न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल उनको विदेश नीतिको महत्वाकांक्षा अनुरूप आकार लिइरहेको छ ।
उनले भेनेजुएलाविरुद्धको आफ्नो धम्कीलाई पूर्णरूपमा नाटकीय शैलीमा कार्यान्वयन गरे । रातको समयमा गरिएको एउटा कारबाहीमा भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई राजधानी काराकासको भारी घेराबन्दीका बीच समातियो ।
यस अभियानको चर्चा गर्दै ट्रम्पले सन् १८२३ को ‘मुनरो डक्ट्रिन’लाई फेरि अगाडि सारेका छन् र त्यसलाई नयाँ नाम दिएका छन्– ‘डोनरो डक्ट्रिन’ ।
जेम्स मुनरो अमेरिकाका पाँचौँ राष्ट्रपति थिए । उनको समयमा ‘मुनरो डक्ट्रिन’ अमेरिकी विदेश नीतिको अहम हिस्सा थियो । उनको भनाइमा, पश्चिमका दक्षिण र उत्तरी गोलार्ध अर्थात् अमेरिकी गोलार्ध युरोपेली शक्तिहरूको प्रभावबाट मुक्त रहनुपर्छ । पछिल्लो समय ट्रम्पले अमेरिकाको निशानामा रहेका केही अन्य देशहरूका विरुद्ध जुन चेतावनी दिएका छन्, यहाँ तीमध्ये केहीको उल्लेख गरिएको छः
ग्रीनल्याण्ड
अमेरिकाको पहिले नै ग्रीनल्याण्डमा एउटा सैन्य अड्डा ‘पिटुफिक स्पेस बेस’ छ । तर ट्रम्प यो पूरै टापु अमेरिकाको कब्जामा चाहन्छन् । उनले पत्रकारहरूसँग भने, ‘राष्ट्रिय सुरक्षाको दृष्टिले हामीलाई ग्रीनल्याण्डको आवश्यकता छ ।’ ट्रम्पले यो क्षेत्र ‘सबैतिर रूसी र चिनियाँ जहाजहरूले भरिएको’ बताए ।
यो विशाल आर्कटिक टापु डेनमार्क अधिराज्यको हिस्सा र अमेरिकाको उत्तर– पूर्वमा करिब दुई हजार माइल (३,२०० किमी) को दूरीमा अवस्थित छ । यो टापु ‘रेयर अर्थ मिनरल्स’ (दुर्लभ खनीज पदार्थ)ले समृद्ध छ । यो खनीज स्मार्टफोन, इलेक्ट्रिक सवारी साधन र सैन्य सरसामान बनाउनका लागि निकै महत्वपूर्ण मानिन्छन् । यतिबेला चीन यस्ता खनिजहरूको उत्पादनमा अमेरिकाभन्दा धेरै अगाडि छ ।
ग्रीनल्याण्ड उत्तरी एटलान्टिकमा एक महत्त्वपूर्ण रणनीतिक स्थानमा छ । यहाँबाट आर्कटिक सर्कलसम्मको पहुँच सहज हुन्छ । यसै कारण यसको महत्त्व तीव्र रूपमा बढ्दै गएको छ, किनभने आउने वर्षहरूमा ध्रुवीय बरफ पग्लिएर नयाँ समुद्री मार्ग खुल्ने अपेक्षा गरिएको छ । ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक नील्सनले ट्रम्पलाई जवाफ दिँदै टापुमा अमेरिकी नियन्त्रणको धारणालाई ‘काल्पनिक’ बताएका छन् ।
कोलम्बिया
भेनेजुएलाको अपरेशनको केही घण्टापछि नै ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ‘आफ्नो ज्यान जोगाउन’ चेतावनी दिए । भेनेजुएलाको पश्चिमी छिमेकी देश कोलम्बिया, तेलको विशाल भण्डारको घर हो र सुन, चाँदी, पन्ना, प्लेटिनम र कोइलाको एक प्रमुख उत्पादक हो । यो क्षेत्र लागूपदार्थको व्यापार, विशेष गरी कोकिनको व्यापारका लागि पनि बदनाम छ ।
