नेभिगेशन
दृष्टिकोण

अक्षरारम्भसँगै सिकाइका पाइला

सरस्वती पूजा विद्यालय शिक्षा आरम्भका लागि महत्वपूर्ण दिन मानिन्छ । यस दिन साना बालबालिकालाई देवीको मूर्तीअगाडि पहिलो अक्षर लेखाउनेदेखि विद्यालयमा लगेर नाम लेखाउने, भर्ना गरिदिने र विद्यालय शिक्षाको सुरुवात गर्ने गरिन्छ । तर के हाम्रा बालबालिकाहरू विद्यालयका लागि तयार छन् त ? अथवा हामीले उनीहरूलाई विद्यालय जान अगाडि आवश्यक पर्ने सीपको तयारी गरेका छौं त ? यस लेखमा बालबालिकालाई विद्यालयका लागि के कस्ता तयारी गर्नुपर्छ भन्ने विषयमा चर्चा गरिएको छ ।

बालबालिकालाई विद्यालयको लागि तयारी भन्नाले पूर्व–प्राथमिक तहबाट औपचारिकरूपमा विद्यालयमा प्रवेश गर्ने बालबालिकालाई आवश्यक पर्ने सामाजिक, भावनात्मक, बौद्धिक, र भाषिक क्षमता तथा सीप हासिल गर्नु हो । यसले उनीहरूलाई प्रारम्भिक सिकाइ अनुभवहरूमा संलग्न हुन र त्यसबाट लाभ उठाउन सक्षम र सबल बनाउँछ । यसले सफलतापूर्वक सिक्न, सिकाइको थप चरणमा प्रगति गर्न, सक्षम तथा जिम्मेवार नागरिक बन्न मद्दत पुर्‍याउँछ ।

विद्यालयको तयारी एक विस्तृत अवधारणा हो, जसमा बालबालिकाको, उनीहरूको परिवार, समुदाय, प्रारम्भिक बाल हेरचाह तथा शिक्षा सेवा केन्द्र, र विद्यालय सबैको तयारी समावेश हुन्छ । यसले बालबालिकाको लागि आवश्यक पर्ने सामाजिक, भावनात्मक, संज्ञानात्मक, र शारीरिक विकासका लागि पालनपोषण गर्ने र उचित वातावरण प्रदान गर्नेतर्फ ध्यान दिन्छ । हामीलाई थाहा छ, विद्यालयको वातावरण घरको वातावरणभन्दा फरक हुन्छ । विद्यालयमा बालबालिकाले नयाँ वातावरण, भौतिक संरचना, फरक उमेरका साथीहरू, शिक्षकहरू, भाषा, नियम तथा कानून, सीप, तालिका, र छुट्टै खाने बानी भेट्छन् । यी सबै फरकपनले ल्याएका चुनौतीहरू बालबालिकाले सामना गर्नुपर्ने हुन्छ, जसले छिट्टै नयां वातावरणमा घुलमिल हुन समस्या सिर्जना हुन सक्छ । त्यसकारण, बालबालिकालाई आत्मविश्वासी बनाउनको लागि ठुलाहरूको समर्थन र सहयोग आवश्यक हुन्छ ।

विद्यालय तयारीको महत्व

बालबालिकाहरू आफूलाई व्यवस्थापन गर्न सक्षम छु र साथीहरू खेल्न तथा विभिन्न क्रियाकलापमा संलग्न हुन सक्षम छु भन्ने आत्मविश्वासका साथ विद्यालय जानुपर्छ । त्यसो हुँदा उनीहरू नयाँ कुरा सिक्न थाल्छन् र त्यसलाई बुझ्न पनि थाल्छन् । अन्यथा, परिस्थिति अनुकूल नभएको खण्डमा आफ्नो पहिचान प्राप्त गर्न र अरूको ध्यान आकर्षित गर्न बालबालिकाहरू रुन्छन्, गुनासो गर्छन् । त्यसैले, बालबालिकालाई साथीहरूसँग काम गर्न, आफ्नै आत्म–छवि निर्माण गर्न, उत्पादनशील र सिर्जनशील हुन तयार पार्न आवश्यक छ ।

