काठमाडौं । पेट्रोलमा इथानोल मिश्रण गरी प्रदुषण नियन्त्रण गर्न भनी अघि सारेको योजना कार्यान्वयनमा ल्याउन बल्ल बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार (पुस २१ गते) को बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश २०८२’ स्वीकृत गरेसँगै दशकौं पुरानो योजना कार्यान्वयनमा जाने बाटो खुलेको हो । २२ वर्ष अघि नै चर्चामा आएको पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री वितरण गर्ने योजना कार्यान्वयनको बाटो खुल्नु ऊर्जा क्षेत्रमा एउटा महत्त्वपूर्ण र दीर्घकालीन फड्को भएको जानकारहरू बताउँछन् ।
पहिलो पटक २०६० सालमा तत्कालीन सरकारले पेट्रोलमा अनिवार्यरूपमा १० प्रतिशत इथानोल मिसाउनुपर्ने भन्दै राजपत्रमा सूचना प्रकाशन गरेको थियो । पछि आर्थिक वर्ष २०७१/७२ को नीति तथा कार्यक्रममा समेत यो योजनालाई समावेश गरिए पनि कार्यान्वयनको चरणमा पुर्याउन सकिएको थिएन ।
सरकारले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश २०८२’ स्वीकृत गरेसँगै नेपाल आयल निगम यसको कार्यान्वयनमा लागि तयार रहेको कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए । आदेशले नेपालमा उत्पादन हुने इथानोल मात्रै पेट्रोलमा मिश्रण गर्ने निर्देशित गरेकाले यसले स्वदेशी किसानलाई प्रोत्साहन मिल्ने पनि उनले बताए ।
इथानोल जैविक इन्धन हो । यसले वातावरणलाई प्रदुषित गर्दैन । विश्वका धेरै देशहरूमा पेट्रोलमा इथानोल मिश्रण गरेर उपयोगमा ल्याइँदै आएको छ । नेपालमा पनि यो प्रविधि बल्ल कार्यान्वयनमा जाँदैछ । पेट्रोलमा इथानोलको प्रयोग हुँदा सवारी साधनबाट निस्कने प्रदुषणलाई केही हदसम्म भए पनि नियन्त्रण गर्न सकिनेछ भने आयात प्रतिस्थापन गर्न पनि योगदान पुग्नेछ । निगमका अनुसार पेट्रोलमा मिसाउने इथानोलको शुद्धता ९९.९५ प्रतिशतसम्म हुनुपर्दछ । पेट्रोलमा इथानोल मिश्रण गर्न किसानलाई इथानोल बन्ने कच्चा पदार्थको व्यवसायिक उत्पादन बढाउन प्रोत्साहन गरिने भट्टले बताए ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने घोषणा गरिसकेकाले समेत पेट्रोलमा इथानोल मिश्रण कार्यान्वयनमा लैजानुपर्ने समय आएको उनले बताए । इथानोललाई नवीकरणीय ऊर्जाको रूपमा प्रयोगमा ल्याउँदा देशलाई फाइदा हुने उनले दाबी गरे ।
निजी क्षेत्रले भने पेट्रोलमा इथानोल मिश्रण गर्ने सरकारी योजना सुन्नका लागि मात्रै कर्णप्रिय लागेको प्रतिक्रिया दिएको छ । नेपाल पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले निगमले यो योजना कार्यान्वयन गर्दा उपभोक्ताका लागि इथानोल मिसिएको तथा नमिसिएको दुवै पेट्रोल खरिदको विकल्प दिनुपर्नेमा जोड दिए ।
‘पेट्रोलमा इथानोल मिसाएर आयात प्रतिस्थापन गर्ने कुरा सुन्दा कर्णप्रिय लग्दछ,’ उनले भने, ‘तर, यो योजना कार्यान्वयन गर्दा उपभोक्तालाई सुसुचित गराउनु पर्छ ।’ पेट्रोलमा इथानोल मिसाउँदा पनि आर्थिक हिसाबले खासै फरक नपर्ने उनको दाबी छ ।
