नेभिगेशन
राजनीति

फागुन २१ मा ‘सब्लिमिनल क्याम्पेन’को खतरा

काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा र्‍याली, भाषण, सभा, अन्तरक्रिया र पोस्टरजस्ता परम्परागत चुनावी अभियानहरूभन्दा ‘सब्लिमिनल क्याम्पेन’ले महत्वपूर्ण भूमिका खेल्न थालेका छन् । यस्ता अभियानले यसपटकको चुनाव डिजिटल हाइज्याकिङको खतरामा परेको छ । सब्लिमिनल अभियानले लोकप्रियतावादलाई स्थापित गर्न मान्छेको अवचेतन मनसँग खेल्ने गर्छ । २०७९ साल यताको निर्वाचनमा यस्ता अभियान बढ्दो क्रममा देखिन्छ । यसपटकको निर्वाचनमा त झन् यो मौलाउने र राजनीतिक परिदृश्यलाई नै नयाँ मोड दिने देखिएको छ ।

दलका नेताहरूले आफ्ना विचार, एजेण्डा र योजनाहरू प्रचारका लागि सामाजिक सञ्जालमा एआई जेनेरेटेड कन्टेन्ट, भिडियो, ग्राफिक्स, अडियो र अल्गोरिदमहरूको प्रयोग गर्न थालेका छन् । संसार नै सब्लिमिनल क्याम्पेनको चपेटामा परिरहँदा नेपाल पनि यसको प्रभावबाट बाहिर छैन । नेपाली राजनीतिमा पनि सब्लिमिनल क्याम्पेनको प्रयोग नजानिँदो तरिकाले भित्रभित्रै भुसको आगोजस्तै सल्किरहेको छ ।

के हो सब्लिमिनल क्याम्पेन ?

सब्लिमिनल क्याम्पेन यस्तो अभियान हो, जसले आम दर्शक वा उपभोक्ताको अवचेतन मनमा प्रहार गर्छ । यो त्यस्तो सञ्चार वा प्रचार रणनीति हो, जसको प्रत्यक्ष सन्देश सुरुमै नबुझे पनि मानिसको मन र मस्तिष्कलाई भने नराम्रोसँग प्रभावित बनाउँछ । यो क्याम्पेनले सिधै यो गर वा त्यो गर भन्दैन तर सर्वसाधारणको मनमा भने  प्रभाव पार्दै जान्छ र पछि दरिलो विचार निर्माण गर्छ ।

यसको प्रयोग कसरी हुन्छ ?

छिटो देखिने, सुन्ने संकेतका फोटो वा आवाज, रङ, संगीत, प्रतीक, दृश्य, संकेत, भावनासँग खेल्ने कथा वा चित्र यो अभियानमा सूक्ष्म तरिकाले गरिन्छन् । यसको सूक्ष्मता यति हुन्छ कि सर्वसाधारणले प्रभाव थाहै पाउँदैनन् ।

नेपाली राजनीतिमा सब्लिमिनल क्याम्पेनको सुरुवात सोसल मिडियाको विस्तारसँगै भएको हो । २०७९ सालको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा फेसबुक, टिकटक र एक्सजस्ता प्लेटफर्महरूमार्फत राजनीतिक दलहरूले स्पोन्सर्ड कन्टेन्ट दिएर सूक्ष्मरूपमा आफ्ना प्रतिद्वन्द्वीहरूलाई बदनाम गर्ने र आफ्नो छवि चम्काउने रणनीति अपनाए । अघिल्लो निर्वाचनदेखि चलेको ‘नो नट अगेन अभियान’ले दलहरूलाई सिधै बहिष्कार गरौं भनेन तर मतदाताहरूको अवचेतन मनमा पुराना नेतृत्वप्रति क्रमशः असन्तुष्टि जगाउन थाल्यो । यसैगरी जेनजी आन्दोलनमा टिकटक, इन्स्टाग्राम र डिस्कर्डजस्ता प्लेटफर्महरूबाट ‘नेपोबेबी’ ‘नेपोकिड’ जस्ता अभियान सञ्चालन गरियो । यस्ता भाइरल भिडियोले भ्रष्टाचारविरुद्ध युवाहरूलाई एकीकृत गरे तर कतिपय स्पोन्सर्ड पोस्टहरूले हिंसा भड्काउने र गलत समाचार फैलाउने काम पनि गरे । नेपाली राजनीतिमा सब्लिमिनल क्याम्पेन जनतासामु सिधै नाराबाजी गरेर होइन, भावनात्मक, सांस्कृतिक र मनोवैज्ञानिक संकेतमार्फत प्रभाव पार्ने रणनीतिका रूपमा विकसित हुँदै गएको छ । यस्तो अभियान सञ्चालन गर्नमा नयाँदेखि पुराना सबै दलका नेताहरू पछि पर्दैनन् ।