सेप्टेम्बरमा अमेरिकाले क्यारिबियन र पूर्वी प्रशान्त महासागरमा डुंगाहरूमाथि आक्रमण सुरु गरेको थियो । उसले बिना कुनै प्रमाण ती डुंगाहरूले ड्रग्स ओसारिरहेको आरोप लगाएको थियो । यसबाट ट्रम्प कोलम्बियाका वामपन्थी राष्ट्रपतिसँगको विवादमा फसेका छन्, जुन लगातार बढ्दै गइरहेको छ ।
अमेरिकाले अक्टोबरमा पेट्रोमाथि प्रतिबन्ध लगाउँदै उनले ‘कार्टेल’ (लागूपदार्थ तस्कर समूह) लाई मौलाउन अनुमति दिएको आरोप लगाएको छ । आइतबार ‘एयर फोर्स वान’ मा बोल्दै ट्रम्पले भने कि कोलम्बियालाई ‘एक बिरामी व्यक्तिले चलाइरहेको छ जसलाई कोकिन बनाउन र त्यसलाई अमेरिकामा बेच्न मन पर्छ । र, म यसो गर्न धेरै समयसम्म दिन्नँ ।’
इरान
इरानमा यतिबेला व्यापक स्तरको सरकार विरोधी प्रदर्शन भइरहेका छन् । ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि अझै प्रदर्शनकारीहरूको मृत्यु भयो भने त्यहाँका अधिकारीहरूले निकै कडा सजाय पाउनेछन् ।’ उनले एयर फोर्स वानमा पत्रकारहरूलाई भने, ‘हामीले इरानलाई निकै नजिकबाट नियालिरहेका छौं । यदि उनीहरूले पहिले जस्तै मानिसहरूलाई मार्न थाले भने, मलाई लाग्छ अमेरिकाले उनीहरूलाई कठोर जवाफ दिनेछ ।’
सैद्धान्तिकरूपमा इरान ‘डोनरो सिद्धान्त’मा परिभाषित दायराभन्दा बाहिर पर्छ, तर ट्रम्पले गत वर्ष इरानको आणविक स्थलहरूमा आक्रमण गरेपछि इरानी शासनलाई थप कारबाहीको धम्की दिएका थिए । गएको हप्ता मार–ए–लागोमा ट्रम्प र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुबीच भएको बैठकमा इरानको मुद्दा प्रमुखताका साथ उठाइएको थियो । अमेरिकी मिडिया रिपोर्टहरूका अनुसार, नेतान्याहुले सन् २०२६ मा इरानमा नयाँ आक्रमण गर्ने सम्भावना व्यक्त गरेका छन् ।
मेक्सिको
सन् २०१६ मा ट्रम्प पहिलो पटक सत्तामा आउँदा मेक्सिकोको दक्षिणी सीमामा ‘पर्खाल बनाउने’ उनको बयानबाट चर्चा सुरु भएको थियो । सन् २०२५ मा आफ्नो कार्यकालको पहिलो दिनमै उनले ‘गल्फ अफ मेक्सिको’ (मेक्सिकोको खाडी) को नाम बदलेर ‘गल्फ अफ अमेरिका’ गर्नका लागि एक कार्यकारी आदेशमा हस्ताक्षर गरे । उनले प्रायः यो दाबी गर्दै आएका छन् कि मेक्सिकोका अधिकारीहरू अमेरिकामा ड्रग्स वा अवैध आप्रवासीहरूको आगमन रोक्न पर्याप्त कदम चालिरहेका छैनन् । आइतबार ट्रम्पले भने, ‘मेक्सिकोको बाटोबाट ड्रग्सको भरपूर तस्करी भइरहेको छ र त्यो रोक्न हामीले नै केही गर्नुपर्छ । साथै त्यहाँका ड्रग कार्टेलहरू निकै शक्तिशाली पनि छन् ।’
क्युबा
फ्लोरिडाबाट मात्र ९० माइल (१४५ किमी) दक्षिणमा अवस्थित यो टापु राष्ट्र सन् १९६० को दशकको सुरुवातदेखि नै अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको छ ।