बाल्यावस्थामै बालबालिकाले आफ्नो आत्म–छवि र आत्मविश्वास विकास गर्छन् । बालबालिकाहरू आफूलाई कस्तो अनुभूति गर्छन्, कसरी सिकाइ क्रियाकलापमा संलग्न हुन्छन्, र के गर्दा अरूको अगाडि कमजोर महसुस गर्दैनन् भन्ने विषयमा आमा–बुवा र शिक्षकले ध्यान दिँदै उनीहरूको क्षमता विकासमा विशेष ध्यान दिनुपर्छ । साना र मध्यम खालका चुनौतीले बालबालिकालाई सक्षम बनाउछ । तर, शिक्षकहरूले बालबालिकाको भावना विचार गरेर उक्त चुनौतिलाई व्यवस्थापनयोग्य र उपयुक्त बनाउँदै सहयोग गर्नुपर्छ । यस्ता क्रियाकलापहरू विद्यालयको प्रारम्भिक चरणमा महत्वपूर्ण छन्, जसले उनीहरूको पछि हुने विद्यालय अनुभवलाई सहज बनाउँछ ।

बालबालिकाको प्रत्येक विकासको चरणमा केही पहल र नवीनता देखिन्छ । तर, शिक्षक वा अभिभावकले उनीहरूलाई त्यसो गर्न नदिएमा, उनीहरूको सिर्जनशीलता उपयोग गर्ने अवसर गुम्छ । प्रारम्भिक उमेर नै बालबालिकामा आत्मविश्वास विकास गर्ने उपयुक्त समय हो । त्यसैले, ‘नगर’ भन्नुको सट्टा, बरु सही तरिकाले कसरी गर्ने भनेर सिकाउनुपर्छ । यसले बालबालिकालाई प्रश्न सोध्न, खेल्न वा पढ्न तयार हुन मद्दत गर्दछ ।

आत्मविश्वासी र सक्षम व्यक्ति बन्नका लागि, बालबालिकालाई सुरुमा सहयोगको आवश्यकता हुन्छ, जसले उनीहरूले कसैले आफ्ना आवश्यकता बुझ्छ र सहयोग गर्दछ भन्ने भावना विकास हुन्छ । यस्तो भावना विकास भएमा बालबालिका सुरुमा परनिर्भर हुन्छन्, तर बिस्तारै सहयोग घटाउँदै उनीहरूलाई आत्मनिर्भर बनाउँदा अभिभावक र शिक्षकले उनीहरूलाई आत्मनिर्भर र आत्मविश्वासी व्यक्ति बनाउन सक्छन् ।

बालबालिका केही अघिल्ला अनुभवसहित विद्यालय जान्छन् र ती अनुभव साथीहरू र शिक्षकहरूसँग बाँड्न चाहन्छन् । यसको लागि उनीहरू नयाँ वातावरणमा उत्पादनशील र आत्मविश्वासी हुन आवश्यक छ । यस सन्दर्भमा, शिक्षकहरूको सहयोगले बालबालिकालाई सहज र विद्यालयप्रति राम्रो अनुभुति दिलाउँछ । अत, शिक्षकहरूले बालबालिकालाई विद्यालयमा सहज र परिचित बनाउने वातावरण सिर्जना गर्नुपर्छ ।

