काठमाडौं । नेपालमा अवैध मानिएको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट)सम्बन्धी शंकास्पद कारोबार पछिल्ला पाँच वर्षमा तीव्ररूपमा बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको भर्चुअल सम्पत्तिसम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ अनुसार सन् २०२१ जनवरीदेखि २०२५ जुलाईसम्म ६५८ शंकास्पद कारोबार तथा गतिविधिको जानकारी प्राप्त भएको छ ।
नेपालमा बिटकोइन, इथेरियमजस्ता क्रिप्टोकरेन्सी, स्टेबलकोइन, युटिलिटी टोकन तथा अन्य टोकनाइज्ड एसेटको कारोबार, स्थानान्तरण, भुक्तानी र लगानी अवैध मानिन्छ । प्रतिवेदनअनुसार सन् २०२१ मा १३, सन् २०२२ मा १७३, सन् २०२३ मा १३८ र सन् २०२४ मा २५२ शंकास्पद कारोबारको जानकारी राष्ट्र बैंकले पाएको थियो । सन् २०२५ को जुलाई १६ सम्म मात्र ८२ वटा शंकास्पद कारोबार तथा गतिविधि पहिचान भइसकेका छन् ।
प्राप्त विवरणअनुसार शंकास्पद कारोबारमध्ये ९१ प्रतिशतभन्दा बढी अर्थात् करिब ६ सय वटा वाणिज्य बैंकसँग सम्बन्धित छन् । यसबाहेक ४८ विकास बैंक, छ रेमिट्यान्स कम्पनी, दुई वित्त कम्पनी, एउटा भुक्तानी प्रणाली सञ्चालक र एउटा स्टक ब्रोकरसँग सम्बन्धित कारोबार पनि शंकास्पद सूचीमा परेका छन् ।
राष्ट्र बैंकले यस्ता शंकास्पद कारोबारका विवरण विभिन्न अनुसन्धान निकायमा पठाउँदै आएको छ । पछिल्लो पाँच वर्षमा २३२ वटा नेपाल प्रहरी, ११५ वटा राजस्व अनुसन्धान विभाग, छ वटा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, तीन वटा राष्ट्र बैंकअन्तर्गतको भुक्तानी सेवा विभाग र एउटा आन्तरिक राजस्व विभागलाई पठाइएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका निर्देशक तथा वित्तीय जानकारी एकाइका प्रमुख वासुदेव भट्टराईले शंकास्पद कारोबारबारे सम्बन्धित निकायलाई जानकारी दिइएको र थप अनुसन्धानपछि मात्रै अपराध पुष्टि हुने बताए । ‘हामीले विवरण उपलब्ध गराउँछौं, त्यसपछि अनुसन्धान निकायले मुद्दा अघि बढाउने र अदालतबाट निर्णय भएपछि मात्रै यकिन हुन्छ,’ उनले भने ।
उमेर समूहका आधारमा हेर्दा शंकास्पद कारोबारमा संलग्नमध्ये २६ देखि ३० वर्ष उमेर समूह सबैभन्दा धेरै (३५ प्रतिशत) छन् । त्यसपछि २१–२५ र ३१–३५ वर्ष उमेर समूह समान २०–२० प्रतिशत, ३६–४० वर्ष १२ प्रतिशत, ४१ वर्षभन्दा माथि १० प्रतिशत र १६–२० वर्ष उमेर समूह तीन प्रतिशत छन् ।
पेसागत रूपमा २९ प्रतिशत विद्यार्थी, २१ प्रतिशत जागिरे, १९ प्रतिशत व्यवसायी, नौ प्रतिशत वैदेशिक रोजगारीमा रहेका, पाँच प्रतिशत कृषि पेशामा संलग्न, चार प्रतिशत स्वरोजगार, दुई प्रतिशत इञ्जिनियर रहेका छन् । चिकित्सक, धार्मिक व्यक्ति र गृहिणी समान एक–एक प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार २६ प्रतिशत व्यक्तिको बैंक खाता बाइनान्स, बिटकोइन, हाइपर फन्ड, हाइपरभर्स, एमटी क्वाइनजस्ता भर्चुअल सम्पत्तिको कारोबारसँग प्रत्यक्षरूपमा जोडिएको देखिएको छ । साथै, केहीले अर्को व्यक्तिको बैंक खाता प्रयोग गर्ने (मनी म्युल), डलर कार्डमार्फत क्रिप्टो खरिद गर्ने, ग्याम्बलिङ, हुन्डी तथा क्रिप्टो फ्रडमा संलग्न भएको पनि पाइएको छ ।
राष्ट्र बैंकका अनुसार ४२ प्रतिशत व्यक्ति भने बारम्बार ठूलो रकम जम्मा र झिक्ने अस्वाभाविक गतिविधिका कारण शंकास्पद सूचीमा परेका छन् । प्रतिवेदनले अवैध भर्चुअल सम्पत्तिको कारोबार वित्तीय प्रणालीका लागि जोखिमपूर्ण रहेकाले निगरानी र नियन्त्रणलाई थप कडा बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।