काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरू काँटछाँट गर्दा आइतबारसम्म १ सय २२ वटा निर्वाचन आयोगमा अद्यावधिक छन् । पुराना दल घटेका छन्, नयाँ थपिएका छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कतिपय राजनीतिक दल गाभिएपछि संख्या घटेको हो । सातवटा राजनीतिक दल खारेज भएपछि दर्ता दलको संख्या केही घटेको छ । जेनजी पुस्ताको आन्दोलनपछि निर्वाचन आयोगमा सात वटा दल नयाँ दर्ता भएका छन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ लागि निर्वाचन गर्ने घोषणा गरिसकेको छ । घोषित मितिमा निर्वाचन हुन्छ भन्नेमा ठूला दल ढुक्क छैनन् । यसले गर्दा अनिश्चितता हट्न नसकेको अवस्था छ ।
भदौ २४ को जेनजी विद्रोहका बेला प्रहरी कार्यालयहरूबाट लुटिएका हतियार सबै अझै फिर्ता हुन सकेका छैनन् । कारागारबाट फरार कैदीहरू अझै फर्किन बाँकी छ । गृहमन्त्रालयका अनुसार अझै ५ हजार १३ जना कैदी फरार छन् । उनीहरूको खोजतलास जारी छ । लुटिएका हतियार र फरार कैदीका कारण शान्ति सुरक्षाको अवस्था सहज हुन नसकेको कारण देखाउँदै राजनीतिक दलहरू चुनावमा जान मानिरहेका छैनन् ।
प्रमुख दलमध्येको एमाले संसद् पुनःस्थापनाको माग अघि सार्दै अदालत जाने तयारीमा छ । कांग्रेसभित्र पनि संसद् पुनःस्थापनाको माग उठाउन एउटा समूह लागिपरेको छ । यद्यपि निर्वाचनमा जानैपर्ने माग उठाउने समूह कांग्रेसमा प्रभावशाली छ । पार्टीको विशेष महाधिवेशन गरेर चुनावमा जाने प्रष्ट खाकाको माग भइरहँदा कांग्रेसभित्र संस्थापन पक्ष सुधारवादीको मागलाई टार्ने रणनीतिमा देखिएको छ । त्यसैले कांग्रेस आफ्नै किचलोले अलमलमा छ । ठूला दल एमाले र कांग्रेस नै निर्वाचनका विषयमा प्रष्ट हुन नसक्दा घोषित मितिमा निर्वाचन हुन्छ भन्नेमा अन्य दल पनि ढुक्का नदेखिएका हुन् ।
माओवादी केन्द्रले वामपन्थी दलका नौ घटकलाई एकीकृत गर्दै एउटा दल बनाएको छ । समाजवादी र रास्वपाबाट असन्तुष्टले छुट्टै गठबन्धन गरेका छन् । नयाँ दलहरू धेरैजसो मतदातामाझ परिचित हुनै बाँकी छन् ।
निर्वाचन घोषणा भइसकेपछि आयोगमा दल दर्ताको पर्खाइमा अझै २८ दल छन् । एउटा दलले सर्वोच्च अदालतबाट मान्यता पाएन । सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर ‘जनस्वराज’ पार्टी दर्ताका लागि पुगेको समूहलाई निर्वाचन आयोगले अनुमति दिएको थियो । त्यसविरुद्ध राउत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । गत असोज २८ गते निर्वाचन आयोगले जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । त्यसलाई सर्वोच्चले कानूनविपरीत भएको ठहर गरिसकेको छ । त्यसकारण पनि एउटा दलको संख्या घटेको प्रवक्ता भट्टराईले बताए । त्यसपछि ६ वटा दलका सम्बन्धित पदाधिकारीले नै खारेजीको निवेदन दिएपछि आयोगले सूचीबाट हटाएको छ । नयाँ २८ वटा राजनीतिक दल भने दर्ताको प्रक्रियामा रहेको भट्टराईले जानकारी दिए । ‘आयोगमा दल दर्ताका लागि कागजात पेस गरेका २८ वटै दलको सनाखत र कागजात रुजु गर्ने काम भइरहेको छ,’ उनले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ताको प्रमाणपत्र वितरण गरिनेछ ।’
भदौ २७ मा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन घोषणा गर्ने समयमा निर्वाचन आयोगमा १२२ वटा दल दर्ता थिए । यसबीचमा नयाँ राजनीतिक दलले प्रमाणपत्र पाइसक्दा पनि दलको संख्या भने उत्ति नै देखिएको छ । जेनजी पुस्ताको आन्दोलनपछि सातवटा नयाँ दलले दर्ताको प्रमाणपत्र निर्वाचन आयोगबाट हात पारिसकेका छन् । ‘अहिले २८ वटा दल दर्ताका लागि पाइपलाइनमा छन् ।
