नेभिगेशन
नेपाल

स्वर्गीय अनुभूति दिलाउने तिलिचो

मनाङको उपल्लो सिमानामा अवस्थित तिलिचो ताल विश्वकै सबैभन्दा उच्च हिमताल हो । यस तालको लम्बाइ करिब ४ किलोमिटर र चौडाइ १ किलोमिटर २०० मिटर छ भने यसको गहिराइ करिब ८५ मिटर रहेको छ । तालको उचाइ ४९४९ मिटर भएकाले यो संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल मानिन्छ । यहाँ हालसम्म कुनै जैविक प्राणी फेला परेका छैनन् ।

रामायणमा वर्णित ‘काक भुसुण्डी’ यस तिलिचो तालसँग सम्बन्धित भएको विश्वास गरिन्छ । के मानिन्छ भने ऋषि काक भुसुण्डीले पहिलो पटक रामायणको कथा गरुडराजालाई यही तालको छेउमा सुनाएका हुन् । कथा सुनाउँदा ती ऋषि कागमा परिणत भए, ‘काक’ संस्कृत भाषामा कागलाई बुझिन्छ ।

तिलिचो नजिकका क्षेत्रहरूमा खाङसार, मुक्तिनाथ, निलगिरी र लिचित शिखर छन् । तिलिचोबारे धेरै पुस्तक लेखिएका छन्, जसमा माउरिस हर्जोगको ‘अन्नपूर्ण’ नामक पुस्तक प्रसिद्ध छ । उक्त पुस्तकमा अन्नपूर्ण क्षेत्र र त्यहाँको तिलिचो तालको स्वर्गीय सौन्दर्यको विस्तृत वर्णन गरिएको छ । यदि अन्नपूर्ण क्षेत्रको पदयात्रा गर्ने योजना छ भने यहाँ दुई–तीन दिन थपेर तिलिचोको यात्रा गर्नु अत्यन्त लाभदायक हुन्छ ।

उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा केमा ध्यान दिनुपर्छ भने दैनिक रूपमा अघिल्लो दिनको भन्दा ३०० देखि ६०० मिटरभन्दा बढी उचाइमा हिँड्नु हुँदैन । एकैपटक बढी उचाइमा गयौं भने शरीरमा अक्सिजनको कमीले गर्दा लेक लाग्न सक्छ । धेरैलाई ठान्छन् नेपालीलाई लेक लाग्दैन तर यो सत्य होइन । लेक लाग्नु भनेको शरीरमा पर्याप्त अक्सिजन नपुगेको अवस्था हो र यो उच्च क्षेत्रमा पुग्ने जोकोहीलाई हुन सक्छ ।

उच्च पहाडी ठाउँमा जति माथि गइन्छ त्यति नै वायुमण्डलमा अक्सिजनको मात्रा कम हुँदै जान्छ । त्यसैले पदयात्रा निकै ध्यानपूर्वक र बिस्तारै गर्नुपर्छ ताकि शरीरले नयाँ वातावरणीय अवस्थासँग अनुकूलन गर्न सकोस् ।

लेक लाग्नु शारीरिक असन्तुलनको जोखिम हो तर सचेत रहँदा यसबाट जोगिन सकिन्छ । तर हेलेचेक्र्याइँ गरियो भने ज्यान नै पनि जान सक्छ । के पाइएको छ भने करिब ६० हजार पदयात्रीमध्ये कम्तीमा एक–दुई जनाको लेक लागेर मृत्यु हुन्छ । त्यसैले यात्रा गर्दा सावधानी हुनुपर्छ, पानी प्रशस्त पिउनुपर्छ, र शरीरलाई विस्तारै अक्सिजनको कम भएको अवस्थासँग तादाम्य गराउन महत्वपूर्ण हुन्छ ।

अन्नपूर्ण क्षेत्रमा शिघ्र नै मौसमको परिवर्तन हुने हुँदा न्याना लुगा र पानी जहिल्यै पनि साथ राख्नु पर्छ । जाडो यति छिटो हुन्छ कि त्यसको अनुमान नै गर्न सकिँदैन । तिलिचो जान आजकाल लमजुङको बेसिसहरसम्म मोटरबाट सजिलै पुगिन्छ । त्यहाँबाट पैदल रूपमा दुई दिनमा मनाङको मुख्य गाँउ चामेसम्म जान सकिन्छ । बाटो राम्रो भए पिकअपले एक दिनमा पुर्‍याइदिन्छ । 