आफू नरहे देश नै बर्बाद हुन्छ  र देश विदेशी शक्तिको चंगुलमा फसिसक्यो भन्ने भाष्य स्थापित गर्न खोजिरहेका केपी ओलीले दिने यस्ता अभिव्यक्ति पनि एकप्रकारले यस्तै अभियानको हिस्सा हो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि सब्लिमिनल क्याम्पेन प्रयोग गर्न खप्पिस नेता हुन् । उनले आफूले राजनीति छोड्दा देश नै गल्र्यामगुर्लुम्म हुने, आफुसँग ‘म्याजिकल पावर’ रहेको जस्ता अभिव्यक्ति दिइरहन्छन् । उनले यस्ता अभिव्यक्तिहरूमार्फत अप्रत्यक्षरूपमा देशको मुख्य शक्ति आफू भएको सन्देश प्रवाह गर्न खोज्छन्, जुन सब्लिमिनल क्याम्पेनकै रुपमा लिन सकिन्छ । 

सब्लिमिनल क्याम्पेन गर्नमा नयाँ दलहरू झन् खप्पिस छन् । विशेषगरी रास्वपा सभापति रवि लामिछाने आफ्ना शाब्दिक चयनले सन्देश प्रवाह गरिरहेका हुन्छन् । सिद्धान्त र विचारलगायतका कुरामा रास्वपालाई अझै कच्चा नै मानिन्छ तर सभापति लामिछाने पुराना दलका नेताहरूलाई विश्राम लिन आग्रह गर्दै अब देश हामी सम्हाल्छौं भन्दै पुरानाहरूको औचित्य सकिएको टिप्पणी अक्सर उनी गर्छन् । उनका यस्ता अभिव्यक्तिहरुले पुराना नेताहरुलाई ‘डिफेमिङ’ गरिरहेको छ । 

सब्लिमिनल क्याम्पेनबाटै उदाएको सबैभन्दा ठूलो नाम बालेन्द्र शाह अर्थात् बालेन हो । रास्वपाको वरिष्ठ नेता रहेका बालेन भावी प्रधानमन्त्रीका रुपमा चुनावी मैदानमा छन् । झापा ५ मा उम्मेदवारी दर्ता गराएर पूर्वी पहाडको भ्रमणमा व्यस्त रहेका बालेनलाई नायकीयरुपमा प्रस्तुत गर्न सोसल साइटको भरपुर उपयोग भइरहेको छ । कम बोल्ने बालेन एकदमै ठीक पात्र हुन् भन्ने देखाउन काठमाडौँमा उनले गरेका कामहरुलाई बढाइचढाइ नगरिकनै फोटो र भिडियोमार्फत् प्रस्तुत गरिदैछ । भरखरै बालेन पत्नी सविना काफ्लेले सार्वजनिक गरेको एउटा भिडियो चर्चामा छ । काठमाडौंको दरबारमार्गमा छायांकन गरिएको उक्त भिडियोमा केही भनिएको छैन तर त्यहाँ नजानिदो किशिमले बालेनले सडक पेटी बनाएर सहरको शौन्दर्य बढाएको सन्देश दिन खोजिएको छ । त्यस्तै बालेनकै कोर टीमभित्र रहेका कतिपयले झापाको भ्यू टावरको भिडियो राख्दै देश बनाउनु पर्छ भन्ने किशिमका गीत वा शव्द राखेपनि अप्रत्यक्षरुपमा केपी ओली नेत्तृत्वमा हुँदा बनेको भ्यूटावर अनावश्यक हो भन्ने सन्देश दिन खोजिरहेका छन् । 

फागुन २१ मा सब्लिमिनल क्याम्पेन

संसारमा पहिलो पटक यसको व्यापक प्रयोग सन् १९५० को दशकमा भएको मानिन्छ । मानिसको सोच्ने स्वतन्त्र शैली र निर्णयलाई प्रभावित पार्ने हुनाले नैतिकरूपमा यो निकै विवादास्पद पनि मानिन्छ ।

यतिबेला मिसइन्फर्मेसन (गलत सूचना) र डिसइन्फर्मेसन (भ्रामक सूचना)ले पनि सब्लिमिनल क्याम्पेनको काम गरिरहेका छन् । अघिल्लो निर्वाचनमा फेसबुकमा सक्रिय रहेका ४१ प्रतिशत वयस्कलाई राजनीतिक दलहरूले सूक्ष्मरूपमा झुटा सूचना फैलाउँदै आफ्नो प्रभाव विस्तार गर्न सफल भए । आसन्न निर्वाचनमा यो क्रम झन् डरलाग्दो गरी बढ्ने स्पष्ट देखिएको छ । फागुन २१ को निर्वाचनमा एआई जनरेटेड मिसइन्फर्मेसन, डीपफेक र सञ्जालका अल्गोरिदममार्फत सूक्ष्म प्रभाव पार्ने अभियानहरू नियन्त्रणभन्दा बाहिर हुने देखिएको छ । यस्ता क्याम्पेनहरूले उम्मेदवारको छवि बिगार्ने, लोकतन्त्रप्रति अविश्वास जगाउने र चुनावी प्रक्रियालाई प्रदूषित गर्ने खतरा देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्