नेभिगेशन
अर्थतन्त्र

भियतनामसँगको व्यापारमा नेपाललाई घाटा उच्च

काठमाडौं, भदौ ७ - औपचारिक भ्रमणमा आइपुगेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन यतिबेला काठमाडौंमा कूटनीतिक भेटघाटमा छिन् । दौत्य सम्बन्ध स्थापनाको पाँच दशकमा पहिलो पटक भियतनामका तर्फबाट उच्च्स्तरीय भ्रमण भएको हो ।

एसियामा उदाउदो आर्थिक शक्ति बनेको भियतनामबाट नेपालले सिक्नुपर्ने विषय धेरै छन् । तर, नेपाल आयातमा रमाएको छ । निर्यात बढाउन सकेको छैन । सुआन र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच शनिबार शिष्टाचार भेटवार्ता भएको छ । सुआन उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएकी हुन् । 

भेटका क्रममा नेपाल–भियतनाम सम्बन्धका विविध आयामका साथै द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको, मन्त्री डा. राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिदै अन्य देशले पनि सिक्नसक्ने धारणा राखेको मन्त्रीको सचिवालयले जनाएको जनाएको छ । तर, नेपालले के सिक्छ र कति सिक्छ भन्ने चाहि प्रश्नचिन्ह नै लागेको अवस्था छ ।

नेपालले भियतनामसँग गर्ने व्यापारमा आयात अत्यधिक रहेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । भियतनामबाट नेपालमा प्रशस्त परिमाणमा खाद्यान्नदेखि कपडा, इलेक्ट्रोनिक सामान, औद्योगिक कच्चापदार्थ र दैनिक उपभोग्य वस्तु भित्रिने गरेको छ भने नेपालबाट निर्यात परिमाण भने नगण्य छ । 

भन्सार विभागको तथ्यांकअनुसार, भियतनामबाट नेपालमा आयात हुने प्रमुख वस्तुमा क्याटफिस, टुना, काजु, मरिच, सेतो मरिच, चामल, कफी, प्लास्टिकजन्य सामान, रबर, कपडा, जुत्ता, कम्प्युटर हार्डवेयर, मोबाइल चार्जर, ब्याट्री, टिभी, ल्यापटप, ट्याबलेट, स्मार्टवाच, घरेलु उपकरण, औषधि र मेसिनरी वस्तु छन् । सबैभन्दा ठूलो परिमाणमा आयात भएको वस्तुमा फ्ल्याट प्यानल टीभी, मोबाइल फोन चार्जर, कम्प्युटर, प्रिन्टर, स्मार्टवाच, कपडा, प्लास्टिकजन्य सामग्री र औद्योगिक मेसिनरी पर्छन् ।

भियतनामबाट गत साउनमा मात्रै ३ करोड १९ लाख २६ हजार रुपैयाँ  बराबरको २३ हजारवटा मोबाइल चार्जर आयात भएको छ । यस्तै ट्याबलेट, ल्यापटप, टेलिभिजन, स्मार्टवाच, धुने मेसिन, कपडा र फुटवेयर पनि ठूलो परिमाणमा आयात भएको छ । खाद्यान्नतर्फ सेतो मरिच, कालो मरिच, चामल, माछा (क्याटफिस, टुना), काजु, कफी लगायतका वस्तु आयात हुँदै आएका छन् । कालो मरिच २ करोड ५७ लाख १० हजार रुपैयाँको २७ हजार किलो आयात भएको छ । 

भियतनामबाट औद्योगिक कच्चापदार्थ र प्रविधि पनि आयात हुने गरेको छ । नेपालले भियतनामबाट क्याल्सियम कार्बोनेट, रबर, प्लास्टिकका उत्पादन, कपर ट्यूब, मेसिनरी पाट्र्स, इलेक्ट्रोनिक उपकरण लगायतका औद्योगिक कच्चापदार्थ आयात गरिरहेको छ । तथ्यांकअनुसार नेपालबाट भियतनामतर्फ हुने निर्यात न्यून छ । वस्तुगत हिसाबले निर्यात उल्लेखनीय छैन । गत साउनमा मात्रै १ करोड १९ लाख ३३ हजार रुपैयाँको निर्यात भएको छ ।

