काठमाडौ, ८ असोज - दशैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ र सुकिला नोट सटही दिइरहेको छ । दशैंमा टीका–जमरामा स्नेहको प्रतीकका रूपमा नयाँ नोट दक्षिणा दिने परम्परा छ । यसलाई ध्यानमा राख्दै राष्ट्र बैंकले विगतमा जस्तै यस वर्ष पनि विभिन्न मूल्यका नयाँ नोट उपलब्ध गराएको हो ।
दशैंमा विशेषगरी ५, १०, २०, ५० र १०० मूल्यका नयाँ नोटको माग धेरै हुने गरेको छ । नयाँ तथा सुकिला नोट वितरणका लागि राष्ट्र बैंकले आफ्ना शाखा कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत व्यवस्था मिलाएको छ ।
नोटलाई सफा र सुरक्षित राख्नु सबै नागरिकको कर्तव्य पनि हो । राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. सञ्जयप्रसाद मिश्रले नोट च्यातिने, भिज्ने वा फोहोर हुने गरी प्रयोग गर्न, लेख्ने वा रंगाउने काम गर्न र दुरुपयोग गर्न नहुने बताए ।
नोटको आयु छोट्याउने गतिविधिले राष्ट्रिय सम्पत्तिमा नकारात्मक असर पर्ने भएकाले सबै नागरिक सचेत भएर नोटको प्रयोग गर्न बैंकले सधैं अपिल गरिरहेको छ । ‘नोट केवल पैसाको माध्यम मात्र होइन, राष्ट्रिय पहिचान र सम्पत्ति पनि हो । त्यसैले चाडपर्वमा प्रयोग गरिने नयाँ नोटलाई विशेष ध्यानपूर्वक प्रयोग गर्नुपर्छ,’ मिश्रले भने ।
राष्ट्रियता, संस्कृति र सभ्यताको प्रतीक
विश्वभर प्रायः कागजी नोटको प्रचलन धेरै छ । यी नोटको व्यवस्था राज्यले गर्दछ । सोको जिम्मेवारी केन्द्रीय बैंकलाई प्रदान गरेको हुन्छ । विश्वका प्रायःजसो सबै राष्ट्रले मुद्रा निष्कासन र व्यवस्थापन गर्ने जिम्मेवारी केन्द्रीय बैंकलाई प्रदान गरेका हुन्छन् । नेपालमा पनि यो जिम्मेवारी नेपाल राष्ट्र बैंकले वहन गर्दै आएको छ ।
एउटा सभ्य नागरिकको कर्तव्य राज्यले व्यवस्था गरेको नोट तथा सिक्काहरूको सुरक्षा गर्नु, त्यसलाई जतन एवम् सुझबुझपूर्ण ढंगले प्रयोग गर्नु र नोटलाई सफा राख्न प्रयास गर्नु पनि हो । यस्तो बानी गरेमा व्यक्ति तथा राज्य दुवै लाभान्वित हुन्छन् । जसरी हामी नयाँ नोट प्रयोग गर्न पाउँदा प्रसन्न हुन्छौं त्यसैगरी अरूलाई पैसा भुक्तानी दिएको नयाँ नोटले उनीहरू पनि प्रसन्न हुन्छन् ।
सफा नोटको आयु लामो हुन्छ । यसले नोट छाप्ने, वितरण गर्ने तथा मैला झुत्रा नोट पुनः जम्मा गरी त्यसलाई धुल्याउने कार्यमा भएको खर्च न्यूनीकरण हुन गई साधन बचत हुन्छ र राज्यलाई फाइदा पुग्दछ ।
डिजिटल भुक्तानीमा जोड दिऔं
अहिलेको युग सूचना प्रविधिको युग हो । वित्तीय कारोवारमा पनि प्रविधिमार्फत भुक्तानीका नयाँ–नयाँ पद्धतिहरू विकास भइरहेका छन् । चेकबाट भुक्तानी गर्ने, क्यूआर गर्ने गरेमा पैसाको प्रयोग कम हुन्छ । यसबाट पैसा हराउने, लुटिनेजस्ता भवितव्यमा नपरिने हुन्छ ।
मुलुकभर सफा नोट मात्र चलनचल्तीमा ल्याउनुका साथै नोट व्यवस्थापन खर्च न्यूनीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६७-६८ को मौद्रिक नीतिमार्फत सफा नोट नीति ल्याएको थियो । जनतामा गुणस्तरीय र सफा नोट चलनचल्तीमा ल्याउने, च्यातिएको, फोहोर नोटहरू चलनचल्तीबाट हटाउँदै जानु सफा नोट नीतिको प्रमुख उद्देश्य हो ।
नोटमा लेख्नु हुँदैन
नोटमा जथाभावी लेख्ने र स्टिच लगाउने कार्य गर्दा नोटको आयु घट्न गई अनावश्यकरूपमा नोट छपाइ र व्यवस्थापन खर्च बढ्छ । यस्तै पूजाआजा कार्यमा पानीले भिजाउने, रङ लगाउने गरेको पाइन्छ । यसबाट पनि नोटको आयु घट्छ । सम्पूर्ण नेपाली नोटहरू विदेशमा छाप्ने गरिन्छ ।
छापिएको नोट नेपालमा ल्याउन, नेपालका गाउँ–ठाउँसम्म पु¥याउन, पुरानो नोट विभिन्न ठाउँबाट राष्ट्र बैंकमा फिर्ता ल्याउने कार्यमा राज्यले ठूलो खर्च गर्नुपर्छ । नोटमा नेपाली राष्ट्रिय संस्कृति र सभ्यता अंकित हुन्छ ।
यसर्थ हामीले नोटलाई आफ्नै सम्पत्ति र राष्ट्रको गौरव ठानेर जतनसाथ प्रयोग गरेमा हाम्रो मन प्रसन्न रहने, नेपाल र नेपालीको सभ्यता उच्च राख्न मद्दत पुग्न जानुका साथै राज्यको खर्च पनि न्यूनीकरण हुन गई सो स्रोत–साधन अन्य काममा खर्च गर्न पाइने हुन्छ । यसका साथै, नोट जतिजति पुरानो भयो त्यसले हाम्रै स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने हुँदा सो सम्भावना पनि न्यूनीकरण हुन पुग्छ ।
नोट पट्याउने, कच्याककुचुक पार्ने, पोको पारेर धान मकैको भकारीभित्र राख्ने, माटोमा गाड्ने, जथाभावी लेख्ने वा केरमेट गर्ने, आगोले पोल्ने, च्यात्ने, भिजाउने गर्दा नोटको आयु घट्ने मात्र नभइ राष्ट्रको सम्पतिको दुरुपयोग हुने, जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले नोटको जतन र सुरक्षण गर्नुपर्ने कर्तव्य प्रत्येक नागरिकको हुन्छ । साथै, भुक्तानी गर्दा अनलाइन गर्ने बानी बसालेमा दीर्घकालमा राज्यलाई नोट तथा सिक्का व्यवस्थापन लागत कम पर्ने र उपभोक्ता ठगिनबाट जोगिन्छन् ।