नेभिगेशन
दृष्टिकोण

विदेश पलायनलाई रोक्ने योजना

महाकवि लक्ष्मीप्रसाद देवकोटा आफू लिखित कृतिमध्ये ‘मुनामदन’ लाई प्रिय मान्थे । जीवनको अन्तिम घडीमा पनि महाकविले आफ्ना सबै कृति नासिए पनि ‘मुनामदन’ चाहिँ जोगियोस् भनेका चर्चा गरिन्छ । नेपालको सर्वकालीक कृतिमा दरिएको मुनामदनमा देवकोटाले नेपाली परम्पराकै कथा कहेका छन् । ९० वर्षअघि प्रकाशित त्यो कथाको सार हो, वैदेशिक रोजगार र त्यसको पीडा । देवकोटाले आफू बाँचेको समयभन्दा धेरैअघि जोहो टार्न भोटमा जाने नेपाली युवाको कुरा कथेका थिए । तर त्यो परम्परा उनको पालामा पनि थियो; अहिले पनि छ, र भोलि कहिलेसम्म हुनेछ भन्ने सकिने अवस्था छैन ।

रोजगारीको आशमा दैनिक दुई हजार युवा रोजगारीका लागि विदेश गइरहेका छन् । गत आर्थिक वर्ष हालसम्मकै उच्च ८ लाख युवाले श्रमस्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेमा नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत छन् । संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया र बहराइनसँगै युरोपेली मुलुक गरी ६९ देशमा नेपाली युवाहरु गइरहेका छन् ।

युवा विदेश जाने मात्र होइन, उनीहरुले कमाएको पैसा पनि ठूलो मात्रामा घर पठाउने गरिरहेका छन् । सरकारी तथ्यांकले तीन वर्षमा नेपालले ठूलो मात्रामा रेमिटान्स (विप्रेषण) प्राप्त गरेको देखाएको छ । २०७८-७९ मा १० खर्ब रुपैयाँभन्दा बढी भित्रिएको रेमिटान्स २०७९-८० मा आइपुग्दा १२ खर्ब पुग्यो । २०८०-८१ मा यो रकम १३ खर्ब नजिक पुगेको छ । नेपालीले विदेशमा काम गरेर पठाएको पैसाले देश धानिएको छ, अर्थात् नेपाली अर्थतन्त्रको आधार रेमिट्यान्स भएको छ ।

यसरी युवाहरु विदेशिइरहेको अवस्थामा हामीले मनाउने युवा दिवसको अर्थ के हुन्छ भन्ने प्रश्न मुखर हुन्छ । सन् २००० देखि संयुक्त राष्ट्रसंघको अगुवाइमा हरेक वर्ष १२ अगस्टका दिन युवा दिवस मनाउने गरिन्छ । यो वर्ष संयुक्त राष्ट्रसंघले युवा दिवसका लागि तय गरेको नारा ‘स्थानीय युवाका लागि दिगो विकास लक्ष्य र कार्यहरू’ रहेको छ । नेपालले तय गरको नारा चाहिँ ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ छ । तर, सरकारको नारा विदेश जाने युवाहरुको लर्कोले हावा खाइरहेको प्रतीत हुन्छ ।

९० वर्षअघि मदन विदेशिइरहेको अवस्था थियो । त्यतिबेला उद्योग, कलकारखाना थिएनन् । रोजगारी थिएन । आज एउटा राज्यलाई आधुनिक र समक्ष बनाउन चाहिने सबै कुरा नेपालमा उपलब्ध छ । तर पनि युवा विदेशिने क्रम रोकिएको छैन । अझ रोचक त युवा दिवसका दिन एकतिर विदेश जानेको लर्को अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको थियो भने नेपालको हृदय रोग उपचारमा ख्याती कमाएको संस्थाका एक योग्य चिकित्सकले विदेश पुगेर राजीनामा पठाइएको सन्दर्भ झन् दुःखदायी बनाउने खालको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ चिकित्सक डा. रामेश कोइरालाले विदेश पुगेर सामाजिक सञ्जालमार्फत पठाएको राजीनामाको अन्तर्य त समयक्रममा खुल्दै जाला । तर दुःखको कुरा देशभित्रको निराशाजनक वातावरण र युवा पलायन मात्र होइन विज्ञ र प्रवुद्ध वर्गका मानिस पनि पलायन हुँदै जानु चिन्ताको विषय हो ।

आजातजावत, घुमफिर, जीवनयापन गर्ने व्यक्तिको नैसर्गिक अधिकारलाई सम्मान गर्नुपर्छ । त्यो अधिकार उसले उपभोग गर्न पाउनु पर्छ भन्नेमा दुई मत छैन । तर विगतका तुलनामा विकसित गतिविधि र सुविधा बढ्दा बढ्दै पनि कुन कारणले युवा विदेश गइरहेका छन् र यो किन राष्ट्रिय संस्कृतिमा परिणत भइरहेछ ?

देशको भविष्य र नेतृत्वप्रति आम जनता किन असन्तुष्ट छन् भन्ने कारण देश चलाउने दल र सरकारले बुझ्नुपर्छ । उज्ज्वल भविष्य देखिन थाल्यो भने कोही विदेश जाँदैन । त्यसो हो भने युवाहरुमा भविष्यको आशा देखाउने काम कसले गर्ने हो ? राजनीतिक दलले युवाहरुलाई भोटरमा मात्र सीमित पार्नु भएन । मतदाताको दीगो भविष्यको लागि पनि सोच्नु पर्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
भगवानको लीला अपरम्पार

भगवानको लीला अपरम्पार

अमरताको खोजी

अमरताको खोजी

जनताको आशाको बजेट

जनताको आशाको बजेट