घर र विद्यालयबीचको अन्तरलेनै बालबालिकालाई नयाँ ठाउँमा घुलमिल हुन कठिनाइ हुने गर्छ । यसले बालबालिकामा चिन्ता, गुनासो, र विद्यालय जान नचाहने प्रवृत्ति बढाउँछ, जसले उनीहरूको वर्तमान र भविष्यका विद्यालय अनुभवहरूलाई पनि असर गर्छ । त्यसैले बालबालिकाले विद्यालयका बारेमा राम्रो कथाहरू सुनेको र विद्यालयसँग परिचित भएको हुनुपर्छ । उनीहरूले विद्यालय किन जाँदैछन् भन्ने पनि थाहा पाउनुपर्छ र विद्यालयमा बिताउने समयका लागि शिक्षकहरूलाई चिनेका हुनुपर्छ । बालबालिकाले मात्र होइन, अभिभावकहरूले पनि किन आफ्ना बालबालिकालाई विद्यालय पठाउँदैछन् भन्ने कुरा थाहा पाउनुपर्छ र विद्यालय प्रति सकारात्मक धारणा बनाइदिनु पर्दछ । शिक्षकहरूले उचित वातावरण सिर्जना गरी सिकाइ अन्वेषण गर्न सजिलो बनाउने कडीका रूपमा काम गर्नुपर्छ ।

विद्यालयका लागि तयार नभएका बालबालिकाको अवस्था के हुन्छ ?

यदि बालबालिकालाई विद्यालयका लागि तयार नगरी पठाइन्छ भने, यसले उनीहरूको भावी सिकाइ र विकासमा विभिन्न समस्याहरू निम्त्याउँछ । विद्यालयको लागि विकास गर्नका लागि पाँच पक्षहरूलाई ध्यान दिन आवश्यक छ भनेर विन्घम र ह्वाइटब्रेडले बताएका छन् । सिकाइप्रतिको दृष्टिकोण, स्वास्थ्य र शारीरिक तन्दुरुस्ती, भाषा र सञ्चारको विकास, सामाजिक र भावनात्मक विकास, संज्ञानात्मक र सामान्य ज्ञान पक्षलाई मिहिन ढंगले हेर्नुपर्छ ।

बालबालिकाले आ–आफ्नो गति र शैलि विकास गर्छन् र त्यहीअनुसार सिक्छन् । तर, औपचारिक शिक्षा लिन सुरु गर्नु वा ठूला विद्यालयमा प्रवेश गर्नुअघि बालबालिकाले निर्दे शनहरू पालना गर्न र बाह्य वातावरणको विविधतालाई बुझ्नको तयार हुनु आवश्यक छ । यसो हुन नसक्दा नत्र उनीहरू निराश हुन्छन् । त्यसकारण, विद्यालय सुरु गर्नका लागि केही आधारभूत सीपहरू आवश्यक पर्छन् । यी सामान्य सीपहरूमा, बालबालिकाहरू विषयवस्तुमा केन्द्रित हुन सक्ने क्षमता, भाषा र सञ्चार क्षमता, स्वतन्त्ररूपमा काम गर्नसक्ने सीप, शौचालय प्रयोग गर्ने , साथी बनाउने, र नतिजा बुझ्न सक्ने तथा स्वीकार गर्ने  क्षमताहरू पर्दछन् ।

यदि बालबालिका विद्यालयका लागि तयार छैनन् भने, उनीहरूले विकास, सिकाइ र विद्यालयको अनुभवमा चुनौतीहरूको सामना गर्नुपर्ने सम्भावना बढी हुन्छ । यसले शैक्षिक उपलब्धीमा अप्ठ्यारो, भावनात्मक तनाव, आत्मविश्वासमा समस्या, र दुव्र्यवहारको जोखिम निम्त्याउन सक्छ ।

प्रत्येक बालबालिका फरक–फरक तरिकाले र फरक–फरक गतिमा विकसित हुने गर्दछन् र प्रत्येक बालबालबालिकाले प्राथमिक विद्यालयमा प्रवेश गर्दा सबै सीप र व्यवहारमा निपुणता हासिल गरिसकेको हुँदैन भन्ने कुरालाई ध्यान दिनु महत्वपूर्ण छ । यस्तो अवस्थामा, बालबालिकाले विद्यालय प्रवेश अघि आफ्नो सिकाइलाई निरन्तरता दिन तयार भएको सुनिश्चित गर्न, प्रारम्भिक बालविकास हेरचाह र शिक्षा सेवा प्रदायक केन्द्र, विद्यालय, र परिवारले साझारूपमा जिम्मेवारी वहन गर्नुपर्छ । विद्यालयहरूले प्रत्येक बालबालिकालाई सहजरूपमा विद्यालयमा घुलमिल हुन सहयोग पुर्‍याउने र उनीहरूको सिकाइ जारी राख्न सक्षम बनाउने दायित्व निर्वाह गर्नुपर्छ ।

