नेभिगेशन
विश्व

इरानी आन्दोलन कहाँ पुग्यो?

इरानमा जारी प्रदर्शनमाथिको कडाइका कारण करिब २५ सयको ज्यान गइसकेको छ भने देशभर इन्टरनेट सेवा अवरुद्ध गरिएको छ । सन् २०२५ को डिसेम्बर अन्त्यतिर सुरु भएका इरानको आर्थिक अवस्थाविरुद्धका प्रदर्शनहरू विस्तारै सन् १९७९ को इस्लामिक क्रान्तिपछि देश शासन गर्दै आएको धर्मगुरुहरूको व्यवस्थामाथि ठोस चुनौतीका रूपमा विकसित हुन थालेको छ । यहाँसम्म आइपुग्दा इरानमा भएका प्रदर्शनबारे थाहा भएका मुख्य तथ्यहरू यसप्रकार छन् ।

इरानमा प्रदर्शन किन भइरहेका छन्?

डिसेम्बर २८, २०२५ मा अमेरिकी डलरको तुलनामा इरानी मुद्रा रियाल ऐतिहासिकरूपमा कमजोर भएपछि इरानमा अत्यधिक मूल्यवृद्धिविरुद्ध प्रदर्शन सुरु भएको हो । सुरुआतमा तेहरानको ग्रान्ड बजारका व्यापारीहरूले पसल बन्द गरेर प्रदर्शन गरेका थिए । त्यसपछि यो आन्दोलन देशका अन्य प्रान्तहरूमा फैलियो ।

सोमबारसम्म रियाल १ अमेरिकी डलर बराबर १४ लाखभन्दा माथि कारोबार भइरहेको थियो । यो दर जनवरी २०२५ मा करिब ७ लाख र सन् २०२५ को मध्यतिर करिब ९ लाख थियो । मुद्राको तीव्र अवमूल्यनले महँगाई चर्काएको छ । खाद्यान्नको मूल्य अघिल्लो वर्षको तुलनामा औसतमा ७२ प्रतिशतले बढेको छ । वार्षिक महँगी दर हाल करिब ४० प्रतिशत पुगेको छ । इरानको अर्थतन्त्र कमजोर हुनुका पछाडि धेरै कारण छन् । जुन २०२५ मा इरानले इजरायलसँग १२ दिने युद्ध लडेको थियो, जसका कारण इरानका विभिन्न सहरमा पूर्वाधारमा क्षति पुगेको थियो ।

त्यसैगरी, सेप्टेम्बर २०२५ मा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध स्थायीरूपमा हटाउने प्रस्ताव अस्वीकार गरेपछि, इरानको आणविक कार्यक्रमलाई लिएर पुनः प्रतिबन्ध लगाइएको थियो । डिसेम्बरमा इरानले राष्ट्रिय इन्धन अनुदान प्रणालीमा नयाँ तह लागू गर्दै पेट्रोलको मूल्य बढायो । यसले संसारकै सस्तोमध्ये पर्ने इन्धन महँगो बनायो र घरपरिवारमाथि आर्थिक दबाब थपियो ।

अब हरेक तीन महिनामा इन्धन मूल्य पुनरावलोकन गरिनेछ, जसले थप मूल्यवृद्धिको सम्भावना बढेर गएको छ । साथै, केन्द्रीय बैंकले औषधि र गहुँबाहेकका सबै आयातमा लागू हुँदै आएको सहुलियतपूर्ण डलर–रियाल दर खारेज गरेपछि खाद्यान्नको मूल्य अझ बढ्ने अपेक्षा गरिएको छ ।

‘सरकारले इन्धनमा मात्रै ध्यान नदिई अन्य वस्तुको मूल्य घटाउन सके कति राम्रो हुन्थ्यो,’ ट्याक्सी चालक माजिद एब्राहिमीले डिसेम्बर अन्त्यतिर भने, ‘दुग्धजन्य पदार्थको मूल्य यस वर्ष छ गुणा बढेको छ भने अन्य सामानको मूल्य १० गुणाभन्दा बढीले बढेको छ ।’

सुरुमा प्रदर्शनकारीका नाराहरू आर्थिक संकटमा केन्द्रित थिए । तर, क्रमशः ती नारा इरानको धर्मगुरु नेतृत्वको विरोधतर्फ मोडिएका छन् । केही प्रदर्शनकारीहरूले पदच्युत इरानी शाह मोहम्मद रेजा पहलवीका निर्वासित छोरा रेजा पहलवीको समर्थनमा समेत नारा लगाउन थालेका छन् । पहलवीका धेरै समर्थक राजतन्त्र पुनःस्थापनाको माग गरिरहेका छन् । यद्यपि, स्वयं रेजा पहलवीले इरानीहरूले कस्तो शासन व्यवस्था चाहन्छन् भन्ने तय गर्न जनमतसंग्रह गरिनुपर्ने धारणा राख्दै आएका छन् ।