नेपालमा अहिले स्वदेशी चिनी उद्योगहरूले मात्रै उखुबाट थोरै परिमाणमा इथानोलको उत्पादन गरिरहेका छन् । चिनी उद्योगहरूले अहिले उखुबाट उत्पादन गरिरहेको इथानोल ९० प्रतिशत मात्रै शुद्ध छ । तर, पेट्रोलमा मिश्रण गर्ने इथानोलको शुद्धता ९९.९५ प्रतिशतसम्म हुनुपर्छ । चिनी उद्योगहरूले निगमलाई इथानोल दिँदा गुणस्तरमा सुधार गरेर दिनुपर्ने भट्टले बताए । इथानोलमा ०.५ प्रतिशतभन्दा बढी पानी अर्थात मोइस्चर भयो भने यसले सवारी साधनको इन्जिनमा समस्या आउँछ । प्रविधिक हिसाबले सन् २००५ पछि बनेका गाडीहरूमा मात्रै २० प्रतिशतसम्म इथानोल ब्लेन्डिङ गरेर बिक्री गर्न सकिनेमा नेपालले १० प्रतिशत मात्रै ब्लेन्डिङ गर्ने निर्णय गरेको भट्टले बताए । २० प्रतिशसम्म ब्लेन्डिङ गर्नु सुरक्षित हुने भएकाले १० प्रतिशतमात्र गर्दा अझै सुरक्षित हुने उनको दाबी छ । भारतमा बजार परिक्षण गरेर नै ५ प्रतिशतबाट बढाउँदै १०, १५ प्रतिशतबाट बढाएर अहिले २० प्रतिशत पुर्याइएको हो ।
इथानोल वातावरण मैत्री भएकाले जापान, ब्राजिल, अमेरिका लगायत देशले ७० देखि ८० प्रतिशतसम्म पेट्रोलमा इथानोलको प्रयोग गर्दै आएको उनले बताए । यसको लागि गाडीमा फरक खालको इन्जिनको विकास गरिएको हुनु पर्ने उनको भनाइ छ । नेपाल अहिले त्यो अवस्थामा पुगिनसकेकाले अहिले सडकमा गुडिरहेका सवारी साधनमा २० प्रतिशतसम्म इथानोल झेल्न सक्ने हुँदा नेपालले १० प्रतिशत मिश्रण गर्दा राम्रो हुने उनले बताए ।
‘अहिले हाम्रो धेरै इथानोलको प्रयोग झेल्ने इन्जिन परिवर्तन गर्न सक्ने अवस्था छैन । भएको इन्जिनले कति प्रतिशत सम्म थेग्न सक्छ, त्यति मात्र ब्लेन्डिङ गर्ने गरी कार्यान्वयनमा लैजाँदै छौं,’ उनले भने । मन्त्रिपरिषदले स्वीकृत गरेको आदेशमा सबै कुरा आइसकेकाले कार्यान्वयनमा लैजान लामो समय कुर्नु नपर्ने उनले बताए । निगमका अनुसार पेट्रोलमा ब्लेन्ड गर्ने इथानोलको गुणस्तर तथा मूल्य निर्धारण गरेपछि मात्रै कार्यान्वयनमा लैजान सकिनेछ । गुणस्तरको जाँच गरी कति परिमाणमा इथानोल उपलब्ध हुँदै जान्छ,सोही बमोजिम पेट्रोलमा मिश्रण प्रतिशत पनि बढाउँदै लैजाने निगमको योजना छ । पेट्रोलमा इथानोल मिश्रण गर्ने योजना कार्यान्वयनमा आउँदा वार्षिक करिब १२.५ अर्ब रुपैयाँ बराबरको पेट्रोल आयात घटाउन सहयोग पुग्ने दाबी छ ।
इथानोलको गुणस्तर र मूल्य निर्धारणपछि कार्यान्वयन गर्न सकिने
गुणस्तर विभागले इथानोलको गुणस्तर कायम गर्ने छ । विभागले निर्धारण गर्ने गुणस्तरका आधारमा नै सरकारले मूल्य निर्धारण गर्ने छ । सरकारबाट स्वीकृत आदेशभित्र पनि इथानोलको मूल्य निर्धारण समिति गठन गर्न सिफारिस गरिएको छ । यो समितिले सिफारिस गरेको मूल्य गरेपछि लागु हुनेछ । मूल्य निर्धारण भएपछि मोइस्चर कन्टेन्ट ०.५ प्रतिशत भन्दा नबढ्ने गरीको गुणस्तर कायम गरिएको इथानोल खरिद गर्न निगमले सूचना प्रकाशित गर्ने भट्टले बताए । निगमका अनुसार इथानोलको उत्पादनको परिमाण अनुसार नै यसको कार्यान्वयन प्रक्रियाको प्रभावकारिता निर्भर हुनेछ । इनाथोलन मिश्रित पेट्रोलको बिक्री वितरण सबैभन्दा पहिले अमलेखगन्जबाट सुरु गर्ने र विस्तारै अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने निगमको योजना छ ।