Shekhar-Lamichhane-1756008135.jpg
शेखर लामिछाने

चामेबाट खाङसारसम्मको यात्रा भन्दा त्यसपछि मात्रै वास्तविक उच्च हिमाली पदयात्रा सुरु हुन्छ । खाङसार समुद्र सतहदेखि ३७५६ मिटर उचाइमा छ, र चामेदेखि तीन घण्टाको पैदल दूरीमा पर्छ । उचाइका कारण यहाँबाट यात्रा गर्दा ‘एक्लिमटाइजेसन’ हुनुपर्ने हुन्छ, नत्र लेक लाग्ने खतरा बढी हुन्छ ।

चामेबाट खाङसार जाने बेला मस्र्याङदी र खाङसार खोलाले बनाएको समथर मैदान हुँदै जान्छ । त्यहाँबाट काँडेजस्ता सल्ला र हरियालीका फाँटहरू देख्न पाइन्छ, जसले यात्रालाई मनमोहक बनाउँछ । खाङसारपछि बाटो उकालो लाग्छ र त्यहाँबाट हिमालहरू नजिकै देखिन्छन् । बाटोमा अन्नपूर्ण दोस्रो हिमशिखर र ढुङगे पहराहरू देखिन्छन् । यो बाटोमा खासै मानिस हिँडेको पाइन्न । शान्त र एकान्त वातावरण हुन्छ ।

जति माथिमाथि गयो उतीउती जंगलका रुख कम हुँदै जान्छन् । त्यो बाटो श्रीखर्कसम्म पुग्छ, त्यो खर्क ४०४५ मिटर उचाइमा छ । त्यहाँ जहिल्यै चिसो हावाको सिरोटो चलिरहेको हुन्छ । आकाश सफा भएमा तिलिचो शिखरको मनमोहक दृश्य पनि श्रीखर्कबाट देख्न सकिन्छ । त्यस्तै, खाङसार खाङ नामको काला पहाड पनि देखिन्छन् जुन अन्नपूर्ण पहिलो हिमालसँग जोडिएको छ ।

श्रीखर्कपछिको बाटो कहीँ धेरै भिरालो र ढुङ्गाले भरिएको छ । त्यस्ता क्षेत्रमा धेरै सावधानी अपनाएर हिँड्नुपर्ने हुन्छ । घुम्तीका ठाउँठाउँमा बार र भर्‍याङ बनाइएका छन् । त्यो बाटोमा पर्ने ढुंगेनी पहरामा माथिबाट ढुंगा खसेर आइरहेको हुन्छ । त्यसैले एकदम होसियार भएर हिँड्नु पर्छ । यस ठाउँमा ट्रेकिङ स्टिक धेरै सहयोगी हुन्छ । खाङसारबाट बिहानै हिँड्ने हो भने घामले टाउका माथि नपुग्दै यो भिरालो बाटो पार गर्न सकिन्छ जसलाई सुरक्षित मानिन्छ । चर्को घामले ढुङ्गा तातेपछि ती झर्न थाल्छन् ।

तिलिचो बेस क्याम्पसम्मको बाटो तेर्सो नै छ । पैदल मार्ग अर्को पहाडको कुइनेटोमा पुगेर बिलाउँछ, अनि फेरि त्यस्तै अर्को पहाडी बाटो देखिन्छ । आँखाले देखुन्जेल कुइनेटाहरूको धर्सोजस्तो पहाडी बाटोले यात्रीको पक्का धैर्यको मापन गर्छ ।

खाङसारबाट एक दिनको पैदल यात्रामा तिलिचो बेस क्याम्प पुगिन्छ । त्यहाँ रहेका तीनवटा मुख्य लज मध्ये एउटा रोजेर बस्न सकिन्छ । त्यहाँ सोलार प्यानलले तताएको तातो पानी उपलब्ध छ, तर त्यसका लागि छुट्टै शुल्क लाग्छ । लजहरूमा विद्युत् खपत कम राख्न लागि मोबाइल र क्यामराको चार्जिङ काउन्टरमा गर्नुपर्छ । 

अर्कोदिन बिहानै हिँडेर पाँच घण्टामा तिलिचो ताल पुग्न सकिन्छ । यो यात्रा भने साँच्चै नै सकसपूर्ण हुन्छ । किनभने ठाडो उकालो र उचाइले गर्दा ज्यानलाई पुरै शिथिल बनाउँछ । तिलिचो पुगेपछि लामो यात्रा र थकाइलाई बिर्सिएर निलो आकाश मुनिको निलो पानीको ताल हेर्दा कहिल्यै बिर्सन नसकिने अद्भूत अनुभूति हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्