ललितपुर । कृषिका विभिन्न क्षेत्रमा काम गर्ने निकायहरूको समन्वय र सहकार्य अभावमा अपेक्षित प्रगति हुन नसकेको साझा धारणा प्रस्तुत गरिएको छ । साथै, लगानी अभाव र दक्ष जनशक्तिको उचित व्यवस्थापन हुन नसक्दा पनि कृषिप्रधान देश कृषिमा कमजोर बन्दै जाने जोखिम रहेको बताइएको छ । नेपालको कृषि क्षेत्रलाई वैज्ञानिक, दिगो र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित ‘आनुवंशिकी, बाली प्रजनन तथा बिउ विज्ञानसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन’का वक्ताहरूले सो कुरा बताएका हुन् ।
सम्मेलनमा विद्वत् प्रवचन प्रस्तुत गर्दै नेपालका पहिलो पुस्ताका बागवानीविद् शिवबहादुर नेपाली प्रधानले नेपाल सीमित भूगोलमा समेटिए पनि उचाइको भिन्नताका कारणले अत्यन्तै विविध जलवायु र जैविक विविधताले सम्पन्न भएको बताउँदै भूगोलले दिएको यो विशेषता नै मुलुकको खाद्य सुरक्षा र पोषण सुरक्षाको आधार हुनसक्ने तर्क पेश गरे ।
पूर्वी पहाडी क्षेत्रमा प्राकृतिकरूपमा पाइने सुन्तला जात, सुदूरपश्चिमका पहाडी क्षेत्रमा जैतुनलगायतका जात, उच्च हिमाली क्षेत्रमा ओखर तथा नदी तटका क्षेत्रमा बेललगायतका प्रजाति नेपालका जैविक विविधताका उदाहरण भएको नेपालीले बताए ।
‘धान, गहुँ र मुलाजस्ता बालीमा जेनेटिक्स प्रविधिको प्रयोगले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ भने नेपालमै विकास गरिएको हाइब्रिड मकैले उत्पादन वृद्धिमा योगदान दिएको छ,’ नेपालीले भने, ‘उन्नत प्रविधिसँगै सुधारिएको खेती व्यवस्थापनले उत्पादन अझै बढाउन सक्छ हामीले त्यसतर्फ ध्यान दिनुपर्छ ।’
गत वर्ष विश्व खाद्य दिवसका अवसरमा कृषि विभागले प्रस्तुत गरेको वर्तमान कृषि अवस्थासम्बन्धी प्रतिवेदनमा खाद्य सुरक्षा, कुपोषण तथा रक्तअल्पताजस्ता स्वास्थ्य समस्यालाई सम्बोधन गर्न कृषि उत्पादन वृद्धि, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण आवश्यक रहेको औंल्याइएको हुँदा त्यसतर्फ काम गर्न विज्ञान तथा प्रविधिको प्रयोगसँगै लगानी बढाउनुपर्ने अपरिहार्यता रहेको पनि उनको तर्क थियो । सम्मेलनका सहभागीहरूले आफ्नो प्रस्तुति दिने क्रममा कृषि व्यापार घाटालाई अनुकूल अवस्थामा पुर्याउन अनुसन्धानमा सक्रियता दक्ष तथा तालिमप्राप्त जनशक्तिको उचित व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिएका थिए ।
पहिलो दिनका कार्यक्रममा बाली प्रजननमाथिको आफ्नो अनुसन्धानमाथि विभिन्न विज्ञहरूले आफ्नो प्रस्तुति दिएका थिए । सोमबार प्रस्तुति दिनेमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद पाण्डे, जुम्लामा कार्यरत कृषि प्राविधिक प्रतीक्षा श्रेष्ठ, बनारस हिन्दू विश्वविद्यालबाट कोदोमागि शोध गरिरहेका अभिषेक चौधरी, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक विश्वराज बास्तोला थिए ।
सम्मेलनको मुख्य उद्देश्य नेपालमा विभिन्न बालीहरूको जातीय सुधार र विकास तथा बिउ नवप्रवर्तनको भविष्य निर्माण गर्नु रहेको आयोजक संस्था राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रका प्रमुख धानविज्ञ डा बालकृष्ण जोशीले बताए । नेपालको कृषि–पर्यावरणीय क्षेत्रहरूलाई ध्यानमा राखी ६ वटा विज्ञानः अनुवंश विज्ञान (आनुवंशिकी), बाली प्रजनन, बिउ विज्ञान, कृषि जैविक विविधता, कृषि जैविक प्रविधि तथा कृषि बायोस्टाटिस्टिक्स प्रयोगमार्फत कृषि क्षेत्रमा फड्को मार्ने प्रयासमा बल दिन सम्मेलन गरिएको उनले बताए ।
‘कृषि क्षेत्रले भोगिरहेको कम उत्पादनशीलता, उन्नत तथा गुणस्तरीय बिउमा सीमित पहुँच र जलवायु परिवर्तन अनुकूल प्रविधिको अभावजस्ता चुनौतीहरूको चिर्न पनि सम्मेलनले योगदान दिने अपेक्षा छ,’ जोशीले भने । अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँगको सशक्त सहकार्य अपरिहार्य रहेको भन्दै यस्ता सम्मेलन र पहलहरूले खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्दै अनुकूल व्यापार सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्मेलनको आयोजनामा बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल (पिबाग्सन) र राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद् हुन् भने सहआयोजकका रूपमा लिबर्ड, जिन बैंक, अक्सफाम नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, मुक्तिनाथ बिउ बैंक लिमिटेड, कर्मा ग्रुप छन् ।
सम्मेलनको उद्घाटन कृषिमन्त्री डा मदन परियारले मंगलबार गरेका थिए । माघ ८ गते बिहीबारसम्म चल्ने सम्मेलनमा २३० अनुसन्धानकर्ता, वैज्ञानिक, नीति निर्माता, प्राध्यापक, विद्यार्थी, उद्यमी, निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा सात वटा कार्यपत्र, ४५ वटा अनुसन्धान लेख तथा १५ वटा पोष्टरहरू प्रस्तुत हुनेछ भने १५ वटा प्रदर्शनी कक्ष रहनेछ ।