नेभिगेशन
दृष्टिकोण

जेनजी विद्रोहको दलहरूलाई सन्देश

गत भाद्र २३ र २४ गतेका दिनका घटनाक्रमसहित जेनजी आन्दोलनले नेपालमा एक मौन तर शक्तिशाली आन्दोलनको प्रवाहले नेपालको राजनीतिक र सामाजिक परिदृश्यलाई पुनः आकार दिइरहेको छ । यो पुस्ता, सन् १९९० को दशकको मध्य र सन् २०१० को दशकको सुरुवातको बीचमा जन्मेकाहरू भनेर परिभाषित गरिएको छ जो लोकतान्त्रिक संक्रमण, तिव्र
विश्वव्यापीकरण र अभूतपूर्व सूचना प्राविधिसँगको निर्भरताले भरिपूर्ण भएको छ यो नै उसको परिपक्वताको प्रमाण हो भन्न सकिन्छ । 

आफ्ना पूर्ववर्तीहरू भन्दा फरक, नेपालमा जेनजी सन् २००६ को जनआन्दोलन, राजतन्त्रको उन्मूलन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र २०१५ को संविधानको घोषणाका वाचाहरू बीच हुर्केका छन् । तैपनि तिनीहरू राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी र आफ्ना नेताहरूको अपूर्ण वाचाहरूको कठोर विरोधाभासमा पनि बाँचिरहेका छन् ।

नेपालमा जेन जी आन्दोलन औपचारिक राजनीतिक दल वा संरचित संगठन होइन । बरु, यो एक उदीयमान चेतना, जवाफदेहिताको लागि सामूहिक हुटहुटी, र रूपान्तरणको लागि आतुर पुस्ताको सामूहिक माग हो । सामाजिक सञ्जालहरूमा संयन्त्र निर्माण गरी आवश्यक बहस सिर्जना गर्न सक्रियतादेखि सडक आन्दोलन र आम मतदातासम्म, यो पुस्ताले आफ्नो उपस्थितिलाई जवर्जस्त प्रभावित गरिरहेको छ । 

नेपाल राजनीतिको नयाँ युगमा प्रवेश गर्दै गर्दा, राजनीतिक दलहरूलाई जेनजी पुस्ताको सन्देश तत्काल र दीर्घकालीन दुवै छन् तत्कालीन मागका रुपमा परिवर्तन अपरिहार्य छ, र दिर्घकालिन रुपमा राजनीति गर्ने पुरानो पुस्ता र तरिकाहरू दुवैले वैधता गुमाउँदैछन् । तसर्थ ‘पुस्तान्तरण गर’ र ‘तरिका वदल’ उनीहरूका जवर्जस्त सन्देश हुन् ।

जेन्जीका विशेषता

नेपालमा जेन्जी पुस्ता धेरै तरिकामा अघिल्ला पुस्ताहरू भन्दा फरक छ । पहिलो, तिनीहरू डिजिटल नेटिभ हुन् । टिकटक, इन्स्टाग्राम, युट्युब र एक्स (पहिले ट्विटर) जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू तिनीहरूको सार्वजनिक क्षेत्र बनेका छन्, जहाँ तिनीहरू राजनीतिको बारेमा छलफल गर्छन्, भ्रष्टाचारको पर्दाफास गर्छन् र अभियानहरू परिचालन गर्छन् । अनलाइन प्लेटफर्महरूले तिनीहरूलाई परम्परागत पार्टी–नियन्त्रित मिडियालाई बाइपास गर्न र मामला र काण्डहरूलाई प्रत्यक्ष रूपमा चुनौती दिने कार्यमा उपयोग गरिरहेका छन् ।

दोस्रो, तिनीहरू व्यावहारिक छन् । जेनजीमा धेरैका लागि, राजनीतिक विचारधारा परिणामभन्दा कम महत्वपूर्ण छ । तिनीहरू वामपन्थी वा दक्षिणपन्थीको ऐतिहासिक विरासतमा कम बाँधिएका छन्, र नेताहरूले रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, डिजिटल अवसरहरू, र बसाइँसराइ नीतिहरू जस्ता मुद्दाहरूमा काम गर्छन् कि गर्दैनन् भन्ने कुरामा बढी केन्द्रित छन् ।

तेस्रो, तिनीहरू विश्वव्यापी नागरिक हुन् । बसाइँसराइ र रेमिट्यान्स संस्कृतिले युवा नेपालीहरूलाई अन्तर्राष्ट्रिय अनुभव, मूल्यमान्यता र अवसरहरूसँग जोडेको छ । डिजिटल संसारले उनीहरूलाई विश्वव्यापी आन्दोलनहरू– जलवायु परिवर्तन, नारीवाद, जातिवाद विरोधी, र लोकतन्त्रका लागि भएका तमाम संघर्षहरूसँग पनि जोडेको छ जसले उनीहरूले घरमा राजनीतिलाई कसरी व्याख्या गर्छन् भन्ने कुरालाई पुष्टि गर्दछ ।

