शनिबार शीतलनिवासमा बस्ने भनिएको बैठकको समयमै भयो तर वार्ताका एक मुख्य पात्र राष्ट्रपति रामचन्द्र पौडेल भने उपस्थित हुन सकेनन् । उनको अनुपस्थितिले देशको राजनीति फेरि अनिश्चिततातर्फ ढल्कने पो हो कि भन्ने आशंका भए पनि पछि प्रधानमन्त्री सुशीला कार्कीले परिस्थिति सम्हालिन् । बिहान ९ बजेदेखि नै जेनजी आन्दोलनका प्रतिनिधिहरू चरणबद्ध रूपमा राष्ट्रपति निवास पुग्न थालेका थिए । सुदन गुरुङ, रक्षा बम, युजन राज भण्डारी, रिजन रानामगर, मिराज ढुंगानालगायतका जेनजी उपस्थित थिए ।
तर वार्ताको सुरुवातअघि नै खबर आयो राष्ट्रपति पौडेललाई स्वास्थ्य समस्या छ, उनी उपस्थित हुन सक्ने अवस्था छैन । राष्ट्रपतिको अनुपस्थितिले बैठकको औपचारिक स्वरूप तोड्नुका साथै जेनजी र सरकारबीचको विश्वासको सन्तुलन डगमगाउला कि भन्ने अवस्था पनि सिर्जना भयो । शीतलनिवासभित्र अनौपचारिक संवाद चलिरहँदा बाहिर नाराबाजी चलिरहेको दृश्यले त्यो तनावलाई अझ प्रष्ट बनाइरहेको थियो ।
कार्की प्रतिरक्षाको अवस्थामा
राष्ट्रपति अनुपस्थित रहेपछि प्रधानमन्त्री सुशीला कार्कीले पहल लिएर जेनजी टोलीसँग छलफल अघि बढाइन् । सबै मन्त्रीहरूलाई वरिपरि राखेर उनले आन्दोलनकारीहरूलाई आफ्नो दृष्टिकोण बुझाउने प्रयास गरिन् । वार्तामा सहभागी एक प्रतिनिधिले भने, ’प्रधानमन्त्रीज्यूले सरकारमाथि लागेको ‘एनजीओको प्रभावमा चलेको’ आरोपलाई दृढताका साथ खण्डन गर्नुभयो ।’
प्रधानमन्त्रीको शब्दहरू तीखा र स्पष्ट थिए, ’यो कुनै एनजीओको सरकार होइन, यो मेरो सरकार हो । हामी नै चलाइरहेका छौं, ढुक्क हुनुहोस् ।’ कार्कीले जेनजीहरूसँग सहयोगको हात बढाउँदै भनिन्, ’हामी र तपाईं एउटै उद्देश्यका दुई पाटा हौं, आउनोस्, देशलाई स्थायित्वतर्फ अघि बढाऔँ ।’
उनको यस वक्तव्यले तत्कालको वायुमण्डलमा सहजता ल्यायो, तर ठोस राजनीतिक सहमति भने बन्न सकेन । असन्तुष्टि र अविश्वासको आभास शीतलनिवासको प्रांगणमा अनौपचारिक संवाद चलिरहँदा, बाहिर भने आन्दोलनकै केही समूहहरूले ’वार्ता वहिष्कार’ भन्दै नाराबाजी गरिरहेका थिए ।
वार्ता टोलीकै पुरुषोत्तम यादवले वहिष्कार गरेपछि ‘जेनजीभित्रै एकता छैन’ भन्ने सन्देश बलियो रूपमा बाहिरियो । एक प्रतिनिधिले भने, ’यत्रा समूह हुँदा एउटै बैठकमा बस्न सम्भव छैन, त्यसैले चरणबद्ध वार्ता आवश्यक छ ।’ भित्र संवाद, बाहिर विरोध, यही विरोधाभास अहिलेको राजनीतिक अवस्थाको प्रतिविम्ब हो ।
भ्रष्टाचार र वैधताको प्रश्न
प्रधानमन्त्रीसँगको छलफलमा जेनजी नेताहरूले आफ्ना एजेन्डा राख्न भुलेनन् । प्रतिनिधि प्रवेश दाहालका शब्दमा, ’मैले भ्रष्टाचारीमाथि कारबाही हुनुपर्छ भन्ने कुरा उठाएँ । आन्दोलनलाई अपराधीकरण नगरी वैधानिक रूपमा अघि बढाउने उपायबारे पनि कुरा गरियो ।’
अर्थमन्त्री रामेश्वर खनालले पनि सरकारको ‘शून्य सहनशीलता नीति’ दोहोर्याउँदै भने, ’उजुरी आएका आधारमा कारबाही भइरहेका छन्, विपत्तिका कारण ढिलाइ भएको मात्र हो ।’ तर आन्दोलनकारीहरूबीच अझै शंका बाँकी छ — के यो सरकार साँच्चै स्वतन्त्र छ वा बाहिरी साउतीमा चलिरहेको छ ?
राष्ट्रपतिको अनुपस्थिति : सन्देश कि संयोग ?
राजनीतिक विश्लेषकहरूका अनुसार, राष्ट्रपति पौडेलको अनुपस्थितिलाई केवल स्वास्थ्य समस्याको परिणाम भनेर हेर्न सकिँदैन । अन्तरिम सरकार र राष्ट्रपतिको सम्बन्धमा हालै देखिएको चिसोपन, दलहरूसँगको असमञ्जस र निर्वाचनको समय सम्भावनासँग जोडेर यो घटनालाई धेरैले ‘सन्देशमूलक मौनता’को रूपमा बुझेका छन् ।
एक वरिष्ठ विश्लेषकको भनाइमा, 'राष्ट्रपतिले उपस्थित नहुनु स्वास्थ्यभन्दा बढी राजनीतिक सन्देश पनि हुन सक्छ । यो असन्तुलन देशको संक्रमणकालीन प्रक्रियामा गम्भीर संकेत हो ।’ प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूलाई ’सहयोग र संयम’को आग्रह गरे पनि आन्दोलनभित्रको असन्तोष र बाहिरी अविश्वासले त्यो संवादलाई स्थायित्वमा रूपान्तरण गर्न सकेको छैन ।
हामी नेपालका संयोजक सुदन गुरुङले भने, ’सरकारले काम गरिरहेको छ भन्ने विश्वास छ तर गलत समाचारहरू र भ्रम फैलाउने प्रवृत्तिलाई रोक्नुपर्छ ।’