नेभिगेशन
अर्थतन्त्र

किमाथाङ्का अरुणको लगानी मोडालिटी तयार

छुम्सुर गाउँ नजिक अरुण नदीमा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ । ०.३५० वर्ग किलोमिटर क्षेत्रफलमा १०३ लाख घनमिटर पानी जम्मा हुनेछ ।

काठमाडौं । सङ्खुवासभाको भोटकोला गाउँपालिका वडा नम्बर २ मा निर्माण गर्न लागिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशय जलविद्युत आयोजना स्वदेशी पुँजीबाट निर्माण गर्न लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेडले स्वपुँजी पुँजी परिचालन गरी निर्माण गर्नेगरि आयोजनाको मोडालिटी तयार पारिएको हो ।

आयोजना निर्माण लागत ब्याजसहित कुल ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले कुल लागतमध्ये ७० प्रतिशत अर्थात ६८ अर्ब ५५ करोड रुपैयाँ ऋणबाट र ३० प्रतिशत अर्थात २९ अर्ब ३८ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको ढाँचा तयार पारेको हो ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडीसीएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरू र बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ऋण लगानी व्यवस्थापन गर्ने प्रस्ताव लगानी मोडालिटीमा छ । यूतै, कम्पनीका संस्थापक र गैह्रआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणका लागि साधारण शेयर निश्कासन गरी पुँजी व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ ।

उत्पादन कम्पनीले तयार पारिएको किमाथाङ्का अरुणको लगानी मोडालिटीको प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाउने छ । अर्थको स्वीकृतपछि मन्त्रीपरिषदबाट निर्णय भई कार्यान्वयनमा जानेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले वित्तीय विश्लेषणसहित तयार पारिएको आयोजनाको प्रस्तावित लगानी मोडालिटी उल्लेखित लागतलाई अद्यावधिक गरी वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन उत्पादन कम्पनीलाई निर्देशन दिएका छन् । घिसिङले उत्पादन कम्पनीले धेरै जलविद्युत् आयोजनाको अनुमतिपत्र लिएको भए पनि अहिलेसम्म कुनै आयोजना लगानी व्यवस्थापन गरी निर्माणमा लगिनसकेकाले दीर्घकालीन आम्दानीको स्रोत सुनिश्चित गर्न किमाथाङ् अरुण आफैंले बनाउन अग्रसर भएर लाग्नु पर्नेमा जोड दिए । घिसिङले आयोजनाको प्रस्तावित लगानी ढाँचा र त्यस बमोजिम कम्पनीको संस्थागत इक्विटी योजनालाई तत्काल कम्पनी सञ्चालक समितिबाट पारित गरी पेश गर्न निर्देशन समेत दिए ।

किमाथाङ्का अरुणको अध्ययन तथा निर्माणपूर्वका कामहरू गर्न ७३ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । बाँध, जलाशय, विद्युतगृहलगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ । यसका लागि करिब ४५ करोड रुपैयाँ लाग्ने अनुमान छ । यो आयोजनाका लागि आवश्यक पर्ने जग्गा खरिदका लागि प्रतिरोपनी ६ लाख ९० हजार रुपैयाँ मुआब्जा निर्धारण गरिएको हो ।

कम्पनीले जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ को उपदफा १ मा भएको व्यवस्था बमोजिम अरुण किमाथांक आयोजनाको संरचना निर्माण हुने जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर २ (साविक चेपुवा गाविस वडा नम्बर १, ३, ४, ६ र ७) को जग्गा प्राप्त गर्न मूल्य निर्धारण गरी स्थानीय जग्गाधनीलाई मुआब्जा लिन बोलाएको छ । आयोजनाको भौतिक संरचना तथा कार्यालय, आवास क्षेत्र निर्माणका लागि अधिग्रहण गर्नुपर्ने जग्गा, जग्गामा निर्माण भएका घर, गोठ, टहरा तथा रुख बिरुवा समेतको मुआब्जा निर्धारण गरिएकाले मुआब्जा बुझ्न बोलाइसकिएको उत्पादन कम्पनीले जनाएको छ ।

‘जनताको जलविद्युत्’ अवधारणा अनुरुप निर्माणमा जान लागेको किमाथांका अरुण आयोजनामा संखुवासभाका १० वटै स्थानीय तहले संस्थापक शेयर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन तथा इन्जिनियरिङ अध्ययन कार्य सम्पन्न भइसकेको छ । आयोजना निर्माण थालेको ५ वर्षभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ । छुम्सुर गाउँ नजिक अरुण नदीमा आयोजनाको करिब १४० मिटर अग्लो बाँध निर्माण गरिने प्रारम्भिक डिजाइन छ । बाँध निर्माणपछि करिब ०.३५० वर्ग किलोमिटर क्षेत्रफलमा १०३ लाख घनमिटर पानी जम्मा गर्न सकिने जलाशय निर्माण गर्ने गरी प्रारम्भिक डिजाइन तयार गरिएको छ ।

आयोजनाको विद्युतगृह भोटखोलाको लिंगम गाउँबाट करिब ५०० मिटर तल पुङछी क्षेत्रमा निर्माण गरिनेछ । विद्युतगृहमा पानी खसाल्न ५.९१८ किलोमिटर लामो तथा ८ मिटर व्यासको मुख्य सुरुङ निर्माण गरिनेछ । आयोजनास्थलसम्म पुग्न २६.८ किलोमिटर पहुँचमार्ग निर्माण गरिनेछ । आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले वातावरणीय व्यवस्थापनमा विशेष ध्यान पुर्‍याएर काम गर्ने उत्पादन कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले निर्माण गर्ने ४०० केभी हाइटार सबस्टेसनमा जोडिने छ ।

पिआरओआर प्रकृतिको यो आयोजनाले सुख्खा याममा समेत दैनिक ६ घण्टा पूर्ण क्षमतामा उत्पादन गर्ने छ । विद्युतगृहमा ११३.५ मेगावाटका ४ वटा उत्पादन युनिटबाट रहने छन् । यो आयोजनाबाट वार्षिक २ अर्ब ६९ करोड युनिट (२६९०.९७ गिगावाट घन्टा) विद्युत उत्पादन हुनेछ । यसमध्ये हिउँदयामको पिक तथा अफ पिक ऊर्जा क्रमशः ४७ करोड ३१ लाख तथा ३५ करोड ३३ लाख र वर्षायामको १ अर्ब ८६ करोड ४६ लाख युनिट हुनेछ छ । विद्युत् उत्पादनपछि कम्पनीले वार्षिक १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

यो कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको १०/१०, नागरिक लगानी कोषको ५, एचआइडिसिएलको ४, राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि २ ९ प्रतिशत शेयर छुट्याइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्