नेभिगेशन
प्रदेश

रारासँगै चंखेली पनि पर्दैछ रोजाइमा

मुगु । मुगु भन्नेबित्तिकै धेरैको मनमा रारा तालको नीलो पानी र मनमोहक प्राकृतिक सौन्दर्यको तस्बिर आउँछ । त्यसैले मुगु पुग्ने अधिकांश पर्यटकको पहिलो रोजाइ रारा ताल नै हुने गरेको छ । तर पछिल्लो समय राराको आकर्षणसँगै मुगुकै अर्को प्राकृतिक सम्पदा चंखेली लेकले पनि आन्तरिक पर्यटकको ध्यान खिच्न थालेको छ ।
समुद्री सतहदेखि करिब चार हजार दुई सय मिटर उचाइमा रहेको चंखेली लेक हिमाली प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र पदयात्राको अनुभव लिन चाहनेका लागि नयाँ गन्तव्यका रूपमा उदाउँदै छ । यो ताल भएको ठाउँ भने होइन । यहाँबाट साइपाल, काञ्जिरोवा हिमाल र रारा तालको दृश्यावलोकन गर्न सकिन्छ । कुनै समय चौपाया लिएर गोठालाहरू मात्र पुग्ने यो लेक अहिले सडक पहुँच विस्तारसँगै पर्यटकको आकर्षणमा पर्न थालेको हो ।
छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँमा पर्ने चंखेली लेक मुगु र हुम्लाको सिमानानजिक अवस्थित छ । यहाँबाट साइपाल र काञ्जिरोवा हिमालका साथै रारा ताल, छायानाथ धाम र ऋणिमोक्ष क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेका बेला मुगु, हुम्ला, बाजुरा र जुम्लाका विभिन्न हिमाली भूभागसमेत देखिन्छन् ।
वडाध्यक्ष जुनबहादुर खड्काका अनुसार पछिल्ला दुई वर्षयता चंखेली घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । नयाँ वर्षका अवसरमा मात्रै तीन सयभन्दा बढी पर्यटक यहाँ पुगेका थिए । सडक पहुँच र सामाजिक सञ्जालमा फैलिएका तस्बिरले पनि यसको प्रचारमा सहयोग पु¥याएको स्थानीयको भनाइ छ ।
सदरमुकाम गमगढीबाट सवारीसाधनमा करिब तीन घण्टा यात्रा गरेपछि फेदी पुगिन्छ । त्यहाँबाट करिब दुई घण्टा ४५ मिनेट उकालो पैदल हिँडेपछि लेकको चुचुरोमा पुग्न सकिन्छ । यसरी गमगढीबाट करिब पाँच घण्टाको यात्रामा चंखेली पुग्न सकिन्छ ।
स्थानीयका अनुसार बिहानको समय चंखेली भ्रमणका लागि उपयुक्त हुन्छ । बिहान ६ बजेतिर उकालो लागेर दिउँसो १२ देखि १ बजेसम्म फर्कनु राम्रो मानिन्छ । यहाँ दिउँसो चल्ने बेस्सरी हावाहुरी चल्छ । ऋतु फेरिएसँगै चंखेलीको प्राकृतिक स्वरूप पनि बदलिन्छ। चैत–वैशाखमा पदमार्ग वरपर लालीगुराँस फुल्दा वनजंगल रंगीन देखिन्छन् । हिमपातपछि लेक सेताम्मे बन्छ । हरिया वन, हिमाली दृश्य र शान्त वातावरणले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्छ ।
चंखेली भ्रमणको अर्को विशेषता स्थानीय खानपान र आतिथ्य हो । बाम, दख्यालबाडा र फोइपाटाका बासिन्दाले खर्कमा उत्पादन गर्ने दूध, दही, मही, खिर र घ्यूको स्वाद लिन पाइन्छ । असोज–कात्तिकमा पाक्ने स्थानीय स्याउ, मुगु कर्णालीको माछा, सिमी र चुली आरु पनि यहाँका विशेषता हुन् । स्थानीय समाजसेवी गोमबहादुर बुढाका अनुसार यी परिकारले पर्यटकलाई स्थानीय जीवनशैलीसँग जोड्न सक्छन् ।
स्थानीय रत्न बढुवाल रारामा आउने पर्यटकलाई चंखेलीसमेत समेटिएको भ्रमण प्याकेज बनाउनुपर्ने बताउँछन् । त्यसो गर्न सके पर्यटकको मुगु बसाइ लम्बिने र स्थानीयको आम्दानी बढ्ने उनको भनाइ छ । प्राकृतिक र सांस्कृतिक सम्भावना बोकेको चंखेलीलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन भने पूर्वाधारको अभाव चुनौती बनेको छ । सुरक्षित पदमार्ग, विश्रामस्थल, शौचालय, खानेपानी, सूचना बोर्ड, फोहोर व्यवस्थापन र आपत्कालीन उद्धार सेवाको व्यवस्था आवश्यक छ । पर्यटन प्रवद्र्धनसँगै वातावरण संरक्षण र स्थानीय समुदायको सहभागितामा ध्यान दिन सके चंखेलीले मुगुको पर्यटनलाई राराभन्दा परसम्म विस्तार गर्न सक्ने पर्यटन व्यवसायी बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्