नेभिगेशन
अर्थतन्त्र

हाइब्रिडले निम्तिदै छ संकट

राम्रो उत्पादन दिए पनि बीउ राख्न नमिल्ने भएकाले हाइब्रिडका कारण रथाने बीउ मासिने जोखिम उच्च

गुल्मी । बीउ बिक्री गरी मनग्गे कमाउने सोचेका कृष्ण घिमिरे अब बीउ उत्पादन गर्ने कि नगर्ने भन्ने दोधारमा छन् । इस्मा गाउँपालिका–६ स्थित उनको कृषि तथा पशुपक्षी फर्मले गत वर्ष पाँच टन अरूण–२ जातको मकैको बीउ उत्पादन गरेको थियो । किसानले भारतीय उन्नत जातको (हाइब्रिड) बीउ रोप्न थालेपछि घिमिरेको २५ क्वीन्टल बीउ बिकेन ।

‘किसानलाई आफ्नै माटोमा फलेको मकै उपलब्ध गराउने उद्देश्यले बीउ उत्पादनमा लागेको थिएँ, तर अहिले किसान हाइब्रिड बीउमा पल्केर रैथाने बीउमा रूचि राख्दैनन्,’ उनले भने, ‘नबिकेको बीउ खाद्यान्नको लागि सस्तो मूल्यमा बेच्न बाध्य भएँ ।’ उनले गाउँका रैथाने उन्नत बीउ मासिएपछि कुनै कारण आयातित बीउ रोकिए खेतबारी बाँझो रहने चिन्ता व्यक्त गरे ।

मदाने गाउँपालिका–६ स्थित पुर्कोट उद्यम कृषि सहकारी संस्थाले मनकामना–३ र देउती मकैको बीउ उत्पादन गर्दै आएको छ । यो वर्ष सहकारीले मनकामना–३ र देउती जातको मकैको ४० क्विन्टल बीउ बिक्री गर्न सकेन । सहकारी संस्था अध्यक्ष लोकहरी कुवँर भन्छन्, ‘भारतीय हाइब्रिड बीउले रथाने जातको बीउ किसानले किन्न छाडे । बीउ बिक्री नहुँदा चार लाख घाटा लाग्यो ।’

विभिन्न सहकारी संस्थाको तथ्यांकअनुसार गुल्मीमा ६५ क्विन्टल बीउले बजार पाएन । यहाँ अरुण–२, मनकामना–३ र देउती मकैको बीउ उत्पादन हुँदै आएको छ । धेरै उत्पादन हुने लोभमा किसानले हाइब्रिड बीउ रोप्न थालेपछि रैथाने बीउ संकटमा परेको छ । केही वर्ष अघिसम्म स्थानीय जातको मकैको बीउ खोज्ने किसानको अहिले हाइब्रिडमा रूचि छ । पछिल्लो समय स्थानीय तहहरूले किसानलाई रैथाने र उन्नत जातका असल बीउ खोजेर रोप्न प्रोत्साहन गरिरहेका छन् । पहिले पहिले गाउँघरमा घैंटा, धन्सारमा खरानीभित्र जोगाएर बीउ राख्ने चलन थियो । बीउ जोगाउने पहिलेको चलन अहिले हराएको छ । अहिले हाइब्रिड बीउबाट उत्पादित खाद्यान्न बीउको रूपमा राख्न नसकिने किसानको भनाइ छ ।

सत्यवती गाउँपालिकाका कृषि अधिकृत उपकार भण्डारीका अनुसार गाउँपालिकाले धान, मकैको उन्नत बीउ र चार प्रकारका कोदो, फापर र जुनेलो लगायतका रैथाने बालीका बीउ निःशुल्क वितरण गरिरहेको छ । पहाडी बाली अनुसन्धान केन्द्रबाट मूल बीउ ल्याएर किसानलाई मौसमअनुसार वितरण गर्ने गरिएको छ । रैथाने बाली कम फल्ने र ढल्ने भएका कारण किसान हाइब्रिडतिर आकर्षित भएको कृषि शाखा प्रमुख भण्डारी बताउँछन् । बालीरोग विशेषज्ञ प्रकाश मरासिनीको भनाइमा हाइब्रिड बीउ धेरै फले पनि स्वादका हिसाबले खान मीठो हुँदैन । हाइब्रिडमा नयाँ रोग आउँछन् । धानमा पोके र मकैमा ओइलाउने, कुहिने र जलवायुको जोखिम छ । उनले सरकारी निकायले उन्नत बीउ पर्याप्त दिन नसकेका कारण हाइब्रिड धेरै मात्रामा भित्रिएको बताए । सरकारी निकायबाट हाइब्रिड बीउलाई प्रोत्साहन गर्न नहुने उनको मत छ ।

