नेभिगेशन
विश्व

३६०० वर्ष पुरानो विशाल बस्ती फेला

अस्ताना – उत्तर–पूर्वी कजाकिस्तानमा ३६०० वर्ष पुरानो र करिब १४० हेक्टर क्षेत्रफलमा फैलिएको विशाल प्रागैतिहासिक बस्ती फेला पर्नुले युरेसियाको कांस्य युगबारे स्थापित अवधारणामै ठूलो प्रश्न उठाइदिएको छ । लामो समयसम्म मध्य एसियाको खुला घाँसे मैदान (स्तेपी) क्षेत्रलाई घुमन्ते, अस्थायी बासस्थानमा बस्ने समाजहरूको भूमि मानिँदै आएको थियो । तर हालै पहिचान र विस्तृत अध्ययन गरिएको यस सेमियार्का बस्तीले स्थायी, संगठित र आर्थिक रूपमा शक्तिशाली समाज त्यहीँ विकसित भएको स्पष्ट संकेत गरेको छ ।

अनुसन्धानमा संलग्न युनिभर्सिटी कलेज डब्लिनका पुरातत्वविद् बैरी मोलो भन्छन्, ‘यो जिग्सापजलको हराएको टुक्रा होइन, करिब आधा चित्र नै हराइरहेको थियो, जुन अहिले विस्तारै स्पष्ट हुँदैछ ।’ उनका अनुसार यो खोजले मध्य एसिया विश्व सभ्यताको किनारामा मात्र होइन, केन्द्रमै सक्रिय रहेको प्रमाण दिएको छ ।

कांस्य युग (करिब ३३००–१२०० ई.पू.) विश्व इतिहासको एउटा महत्वपूर्ण कालखण्ड हो । यस कालखण्डमा चीनमा शाङ र चाउ राजवंश, मेसोपोटामियामा सुमेरियन र बेबिलोनियन, अनि भूमध्यसागरी क्षेत्रमा इजिप्सियन, माइनोअन, माइसेनियन र हिट्टाइट सभ्यताहरू फस्टाएका थिए । यी सभ्यताहरू लेखन, राज्य व्यवस्था, वास्तुकला र धातु प्रविधिका लागि परिचित थिए ।

यिनीसँग तुलना गर्दा मध्य एसियाली स्तेपी क्षेत्रलाई प्रायः सभ्यताबाट अलग, प्राविधिक रूपमा पछि परेको समाजको क्षेत्र ठानिन्थ्यो तर सेमियार्काले यस धारणालाई उल्ट्याइदिएको छ । यहाँ भेटिएका संरचना, उत्पादन केन्द्र र वस्तु विनिमयका प्रमाणले यो बस्ती कांस्य युगको अन्तरक्षेत्रीय सञ्जालमै सक्रिय रूपमा जोडिएको थियो भन्ने देखाएको छ ।

सेमियार्का इर्तिश नदीको किनारमा अवस्थित छ । यो नदी चीनको अल्टाई पर्वतबाट उत्पत्ति भई कजाकिस्तानका मैदान पार गर्दै साइबेरियाबाट अन्ततः आर्कटिक महासागरसम्म पुग्छ । यस्तो प्राकृतिक जलमार्ग व्यापार, यातायात र स्रोत ढुवानीका लागि अत्यन्तै रणनीतिक थियो ।

युनिभर्सिटी कलेज लन्डनकी पुरातत्वविद् मिलजाना राडिभोजेभिच र उनको टोलीले सन् २०१६ देखि यो स्थलको नक्सांकन, उत्खनन र वैज्ञानिक सर्वेक्षण गर्दै आएका छन् । अध्ययनका क्रममा यहाँ माटोका लामो बाँधहरू भेटिएका छन् । यो बाँध सम्भवतः बस्तीको सुरक्षा र घेराबारका लागि बनाइएको थियो । यस्तै, अन्य किसिमका संरचनाहरू पनि यहाँ फेला परेका छन् । बस्तीको केन्द्रमा रहेको एउटा विशाल, स्मारकीय भवन भने कर्मकाण्ड, प्रशासन वा सामूहिक निर्णयका लागि प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ ।

यहाँ फेला परेका भाँडाकुँडाको शैली र बनावटले यो बस्ती करिब १६०० ईसा पूर्वतिरको भएको प्रमाण दिन्छ । सेमियार्काको सबैभन्दा उल्लेखनीय पक्ष भनेको यहाँ भेटिएका कांस्य उत्पादनका ठोस प्रमाण हुन् । उत्खननमा क्रुसिबल (धातु पगाल्ने भाँडा), स्ल्याग (पगालिसकेपछि बाँकी रहने अवशेष) र तयार कांस्य वस्तुहरू फेला परेका छन् । यी सबैले तामा र टिन मिसाएर बनाइने गुणस्तरीय कांस्य उत्पादन यहाँ ठूलो मात्रामा हुने गरेको संकेत गरेको छ ।

विश्लेषणले स्ल्यागमा भेटिएका तत्वहरू पूर्वी कजाकिस्तानको अल्टाई पर्वत क्षेत्रमा रहेका टिन भण्डारसँग मिल्ने देखाएको छ । यो सेमियार्काबाट करिब ३०० किलोमिटर टाढा पर्छ । यसले टिन लामो दूरीबाट ढुवानी गरिन्थ्यो भन्ने देखाउँछ । शायद खुला स्तेपी क्षेत्र पार गरेर, इर्तिश नदीमार्फत डुंगामा वा नदीको मौसमी बाढीका बेला पानीबाट ढुवानी गरिने सम्भावना रहेको विज्ञहरू बताउँछन् ।

राडिभोजेभिचका शब्दमा, ‘इर्तिश नदी युरेसियाको कांस्य युगको सबैभन्दा महत्वपूर्ण टिन बोक्ने नदीमध्ये एक थियो । यसको मौसमी बाढीले धातु संकलन र ढुवानीमा ठूलो सहयोग गर्थ्याे ।’

भौगोलिक स्थिति, जलमार्गको पहुँच र नजिकैका तामा–टिन भण्डारका कारण सेमियार्का उत्पादन केन्द्र मात्र नभई विनिमय, व्यापार र राजनीतिक प्रभावको क्षेत्रीय केन्द्र थियो । यहाँ उत्पादन भएको कांस्य स्तेपी क्षेत्र हुँदै युरेसियाका विभिन्न भागमा फैलिन सक्थ्यो ।

यस खोजले स्तेपी समाजहरू आर्थिक, प्राविधिक र सामाजिक रूपले अन्य समकालीन सभ्यताहरू जत्तिकै परिष्कृत रहेको पुष्टि गरेको अनुसन्धानकर्ताहरूको दाबी छ । अनुसन्धानकर्ताहरूले सेमियार्कालाई कांस्य युगको अण्ड्रोभो संस्कृति र खासगरी चर्कास्कुल (१६००– १२५० ई.पू.) र अलेक्सेभ्का–सर्गारी (१५००–११०० ई.पू.) चरणसँग जोड्छन् ।

सेमियार्काको खोज एउटा पुरातात्विक उपलब्धि मात्र नभई मध्य एसियाको प्रागैतिहासिक इतिहास पुनर्लेखनतर्फको महत्वपूर्ण कदम भएको केहीको दाबी छ । यसले घुमन्ते र स्थायी सभ्यताको बीचमा स्पष्ट विभाजन गर्ने पुरानो धारणालाई चुनौती दिएको छ ।

अब प्रश्न उठेको छ, यस्ता कति अन्य बस्तीहरू अझै स्तेपी विशाल मैदानमुनि लुकेर बसेका होलान् ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्