काठमाडौं – डिसेम्बर १० को दिउँसो एयर इण्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा त्यसमा आएका यात्रुहरू सामान्य पर्यटकजस्तै देखिन्थे । उनीहरूका लागि काठमाडौंका तीन पाँचतार होटल अलफ्ट, मेरियट र र्याडिसनमा ११० वटा कोठा पहिल्यै बुक भइसकेका थिए । होटल अलफ्टमा ४०, मेरियटमा ५० र र्याडिसनमा २० कोठा । होटल अलफ्टमा मात्रै १५ लाख रुपैयाँ नगद बुझाइएको थियो । ती यात्रु काठमाडौं घुम्न आएका थिएनन् । उनीहरू क्यासिनो खेल्न काठमाडौं ओर्लिएका थिए ।
डिसेम्बर ११–१४ मा ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोमा चारदिने इभेन्ट आयोजित थियो । यसको आयोजना भारतीय नागरिक सुरेश महाजनको नेतृत्वमा रहेको ‘महाकाया ग्रुप’ले गरेको थियो । जसका लागि भारतबाट करिब दुई सय जनासम्म खेलाडी नेपाल ल्याइएको थियो ।
वाल्डो क्यासिनोमा ७ देखि १० वटासम्म टेबल बुक गरिएको थियो । बाहिरबाट हेर्दा यो उच्चस्तरीय क्यासिनो इभेन्टजस्तो देखिए पनि भित्र भने प्रविधिको प्रयोग गरेर योजनाबद्ध ठगीको सेटअप गरिएको प्रहरीको छापापछि मात्रै खुलेको छ ।
इभेन्ट सुरु भएको पहिलो दिनमै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वाल्डो क्यासिनोमा छापा मार्यो । ६ जना पक्राउ परे, क्यासिनो सञ्चालकसहित ६ जना फरार भए । विदेशी नागरिक क्यासिनो खेलिरहँदा प्रहरीले छापा मार्नु सामान्य घटना होइन ।
तर प्रहरीले क्यासिनो खेलको नाममा ठगी भइरहेको ठोस सूचना पाएपछि हस्तक्षेप गरेको बुधबार पत्रकार सम्मेलन गर्दै जनाएको हो ।
प्रहरीको अनुसन्धानअनुसार महाकाया ग्रुपले चुम्बकीय तास र आँखामा लगाउने विशेष लेन्स प्रयोग गरेर खेललाई नियन्त्रणमा राख्ने प्रणाली बनाएको थियो । तासमा जडान गरिएको म्याग्नेट र आँखाको लेन्सबीच ‘कनेक्सन’ मिलाइएको थियो, जसले लेन्स लगाउने व्यक्तिलाई कुन तास कसको हातमा छ भन्ने प्रस्ट देखिन्थ्यो । यही प्रविधिको भरमा खेलको नतिजा पहिले नै तय हुने गरी चाल चलाइन्थ्यो ।
प्रत्येक टेबलमा भारतबाट ल्याइएका पाँच जना ‘वास्तविक’ खेलाडी राखिन्थे । उनीहरूकै बीचमा महाकाया ग्रुपकै एक जना ‘डमी खेलाडी’ पनि बसाइन्थ्यो । तास बाँड्ने काम समूहकै महिला डिलर चिजा खड्का र भवानी पाण्डेले गर्थे । लेन्स लगाएका डमी खेलाडीले तासको पहिचान गरेपछि खेलको चाल त्यसैअनुसार मोडिने गरेको खुलेको छ ।
लेन्स लगातार धेरै समय प्रयोग गर्न नमिल्ने भएकाले २–३ घण्टामा डमी खेलाडी फेरिन्थे । यसरी जितिएको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालक सुरेश महाजन र उनको समूहले लिने र १० प्रतिशत डमी खेलाडीलाई दिने सहमति गरिएको थियो । प्रहरीका अनुसार दिनेश वर्माले भारतबाट ५० प्याकेट म्याग्नेटिक तास र चार सेट लेन्स किनेर नेपाल ल्याएका थिए । ती सामग्री नेपालतर्फका मुख्य संयोजक विनोद भनिने जनार्दन उप्रेतीले क्यासिनोभित्र प्रवेश गराएका थिए ।
ठगीको सञ्जाल क्यासिनो टेबलमा मात्रै सीमित थिएन । भारतबाट नेपाल ल्याइएका अधिकांश खेलाडी क्यासिनोका नियमित र पैसावाल व्यक्ति थिए । तर, ठूलो नगद नेपाल ल्याउन समस्या हुने भएकाले समूहले भारतमै रकम संकलन गर्ने र नेपालमा हुण्डीमार्फत पठाउने व्यवस्था मिलाएको खुलेको छ । क्यासिनोमा जितिएको रकम पनि यही अवैध सञ्जालमार्फत भारत पठाइन्थ्यो ।
पक्राउ परेकाहरूको मोबाइल फोन जाँच गर्दा ह्वाट्सएप संवादमा रकमलाई सांकेतिक भाषामा उल्लेख गरिएको भेटिएको प्रहरीको दाबी छ । ‘लाख’ लाई ‘केजी’ भनेर संकेत गर्ने, भारतीय नोटका नम्बरलाई कोडका रूपमा प्रयोग गर्ने गरिएको देखिएको छ । प्रहरीका अनुसार यो प्रकरण ठगी मात्र होइन, संगठित अवैध आर्थिक कारोबारसँग पनि जोडिएको छ ।
प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक सुरेश महाजन, दिनेश वर्मा, विक्रम सिंह, प्रमोद मौर्य तथा डिलर कर्मचारी चिजा खड्का र भवानी पाण्डे छन् । तर क्यासिनो सञ्चालकसहित जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने नीरज कुमार, हिरा शेखर मल्ली पुरी, मुकेश भनिने कमल खरबन्दालगायत अझै फरार छन् ।
प्रहरीका अनुसार उप्रेती नेपालतर्फको मुख्य संयोजक थिए । उनले होटल बुकिङ, विमान टिकट, टेबल बुकिङ र होटल–क्यासिनोको बिल भुक्तानीसम्मको सम्पूर्ण व्यवस्थापन गरेका थिए । उनी स्वयं नेपाली नागरिक हुँदाहुँदै क्यासिनो खेल खेलेको प्रमाण पनि भेटिएको छ, जुन प्रचलित कानूनविपरीत हो ।
यस प्रकरणले क्यासिनो सञ्चालकहरूको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएको छ । वाल्डो क्यासिनोमा म्याग्नेटिक तास, डमी खेलाडी र समूहका मानिस प्रवेश गरिनु, टेबल बुकिङ र इभेन्ट सञ्चालनमा क्यासिनो व्यवस्थापनको भूमिका शंकास्पद देखिएको प्रहरीको भनाइ छ । अनुसन्धानअनुसार यही समूहले यसअघि हायात होटलस्थित क्यासिनो प्राइडमा पनि करिब दुई वर्षसम्म यस्तै इभेन्ट सञ्चालन गरेको थियो ।
प्रारम्भिक अनुसन्धानले महाकाया ग्रुपको गतिविधि नेपालमा मात्रै सीमित नभएको देखाएको छ । भारत, श्रीलंका, भियतनाम र कम्बोडियामा समेत क्यासिनो ‘इभेन्ट’ को नाममा यस्तै ठगी गरिएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मुलुकी अपराध संहिताअनुसार ठगी, आपराधिक विश्वासघात र अवैध आर्थिक कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।