सन् १९५१ मा लोकतान्त्रिकरूपमा निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्देघले इरानको बेलायती नियन्त्रणमा रहेको तेल उद्योग राष्ट्रीयकरण गरेपछि, सन् १९५३ मा अमेरिका र बेलायतको समर्थनमा भएको कू मा उनी अपदस्थ भए । त्यसपछि दमनकारी राजतन्त्र पुनःस्थापित भयो, जुन सन् १९७९ को इस्लामिक क्रान्तिसम्म कायम रह्यो । अन्तिम शाह मोहम्मद रेजा पहलवी क्रान्तिका बेला देश छाडेर भागे र सन् १९८० मा इजिप्टमा उनको निधन भयो ।

‘यस चरणका प्रदर्शनहरूमा इरानका सडकमा अन्य नारासँगै पहलवीको समर्थनमा समेत नारा लगाइयो,’ अक्सफोर्ड विश्वविद्यालयकी इरानको इतिहास तथा राजनीति विषयक सहप्राध्यापक मरियम आलेमजादेहले भनिन् । लोकतन्त्रको माग र इस्लामिक सरकारका कडा कानुनविरुद्धको असन्तुष्टि लामो समयदेखि बढ्दै आएको छ, विशेषगरी सन् २०२२ मा प्रहरी हिरासतमा २२ वर्षीया महस्सा अमिनीको मृत्युपछि ।

सेप्टेम्बर २०२२ मा अमिनीलाई कडा पोशाक नियम उल्लंघन गरेको आरोपमा नैतिक प्रहरीद्वारा तेहरानमा पक्राउ गरिएको थियो । उनलाई ‘पुनःशिक्षा केन्द्र’ लगिएको थियो, जहाँ उनी ढलेकी थिइन् । केही दिनपछि अस्पतालमा उनको मृत्यु भयो ।

प्रदर्शन कहाँ–कहाँ भइरहेका छन्?

प्रारम्भिक प्रदर्शन तेहरानका व्यापारीहरूले मूल्यवृद्धिको विरोधमा गरेका थिए । तर अहिले प्रदर्शन देशभर फैलिएको छ । इरानभित्र र विदेशमा रहेका इरानी समुदायमा समेत फरक–फरक समूह मिलेर ठूलो विपक्षी आधार निर्माण हुँदैछ । इरानको फार्स समाचार एजेन्सीका अनुसार आइतबार राति तेहरानका नव्वाब र सादत आबाद क्षेत्रमा ‘सीमित’ प्रदर्शन भएका थिए ।

दक्षिणपश्चिमी प्रान्त चहारमहल र बख्तियारीका हफ्शेजान र जुन्कान सहरमा पनि प्रदर्शनकारी भेला भएका थिए । उत्तरपूर्वी प्रान्त रजावी खोरासानको तैयबाद जिल्लामा अलग र्‍याली गरिएको थियो । फार्सका अनुसार सुरक्षा बलले ती भेला तोडेका थिए भने अन्य सहर र प्रान्तहरू रातभर शान्त रहेका थिए ।

इरानभित्रका प्रदर्शनको समर्थनमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, टर्की र पाकिस्तानलगायत इरानी समुदाय ठूलो संख्यामा रहेका अन्य देशहरूमा पनि प्रदर्शन भएका छन् ।

कति जनाको मृत्यु भएको छ ?

राज्य सञ्चारमाध्यमका अनुसार पछिल्ला दिनमा १०० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएको छ । विपक्षी कार्यकर्ताहरूले भने मृतक संख्या अझ धेरै भएको र सयौं प्रदर्शनकारी मारिएको दाबी गरेका छन् । अल जजिराले यी तथ्यांक स्वतन्त्ररूपमा पुष्टि गर्न सकेको छैन ।

विशेषज्ञहरू मृतक संख्या अझ धेरै हुन सक्ने आशंका व्यक्त गर्छन् । ‘पूर्ण इन्टरनेट बन्दीका बीच बाहिर आएका न्यून समाचारहरूले हजारौं नागरिक सरकारी बलद्वारा मारिएको हुन सक्ने संकेत गर्छ,’ आलेमजादेहले भनिन् ।

इन्टरनेट बन्द छ ?