उहाँहरू दल दर्ताको प्रक्रियामा हुनुहुन्छ,’ प्रवक्ता भट्टराईले भने । जेनजी पुस्ता सम्बन्धित कतिवटा दल दर्ता भए अर्थात प्रमाणपत्र लिने क्रममा छन् भन्ने आयोगले नछुट्याएको दाबी उनले गरे । ‘हामीले कुन दल कुन पुस्ताको वा जेनजीको हो भन्ने छुट्याएका छैनौं,’ उनले भने ।
दल दर्ताका लागि चाहिने आवश्यक कागजात विवरण पेस गरेपछि आयोगले त्यसको अध्ययन गरेर मात्रै दल दर्ताको प्रमाणपत्र दिने कानूनी व्यवस्था छ । ‘खासगरी कानून बमोजिम कागजात मगाउने र सनाखत गराउने काम भइरहेको छ । सनाखत सम्पन्न र कागजात प्राप्त भएपछि आयोगबाट निर्णय हुनेछ,’ उनले भने ।
थपिए २ लाख ८५ हजार मतदाता
जेनजी पुस्ताको आन्दोलनपछि बनेको सरकारले निर्वाचन घोषणा गरेपछि अध्यादेशमार्फत कानून संशोधन गरेर मतदाता नामावली दर्ताको काम गरिहेको छ । कात्तिक ३० सम्मका लागि तोकिएको मतदाता नामावलीमा नाम थप्नका लागि पाँच दिनको समय थपेर मंसिर ५ सम्मका लागि पुर्याइएको छ ।
फागुन २१ मा चुनाव हुँदा जेनजी पुस्ता मतदातामा नाम समावेश भएका व्यक्ति छुट्न सक्ने भन्दै कानून संशोधन गरी नामावली थपका लागि व्यवस्था गरिएको थियो । कानूनअनुसार निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली थप्न नमिल्ने व्यवस्था थियो ।
शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीमा २ लाख ८५ हजार जना थपिएका छन् । राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या पनि थप दुई लाख रहेको समेत प्रवक्ता भट्टराईले जानकारी गराएका छन् ।
निर्वाचन आयोगले राजनीतिक दल, सरकार र जेनजीका प्रतिनिधिसँग एकसाथ छलफल गर्ने तयारी गरेको जनाइरहँदा चुनावको वातावरण बनाउन प्रभावकारी निष्कर्ष प्रस्तुत गर्न सकेको छैन ।
आयोगका अधिकारीहरू चुनावको पूर्व तयारीका लागि राजनीतिक दल, जेनजी पुस्ताका प्रतिनिधि, सरकारसँगै राखेर छलफल गर्ने भनिरहेका छन् । चारपक्षीय छलफलको मिति भने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले खुलाएका छैनन् । निर्वाचनको मिति घोषणा भएदेखि नै आयोगले योजनाबद्धरूपमा निर्वाचनको पूर्वतयारीका कार्य गरिरहेको उनले बताए ।
निर्वाचनको वातावरण तयार गर्न निर्वाचन आयोगले राजनीतिक दल, नेपाल सरकार, युवा पुस्ताका प्रतिनिधि र निर्वाचन आयोगका बीचमा आयोजना गर्ने छलफल तथा अन्तरक्रिया कार्यक्रम सहजीकरणका लागि सरकारलाई आग्रह गरेको छ ।
मनोनयन दर्ता माघ ६ मा
.jpg)
निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा सदस्यको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते मनोनयन पत्र दर्ता र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । भोलिपल्ट उम्मेदवारको विरो धमा उजुरी दिने समय तोकिएको छ भने पर्सिपल्ट बेलुका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ मा उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न दिइनेछ ।
दुर्गा प्रसाईंको पनि दल
.jpg)
नागरिक बचाउ दलले निर्वाचन आयोगमा पुगेर सनाखत गरेको छ । नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आइतबार नयाँ पार्टीका लागि सनाखत गरेका हुन् । दुर्गा प्रसाईंको समर्थनमा रहेको ‘नागरिक बचाउ दल, नेपाल’का लागि कल्पित प्रस्तावित अध्यक्ष छन् । ‘हामी पनि दल दर्ता गरेर निर्वाचनमा जान चाहन्छौं,’ कल्पितले भने । प्रसाईले पटक–पटक सरकारविरुद्ध आन्दोलन गर्ने भन्दै आएका छन् । अन्तरिम सरकार र ठुला दलका नेतृत्वप्रति आक्रामक रहँदै आएका प्रसाईंले दल दर्ता गरेरै निर्वाचनमा जाने मनसाय बनाएका हुन् ।