यदि कुनै बालबालिका विद्यालयको लागि तयार छैन भन्ने बुझिएमा पूर्वप्राथमिक तहका शिक्षकहरू र प्रशासकहरूले उनीहरूको विशेष आवश्यकताहरूका बारेमा परिवार र पूर्वप्राथमिक तहका शिक्षकहरूसँग छलफल गर्नुपर्छ र बालबालिकाको क्षमता सुधार गर्न आवश्यक रणनीतिहरू विकास गर्ने काम गर्नुपर्छ । यदि बालबालिकाको क्षमता उसका सहकर्मीहरूको तुलनामा निकै पछि परेको छ भने, बिद्यालयले बालबालिकालाई कुनै किसिमको अपांगता छ कि छैन भनेर पत्ता लगाउनका लागि सिफारिस गर्न सक्छ ।

विद्यालय तयारीका लागि केबल बालबालिका मात्र नभई अन्य कारकहरू पनि महत्वपूर्ण छन् भन्ने तथ्यलाई मध्यनजर गर्दै र त्यसको लागि सबैले प्रयोग गर्न सक्ने रणनीतिहरू पनि पहिचान गर्नुपर्छ । उदाहरणका लागि, पूर्वप्राथमिक शिक्षक र प्रशासकले बालबालिकाले उच्च गुणस्तरीय, उसको व्यक्तिगत क्षमता अनुसार, र विकासअनुरूपको शिक्षा प्राप्त गर्ने रणनीतिहरूका बारेमा छलफल गर्न सक्छन्, जसले विकासका पाँच वटै क्षेत्रमा ध्यान दिन्छ ।

बालबालिकाहरू विद्यालयको लागि तयार हुन, अभिभावक/आमा–बुवा, शिक्षक, र समुदायले बालबालिकालाई संज्ञानात्मक प्रेरणा, भावनात्मक सुरक्षा, शारीरिक सुरक्षा र स्वास्थ्य प्रदान गर्न तथा घर र विद्यालयको बीचको समय तथा सम्बन्ध सुरक्षितरूपमा पार गर्न सक्षम बनाउने वातावरण निर्माण गर्न सहकार्य गर्नुपर्छ । विद्यालय तयारीले विशेष गरी सीमान्तकृत वा अल्पसंख्यक पृष्ठभूमिका बालबालिकाहरूको भर्नादर, घुलमिल हुन, प्रगति र उपलब्धि हासिल गर्न सहज बनाउन सक्छ । त्यसैले, बालबालिकाको घर र विद्यालयबीचको संक्रमणकालीन अवस्था सफल बनाउन सबै सरोकारवालाहरूबीच उचित छलफल र सहकार्य आवश्यक छ ।

विद्यालय तयारी कसको जिम्मेवारी ?

विद्यालय तयारीको मुख्य जिम्मेवार पात्रहरूमा बालबालिका, परिवार/हेरचाहकर्ता, विद्यालय/शिक्षक, र समुदाय पर्दछन् । ब्रकका अनुसार विद्यालय तयारीका प्रमुख तत्वहरू निम्न छन्: तयार बालबालिका, तयार शिक्षकहरू, तयार प्राथमिक विद्यालयहरू, तयार प्रारम्भिक बाल हेरचाह तथा शिक्षा (ईसीसीई) सेवा केन्द्रहरू, तयार परिवारहरू र तयार समुदायहरू ।

बालबालिकाको विद्यालय तयारी निम्न सीपहरूले निर्धारण गर्छ – शौचालय प्रयोग गर्न, खेल्न, किताब पढ्न, खान आत्मनिर्भर, आत्मविश्वाससहित सहयोग माग्न, समूहमा काम गर्न, समस्या समाधान गर्न, साथी बनाउन, निर्णय लिन, विकल्प रोज्न, निर्देशन सुन्न, पालना गर्न, भावनाहरू बुझ्न र तिनलाई नाम दिने क्षमता लिन ।