भारतमा इथानोल प्रयोग
भारतमा पेट्रोलमा इथानोल मिश्रण (इथानोल ब्लेन्डिङ) को अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ । भारतले यस क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरिसकेको छ । अहिले पेट्रोलमा २० प्रतिशत इथानोल मिश्रण गरेर उपभोक्तालाई बिक्री वितरण गर्दै आइरहेको छ । भारत सरकारले सन् २०३० सम्म पेट्रोलमा २७ प्रतिशत इथानोल मिसाउने नयाँ लक्ष्य तय गरेको छ । भारतको इथानोल मिश्रणको अनुभव विश्वमै उदाहरणीय मानिन्छ ।
इन्जिनमा समस्या आएको गुनासो
भारतले पर्यावरण सुधार, आयात प्रतिस्थापन तथा किसानलाई अतिरिक्त आम्दानी दिने उद्देश्यले पेट्रोलमा इथानोलको मात्रा बढाउँदै लगिरहँदा उपभोक्ताहरूबाट भने सवारी साधनको इन्जिनमा समस्या देखिएको गुनासो पनि आएका छन् । उपभोक्ताले इथानोलको मिश्रण भएको पेट्रोलको नियमित उपयोगले सवारी साधनको इन्जिनमा छोटो समयमै समस्या देखिएको, गाडीको माइलेज घटेको गुनासो गरेका थिए । ग्राहकको गुनासो आएपछि इथानोल मिश्रणको विषय विवादित बन्दा त्यहाँका यातायात तथा राजमार्ग मन्त्री नितिन गडगरीको आलोचना समेत भएको थियो ।
कस्तो गाडीमा इथानोल प्रयोग गर्न मिल्छ ?
फ्लेक्स फ्युल भेइकल (एफएफभी) भनिने गाडीहरूमा इथानोल मिसिएको पेट्रोलको उपयोग गर्न सकिन्छ । यी गाडीहरूमा अधिक इथानोल मिश्रण धान्न सक्ने गरी डिजाइन गररे बनाइएको छ । अल्टरनेटिभ फ्यूल डाटा सेन्सरका अनुसार यो मोडलका गाडीहरूमा विशेष सेंसर्स हुन्छ । जसले इन्धन मिश्रण पत्ता लगाउन सक्दछ र गाडीको इन्जिनको कन्ट्रोललाई मिलाउन सक्दछ । यी गाडीको इन्धन प्रणाली (फ्यूल पम्प, इन्जेक्टर) र रबर/प्लास्टिक पार्टहरू इथानोल–प्रतिरोधी उपकरणहरू जडान गरिएको हुन्छ । सन् २०१० पछि अमेरिका, ब्राजिल लगायत देशहरूमा उत्पादन भएका एफएफभी मोडेलहरूका गाडीहरूमा इथानोलको प्रयोग हुँदै आएको छ । सन् २००० भन्दा अगाडि बनेका गाडीहरू भने इथानोलको मिश्रण भएको पेट्रोलबाट चलाउन सकिँदैन । पुराना गाडीहरूमा उच्च मिश्रण भएको इथानोल चलाउनु हानिकारक हुन जान्छ ।
इथानोल के हो?
इथानोल जैविक इन्धन (बायो–फ्युल)को प्रकार हो । जौ, मकै, मोलासेस (चिनी बनाउने प्रक्रियामा निस्कने एक प्रकारको बाक्लो र गाढा रङको झोल पदार्थ), नेपियर घाँसलगायत कच्चा पदार्थको प्रयोग गरी इथानोल उत्पादन गर्न सकिन्छ । सवारी साधनका लागि प्रयोग गरिने इथानोल ९९.५ प्रतिशत शुद्ध हुनुपर्छ । पेट्रोलमा इथानोल मिसाएर उपयोग गर्दा पेट्रोलको कार्यक्षमता सुधार्ने मात्र नभई गाडीहरूबाट निस्कने कार्बनडाइअक्साइड र कार्बन मोनोअक्साइडको उत्सर्जनमा कटौती गर्न सकिन्छ ।