मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समयावधि
माघ ११ गते बिहान ९–३ बजे मतदान
संवाददाता
काठमाडौं, कात्तिक २६
फागुनमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सदस्य बामदेव गौतमलगायतको पदावधि सकिँदैछ । तोकिएको पदावधि सकिँदै गरेकाले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मंसिर १ गतेदेखि १० सम्म दल दर्ताका लागि दर्ताको समय दिइएको छ ।
जेनजी पुस्ताको आन्दोलनपछि पहिलोपटक राष्ट्रियसभाको चुनाव हुँदैछ । केन्द्रमा प्रतिनिधिसभा विघटन गरी सुशीला कार्कीको नेतृत्वमा सरकार बने पनि प्रदेश र स्थानीय तहमा २०७९ को निर्वाचित संरचना छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् ।
आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचनको मिति र समय तोकिसकिएको छ । राष्ट्रिय सभा सदस्यको १९ मध्ये १८ सदस्यका लागि चुनाव हुन लागेको हो । २०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रियसभा सदस्यहरूको कार्यकाल सकिन लागेका कारण चुनाव हुन लागेको हो ।
दाहाल २०७८ चैतको २५ गते मन्त्रिपरिषद्को कोटाबाट राष्ट्रियसभा सदस्य बनेका थिए । उनी २०७९ फागुन २९ मा नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनी चुनाव जितेका थिए ।
सरकारको सिफारिसमा मनोनित भएका सांसद वामदेव गौतमको ठाउँमा भने सरकारले नै अर्को व्यक्तिको नाम सिफारिस गर्ने भएकाले उनको स्थानमा चुनाव नहुँदा १८ पद भएको हो । २०७७ असोज १ मा गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन । राष्ट्रियसभामा तीन सिट विज्ञलाई मनोनित गर्न तोकिएको छ ।
प्रतिनिधिसभाभन्दा भिन्न खालको मतदान प्रक्रियाबाट राष्ट्रिय सभामा सदस्य निर्वाचित हुने प्रक्रिया छ ।
सातै प्रदेशमा छुट्टाछुट्टै मतभार रहेको छ । त्यहाँ रहेका मतदाताको आधारमा कोशी प्रदेशमा १० हजार १३५ मतभार रहेको छ । मधेश प्रदेशमा १० हजार ८३९, बागमती प्रदेशमा १० हजार ३५२, गण्डकी प्रदेशमा ६ हजार ४१० र लुम्बिनी प्रदेशमा ८ हजार ७५३ मतभार रहेको छ । कर्णाली प्रदेशमा ५ हजार १२२, सुदुरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार रहेको छ ।
१८ सदस्य पदका लागि चुनाव हुँदा कोशी प्रदेशबाट तीन जना, मधेश प्रदेशबाट चार जना, बागमती र गण्डकी प्रदेशबाट दुईदुई जना, लुम्बिनी प्रदेशबाट तीन जना, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट दुईदुई जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगले निकालेको तालिकाअनुसार निर्वाचन प्रयोजनका लागि मंसिर १४ गते दल दर्ताको स्वीकृति र निर्वाचन चिह्न प्रदान गर्नेगरी व्यवस्था गरेको छ । मंसिर १६ गते निर्वाचन तालिका नेपाल राजपत्रमा प्रकाशित हुने बताइएको छ ।
आगामी पुस ५ गते मतदाता नामवली (निर्वाचक मण्डल) तयार गरी स्वीकृत गर्नेगरी तोकिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सोही दिन गर्ने तालिका छ ।
निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहने व्यवस्था छ । प्रदेश सभा सदस्यको मतभार ५३ अंक तोकिएको छ । नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको मतभार १९ अंक रहेको छ । प्रदेशमा रहेका प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभार तयार पारिएको हो ।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि २०७४ सालमा आम निर्वाचन भएको थियो । त्यसपछि राष्ट्रियसभाको निर्वाचन भएको थियो । निर्वाचित भएकाहरुलाई राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि २०७५ साल असार ५ मा गोलाप्रथा भएको थियो । संसद भवनमा राष्ट्रिय सभाका ५९ जनाले गोला तानेर आफ्नो सांसद अवधि कार्यकाल तोकिएको थियो ।
संविधानको धारा ८६ को ३ ले गरेको व्यवस्थाअनुसार विभिन्न क्लस्टरबाट राष्ट्रियसभामा निर्वाचित ५९ जना सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरेको छ । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये १९ जनाको २ वर्ष, २० जनाको चार वर्ष, २० जनाको ६ वर्ष कार्यकाल गोला प्रक्रियाबाट तोकिएको थियो । ती कार्यकाल तोकिएका व्यक्तिको समय सकिँदै गर्दा चुनाव गरी पदपूर्ति गरिने गरिएको छ ।