यसकारण, औपचारिक विद्यालयका लागि बालबालिकालाई तयार पार्न परिवार/हेरचाहकर्ता, विद्यालय, र स्थानीय निकायहरूले सँगै काम गर्नुपर्छ । उनीहरूले बालबालिकाको वृद्धि, विकास, र सिकाइलाई प्रवर्धन गर्ने उपयुक्त वातावरण उपलब्ध गराउनुपर्छ, जसले समुदायका सबै बालबालिकालाई तयारीका साथ, सिक्न उत्साहित भएर विद्यालय प्रवेश गर्न सक्षम बनाउँछ ।

विद्यालयले आफ्नो ढोकाबाट प्रवेश गर्ने सबै बालबालिकालाई शिक्षित गर्ने जिम्मेवारी बहन गर्नुपर्छ, चाहे ती बालबालिका तयारी अवस्थामा हुन् वा नभएका हुन् । धेरैजसो देशहरूले सार्वजनिक विद्यालयमा भर्ना हुने उमेरको मापदण्डलाई आधार बनाउँछन्, उनीहरूको सीपलाई होइन । त्यसैले, बालबालिकाको तयारी औपचारिक विद्यालयमा भर्नाको मापदण्ड हुन सक्दैन । तर व्यवहारमा यो सिद्धान्त सधैं पालना गरिंदैन । कतिपय परिवार, विद्यालय प्रशासक, र शिक्षकहरूले बालबालिकाको तयारीका आधारमा विद्यालय प्रवेश ढिला गर्न चाहन्छन् । तर अनुसन्धानहरूले देखाउँछ कि विद्यालय प्रवेश ढिला गर्नुले सामान्यतया बालबालिकालाई फाइदा गर्दैन । बालबालिकाले फरक उमेर, चरण, क्षमता, सामाजिक पृष्ठभूमि, र आवश्यकताका साथ विद्यालय सुरु गर्छन् । त्यसैले, विद्यालयले बालबालिकासँग अनुकूल हुने, तिनीहरूसँग सहकार्य गर्ने, र तिनीहरूलाई सिकाइका लागि तयार बनाउन सहयोग गर्ने कार्य गर्नुपर्छ ।

निष्कर्ष

संक्षेपमा, विद्यालय तयारी भनेको ‘सीप र क्षमताहरू हासिल गर्ने’ र ‘संक्रमणको अवस्था र निरन्तरता’ हो । बालबालिकाका लागि विद्यालय तयारीको प्रक्रिया प्रारम्भिक वर्षहरूमा सुरु हुन्छ र प्राथमिक विद्यालयका प्रारम्भिक कक्षासम्म जारी रहन्छ, जहाँ उनीहरूले नयाँ वातावरण, साथी र वयस्कहरूसँग अन्तरक्रिया गर्नुपर्छ । तर विद्यालय तयारी केवल शैक्षिक उपलब्धिबारे मात्र होइन, न त यो बालबालिकाले विद्यालयमा अनुकूलन गर्ने प्रक्रियाबारे मात्र हो ।

विद्यालय तयारी भनेको विद्यालय र परिवारहरूले बालबालिकाको शैक्षिक, संज्ञानात्मक, सामाजिक–भावनात्मक, र शारीरिक आवश्यकताहरू बुझ्न र तिनीहरूसँग अनुकूल हुनसक्ने क्षमता र ज्ञान राख्नु हो, जसले उनीहरूलाई सिक्न र क्षमता अभिवृदि गर्न सहयोग पुर्‍याउँछ । तसर्थ सरस्वती पूजा विद्यालय शिक्षा आरम्भको दिनका लागि मात्र नभएर बालबालिकाको विद्यालय शिक्षाको यात्राको तयारीका लागि पनि कोशेढुंगा बनोस् मेरो शुभकामना छ ।

काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत दाहाल बालविकासका क्षेत्रमा कार्यरत छिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्