नेभिगेशन
राजनीति

गुण्डुमा गगन–ओली एक घण्टा वार्ता

काठमाडौं । कांग्रेसका सभापति गगन थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित  निवास पुगेर थापाले ओलीसँग करिब एक घण्टा कुराकानी गरेका हुन् । 
दुई नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको थापा निकट स्रोतले बताएको छ । सोमबार प्रधानमन्त्री बालेन शाहको स्टाटसविरुद्ध काउन्टर स्टाटस लेखेर ‘नतर्सिने र नडराउने’ बताएका प्रमुख प्रतिपक्षी दलका सभापति थापाको ओलीसँगको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण हेरिएको छ । उनीहरुले भेट के विषयमा केन्द्रित थियो भन्ने औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेका छैनन् । 
उसो त मंगलबार नै कांग्रेस दलको कार्यालयमा एमालेसहितका विपक्षी दलहरुको बैठक बसेको थियो । उक्त बैठकले समेत सरकारको पछिल्ला कामकारवाहीमाथि प्रश्न उठाएको थियो । साँझ सभापति थापा आफैं ओली भेट्न पुगेका हुन् । राजनीतिक दलमा पुरानो पुस्ताको नेतृत्वलाई बिदा गर्नुपर्छ भन्दै कांग्रेसमा नेतृत्व लिन सफल थापा जेनजी आन्दोलनपछि ओली भेट्न गएको यो पहिलो पटक हो । जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओली बालुवाटारबाटै हेलिकप्टरमा सुरक्षित स्थानमा लगिएका थिए । कांग्रेसका तत्कालीन महामन्त्री रहेका थापा ओलीसहित आफ्नै तत्कालीन सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । जेनजी आन्दोलन हुनुमा ओली, देउवासहितका पहिलो पुस्ताको नेताहरुको भूमिका रहेको भनाइ थापाले राख्दै आएका छन् । पार्टीका शीर्ष नेताहरुले सत्ता गठबन्धन गरिरहँदा जनतामा बढेको असन्तुष्टि बुझ्ने प्रयास नगरेको भनाइ उनको छ । ओलीले पनि कांग्रेस विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाको आलोचना गरेका थिए । ओली बालेन शाह नेतृत्वको सरकारको कडा आलोचक हुन् । थापा पनि केही दिन यता सरकारविरुद्ध आक्रामक बनिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्