साउनमा ४० करोड १९ लाख ८३ हजार रुपैयाँ बराबरको आयात भएको छ । व्यापार घाटा ३९ करोड ५० हजार रुपैयाँ छ । अधिकांश कारोबार आयातमै केन्द्रित हुँदा नेपाल–भियतनाम व्यापार घाटा अत्यधिक देखिन्छ । नेपाल र भियतनामबीचको व्यापारमा आयातको एकतर्फी प्रभुत्व छ । नेपालले भियतनामबाट खाद्यान्न, उपभोग्य सामानदेखि आधुनिक इलेक्ट्रोनिक उपकरणसम्म आयात गरि रहे पनि निर्यात गर्न सकेको छैन । 

नेपालले आफ्ना कृषिजन्य, हस्तकलाजन्य र कच्चा पदार्थहरू निर्यात गर्ने  क्षमता विस्तार नगरेसम्म भियतनामसँगको व्यापार घाटा झनै बढ्ने सम्भावना छ । विश्वको ध्यान खिच्दै भियतनाम कुनै समय युद्ध र गरिबीले थलिएको दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनाम आज विश्वमा तीव्र गतिमा उदाउँदो आर्थिक शक्ति र पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ । करिब १० करोड जनसंख्या भएको एस–आकारको देशले तीन दशकमा गरेको प्रगति विश्वका लागि एक उदाहरणीय कथा बनेको छ ।

भियतनामको सबैभन्दा उल्लेखनीय पक्ष आर्थिक वृद्धि हो । सन् १९८६ मा ‘दोई मोई’ नामक आर्थिक सुधार नीति लागू गरेपछि यसले बजार अर्थतन्त्रलाई अपनायो । आज, भियतनाम विश्वको सबैभन्दा छिटो बढ्दो अर्थतन्त्रहरूमध्ये एक हो । सामसङ जस्ता बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना कारखानाहरू भियतनाममा सारेका छन्, जसले गर्दा यो मुलुक इलेक्ट्रोनिक्स, कपडा र जुत्ता उत्पादनको प्रमुख केन्द्र बनेको छ । साथै, कफी, चामल र समुद्री खानेकुरा निर्यातमा पनि विश्वमै अग्रणी स्थानमा छ । विदेशी लगानी र युवा जनशक्तिका कारण यो मुलुकले ‘एसियाको नयाँ आर्थिक बाघ’को उपनाम पाएको छ ।

भियतनामको इतिहास संघर्षपूर्ण छ, विशेषगरी अमेरिकासँगको युद्धले यसलाई विश्वभर चिनायो । तर आजको भियतनाम त्यो घाउबाट धेरै अघि बढिसकेको छ । राजनीतिक रूपमा यहाँ एकदलीय कम्युनिस्ट शासन छ, तर आर्थिक नीतिहरू निकै उदार र बजारमुखी छन् । हो ची मिन्ह जस्ता नेताहरूको प्रभाव अझै पनि
समाजमा गहिरो छ । भियतनाम पर्यटकहरूका लागि स्वर्ग मानिन्छ । हनोईको पुरानो बजार, हजारौं चुनढुंगाका टापुहरूले भरिएको विश्व सम्पदा सूचीमा सूचीकृत ‘हा लङ बे’, र युद्धका अवशेषहरू बोकेको हो ची मिन्ह सिटी (पहिले साइगन) यहाँका प्रमुख आकर्षण हुन् । 

यसका साथै डानाङका सुन्दर समुद्री तटहरू र मेकङ डेल्टाको हरियालीले पर्यटकलाई लोभ्याउँछ । भियतनामी खाना, विशेषगरी ‘फो’ (सुप) र ‘बान्ह मी’ (स्यान्डविच) प्रसिद्ध छ । तीव्र विकाससँगै भियतनामले वातावरणीय प्रदूषण, सहरीकरणको चाप र पूर्वाधारको कमी जस्ता चुनौतीहरूको सामना गरिरहेको छ । यसका साथै, दक्षिण चीन सागरमा चीनसँगको सीमा विवाद यसको प्रमुख भू–राजनीतिक चिन्ताको विषय बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्