मान्छे जान्ने नै हुन्छन् । जो जान्ने हुँ भन्ने चेतनामा रहेका हुन्छन् तिनीहरू अझ धेरै जान्ने हुने प्रयास गर्छन् । जो जति जान्दछन् ती मानिस आफूले जानेका कुरा अरूलाई कोही घमण्डी जस्ता लाग्छन् कोही असल जाती उदार जस्ता प्रतीत हुन्छन् । म कस्तो छु, सुनाउन चाहन्छन् ।
आफ्नो आफ्नो कुरा गर्ने र भन्ने सुनाउने शैली हुन्छ । शैलीअनुसार म कसरी अरू व्यक्ति समक्ष प्रस्तुत हुन्छु भन्ने कुरा मलाई थाहा हुँदैन । कसले मलाई मन नपराएर कति बेला मेरो साथ छोड्यो, को मेरो घनिष्ट साथी हुन किन आयो ? म के कारणले निकटता मन पराउनेका लागि ठिक र असल व्यक्ति ठहरिएँ भनेर बुझ्नुपर्छ ।
आ जेसुकै होस्, जोसुकैले मन पराओस् कि मन नपराओस् भन्ने कित्ताका मान्छे सुखी हुन्छन् । आफूलाई लागेको र आफूले जानेको कुरा स्पष्ट भनिदियो त्यसपछि आफ्नो सुरमा लागेर आफ्नो काम गयो ।
अर्काले मलाई के भन्छ, मन पराउँछ कि मन पराउँदैन भनेर चिन्ता लिनेहरू जिन्दगीभरि कहिल्यै सुखी हुँदैनन् । को घोसे, को कप्टी, को घमण्डी, को मपाईंवादी भनेर खाली अर्काको अर्काकै बारेमा मात्र मनमा कुरा खेलाइरहने मानिस संसारमा सबैभन्दा बढी दुःखी हुन्छ । जान्ने हुने इच्छा राख्नुपर्छ तर आफूप्रति बेठिक अरूको ध्यान कस्तो छ भनेर चिन्ता लिनु हुँदैन । म आफू जे छु, जस्तो छु ठिक छु, छैन ।
कोही खेलाडी हुन पाए हुन्थ्यो भनेर विभिन्न खेलमा रुचि राख्छन् । कसैलाई गायक, बाद्यबादक, संगीतज्ञ आदि आदि हुन मन लाग्छ । मलाई जे बन्ने इच्छा जाग्छ त्यसले वातावरण मिल्यो भने मात्र रुचिको कुरामा आफूलाई विज्ञ बनाउँछ । म कुनै विषयमा पनि जान्ने हुन खोजिनँ । प्रयासै नगरेपछि म पिछडिएँ । बुद्धिको प्रखरता मभित्र थिएन त्यसैले कुनै कुरामा पनि म प्रखर देखा पर्न सकिनँ ।
अर्काको मन तान्न सक्ने कुनै गुण मसित छैन । अलिअलि यसो लेखिटोपले तर लेखक, कवि बन्न सक्तै सकिनँ । अब उमेर निकै खाएको हुनाले साथीहरूले मान राखी टोपलेर ‘साहित्यकार’ भन्ने गर्नुभएको छ, त्यत्ति नै हो ।
जान्ने हुन खोज्नुपर्ने रहेछ भनेर अहिले विलौना गाएर पनि हुँदैन । त्यसैले जे भयो, भयो । जति जे गरें, जे भएँ, जति जानें त्यसैमा चित्त बुझाएर बसेको छु। अब अहिले नाति नातिनीहरू सबै मभन्दा जान्ने छन् । विषयका विशेषज्ञ बनिसकेका नाति नातिनाहरू पनि मेरा नजिकमा छैनन् । विदेश गएका छन् ।
विदेशमा उच्च शिक्षा प्राप्त गरेर उतै काम गर्दै, कमाउँदै, रमाउँदै गर्ने नातिनातिनाले ज्ञान वृद्धि गरुन्, कमाउन् र सुख सन्तोषले जीवन रमाएर व्यतित गरुन् भन्ने कामना मात्र गर्न सक्छु म । मलाई कुनै भुटभुटो, चिन्ता, फिक्री छैन । दिमाग धेरै कमजोर भएको हुनाले मचाहिँ अब जान्ने हुने चाहना राख्तिनँ ।