क्युबाको भेनेजुएलासँग घनिष्ठ सम्बन्ध थियो, जसले कथित रूपमा क्युबालाई करिब ३० प्रतिशत तेल आपूर्ति गरेको थियो । यसको बदलामा भेनेजुएलाले क्युबाबाट डाक्टर र स्वास्थ्यकर्मीहरूको सेवा पाएको थियो । भेनेजुएलाबाट निकोलस मादुरो सत्ताच्यूत भएपछि तेल आपूर्ति ठप्प हुने स्थितिमा क्युबा समस्यामा पर्न सक्छ । ट्रम्पले आइतबार सुझाव दिँदै भने, ‘त्यहाँ अमेरिकी सैन्य हस्तक्षेपको आवश्यकता छैन, किनभने क्युबा झुक्नका लागि तयार छ ।’ अमेरिकी विदेशमन्त्री मार्को रुबियो, जो क्युबाली आप्रवासीका छोरा हुन्, उनी लामो समयदेखि क्युबामा सत्ता परिवर्तनको माग गर्दै आएका छन् । उनले शनिबार पत्रकारहरूलाई भने, ‘यदि म हवानामा बस्थें र सरकारमा हुन्थें भने, म अलिअलि त चिन्तित हुन्थें !’
‘मुनरो डक्ट्रिन’ के हो ?
भेनेजुयलामाथि भएको अमेरिकी आक्रमणले ‘मुनरो डक्ट्रिन’को सम्झना गराउँछ । सन् १८२३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जेम्स मुनरोले अमेरिकी महाद्वीपमा वासिङ्टनको प्रभाव क्षेत्रलाई बलियो बनाउन अघि सारेका थिए ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १९औं शताब्दीका एक राष्ट्रपतिको नीतिलाई उद्धृत गर्दै भेनेजुयलामाथि गरिएको आक्रमण र ल्याटिन अमेरिकामा वासिङ्टनको इच्छा लाद्ने कार्यको औचित्य पुष्टि गर्न खोजेका छन् ।
शनिबार ट्रम्पले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गरिएको छापालाई मुनरो डक्ट्रिनको ‘अपडेट’ भएको बताए । मुनरो डक्ट्रिन सन् १८२३ मा पाँचौ अमेरिकी राष्ट्रपति जेम्स मुनरोले गरेको घोषणा थियो । ट्रम्पले थपे कि जबसम्म ‘सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण’ पूरा हुँदैन, तबसम्म अमेरिकाले सो देश ‘चलाउने’ छ ।
‘मुनरो डक्ट्रिन एउटा ठूलो विषय हो, तर हामीले यसलाई धेरै पछाडि पारिसकेका छौं, साँच्चै धेरै पछाडि । उनीहरू अब यसलाई ‘डोनरो डकुमेन्ट’ भन्छन्,’ ट्रम्पले ती सिद्धान्तहरूको शृंखलामा आफ्नो नामको पहिलो अक्षर जोड्दै भने ।
उनले थपे, ‘पश्चिमी गोलार्धमा अमेरिकी प्रभुत्वमाथि अब कहिल्यै प्रश्न उठाइने छैन ।’
१९औं शताब्दीको यो अमेरिकी नीति के हो?
मुनरो डक्ट्रिनले मुख्यतया विश्वलाई विभिन्न शक्तिहरूद्वारा हेरिने ‘प्रभाव क्षेत्र’मा विभाजन गर्न आग्रह गरेको थियो । मुनरोले पहिलो पटक २ डिसेम्बर १८२३ मा कांग्रेसमा आफ्नो सातौं वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा यस सिद्धान्तको बारेमा बोलेका थिए, यद्यपि दशकौं पछिसम्म यस सिद्धान्तको नाम उनको नाममा राखिएको थिएन ।
उनले युरोपेली शक्तिहरूलाई अमेरिका महाद्वीपका मामिलाहरूमा हस्तक्षेप नगर्न चेतावनी दिएका थिए र त्यस्तो कुनै पनि कार्यलाई अमेरिकामाथिको आक्रमणको रूपमा हेरिने कुरामा जोड दिएका थिए । राष्ट्रपतिले पश्चिमी गोलार्ध र युरोपका मामिलाहरू अलग रहनुपर्ने र एकअर्कालाई प्रभावित गर्न नहुने बताएका थिए ।
यो सिद्धान्तले औपनिवेशीकरणलाई कसरी सम्बोधन गर्यो?
