएकाले छिट्टै सम्झिन्छौं तर त्यसको तुलनामा उडान कम हुन्छ । त्यसैले मानिसहरूले रिसाइकलिङलाई बढी महत्व दिन्छन् ।

कुकुर र जलवायु प्रभाव

कुकुर मासु खाने भएकाले जलवायुमा ठूलो असर पार्छन् । विशेषगरी गाईजस्ता जनावरले ठूलो मात्रामा मिथेन ग्याँस निकाल्छन्, जुन शक्तिशाली हरितगृह ग्याँस हो । साथै, गाई पालनका लागि अवैधरूपमा वन फडानी गरिन्छ । यसले कार्बन डाइअक्साइड सोस्ने रूखहरू घटाउँछ ।

झाओ भन्छिन्, ‘मानिसहरूले पाल्तु जनावरलाई कार्बन उत्सर्जनसँग जोड्दैनन् । उनीहरूलाई त्यसको सम्बन्धबारे उति जानकारी छैन ।’ (त्यसो त, पश्चिमा मुलुकमा गाईपालन मासुका लागि गरिन्छ । पालनका लागि पनि व्यापकरूपमा ऊर्जा खपत हुन्छ र तिनलाई मासुका रूपमा प्रयोग गर्दा पनि व्यापकरूपमा ऊर्जा खपत हुन्छ । 

त्यसैले पश्चिमाका लागि गाईपालन कार्बन उत्सर्जनका कारक बन्न पुगेका हुन् । पश्चिमाको लहलहैमा लागेर कतिपय नेपालजस्तो देशमा गरिने गाईपालन पनि हानिकारकको तहमा मान्ने गर्छन् ।)

झाओले एउटा उदाहरण दिँदै भनिन्, ‘मसँग एक कुकुर र तीन खरायो छन् । १०० खरायो पाले पनि मेरो एउटा कुकुरले गर्ने कार्बन उत्सर्जनजस्तो हुँदैन, किनकि कुकुर मांसाहारी हो ।’

कुकुर पाल्नेहरूले कम कार्बन भएको खाना माछा वा टर्कीको प्रोटिन प्रयोग गरेर असर घटाउन सक्ने उनी बताउँछिन् ।

हवाई यात्राबाट प्रदूषण

विमानहरूले ठूलो मात्रामा कार्बनडाइअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जन गर्छन् । साथै, तिनीहरूले उत्पन्न गर्ने कन्ट्रेल (वाष्प रेखा) ले ग्रह तताउने ग्यासहरूलाई अन्तरिक्षमा जान नदिने काम गर्छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन अनुसार न्यूयोर्क–लस एञ्जलस बीचको राउन्ड–ट्रिप उडानले एक यात्रुबाट मात्रै १,३०० पाउन्डभन्दा बढी उत्सर्जन गर्छ ।

यसरी एउटा मात्र उडान नगर्दा वार्षिक सबै प्रकारका मासु नखाने वा तीन महिना कार नचलाउने बराबरको कार्बन वचत हुन्छ ।

अन्य निर्णयको प्रभाव

सौर्य वा हावाबाट उत्पादित नवीकरणीय ऊर्जामा स्विच गर्नु ठूलो सकारात्मक प्रभाव पार्ने निर्णय हो । घर तताउने वा चिस्याउने तरिका र यातायातका साधन छनोट, यी सबै प्रमुख कारक हुन् ।

रिसाइकलिङले फोहोर कम गर्न सहयोग गरे पनि जलवायु प्रभाव सानो मात्र हुन्छ, किनकि रिसाइकल प्रक्रियामै पेट्रोलजस्ता इन्धनको प्रयोग हुन्छ । 

यस्तै प्लास्टिकको १०% भन्दा कम मात्र वास्तविकरूपमा रिसाइकल हुन्छ । एलईडी बल्ब प्रयोग गर्ने वा कपडालाई चिसो पानीमा धुनेजस्ता काम लाभदायक भए पनि अन्य निर्णयजस्तो ठूलो असर पार्दैनन् ।

समाधान के त ?

विशेषज्ञहरू भन्छन् — यस्तो गलत आकलनलाई सच्याउन सही र सजिलो सूचना उपलब्ध गराउनुपर्छ । झाओ भन्छिन्, ‘१०–२० वर्षअघि भन्दा अहिले मानिसहरू बढी सचेत भएका छन्, किनकि सिक्ने सुविधा सजिलो भएको छ ।’

अध्ययनले पनि यसलाई प्रमाणित गरेको छ । सहभागीहरूलाई वास्तविक तथ्यांक देखाइएपछि उनीहरूले आफ्नो धारणा बदल्दै पृथ्वीलाई फाइदा पु¥याउने काम गर्न इच्छुक देखिए ।

भ्लास्सेनाउले निष्कर्ष छ, ‘मानिसहरूले यी हस्तक्षेपबाट सिक्छन् । सिकेपछि उनीहरू बढी प्रभावकारी कार्यमा प्रतिबद्ध हुन्छन् ।’ एपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्