काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठनमा पनि गुटबन्दी छिर्न थालेको छ । भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा विद्यार्थीमाथि गोली चलेपछि तत्कालीन अध्यक्ष सुजन कडरीयाले सामाजिक सञ्जालमार्फत दिएको राजीनामाले सुरु भएको विवाद अहिले संगठनभित्र चर्को मतभेदका रूपमा देखापरेको छ । पार्टीले सञ्चालन गरेको ‘घर फर्कौं अभियान’पछि कडरीया पुनः नेतृत्वमा फर्किन खोजेका थिए । उनलाई महासचिव दीपक धामीले त्यसको विरोध गरेका थिए । सो विरो धपछि अध्यक्ष–महासचिवबीचको दरार खुला रूपमा सतहमा आएको छ ।
कडरीयाले राजीनामा घोषणा गरे पनि अनेरास्ववियुको केन्द्रीय समिति बैठकले औपचारिक स्वीकृति नदिएको कारण आफू पुनः जिम्मेवारीमा फर्किएको दाबी गरेका छन् । उनले नैतिकता देखाएर तत्कालीन परिस्थितिमा पद छाडेको तर पार्टी नेतृत्वले राजीनामा स्वीकार नगरेकाले संगठन चलाउन पुनः कार्यालय फर्किएको बताए । कडरीयाको भनाइमा, घर फर्कने अभियानअन्तर्गत अन्य नेताहरूलाई जस्तै आफूलाई पनि पुरानै जिम्मेवारीमा फर्कन नदिने कोशिश चल्नु अन्यायपूर्ण छ ।
तर महासचिव दीपक धामीले भने कडरीयाको पुनरागमनलाई अस्वीकार गर्दै तीव्र आपत्ति जनाएका छन् । धामीका अनुसार संकटको समयमा संगठन छाडेर जाने र अवस्था सहज भएपछि नेतृत्व कब्जा गर्न खोज्ने कार्य स्वीकार्य हुन सक्दैन । उनले कडरीया समूहले संगठनको लेटरहेड कब्जामा लिएको आरोप लगाउँदै यसको दुरुपयोग नगर्न चेतावनी समेत दिए । धामीको अडानले संगठनभित्र दुईटा समानान्तर लाइन स्पष्ट देखिन थालेको छ ।
कडरीयाले भने विद्यार्थीमाथि गोली चलेको संवेदनशील क्षणमा संगठनका शीर्ष नेताहरू सडकमा उत्रिन नसक्नु गम्भीर गल्ती भएको स्वीकार गर्दै त्यसकै कारण नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । उनले जेनजी आन्दोलनले सडक कब्जा गर्दा विद्यार्थी संगठनहरू किन निष्क्रिय भए भन्ने प्रश्न पार्टीभित्र गम्भीर रूपमा खोजिनुपर्ने बताए । आफ्नो कदमलाई कमजोरीका रूपमा उछालेर प्रहार गर्ने प्रवृत्तिमा उनी आक्रोशित छन् ।
अनेरास्ववियुको विवाद विशेषगरी संवेदनशील बनेको कारण भने दुवै शीर्ष नेता—अध्यक्ष कडरीया र महासचिव धामी—गत जेठ २५ गते सम्पन्न महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीकै लाइनबाट निर्वाचित भएका व्यक्ति हुन् ।
महाधिवेशनको तीन महिनामै उनीहरूबीच खुला फुट आउनुले एमालेभित्रको आन्तरिक तनाव विद्यार्थी संगठनमा प्रत्यक्ष रूपले प्रतिबिम्बित भएको देखिएको छ । केही दिनअगाडि गुण्डुमा आयोजित कार्यक्रममा ओलीले स्वयं अनेरास्ववियुमा उमेर सीमा ल्याउने निर्णय गलत भएको स्वीकार गर्दै कडरीयालाई अध्यक्ष बनाएको रातोमुन्टो पर्नुपर्ने टिप्पणी गरेका थिए । जेनजी आन्दोलनका कारण संगठन कमजोर भएको र त्यसमा नेतृत्व छनोटको निर्णयले पनि पार्टीले नोक्सानी व्यहोर्नु परेको ओलीको अभिव्यक्ति नेताहरूबीचको असन्तुष्टि झनै बलियो भएको विश्लेषण गरिएको छ ।
यो विवाद अब केवल संगठनभित्रको मतभेद मात्र नभई एमालेभित्रै ओली समूहभित्र देखिन थालेको फुटको संकेतका रूपमा पनि हेरिएको छ । महाधिवेशनको समय नजिकिँदै गर्दा पार्टी नेतृत्वको निर्णय क्षमता, संगठनको अनुशासन र विद्यार्थी संगठनको विश्वसनीयता सबै प्रश्नको घेरामा परेका छन् । अनेरास्ववियुमा उत्पन्न विवाद एमालेको समग्र आन्तरिक संरचनामा कति गहिरो असर पार्छ भन्नेबारे पार्टीभित्र चासो बढेको छ ।