नेभिगेशन
दृष्टिकोण

परीक्षा नलिउञ्जेल मात्रै शान्त, संयमी र विनम्र

बुद्धले एक दिन आफ्ना शिष्यहरूलाई यो कथा सुनाए -

श्रावस्तीमा एक जना धनी स्त्री बस्थी । उसको नाउँ विदेहिका थियो । ऊ शान्त तथा सौम्य व्यवहारका कारण टाढाटाढासम्म प्रसिद्ध थिई । सबै मानिसहरू उसलाई ज्यादै असल मान्थे र भन्थे, ‘ऊजत्तिको मृदु व्यवहार भएकी स्त्री श्रावस्तीभर कोही छैन ।’ विदेहिकाको घरमा काली नामक नोकर काम गथ्र्यो । काली आफ्नो काम र आचरणमा कुशल र बफादार थियो ।

एक दिन कालीले सोच्यो, ‘सबै जनाले मेरी मालिक्नीलाई शान्त स्वभाव भएकी ठान्छन् । उसलाई कहिल्यै रिसाएको पनि देख्दिनँ तर यो कसरी सम्भव हुन्छ ? सायद म नै आफ्नो काममा यति असल छु कि उसलाई कहिल्यै रिस उठ्दैन होला । ऊ रिसाउँछे कि रिसाउँदिन भनी परीक्षा गर्नुपर्‍यो ।’ भोलिपल्ट काली काममा ढिलो गरी आइपुग्यो । विदेहिकाले सोधी, ‘तिमी किन ढिला आयौ ?’

कालीले भन्यो, ‘हैन, खासै कारण छैन ।’ विदेहिकाले प्रत्युत्तरमा केही भनिन तर कालीको उत्तर उसलाई ठीक लागेन । भोलिपल्ट काली अघिल्लो दिनभन्दा झनै ढिला आयो । विदेहिकाले पुनः उसलाई ढिला आउनुको कारण सोधी । कालीले उही जवाफ दियो, ‘खासै कारण छैन ।’ यो उत्तरबाट त उसलाई झनै चित्त बुझेन र पनि चुप बसी । तेस्रो दिन काली अझै ढिलो गरी मालिक्नीकहाँ पुग्यो । विदेहिकाले ढिला आउनुको कारण सोधी तर कालीले त्यही पुरानो उत्तर दियो, ‘खासै कारण छैन ।’

यसपटक भने विदेहिकाले आफ्नो धैर्यता गुमाई र कालीलाई चिच्याउँदै गाली गर्न थाली । गाली सुनेर काली हाँस्न थाल्यो । यो देखेर विदेहिकाले छेउमा राखेको लाठी उठाएर कालीको टाउकोमा हानी । कालीको टाउकोबाट रगत बग्न थाल्यो र चिच्याउँदै घरबाट बाहिर निस्क्यो । घरभित्रकी विदेहिका चिच्याउँदै कालीलाई खेद्न थाली । गाउँभरिका मान्छे सडकमा निस्के र तमासा हेर्न थाले । कालीले बाहिर निस्केका मानिसहरूलाई कसरी विदेहिकाले टाउको फुट्नेगरी लाठीले हानी । यो कुरा एक घर, दुई घर हुँदै सहरभर फैलियो र विदेहिकाको ख्याति धूलिसात भयो ।

यो कथा सुनाइसकेपछि बुद्धले आफ्ना शिष्यहरूलाई भने, ‘विदेहिकाजस्तै तिमीहरू पनि शान्त, विनम्र र भद्र व्यक्तिका रूपमा चिनिन्छौ । तर कालीजस्तै कुनै व्यक्तिले परीक्षा नलिउञ्जेल मात्रै तिमीहरू शान्त देखिएका हौ । कालीले जस्तै परीक्षा लियो भने तिमीहरू के गर्छौ ? यदि मानिसहरूले तिमीहरूलाई खाना, लुगा र काम लाग्ने चिज दिएनन् भने उनीहरूप्रति कस्तो आचरण देखाउँछौ ? त्यस्तो परिस्थितिमा पनि तिमीहरू शान्त र विनम्र हुन सक्छौ ? हरेक परिस्थितिमा शान्त, संयमी र विनम्र हुनु नै सत्यको बाटोमा हिँड्नु हो ।

- अच्युत कोइराला

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्