जे होस, जेन जी अधीर, अस्थिर तर आशावादी पुस्ता हो । उनीहरू स्थापित दलहरूको असफलताबाट निराश छन् तर परिवर्तन सम्भव छ भन्ने विश्वास पनि गर्छन् । यो संयोजनले उनीहरूलाई एक परिवर्तनकारी राजनीतिक शक्ति बनाउँछ । स्वतन्त्र र वैकल्पिक आन्दोलनको उदय २०७९ को चुनाव जेनजी आन्दोलनको लागि एक परीक्षणको क्षण थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीको सफलता र कैयन् महानगरहरूको निर्वाचन परिणामले परम्परागत दलहरूप्रतिको गहिरो निराशा र नयाँ नेतृत्वको भोकलाई राम्ररी उजागर गर्‍यो । धेरै युवा मतदाताहरू, विशेष गरी शहरी क्षेत्रहरूमा, स्वतन्त्र उम्मेदवारहरूको पक्षमा र पुराना पार्टीका विपक्षमा उर्लेर आए । पुराना पार्टीका कार्यकर्ताहरू समेत वैकल्पिक आन्दोलनहरूतिर लागे ।

नयाँलाई प्रवद्र्धन गर्न सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलेको थियो । जेनजीले अनलाइन मात्र परिचालन गरेनन्, अभियानहरूमा स्वयंसेवा पनि गरे, चुनावी अनियमितताहरूको अनुगमन गरे, र पुराना दल र नेताहरूलाई खुला रूपमा चुनौती दिए । मतदान नगर्नेहरूले पनिडिजिटल सक्रियता, मीम्स र व्यंग्यात्मक टिप्पणीमार्फत आफ्नो असहमति व्यक्त गरे । 

यी कार्यहरूले जेन जी गैरराजनीतिक छैनन् भनेर देखाउँछ यसका साथै तिनीहरू पुराना र परिवारवादमा आधारित दलतन्त्रलाई अस्वीकार गर्छन् भन्ने कुरा नेप्पो वेवी जस्ता भिडियो सन्देशले पुष्टि गर्दछ । जोखिमयुक्त भए पनि तिनीहरू नयाँ नेतृत्वको प्रयोग गर्न इच्छुक छन्, किनभने पुराना दलहरू उनीहरूलाई आकर्षित गर्न वा प्रेरित गर्न असफल भइसकेको छ भन्ने उनीहरूको निष्कर्ष छ ।
  
जेनजीले जोड दिएर प्रचार गर्ने तत्कालीन र दीर्घकालीन गरी दुई प्रकारका एजेण्डा रहेका छन्; एक– रोजगारी र आर्थिक अवसरहरू पहिलो मुद्दा हो । उच्च युवा बेरोजगारी र सामूहिक बसाइँसराइको चापका वावजुद जेनजीले स्वदेशमै राम्रो रोजगारी सिर्जना गर्ने नीतिहरूको माग गर्दछ । तिनीहरू उद्यमशीलताको पक्षमा सीप–आधारित शिक्षा, र रेमिट्यान्समा निर्भरताबाट निस्कन चाहन्छन् । 

Khimlal-devkota-1755570944.jpeg
खिमलाल देवकोटा
संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता 

दुई–डिजिटल ट्रान्सफरमेसन दोश्रो मुद्दा हो । डिजिटल पुस्ताका रुपमा, जेन जीले नेपालले शासन, व्यवसाय र शिक्षाको लागि प्रविधिको प्रयोग गरोस् भन्ने चाहन्छन् । तिनीहरू पारदर्शी इ–गभननेन्स, देशभर भरपर्दो इन्टरनेट पहुँच र स्टार्टअपहरूको लागि सहयोगको अपेक्षा गर्छन् ।

त्यस्तै, सुशासन र जवाफदेहिता उनीहरूको तेस्रो चाहना हो । भ्रष्टाचार काण्ड र राजनीतिक सौदावाजी युवाहरूका घृणाका विषय हुन् । तिनीहरू पारदर्शिता, जवाफदेहिता र नातावादको अन्त्यको बारेमा आवाज उठाउँछन् । शिक्षामा सुधार उनीहरूको सबैभन्दा महत्वको विषय हो । उच्च शिक्षा र रोजगारी बीचको बेमेल उनीहरूको बारम्बार गुनासो हो । 

यो जेनेरेसन पहुँचयोग्य, नवीन र विश्वव्यापी रूपमा प्रतिस्पर्धी गुणस्तरीय शिक्षाको माग गर्दछ । साथै, जलवायु परिवर्तन र वातावरण उनीहरूको साझा मुद्दा हो । जलवायु जोखिमहरूको लागि नेपालको जोखिमको साथ, यो जेनेरेसन दिगो विकास, वातावरणीय न्याय र हरित नीतिहरूको बारेमा बढ्दो रूपमा बोल्ने गर्दछ । सामाजिक न्याय र समावेशीकरण पनि उनीहरूको एजेण्डा हो । यस अलावा दलहरूलाई उनीहरूको प्रष्ट सन्देश आफ्ना वाचा पूरा पुरा गर भन्ने छ ।

