नेभिगेशन
खेलकुद

एनपीएलको दोस्रो संस्करण सोमबारदेखि

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुनुअघि राजधानीमा ‘ट्रफी जात्रा’  आयोजन गरियो । हनुमानढोकाको दरबार स्क्वायरमा ट्रफी प्रदर्शन गरिएको थियो । बिहान  पशुपतिनाथ मन्दिरबाट सुरु गरिएको ट्रफी यात्रा भक्तपुर दरबार, पाटन दरबार हुँदै वसन्तपुर दरबार क्षेत्र पुगेको थियो ।

कार्यक्रममा काठमाडौं गोर्खाजका कप्तान करण केसीले ट्रफीको परिक्रमा गराएका थिए । सो क्रममा खेलाडी, समर्थक र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता थियो ।

ट्रफी टुर विराटनगरबाट शुरू भई जनकपुर, चितवन, कर्णाली हुँदै काठमाडौं आइपुगेको हो । अब
ट्रफी पोखरा, लुम्बिनी र सुर्खेत हुँदै कैलालीमा टुंगिने छ ।

क्यानका अनुसार ट्रफीको टुप्पोमा सगरमाथा क्षेत्रको कालापत्थरको ढुंगा जडान गरिएको छ । यसले एनपीएललाई विश्वमै सगरमाथाजस्तै उचाइमा पुर्‍याउने प्रतीक जनाउँछ । ट्रफीको उचाइ ८८४८.८६ मिटर र तौल करिब तीन किलो रहेको छ । यसलाई भारतको मुम्बईस्थित एक कालीगढले तयार पारेका हुन् ।

मंसिर १ देखि २७ गतेसम्म हुने दोस्रो संस्करणको एनपीएलमा आठ टोलीले सहभागिता जनाउँदैछन् । जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच रोचक प्रतिस्पर्धा हुने आयोजकको दाबी छ ।

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको अन्तिम तयारी भइरहेको छ । यसपटक रात्री खेलहरू पनि आयोजना गरिने क्यानले जनाएको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्