नेभिगेशन
उपत्यका

घुसको ३३ लाख रुपैयाँसहित दुई पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे र एक व्यवसायी ३३ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख प्रशासकीय अधिकृत घिमिरे र कोटेश्वरको गुड नेबर्स इन्टरप्राइजेज प्रालिका सञ्चालक वरुण ढुंगेललाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको हो । 
आयोगका अनुसार घिमिरेले ठेक्का सम्झौताबमोजिम नियमानुसार बाँकी किस्ता मोबिलाइजेसन फन्डको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएको र बाँकी काममा पनि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । सोही सूचना एवं उजुरीका आधारमा खटिएको टोलीले उनीहरूलाई ३३ लाख रुपैयाँ नगदसहित मध्यपुर थिमि–९, निकोसेराबाट सोमबार पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई विशेष अदालतबाट म्याद थप गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्