व्यापारीले हाइब्रिड बीउलाई प्रोत्साहन गरिरहेका छन् तर सरकारी निकायले नियन्त्रण गर्न ध्यान दिइरहेका छैनन् । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेले रैथाने बाली प्रवर्धनअन्तर्गत धुर्कोट र इस्मामा काम गरेको र यान्त्रीकरणमा सहयोग गरेको बताए । चैतमा रोपेको मकै साउन महिनाको अन्तिममा पाक्ने गर्छ । गुल्मीमा २२ हजार ४१८ हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ । वर्षे मकै २० हजार ५१३ र वसन्ते १ हजार ९०५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जिल्लामा वर्षे मकै ७१ हजार २०५ मेट्रिकटन र वसन्ते मकै ५ हजार ९६७ मेट्रिकटन उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । पछिल्लो समय किसानले उन्नत जातको मकैलाई प्राथमिकता दिन थालेका छन् । गुल्मीमा सबैभन्दा बढी क्षेत्रफलमा मकै लगाउने वर्षाको समयमा हो । उन्नततर्फ अरुण–२, मनकामना–३ र देउती जातको मकै धेरै लगाइन्छ । यो जिल्लामै उत्पादन हुने मकै हो । कृषि ज्ञान केन्द्रका अधिकारीका अनुसार करिब ७० प्रतिशत किसानले हाइब्रिड जात अर्थात सीपी र जेके मकै धेरै लगाउने गरेका छन् । किसानले धेरै उत्पादन गर्ने उद्देश्यले हाइब्रिड मकै लगाउने गरेका छन् ।

उच्च पहाडी क्षेत्रमा कृषि उत्पादन कम हुने र मौसम परिवर्तनको असर बढी पर्ने भएकाले खाद्य सुरक्षा समस्या हुने गरेको छ । मौसमको उतारचढाव, बाढी र सुक्खाजस्ता प्राकृतिक प्रकोपले खेतीको उत्पादनलाई प्रभावित पार्ने भएकाले खाद्य संकट निम्त्याउने जोखिम छ । अहिलैकै अवस्थामा कृषि ज्ञान केन्द्र गुल्मीको तथ्यांक हेर्दा मध्य साउनसम्म कतिपय फाँटहरूमा रोपाइँ हुन सकेन । यसले गर्दा किसानको बीउ बुढो भएकाले स्वाभाविक रुपमा कम धान फल्ने आकलन कृषि ज्ञान केन्द्र गुल्मीले गरेको छ । गुल्मीका धेरै गाउँमा उच्च गरिबी र सीमित स्रोतका कारण पोषणयुक्त खानेकुराको अभाव छ । बिहान बेलुकाको छाक टार्न समस्या नभए पनि सन्तुलित रुपमा खाना खाने परिवारको संख्या कम छ । पोषणयुक्त खाना नपाएमा बालबालिका र वृद्धहरूको स्वास्थ्यमा असर पुर्‍याउने गर्दछ । कृषि उत्पादनबाट प्राप्त हुने आहारले सामान्यतयाः प्रोटिन र अन्य पोषणका आवश्यक तत्व पुर्‍याउन नसक्ने भएकाले थप आहार व्यवस्थापन गर्न गरिब परिवारमा समस्या छ ।

जिल्लाका सबै गाउँमा बाह्रैमास सडक सञ्चालनको सम्भावना छैन । वर्षाको बेला लामो समय सडक अवरुद्ध हुँदा बजारबाट गाउँसम्म खाद्य आपूर्ति ढिला पुग्ने वा महँगो हुने समस्याले खाद्य सुरक्षा संकट देखिने गरेको छ । २०७६ सालमा सत्यवती–२, ३ र ४ मा गएको भीषण पहिरोका कारण सडक बन्द भएको थियो । पहिरो प्रभावित क्षेत्रमा झण्डै खाद्य संकट निम्तिएको थियो । विस्थापित ३०० परिवारलाई नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्य व्यवस्थापन गरिएको थियो । मालिका– १, २ र ३ जिल्लाका विकट गाउँ हुन् । वर्षामा गाडी नियमित चल्दैन । यसले गर्दा १५ प्रतिशतसम्म मूल्य बढाएर व्यवसायीले सामान बिक्री गर्ने गरेको स्थानीय रवीन्द्र विश्वकर्माले बताए । पसलबाट बिक्री वितरण हुने खाद्य सामग्रीलाई जिल्लामा केही सहकारीले सुपथ मूल्य पसल सञ्चालन गरेर सहजीकरण पनि गर्दै आएका छन् । जिल्लामा दुई वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न बिक्री वितरणको काम गर्दै आएको छ । जिल्लामा सदरमुकाम तम्घास र बाहिर मालिका, रुरुक्षेत्र र मदानेमा कम्पनीले डिपो स्थापना गरेको छ । अहिलेसम्म दुई करोड रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको शाखाले जनाएको छ । तम्घासमा २०८० पुस १ गते कम्पनीको शाखा स्थापनासँगै तीन स्थानमा खरिदबिक्री केन्द्रसमेत सञ्चालन गरिएको थियो ।

जनतालाई सहज र सुलभ तरिकाले खाद्य सामग्रीको आपूर्ति गर्ने उद्देश्यसहित शाखाको स्थापना भएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका शाखा प्रमुख लक्ष्मी भण्डारीका अनुसार लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट एक हजार ९७६ क्विन्टल चामल ल्याइएको थियो । गुल्मीमा कृषि र पशुपालनबाट समृद्धिको आशा जाग्न थालेको छ । पहाडी जिल्लामा ठूला उद्योग कलकारखाना नभएका कारण कृषि र पर्यटन नै समृद्धिका मुख्य आधार हुन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा साढे चार अर्बको पशु र सवा अर्ब बराबरको कृषिजन्य उत्पादन भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्यांकअनुसार आव २०८१/८२ मा मासु, दूध र अण्डा गरेर ४ अर्ब ५९ करोड २९ लाख ४ हजार रुपैयाँको पशुजन्य उत्पादन भएको छ । त्यसमध्ये रु एक अर्ब ८४ करोड ३८ लाख १५ हजारको दूध मात्रै उत्पादन भएको केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र