काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी पुस्ताको आन्दोलनमा तत्कालीन सरकारी पक्ष र प्रदर्शनकारीबीच भएको झडप, भिडन्तमा घाइते भएकाहरूलाई वर्गीकरण गर्नेगरी कार्यविधि ल्याइएको छ । प्रदर्शनका क्रममा दुई दिनमा भएका घाइतेलाई लागेको चोटपटकलाई आधार मानी वर्गीकरण गरी कार्यविधि तयार गरेको हो ।
सरकार र प्रदर्शनकारी बीचको झडप, भिडन्त, बल प्रयोगका क्रममा घाइते भएका व्यक्तिको स्पष्ट अवस्था, वैज्ञानिक मूल्यांकन तथा अभिलेखीकरण गरी उपचार, राहत वितरणका लागि कार्यविधि बनाइएको गृह मन्त्रालयले जनाएको छ । घाइते भएका व्यक्तिको चोटपटकको गम्भीरताअनुसार चार भागमा वर्गीकरण गरिएको हो ।
‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२’ तयार गरी अति गम्भीरदेखि सामान्य घाइतेसम्मको वर्ग छुट्टाइएको हो । घाइतेको अवस्था हेरेर कुन वर्गको घाइते भनेर छुट्टाइने गरी कार्यविधि तयार गरिएको छ । अति गम्भीर प्रकारका घाइतेलाई पहिलो वर्गमा राखिएको छ ।
अति गम्भीर घाइते, गम्भीर घाइते, मध्यम घाइते र सामान्य घाइतेगरी चार वर्गमा वर्गीकरण गरिएको हो ।
जेनजी प्रदर्शनमा घाइतेहरूको वर्गीकरण समिति गठनसमेत गरिएको छ । गृह मन्त्रालयका महाशाखा प्रमुख (गुणस्तर मापन तथा नियमन) को संयोजकत्वमा हाडजोर्नी विशेषज्ञ, स्नायुरोग विशेषज्ञ, नाक कान घाँटी, जनरल मेडिसिन, आँखा रोग, शल्य चिकित्सक, मानसिक रोग विशेषज्ञलाई सदस्यका रूपमा राखिनेगरी समिति बनाइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञहरू तोक्नेगरी समिति बनाइने कार्यविधिमा उल्लेख छ ।
घाइतेहरूको जिल्लास्तरीय वर्गीकरण र सहजीकरण समिति बनाइने भएको छ । प्रमुख जिल्ला अधिकारीसहितको सात सदस्यीय अर्को समिति बनाउनेगरी व्यवस्था गरिएको छ ।
कुनै चोटपटकबाट अचेत घाइते, हातखुट्टा नचल्ने, आँखाको दृष्टि गुमेका, आधा भाग नचल्ने, एकापट्टिको भाग पक्षघात भएकालगायत गम्भीर खालका २३ वटा शारीरिक असक्तता भएकालाई अति गम्भीर घाइतेमा वर्गीकरण गरिएको छ ।
दोस्रोमा एउटा आँखाको दृष्टिमा क्षति, अनुहारमा क्षति, दुवै नाडीको भाग काम नगर्ने, औंला गुमेका लगायत २१ खालका घाइतेलाई गम्भीर घाइतेको वर्गमा राखिएको छ ।
तेस्रोमा एकातर्फको कान सुन्ने केही शक्ति गुमेको, दाँत गुमेको, अलिकति दृष्टि गुमेको, घुँडाको शल्यक्रिया गरेको, कुनै धातुको छर्राले लागेका लगायत २३ प्रकारका अवस्थालाई मध्यम घाइते मानिएको छ ।
चौंथोमा, प्रदर्शनको क्रममा घाइते भएका तर, उनीहरूलाई ठूलो क्षति नभएका ११ प्रकारका अवस्थालाई सामान्य घाइते मानिएको छ । घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था गरिरहेको छ । प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले सहिद घोषणा गरिसकेको छ । जेनजी पुस्ताको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले सहिद परिवारलाई प्रतिव्यक्ति १५ लाख रुपैयाँ दिने यसअघि नै घोषणा गरिसकेको छ ।