राजनीतिक दलहरूले नारा, घोषणापत्र र खोक्रो भाषणले अब प्रेरणा दिँदैनन् भन्ने कुरा बुझ्नुपर्छ । युवाहरूले ठोस परिणामहरूको माग गरिरहेका छन् । चाहे त्यो रोजगारी सिर्जना होस्, पूर्वाधार विकास होस्, वा शिक्षा सुधार होस्, जेन्जी पुस्ता भाषण हैन डेलिभरी खोजेका छन् ।

परम्परागत राजनीतिक संस्कृतिमा रूपान्तरण गर भन्ने हो । नेपालको राजनीतिक संस्कृति लामो समयदेखि सीमित वर्ग समुदायको कब्जामा छ । जेन्जी पुस्ता यस प्रणालीलाई चुनौती दिइरहेका छन् । 

युवाहरू जहाँ छन् त्यहाँ राजनैतिक दल हुन जरुरी छ उदाहरणका लागि डिजिटल प्लेटफर्महरू, विश्वविद्यालय, युवाहरूले काम गर्ने स्थलहरू स्वदेश वा विदेशमा पनि दलहरूको उपस्थिति जरुरी छ । यसका लागि युवाप्रतिको सम्मान, उनीहरूप्रतिको नम्रता, संवाद र समावेशीता अत्यन्त आवश्यक छ ।

जेन्जी पुस्ताका लागि नेपालको भविष्य कसले पद पाउँछ भन्ने हैन उनीहरूको आकांक्षा पूरा गर्न सरकार सकारात्मक छ कि छैन भन्ने हो । राजनीतिक दलहरूले देखाउनका लागि केही युवाहरूलाई सांकेतिक समावेशीकरण गर्ने काममा सीमित हुनुहुँदैन । 

युवा नेतृत्वलाई संस्थागत गर्न उनीहरूको अर्थपूर्ण नेतृत्वका लागि अवसरहरूको मार्गप्रशस्त गर्नुपर्नेछ । स्वतन्त्र र वैकल्पिक युवा आन्दोलनलाई खतराको रूपमा हेर्नुको साटो राजनीतिक दलहरूले तिनीहरूलाई लोकतन्त्रको विकास विस्तार संरक्षण र संवर्धनमा भरपर्दो साझेदारको रूपमा हेर्नुपर्छ ।

नेपालमा जेनजी आन्दोलनले राजनीतिक दलहरूका लागि चुनौती र अवसर दुवै एकसाथ प्रदान गरेको छ । यो चुनौती किन पनि हो भने यसले दल र नेतृत्वमा रहेको प्रवृत्तिलाई अस्वीकार गर्छ । यो पुस्ताले अधिकारमाथि बिना मोलाहिजा प्रश्न उठाउँछ र जवाफदेहिताको माग गर्छ । यो कुरा पुराना पुस्तालाई स्वीकार्न कठिन होला ।

किनभने पुरानो पुस्ता दास र झोलेहरूको खोजीमा छ । यो अवसर किन पनि हो भने यसले नेपालको लोकतान्त्रिक यात्रामा नविनतम ऊर्जा, रचनात्मकता र दृष्टिकोणलाई समावेश गर्छ । नेपालको राजनीतिक इतिहास युवाहरूकै त्याग बलिदान र अगुवाइले भरिएको छ । २०३६ सालको जनमत संग्रह युवा विद्यार्थीहरूको आन्दोलनको परिणाम थियो । 

२०४६ सालको परिवर्तनमा ३० ननाघेका युवाहरूको कुर्वानीको जगमा सफल भएको थियो भने माओवादी जनयुद्ध सम्पुर्ण रुपमा युवाहरूको नेतृत्व, सहभागिता र समर्थनमा सम्पन्न भएको थियो । आफ्नो पुरानो विराशत स्मरण मात्रै गरे पनि आजका युवाको अन्तरआत्माको आवाजलाई सम्वोधन गर्न कुनै गाह्रो हुने छैन । तर मानिस आदतको दास हो । आजको राजनैतिक दल र तिनको नेतृत्व त्यो आदतको दासत्ववाट मुक्त हुन नसकेको कारणले जेनजी आन्दोलन भएको हो ।

त्यसैले राजनीतिक दलहरूलाई स्पष्ट सन्देश हो– युवा आन्दोलनसँग एकाकार हुने कि आफैं अप्रासंगिक बन्ने । यदि दलहरूले जेनजीको आकांक्षालाई आत्मसात गरेमा उनीहरूले नेपालको लोकतन्त्रलाई पुनर्जीवित गर्न र यसको युवाहरूको सम्भावनालाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्छन् ।

यसो गर्न तिनीहरू असफल भए भने इतिहासले देखाए जस्तै नयाँ शक्ति पुराना शक्तिलाई विस्थापित गर्नेछन् । जेनजी आन्दोलन पुराना पुस्ताको अनुमतिको पर्खिरहने छैन आन्दोलनले बुढो पुस्ता बढारिसकेको हुनेछ । अबको समय राजनीतिक दलहरूले युवाहरूको आवाज सुन्ने र तिनको अपेक्षा पुरा गर्ने समय हो । यो सन्देश बुझ्न सक्दा सच्चिने, बुझ्न नसक्दा सक्किने हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्