बदलामा उनले प्रतिज्ञा गरे कि अमेरिकाले विद्यमान युरोपेली उपनिवेशहरू वा युरोपेली देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने छैन र तिनलाई मान्यता दिनेछ ।
यद्यपि, उत्तर र दक्षिण अमेरिका अब उपरान्त कुनै पनि युरोपेली शक्तिद्वारा भविष्यमा गरिने औपनिवेशीकरणको अधीनमा नहुने मुनरोले बताएका थिए ।
धेरै पक्षमा मुनरो डक्ट्रिनले अमेरिका महाद्वीपमा ‘यथास्थिति’ कायम राख्न आग्रह गर्यो तर साथै त्यहाँबाट युरोपेली संलग्नता हटाउनुपर्ने कुरा पनि निर्देशित गर्यो ।
सन् १९०४ मा राष्ट्रपति थियोडोर रुजवेल्टले मुनरो डक्ट्रिनमा ‘रुजवेल्ट कोरोलरी’ थपे । यसले युरोपेली हस्तक्षेप रोक्नका लागि, विशेष गरी ऋण वा अस्थिरताको सन्दर्भमा, ल्याटिन अमेरिकी देशहरूमा हस्तक्षेप गर्ने अमेरिकाको अधिकार रहेको दाबी गर्यो । यसको उद्देश्य पश्चिमी गोलार्धमा स्थिरता कायम राख्नु र वासिङ्टनको हितको रक्षा गर्नु थियो ।
त्यस वर्ष जब युरोपेली ऋणदाताहरूले धेरै ल्याटिन अमेरिकी देशहरूलाई धम्की दिए, रुजवेल्टले यस सिद्धान्त अनुरूप हस्तक्षेप गर्नु अमेरिकाको अधिकार र जिम्मेवारी भएको बताएका थिए । ‘रुजवेल्ट कोरोलरी’ सन् १९०२–१९०३ को भेनेजुयला संकटको पृष्ठभूमिमा आएको थियो, जब सो देशले आफ्नो वैदेशिक ऋण तिर्न अस्वीकार गरेको थियो ।
पछिल्लो समय अमेरिकाले यसलाई कसरी लागू गरेको छ ? पछिल्ला दशकहरूमा विकसित मुनरो डक्ट्रिन डोमिनिकन रिपब्लिक, हाइटी र निकारागुआमा अमेरिकी हस्तक्षेपको आधार बन्यो ।
सन् १९८० को दशकमा राष्ट्रपति रोनाल्ड रेगनले यस क्षेत्रमा आक्रामक दृष्टिकोण अपनाए, जसलाई उनका आलोचकहरूले ‘साम्राज्यवादी’ संज्ञा दिएका थिए । निकारागुआमा उनले सान्डिनिस्टाको वामपन्थी सरकारविरुद्ध दक्षिणपन्थी ‘कन्ट्रास’लाई समर्थन गरे, जसले गर्दा अमेरिका ‘इरान– कन्ट्रा’ हतियार तस्करी काण्डमा फस्यो । उनले एल साल्भाडोर र ग्वाटेमालामा अत्याचारको आरोप लागेका दक्षिणपन्थी सरकारहरूलाई पनि समर्थन गरेका थिए ।
फिडेल क्यास्ट्रोको क्रान्तिदेखि नै क्युबा सैन्य र आर्थिक दुवैरूपमा अमेरिकाको कडा दबाबमा छ र त्यहाँ आजका दिनसम्म दण्डात्मक प्रतिबन्धहरू कायम छन् । सन् २०१३ मा मादुरोका गुरु ह्युगो चाभेजको मृत्यु हुनुअघि चाभेजविरुद्ध पनि सैन्य कू गराउने प्रयास भएका रिपोर्टहरू सार्वजनिक भएका थिए ।