नेटब्लक्स नामक निगरानी संस्थाका अनुसार सोमबारसम्म इरानमा इन्टरनेट अवरोध चौथो दिनमा प्रवेश गरेको थियो । इन्टरनेट सरकारले प्रत्यक्षरूपमा बन्द गरेको हो कि होइन भन्ने स्पष्ट छैन । तर नेटब्लक्सले सामाजिक सञ्जालमा लेखेको छ कि यो अवरोध ‘देशभरका प्रदर्शनलाई लक्षित गर्दै क्रमशः कडा बनाइएका डिजिटल सेन्सरशिप उपायहरूको परिणाम हो, जसले अत्यन्त संवेदनशील समयमा जनताको सञ्चार अधिकारमा बाधा पुर्‍याएको छ ।’

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सोमबार तेहरानमा रहेका विदेशी कूटनीतिज्ञलाई इन्टरनेट चाँडै पुनःस्थापित गरिने बताएका छन् । उनका अनुसार यस विषयमा सरकार सुरक्षा निकायसँग समन्वय गरिरहेको छ । उनले दूतावास र सरकारी मन्त्रालयहरूमा पनि इन्टरनेट सेवा पुनःसञ्चालन गरिने बताए ।

के अमेरिकाको संलग्नता छ ?

डिसेम्बरदेखि प्रदर्शन सुरु भएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि हिंसात्मक दमन भयो भने वाशिङ्टनले इरानमा सैन्य हस्तक्षेप गर्न सक्ने चेतावनी पटक–पटक दिएका छन् ।

अराघ्चीले देशव्यापी प्रदर्शन ‘हिंसात्मक र रक्तपातपूर्ण बनाइँदै ट्रम्पलाई सैन्य हस्तक्षेपको बहाना दिन खोजिएको’ आरोप लगाए । उनका अनुसार ट्रम्पको चेतावनीले ‘आतंकवादीहरूलाई’ प्रदर्शनकारी र सुरक्षा बलमाथि आक्रमण गर्न उत्प्रेरित गरेको छ, ताकि विदेशी हस्तक्षेप होस् । ‘हामी युद्धका लागि पनि तयार छौं र संवादका लागि पनि,’ उनले भने ।

अराघ्चीले प्रदर्शनकारीलाई हतियार वितरण गरिएको भिडियो प्रमाण सरकारसँग रहेको दाबी गर्दै छिट्टै हिरासतमा लिइएकाहरूको स्वीकारोक्ति सार्वजनिक गरिने बताए । उनका अनुसार प्रदर्शन ‘विदेशी तत्वहरूले उक्साएका र भड्काएका’ हुन् र सुरक्षा बलले जिम्मेवार व्यक्तिहरूलाई ‘खोजी–खोजी समात्ने’ छन् ।

अब के हुन्छ ?

आलेमजादेहका अनुसार प्रदर्शनकारीका माग सम्बोधन नभए इरानमा विद्रोह अझ चर्किन सक्छ । ‘प्रदर्शनकारीले इस्लामिक गणतन्त्रको कुख्यात मापदण्डभन्दा पनि बढी क्रूर दमनको सामना गरेका छन्,’ उनले भनिन्, ‘तर यसपटक असन्तुष्टि चुप लाग्नेवाला छैन ।’

उनका अनुसार भ्रष्टाचार, कुशासन र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण बनेको आर्थिक अवस्थाले इरानमा धेरैको जीवन असह्य बनेको छ । दशकौंदेखि अभिव्यक्ति स्वतन्त्रता र जीवनशैलीमाथि प्रतिबन्ध लगाइएकाले असन्तोष अझ गहिरिएको छ ।

‘यदि यो चरणको प्रदर्शन चरम हिंसाद्वारा दबाइए पनि, आमूल परिवर्तन नहुँदासम्म अर्को विद्रोह चाँडै नै उठ्न सक्छ,’ उनले भनिन् । यस्तो परिवर्तन देशभित्रै राजनीतिक अभिजात वर्गका केही समूहद्वारा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई कमजोर पार्दै, कुलीन अर्थतन्त्र भत्काउँदै र गणतन्त्रको ‘इस्लामिक’ पक्ष तथा त्यसका लाभग्राहीहरू परित्याग गरेर हुन सक्छ, वा अमेरिकी–इजरायली हस्तक्षेपमार्फत पनि हुन सक्छ, जसले इरानीहरूका लागि अराजकता र नयाँ तर फरक असन्तुष्टि जन्माउन सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्